Successfully Copied

प्रेम र यौन 

सरकारले विवाह गर्ने उमेर तोकिदिएको छ भन्दैमा के प्रेम गर्ने पनि निश्चित उमेर हुन्छ र भन्या ?

काठमाडौं, सामाखुसी प्रहरी तालिम केन्द्रबाट मेरो सरुवा सिन्धुलीको दुधौलीमा भएको थियो । मलाई नयाँ ठाउँ रमाइलो लागिरहेको थियो । सरुवासँगै बढुवा पनि भएको भए गज्जब हुने थियो । तर, यो त फगत मेरो रहरको कुरा मात्र थियो । म प्रहरी निरीक्षक सोनम गिरी, जुन दर्जाबाट जागिर थालेको थिएँ, त्यही दर्जामा कार्यरत छु ।

म दुधौली चौकीमा गएकै भोलिपल्ट त्यही गाउँका एक जोडी अभिभावकले आनी तेह्र वर्षकी छोरीलाई चौकीमा लेराइदिए । बाबुआमाले नसकेर लेराएका रहेछन् । उमेरै नपुगी केटासँगको प्रेममा परेकी  रहिछे । उसले आफूहरूलाई अलग पारे आत्महत्या गर्ने डर देखाइदिइछे । 

सोधपुछका लागि म सानी फुच्चीको अगाडि बसें । 

‘सर, मलाई छाडिदिनुस् हाम्रो प्रेमलाई नमारिदिनुस् । म ऊबिना बाँच्न सक्दिन’ पो भन्छे । म त तीन छक्क परें । यी किशोरीलाई के भनेर सम्झाऊँ भन्ने भयो मलाई ।

‘सुनेकी छु सय प्रतिशत ग्यारेन्टी त केही कुरा पनि हुँदैन रे । फेरि मेरा ममी–

ड्याडी हाम्रो प्रेम र उमेरलाई असुरक्षित भन्दै हिँड्नुहुन्छ । अन्धकार छ मेरो भविष्य भन्नुहुन्छ किन ? हो सब मैले गरेकी थिएँ, मेरो रहरको कुरा थियो । कसैको कारणले होइन । जे–जे भयो, जे–जे भोग्नु छ त्यो सब मेरै कर्मको फल हुनेछ । मलाई त्यही मञ्जुर छ । अरुलाई किन टाउको दुखाई ? मेरो ब्याइफ्रेन्ड, उसको र मेरो माया घरका मान्छेहरूलाई मन नपरेर यहाँ लेराइदिएका हुन् मलाई । म पनि हैरान भैसकें यिनीहरूको ज्यादती देखेर । हेर्नुस् सर  मलाई ऊबाहेक अरु मान्छे चाहिँदा पनि चाहिँदैन । उसैसँग बाँच्छु, उसैसँग मर्छु । वरिपरि ऊबाहेक अरुलाई मान्छे गन्नु पनि छैन मलाई । अरु त अरु घरको मान्छे त मलाई शत्रुजस्तै लाग्छन् भन्या, हाम्रो प्रेमको दुश्मन ।’ 

म छक्क परेरै सानो मान्छेका ठूला कुरा सुनिरहेको थिएँ । 

‘केटाकेटी उमेरदेखि नै ऊ आफूलाई तरुनीजस्तै बनाउन हरप्रयास गर्थी, छोरीमान्छे यस्तै हुन्छन् भनेर कहिले केही भनेनौं । अनुहारमा शृंगार गरेर हिँड्थी । उसलाई छोटो लुगा लगाउँदा अतिरिक्त राम्री देखिएकी जस्ती लाग्थ्यो । आनो उमेरभन्दा धेरै उमेरकी देखिन्थी । यसैमा खुसी हुन्थी । ऊ खुसी हुदा हामीलाई आनन्द आउथ्यो’ आमा मलिन अनुहार लगाउँदै भनिरहेकी थिइन् । 

बुवा मिस्त्री, काठको काम गर्ने, आमा दुई–चारवटा घरमा काम गर्न जान्छिन् रे । तीन जना छोराछोरीमा दुईटी छोरी र एउटा छोरा रहेछन् । 

‘म त कान्छी छोरी हो नि सर ।ममी मलाई अहिले पनि भात खुवाइदिनुहुन्छ । दिदी पनि फेसबुकमा लभ परेर भारतीय केटासँग भाग्नुभएको हो । दाइले पनि छिमेकीकी छोरी लिएर भागेको दुई वर्ष भैसक्यो । त्यसपछि ड्याडी र ममीलाई भेट्न पनि दाइ आउनुहुन्न । अब त ममीले अरुसँग कुरा गर्दा दुई छोरी मात्र हुन्, छोरा छैन भन्नुहुन्छ । म त पुलपुलिएर पालिएकी हुँ । एक्लै छु । उसलाई छोरा मान्नुको साटो अझ यसरी यहाँ लेराउनुपर्छ त ?’ उल्टो मलाई नै पो प्रतिप्रश्न गर्छे । 

‘उसको केही पनि दोष छैन, सरकारले विवाह गर्ने उमेर तोकिदिएको छ भन्दैमा के प्रेम गर्ने पनि निश्चित उमेर हुन्छ र भन्या ? के प्रेम गर्नु अपराध हो र सर ?के तपाईंले प्रेम गर्नुभएको छैन ? पक्कै छैन होला नत्र मेरो हालतलाई महसुस गर्न सक्नुहुन्थ्यो नि होइन र सर ?’

बाल्यकालको जस्तो चञ्चलता बिल्कुलै थिएन । वयस्कको जस्तै हाउभाउमा कुरा गराइले म त के भनूँ के नभनूँको स्थितिमा अल्झिरहेको थिएँ । यति सानी किशोरीको प्रेमप्रतिको बहस र प्रेमप्रतिको सम्मोहनले म आश्चर्यचकित थिएँ ।

काठमाडौं आउने क्रममा जनकपुर एयरपोर्ट जान चढेको जनकपुरको ई–रिक्सा चालक अब्ररार हुसैनले दिएको प्रेमको परिभाषाले म अलमलमा परेको थिएँ । मेरो साथीले जिस्काएरै अब्ररारलाई सोधेको थियो । 

‘गर्लफ्रेन्ड छ होला नि होइन भाइ ?’ 

‘प्रेम अरूसँग छैन साब ! राति–राति हो बूढीसँगमात्र ।’ 

काठमाडौं आइसकेपछिको एकदिन एउटा साप्ताहिक पत्रिकाका भाइले सोध्नुभएको थियो, ‘सरलाई के लाग्छ प्रेम–सम्बन्धका बारेमा ?’ उहाँले यसो भनिरहँदा पनि युवा अब्ररार र तेह्र वर्षीया किशोरीको कुराले मेरो मन–मस्तिष्क छोइरहेकै थियो ।

प्रेम π के लाग्छ भन्नु ? यस ब्रह्माण्डमा सबैभन्दा धेरै रुचाइएको शब्द । मनलाई आल्लादित तुल्याउनका लागि प्रेम शब्द नै पर्याप्त हुन्छ। पलभर नै किन नहोस् मनलाई शान्ति मिल्छ । 

 प्रेम–सम्बन्ध संसारको उत्कृष्ट कुरा उत्तिकै सुकोमल र सुन्दर पनि । हामी कल्पना गर्न सक्दैनौं माया–प्रेमबिनाको जिन्दगी । उराठ उदास .. प्रेम अप्राप्तिमा प्रेममा भएको धोकामा पनि हामी प्रेम नै खोजिरहेका हुन्छौं । विरक्तिएर संन्यासी बन्दा पनि हामी प्रेमकै समीप पुग्छौं । जब प्रेम एकतर्फी हुन्छ त्यहाँ पूजा हुन्छ । पूजा पनि प्रेमको एउटा रूप हो । सांसारिक मोहबाट अग्लिएर हामी अध्यात्म अर्थात् भगवान्को पूजामा समर्पित हुन्छौं । स्वस्थानीमा भनिएजस्तो हजार जिब्रा भएका शेष नागले पनि शायद प्रेमको महिमा वर्णन गरेर सक्दैनन् होला म बिचराले कसरी गर्न सकुँला र? त्यसैले प्रेमको नयाँ परिभाषा अथवा प्रेमको नयाँ अवधारणा केही पनि थाहा छैन मलाई । 

अब्ररारको बुझाइमा उसको प्रेम भनेकै यौन सम्पर्क गर्नु हो । र उसको बुझाइमा प्रेम भनेकै त्यही हो । जे बुझ्यो त्यही भन्यो । जे लाग्यो त्यही भन्यो । अब्ररारजस्तो मजदुर होस् वा बुद्धिजीवी वर्गको व्यवहार पनि यही देखेको छु प्रेम भनेकै यौन सम्बन्धका लागि निर्मित हो । प्रेम गर्छु भनेर नजिकिन्छन् अन्तमा ब्याल्क मेल, धम्की र एक–अर्काबीच बदला र हत्यासम्म पुग्छन् । भलै उनीहरू सिद्धान्त र आदर्शका कुरा गर्लान् किताब र भाषणहरूमा । 

एकथरी प्रेम र यौन बिल्कुलै अलग–अलग हुन् भन्छन् । अर्कोथरी प्रेम र यौन अलग होइनन् भन्छन् । मलाई शब्दमा भन्दा दृश्यमा विश्वास लाग्छ । यौन र प्रेम एउटै सिक्काका दुईपाटा हुन् कि जस्तो लाग्छ । फेरि बलात्कार पनि त यौनभित्र पर्छ नि । तर खै त्यहाँ प्रेम ? शायद प्रेममा यौन हुनसक्छ भने यौनभित्र प्रेम नहुन पनि सक्छ । होइन ? यस्ता अपवादबाहेक यौन र प्रेम एउटै सिक्काका दुईपाटा हुन् । अचेल प्रेमलाई यौनसम्म पुग्ने माध्यम बनाइँदैछ । विवाह हो नि यौन सम्पर्कको लाइसेन्स त, होइन ? यो सुन्दर संस्कृति पनि हो हाम्रो । तर अब युग बदलिएको छ । यौन आनन्दका लागि प्रेम र पैसा भए पुग्छ । सहरमा, युवती र अधबैसे पुरुषहरूबीचको प्रेम–सम्बन्ध एकदम झाँगिएको छ । घरभरि स्वास्नी एवं छोराछोरी भएका पुरुषहरू बाहिर युवतीलाई राखेका कारण श्रीमतीहरू आफू पीडित भएको गुनासो धेरै आउँछ । अधबैसे महिलाहरू पनि युवकहरूलाई हायर गर्छन् । यौनसम्बन्धका लागि यस्तो केस पनि बढ्दैछ अचेल । विदेश गएका श्रीमान्का श्रीमतीहरू अर्को पुरुषको सम्बन्धमा रहेको घटना बढ्दो छ । पछिल्लो समय अर्को थरी प्रेमसम्बन्ध पनि व्याप्त छ हाम्रो समाजमा त्यो हो–एउटाको लोग्नेले अर्काकी स्वास्नीसँग अर्काकी स्वास्नीले अरूको लोग्नेसँगको प्रेम । यो असाध्यै फैलिएको छ । अक्सर मान्छेहरू चाहन्छन् पनि यही । वयस्क पुरुष–महिला दुवैको यौन इच्छा हुन्छ तर यहाँ महिलालाई मात्र बदनाम गराइन्छ पुरुषलाई भने जे गर्न पनि छुट छ । म त भन्छु हर किसिमको स्वतन्त्रताको लागि महिला–पुरुष बराबरी हुनुपर्छ । पुरुषसँग बराबरी हुनका लागि महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न जरुरी छ । जबसम्म सबै महिला दयाधर्मको जिन्दगीबाट माथि उठ्न सक्दैनन् तबसम्म कुनै पनि स्वतन्त्रता सजिलै प्राप्त गर्न सक्दैनन् । मोजमस्ती पुरुषहरूको मात्र पेवा होइन । प्रेमको कुरा गर्दै थिएँ अधिकारतिर पो मोडिएँ क्यारे । 

लगभग छ महिनाअघिको घटना हो । एक जना पचास कटेका व्यक्ति चौकीमा आउनुभयो । मेरोअगाडि रुनुभयो मज्जाले किनभने आफूजस्तै विवाहित महिला प्रेमिकाले आफूलाई धोका दिइन् भन्दै । यहाँ पनि अलमलमै परिरहें म । यो के हो ? प्रेमसम्बन्ध होइन भन्न पनि त मिल्दैन? विछोडमा रुनुभएको छ । मानिलिऊँ, उनीहरूको जुनीभर सँगै मर्ने–बाँच्ने प्रेम थियो । ती व्यक्तिकी प्रेमिकाले सुरुवाती समयमा भनेकी थिइन् रे–‘मेरो लोग्नेले सक्दैन ।’ अनि उक्त महोदयले भन्नुभएछ, ‘मेरी स्वास्नीको झन् रुचि नै छैन ।’ यो त यौन आकर्षण हो नि होइन ? यसरी यौनवासना पूर्तिका लागि निर्मित सम्बन्धलाई प्रेम भन्न मिल्छ त ? यौनका लागि निर्मित प्रेम–सम्बन्धहरू होइनन् ? बिल्कुलै होइनन् । व्यक्तिको यौन परिपूर्तिपछि प्रेम बस्यो होला । प्रेमले उमेर अनि अर्काको भनेर कहाँ हिसाब गरी बस्छ र? अब्ररार आनी स्वास्नीलाई प्रेम गर्दैन भन्ने प्रश्नै छैन । यौनलाई नै प्रेम ठान्ने उसको त्यो प्रेम नै हो । किशोरीको आनो प्रेमी प्राप्ति गर्ने जिद्दी पनि प्रेम नै हो । अर्काकी स्वास्नीसँगको यौन सम्बन्ध टुट्यो भनेर रुने व्यक्तिको पनि प्रेम नै हो । अहिले म द्विविधामा छैन । म यौन प्रेमको महत्वपूर्ण पाटो रहेछ भन्ने निष्कर्षमा पुगें । प्रेम विशाल छ उत्तिकै फराकिलो पनि । र धेरै भेराइटी छन् प्रेम–सम्बन्धका । प्रेमका अनेक रूप हुन्छन्, प्रेमका अनेकौं बाटा हुन्छन् । प्रेम अभिव्यक्त गर्ने माध्यम फरक–फरक हुन्छन् । सतह–गहिराइ जे भने पनि त्यो प्रेम नै हो । प्रेम व्यक्तिको अनुभूतिमा भरपर्ने कुरा हो । मान्छेको स्वभावले निर्धारण गर्छ प्रेमको परिभाषा । यही हो प्रेम । यसैलाई प्रेम भन्नुपर्छ भन्ने नियम बनेको छैन । शायद अहिलेसम्म न त प्रेमको कुनै निश्चित सीमारेखा छ न कुनै एउटा निश्चित परिभाषा नै छ । प्रेममा तर्क गरेर साध्य पनि छैन । जरुरी छैन युरोपको कुनै विद्वान्ले लेखेको प्रेमको परिभाषा नै एसियाको कुनै प्रेमीले स्वीकार गर्नुपर्छ ।

 Image