‘ब्ल्याक फंगस’को जोखिम

नारी संवाददाता

श्रावण ८, २०७८

डा.रबा थापा, एमडी, पीएचडी

‘म्युकरमाकोसिस’ एक किसिमको सूक्ष्म फंगस (ढुसी) ले हुन्छ । यसको ‘म्युकोरेल’ प्रजातिले शरीरमा गर्ने संक्रमणलाई ‘म्युकरमाइकोसिस’ भनिन्छ । यो संक्रमण भएको भाग कालो हुने हुँदा यसलाई ‘ब्ल्याक फंगस’ भनिएको हो ।

यो फंगस हाम्रो वरिपरिको वातावरणमै पाइन्छ । खासगरी माटो, कुहिएको पात, पुराना र बासी खानेकुरामा पाइन्छ । यो श्वासप्रश्वासको माध्यमबाट वा छालामा भएको घाउ–खटिराबाट शरीरभित्र प्रवेश गर्छ । थोरै व्यक्तिमा हुने यो संक्रमण निकै गम्भीर प्रकृतिको हुन्छ ।

कसलाई खतरा ?

शरीरको रोग प्रतिरक्षा शक्ति कमजोर भएका व्यक्तिहरूमा यो संक्रमण हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रणमा नभएका मधुमेहका बिरामी, स्टेरोइड र प्रतिरक्षा शक्ति कमजोर पार्ने औषधि सेवन गर्ने व्यक्ति, रक्तमासिका (बोन म्यारो) को प्रत्यारोपण गरेका व्यक्तिलाई यो संक्रमणको खतरा बढी हुन्छ । पछिल्लो समय कोभिड–१९ का बिरामीमा यो संक्रमण बढी देखिएको छ । कोभिड–१९ संक्रमणपछि निको भएको करिब ६ सातासम्म यो संक्रमणको जोखिम रहेको पाइएको छ ।

लक्षणहरू

‘म्युकरमाइकोसिस’ ले खासगरी शरीरका नाक, आँखा, फोक्सो, पेट, छाला र रगतको माध्यमबाट जुनसुकै अंगमा पनि संक्रमण गर्न सक्छ ।

खासगरी कोभिड–१९ का बिरामीमा हुने गरेको संक्रमणले नाक, आँखा र दिमागमा असर गर्ने प्रकारको पाइएको छ । यो संक्रमण नाकबाट सुरु भई नजिकको साइनस हुँदै आँखा अनि दिमागसम्म पुग्छ । नाकमा संक्रमण हुँदा बिरामीको नाक बन्द हुन्छ, नाकबाट रगत र पानी बग्छ र नाकबाट दुर्गन्ध आउँछ । नाकबाट संक्रमण साइनसमा पुगेपछि नाकको नजिक गालाको भाग र दाँत दुख्ने तथा ज्वरो आउने, गालाको भाग सुन्निने र छालामा छोएको थाहा नपाउने जस्ता लक्षण हुन सक्छन् । आँखामा संक्रमण भएपछि आँखा रातो हुने, आँखा सुन्निने, आँखाको परेला खोल्न नसकिने, आँखाको गेडा बाहिर आउने, आँखाले दुईवटा वस्तु देख्ने जस्ता लक्षण देखिन्छन् ।

आँखापछि संक्रमण दिमागमा पुगेपछि बेहोस हुने, हातखुट्टाको पक्षघात हुने र उच्च ज्वरो आउने हुन सक्छ । दुवै आँखाका गेडी बाहिर आउन सक्छन् तथा टाउको दुख्न सक्छ । यो संक्रमण अत्यन्त जटिल र तुरुन्तै फैलने प्रकारको हुँदा समयमै उपचार नपाए करिब १० प्रतिशत देखि ८० प्रतिशतसम्मको ज्यान जोखिम अर्थात् मृत्यु हुने गरेको पाइएको छ ।

म्युकरमाइकोसिसको पहिचान

रोग पहिचानका लागि नाक र साइनसको विशेष परीक्षण (इन्डोस्कोपी) गरेर संक्रमण भएको भाग देख्न सकिन्छ । संक्रमण भएको भागको जाँच गर्दा कीटाणु देख्न सकिन्छ । सूक्ष्म माइक्रोस्कोपको सहयोगबाट यसको पहिचान गर्न सकिन्छ । त्यस्तै तन्तुको जाँचद्वारा पनि संक्रमण पहिचान गर्न सकिन्छ । विशेष खालको एमआरआएद्वारा संक्रमणको फैलावट अर्थात् नाक, साइनस, आँखा र दिमागको संक्रमण पुष्टि गर्न सहयोग पुग्छ ।

उपचार

सर्वप्रथम रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ । स्टेरोइड तथा अन्य प्रतिरक्षा शक्ति कमजोर पार्ने औषधिको सेवन रोक्नुपर्छ । यो संक्रमणका लागि फंगसविरुद्ध प्रयोग गर्ने औषधिको आवश्यकता पर्छ । यो औषधि चिकित्सकको सल्लाहमा लिनुपर्छ । यो औषधिको प्रयोग कम्तीमा पनि ३ देखि ६ महिनासम्म गर्नुपर्ने हुन्छ । यो औषधि निकै महँगो हुन्छ र चिकित्सकको सल्लाहबमोजिम प्रयोग गर्नुपर्ने हुन्छ ।

औषधिबाहेक शल्यक्रियाको माध्यमबाट संक्रमण भएको भाग सफा गर्नुका साथै त्यो भाग र केही वरिपरिको भाग निकाल्नुपर्ने हुन्छ । अतः संक्रमणको सुरुको अवस्थामा शल्यक्रिया सानो हुन्छ भने ढिला भएमा जटिल शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रिया तथा उपचारका लागि नाक, कान, घाँटी रोग विशेषज्ञ, नेत्ररोग विशेषज्ञ र स्नायु चिकित्सकको आवश्यकता पर्छ । आँखामा फैलिएको अवस्थामा आँखाको गेडी पनि निकाल्नुपर्छ ।

बचावट

संक्रमणको जोखिमबाट बच्न रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ । स्टेरोइड औषधिको प्रयोग आफूखुसी नगर्ने, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिने, मास्कको उचित प्रयोग गर्ने, हात समय–समयमा धोइरहने, खेतबारीमा काम गर्दा हातमा घाउ भए पन्जाको प्रयोग गर्नुपर्छ । यसो गरेमा संक्रमणको जोखिमबाट बच्न सकिन्छ । शंकास्पद लक्षण भए तुरुन्त नजिकको अस्पतालमा जानुपर्छ । समयमै सचेत हुँदा संक्रमणबाट बच्नुका साथै रोग लागिहालेमा तुरुन्तै उपचार गर्दा धेरै हदसम्म रोग निको पार्न सकिन्छ ।

  (लेखक तिलगंगा आँखा प्रतिष्ठानकी नेत्र तथा रेटिना रोग विशेषज्ञ हुन् ।)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>