Successfully Copied

कोरोनामा गर्भवतीको स्वास्थ्य

आफूले देखाइरहेका चिकित्सकलाई फोनबाटै परामर्श लिनुपर्छ । अल्ट्रासाउन्ड, टिटानस खोप लगाउने समय भएमा कम समयका लागि मात्र अस्पताल जानुपर्छ ।

डा. दीपमाला कार्की

स्त्री तथा प्रसूति रोग विशेषज्ञ

हिजोआज कोरोना भाइरसको विभिन्न भेरियन्टको जगजगी छ । यो महामारीले धेरैको ज्यान लिइरहेको छ । अझ पछिल्लो भेरियन्टले सबै उमेर समूहकालाई आफ्नो सिकार बनाउने गरेको छ । त्यसैले सबैजना सचेत, सावधान र सुरक्षित रहनु जरुरी छ । यसमा पनि गर्भवती महिलाले झनै बढी हेरचाह गर्नुपर्छ । ज्ञानेश्वरकी रचना शर्मा गर्भवती भएको चार महिना भयो । उनी यतिबेला आफ्ना चिकित्सकसँग फोनबाटै परामर्श लिइरहेकी छन् । रचनाजस्ता धेरै महिला यतिबेला गर्भवती भएका हुन सक्छन् । यस्तो अवस्थामा सम्भव भएसम्म फोनबाटै परामर्श लिनु उपयुक्त भएको एभरेस्ट अस्पतालकी स्त्री तथा प्रसूति रोग एवं निःसन्तान विशेषज्ञ डा. दीपमाला कार्की बताउँछिन् ।

गर्भवतीले बाहिर त्यति हिँडडुल गर्नुहुँदैन । घरमै पनि बाहिर काम र अफिस जानेहरूसँग नजिक बस्नुहुँदैन । रुघाखोकी लागेकाहरूबाट टाढै बस्नुपर्छ । डा. दीपमालाका अनुसार गर्भवतीले घरमै बस्दा पनि मास्क लगाउने गरे कोरोना सर्ने सम्भावना ९५ प्रतिशत कम हुन्छ ।

सामान्यतया गर्भवतीले आफ्नो गर्भावस्थाको अवधिमा १० देखि १२ पटकसम्म अनिवार्य जाँच गराउनुपर्ने हुन्छ । तर अहिले अवस्था जटिल भएकाले तीनदेखि चार पटकसम्म मात्र जाँच गराउँदा हुन्छ ।

- आफूले देखाइरहेका चिकित्सकलाई फोनबाटै परामर्श लिनुपर्छ । अल्ट्रासाउन्ड, टिटानस खोप लगाउने समय भएमा कम समयका लागि मात्र अस्पताल जानुपर्छ ।

- अस्पताल जाँदा फेस सिल्ड, डबल मास्क तथा हातमा पन्जा लगाएर जानुपर्छ ।

- गर्भमा रहेको शिशु चले/नचलेको ध्यान दिनुपर्छ ।

- बेलाबेलामा साबुन पानीले हात धुनुका साथै स्यानिटाइजर लगाउनुपर्छ ।

- कतिपय महिलालाई पहिलो तीन महिनामा गाह्रो हुन सक्छ । यतिबेला बान्ता धेरै आएर तल्लो पेट दुखे, पिसाब पोले वा रक्तस्राव भएमा अस्पताल जानुपर्छ ।

- दोस्रो र तेस्रो ट्राइमिस्टरमा रक्तचाप उच्च भए, मधुमेह देखा परे, रक्तस्राव भए र धेरै रिंगटा लागे अस्पताल जानुपर्छ ।

- गर्भावस्थामा प्रोटिनयुक्त खानेकुरा, कार्बोहाइड्रेट, चिल्लो खानेकुरा खानुपर्छ । यतिबेला तरल पदार्थको मात्रा (फ्लुड) बढाउनुपर्छ । शरीरलाई हाइड्रेट बनाइरहनुपर्छ ।

- मौसमी फलफूल खानुपर्छ । दिनमा केही समय आराम गरे गर्भस्थ शिशुको वृद्धिमा फाइदा पुग्छ ।

- साधारण किसिमका योग गर्न सकिन्छ ।

- गर्भवतीले सरसफाइमा ध्यान दिनुपर्छ । यस्तो बेलामा कोभिड भए होम आइसोलेसनमा बस्नुपर्छ । चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । अहिलेसम्मको अनुसन्धानमा पेटको बच्चामा सर्न नपाए पनि गर्भपतन (मिस क्यारिज) भएको हुनसक्छ ।

- कतिपय कोरोना संक्रमित गर्भवतीले शिशु जन्माएका छन् । हालसम्म यस्ता महिलाले जन्माएका शिशुमा कोरोना देखिएको छैन । यसैगरी, शिशु जन्माइसकेका महिलामा कोरोना देखिए मास्क लगाएर, हात राम्रोसँग सफा गरेपछि मात्र शिशुलाई स्तनपान गराउनुपर्छ । स्तन पम्पले दूध निकालेर बोतलमा राखेर पनि शिशुलाई स्तनपान गराउन सकिन्छ ।

 Image