Successfully Copied

राष्ट्रिय महिला लिग सम्पन्न

वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले लिगमा विदेशी खेलाडी भित्र्याएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंको दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो पटक राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता सम्पन्न भयो । १० टोली सम्मिलित लिग डबल राउन्ड रोबिन पद्धतिमा माघ ७ देखि फागुन ७ सम्म चलेको थियो । १२ खेलमा शतप्रतिशत नतिजा निकाल्दै सशस्त्र प्रहरी क्लब (एपीएफ) च्याम्पियन बन्न सफल भयो । खेलमा त्रिभुवन आर्मी दोस्रो र नेपाल पुलिस क्लब तेस्रो स्थानमा रहे । वालिङ नगरपालिका चौथो हुँदा विराटनगर महानगरपालिका पाँचौं, चन्द्रपुर नगरपालिका छैटौं स्थानमा रहे । खेलमा अंक खाता खोल्न नसकेको चौदण्डीगढी सातौं स्थानमा सीमित रह्यो । वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले लिगमा विदेशी खेलाडी भित्र्याएका थिए । वालिङले अफ्रिकी खेलाडी र विराटनगरले भारतीय खेलाडी ल्याएको थियो । विभागीय टोली हावी हुने महिला फुटबलमा यसपटक भने मोफसलका टोलीहरूले विभागीय टोलीलाई कडा टक्कर दिएका थिए ।

सावित्रालाई चोट

राष्ट्रिय महिला लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्, सावित्रा भण्डारी । उनी एक्लैले १० खेलमा सात ह्याट्रिकसहित ४३ गोल गरेकी थिइन् । तर, दुर्भाग्य लिगअन्तर्गत विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबविरुद्धको खेलमा सावित्रालाई गम्भीर चोट लागेको थियो । उनको दायाँ घुँडाको भित्री भागमा हुने अत्यन्तै संवेदनशील एसीएल र मिडियल मिनिस्कसको शल्यक्रिया गर्नुपर्ने भएको छ । भारतीय लिगसमेत खेलेकी उनी दक्षिण एसियाकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । नेपाली महिला राष्ट्रिय टिमकी ‘गोल मसिन’ सावित्रा करिब एक वर्ष अब मैदानबाहिर हुनेछिन् ।

लिगका उत्कृष्ट

– सरु लिम्बू, मोस्ट भ्यालुएबल प्लेयर (एपीएफ)

– उषा नाथ, उत्कृष्ट गोल रक्षक (नेपाल पुलिस)

– अमृता जैसी, उत्कृष्ट रक्षक (नेपाल पुलिस)

– विमला चौधरी, उत्कृष्ट मिडफिल्डर (आर्मी)

– सावित्रा भण्डारी, उत्कृष्ट स्टाइकर (एपीएफ)

– भगवती थापा, उत्कृष्ट प्रशिक्षक (एपीएफ)

तस्बिर : केशव थापा, हेमन्त श्रेष्ठ

 Image