‘हिंसा रोक्न समुदायबाटै हस्तक्षेपकारी भूमिका जरुरी’

अधिकार लिन आफैं तयार हुनुपर्छ, अधिकार के हो थाहा पनि पाउनुपर्छ । महिला आफू–आफूमै प्रेरित भई आत्मबल र आत्मविश्वासको विकास गर्दै सबै महिलालाई सम्मानजनक व्यवहार र हातेमालो गरी अघि बढ्नुपर्छ ।

उपासना घिमिरे

चैत्र ३, २०७७मोरङको बयरवनमा ५२ वर्षअघि जन्मिएकी कमला पराजुलीले स्थानीय जनसेवा माविबाट विद्यालय तहको शिक्षा पूरा गरिन् । त्यसपछि पाटन क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह, रत्नराज्य क्याम्पसबाट स्नातक र पद्मकन्या क्याम्पसबाट नेपाली साहित्यमा स्नातकोत्तर गरिन् । ०४८ बाट महिला तथा मानवअधिकार क्षेत्रमा सक्रिय कमला हाल राष्ट्रिय महिला आयोगकी अध्यक्ष हुन् । धेरै समय राजनीतिक क्षेत्रमा पनि उनी क्रियाशील रहिन् । दुःख पाएकालाई सहयोग गर्ने उनको सानैदेखि बानी छ । आयोगको अध्यक्ष बन्दाको अनुभूति, महिला क्षेत्रमा योगदान, आयोगको मुद्दा, महिला हिंसालगायतका विषयमा केन्द्रित भई ‘नारी’ की उपासना घिमिरेले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा कस्तो महसुस भयो ?

महिला, सामाजिक तथा मानव अधिकार क्षेत्रमा धेरै समय काम गरेकी छु । दूरदराजदेखि सहरसम्मका महिलाका बीच पनि काम गरेकी छु । ती महिलाका आर्तनाद नजिकैबाट महसुस गरेकी छु । त्यसैले यो दायित्व आफूले पाएजस्तो मलाई लाग्छ । मेरो योग्यता र क्षमताले जति योगदान गरेकी छु, त्यसको पहिचानस्वरूप आयोग अध्यक्षको जिम्मेवारी दिइएको हो । ममाथि भरोसा गरी जिम्मेवारी दिइएकाले दत्तचित्त र इमान्दार भई त्यो निर्वाह गर्नेछु ।

महिला क्षेत्रमा तपाईंको योगदानबारे भनिदिनुस् न ?

०५६ मा कथा संग्रहमार्फत सम्पत्तिमा महिला अधिकार, नागरिकतालगायतका विषय साहित्य लेखनबाट उजागर गरेँ । मानव अधिकार क्षेत्रमा महिला विभागको प्रमुख भई काम गरेँ । महिलाका सम्बन्धमा नीतिनिर्माण तहमा लबिङ गरेँ । कम्तीमा २० प्रतिशत महिला निर्वाचित हुनुपर्छ भनेर महिलाको पक्षमा लबिङ गर्दै स्थानीय विकास मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म पनि पुगियो । त्यसकै उपलब्धि हो, हरेक वडामा एक जना महिलाको उपस्थिति । नचाहँदा नचाहँदै महिलाको संख्या बढ्यो । त्यसपछि सचेतना कार्यक्रममा सक्रिय भएँ ।

राजनीतिक अस्थिरताले आयोगलाई कुनै असर पार्छ ?

आयोगलाई खासै फरक पार्दैन । कार्यान्वयन गर्ने बेलामा यो अस्थिरताको प्रभाव ती संयन्त्रमा पर्न सक्छ । तर आयोगले अलिक बढी अवलोकन र अनुगमन गर्नुपर्ने अवस्था चाहिँ छ ।

अबको आयोगको प्रमुख मुद्दा के हुन्छ ? विगतमा पनि केही गरेन भन्ने छ ?

विगत र अहिलेको आयोगमा फरक छ । पहिले क्याबिनेटबाट महिला आयोग बन्थ्यो । आयोगका हरेक कुरा मन्त्रालयको मातहत, निर्देशन र स्वीकृतिमा गर्नुपर्ने सीमितता थियो । मन्त्रालयले बनाएको निकायजस्तो थियो । तिनै सीमितताले कतिपय काम पूरा नभएका हुन सक्छन् ।

पहिले महिलाको सवाल अभिभावकविहीन भएको जस्तो थियो । महिलाको विषय प्राथमिकतामा परेन भनेरै आयोग गठन भएको हो । आयोगबाट धेरै अपेक्षा गरिए पनि ती सबै एकैपटक पूरा हुन असम्भव छ । किनभने यसका आफ्नै आन्तरिक र व्यवस्थापकीयतथा स्रोत र साधनमा सीमितता छन् । भौतिक पूर्वाधार, जनशक्ति अभाव त छँदैछ । भएका जनशक्ति क्यापसिटी इनह्यान्सको कुरा पनि छ । हाल आयोगमा उजुरी बढ्दो छ । सरदर दिनमा १५–२० जनाको उजुरी आउँछ । उजुरी गरेपछि महिला सुरक्षित हुने/नहुने कुरा पनि छन् । राति पनि ‘रेस्क्यु’ गर्नुपर्ने हुन्छ । रेस्क्यु गरेर ल्याएकाहरूलाई विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा व्यवस्थापन गर्दै आएका छौं । यसरी महिला हकहितको पक्षमा काम गर्दै जानेछौं ।

दिनहुँ बलात्कार, घरेलु हिंसाका घटना भइरहेका छन् । सबै खाले हिंसाबाट महिला कसरी जोगिने ?

यी घटनालाई संवेदनशील भएर हेर्नुपर्छ । यस्ता प्रकृतिका घटना पहिले पनि हुन्थे । त्यतिबेला, ऐन, कानुन, दण्ड सजाय गर्ने व्यवस्था थिएन, महिला त्यति पढेलेखेका पनि थिएनन् । अहिलेको २१ औं शताब्दीमा धेरै ठाउँमा महिला हकहितमा काम गर्ने सामाजिक संस्था छन् । गाउँगाउँमा समूह बनेका छन् । कानुन बनेका छन्, अड्डा अदालत सारा कुरा छन् तर पनि यी कुरा भइरहेका छन् । हाम्रा सामु धेरै चुनौती छन् र तिनलाई गम्भीरतापूर्वक लिइएको छ । आज महिला घरबाहिर निस्कन थाले । पहिले सीमित घेराभित्र बसेर घरेलु श्रमिकका रूपमा भूमिका निर्वाह गरेका थिए । शोषण, दमन, अत्याचार एवं हिंसा त्यहीँ भित्र हुन्थ्यो, त्यहीँ गुपचुप राखिन्थ्यो । पछिल्लो समय बाहिर निस्कन थालेपछि चुनौती पनि थपिँदै गएको छ । हिजो परिवारसँग मात्र फेस गर्नुपर्थ्यो भने अहिले समाजसँग पनि फेस गर्नुपर्ने अवस्था छ । यी कारणले पनि महिलालाई अप्ठ्यारो अवस्था भयो ।

महिला जागरुक भए, उजुरीमा जान थाले । समाज पनि जागरुक भयो, गलतलाई गलत भन्नेहरू बढे । जो पीडित हो उसलाई समाजले झनै तिरस्कार गर्नु, पीडकलाई समाजले जसरी तिरस्कार गर्नुपर्ने हो, त्यो अझै हुन सकेको छैन । यसो हुनुको कारण पितृसत्तात्मक मानसिकता नै हो । त्यसलै शून्य सहनशीलता हुनुपर्छ । समाजबाट पीडितप्रति न्याय र सम्मान हुनुपर्छ । पीडकप्रति तिरस्कारको भाव जागृत गराउनुपर्छ । यस्ता घटनाको मुहान समाज, समुदाय र विद्यालय हो । यसलाई रोक्न समुदाय र विद्यालय तहबाटै हस्तक्षेपकारी भूमिकाको आरम्भ गर्नुपर्छ ।

महिला सचेत र सक्षम कसरी हुने ?

सबैभन्दा पहिले आर्थिक रूपमा सक्षम हुनुपर्‍यो । शिक्षा, चेतना र सीप पनि हुनु आवश्यक छ ।

महिला जिम्मेवार पदमा कसरी पुग्ने ?

जतिसुकै समानताका कुरा गरेपनि महिलामा कामको भार बढी छ । भारी बोकेरै पनि महिला जुध्दै, लड्दै अगाडि बढ्नुपर्ने अवस्था छ । हिजोदेखिको पुरातन मानसिकता कतिपय अवस्थामा रिफ्लेक्ट हुन्छ, त्यसलाई कामबाटै देखाउनुपर्छ । ‘गर्न सक्छु’ भन्ने भरोसा दिलाउन सक्नुपर्छ । साथै महिला सशक्तीकरण हुनुपर्छ । निर्णायक तहमा पुगेका महिलाले नारीलाई माथि ल्याउन सपोर्ट गर्दै उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्छ ।

नारी दिवसलाई वास्तवमै अर्थपूर्ण बनाउन के गर्नुपर्ला ? नेपाली महिलाले पूर्णरूपमा अधिकार पाएका छन् त ?

अधिकार लिन आफैं तयार हुनुपर्छ, अधिकार के हो थाहा पनि पाउनुपर्छ । महिला आफू–आफूमै प्रेरित भई आत्मबल र आत्मविश्वासको विकास गर्दै सबै महिलालाई सम्मानजनक व्यवहार र हातेमालो गरी अघि बढ्नुपर्छ ।

लेखिका र आयोगका अध्यक्षमा कुन काम गाह्रो ?

आ–आफ्नो ठाउँमा उत्तिकै चुनौती छन् । लेखिका हुँदा लेख्नैपर्ने कुरा लेख्दा पनि निकै अप्ठ्यारो अवस्था फेस गर्नुपर्थ्यो । लेखेको कुरा सबैलाई मन पर्दैनथ्यो । अहिले आयोगको अध्यक्ष भएर निष्पक्ष ढंगले काम गर्दा पनि कसै न कसैको प्रभाव पर्न सक्छ । तर दुवै भूमिकामा म रमाएर काम गरिरहेकी छु ।

भविष्यको योजना ?

महिला अधिकारकै लागि काम गरेँ । यही क्षेत्रमा लागिरहनेछु । भावी पुस्ताले घरबाहिर निस्कदा म सुरक्षित छु भन्ने अनुभूति गर्ने वातावरण बनोस् भन्ने काममा लाग्नेछु ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>