Successfully Copied

अनलाइन कक्षा सबैको पहुँच बाहिर

अन्य देशमा भने पाठ्यक्रमलाई जोड दिँदै क्रियाकलापमा ध्यान दिइन्छ । नेपालमा पनि क्रियाकलापमै जोड दिनुपर्छ । क्रियाकलापमा ध्यान दिएर अध्यापन गरे विद्यार्थीहरूलाई मनोरञ्जनका साथै पाठ्यक्रमलाई पनि अघि बढाउन सकिन्छ ।

कोरोना महामारीका कारण सबै शैक्षिक संस्था बन्द भए । जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक कक्षाको अवधारणा सुरु भयो । त्यसै क्रममा भर्चुअल कक्षा सञ्चालन गरिए । सबै वर्गलाई यो कक्षाले समेट्न नसकेको विज्ञहरू बताउँछन् ।

मीनाक्षी दाहाल, इसिडी एक्सपर्ट तथा शिक्षाविद्

अहिले सञ्चालन भएको अनलाइन कक्षालाई कसरी मूल्यांकन गर्नुभएको छ ?

विद्यालय बन्द भए पनि वैकल्पिक कक्षाका रूपमा अनलाइन कक्षा अघि सारियो । अहिलेको सन्दर्भलाई मूल्यांकन गर्दा यसलाई नकारात्मक तथा सकारात्मक दुवै तरिकाले हेर्न सकिन्छ । बालबालिका र तिनका अभिभावकलाई अनलाइन कक्षाले केही राहत दिएको छ । यति हुँदाहुँदै पनि बालबालिकाको रुचिअनुसारको अध्यापन हुन सकेको छैन । विद्यार्थीका लागि अनलाइन कक्षा बोझिलो बन्दै गएको छ ।

अनलाइन कक्षामा सबैको पहुँच त छैन नि ?

हो, सबै बालबालिकाको पहुँच पक्कै छैन । प्रविधिमा सबैको पहुँच नहुनाले अनलाइन कक्षाले विद्यार्थीहरूमा वर्गविभेद भएको छ । सामान्य अवस्थामा त विद्यार्थीहरू विद्यालय आउन सक्ने अवस्था छैन, वैकल्पिक कक्षामा त झन् कसरी पहुँच पुग्ला र ? रेडियो, टेलिभिजन, अनलाइन नेटवर्कमार्फत वैकल्पिक शिक्षा भनेर बुझ्दा पनि सबैले सुन्छन् र पढ्छन् भन्ने सुनिश्चितता छैन ।

यस्तो कक्षा सञ्चालन गर्दा केमा ध्यान दिनुपर्छ ?

अन्य देशमा भने पाठ्यक्रमलाई जोड दिँदै क्रियाकलापमा ध्यान दिइन्छ । नेपालमा पनि क्रियाकलापमै जोड दिनुपर्छ । क्रियाकलापमा ध्यान दिएर अध्यापन गरे विद्यार्थीहरूलाई मनोरञ्जनका साथै पाठ्यक्रमलाई पनि अघि बढाउन सकिन्छ । अर्को कुरा विद्यार्थीहरूको रुचिलाई पनि ध्यान दिनुपर्छ । यहाँ महत्वपूर्ण कुरा के छ भने बच्चाहरूको स्क्रिन समय ख्याल गर्नुपर्छ । लामो समय स्क्रिनमा बस्दा विद्यार्थीहरूलाई पढाइ बोझिलो हुन सक्छ ।

अनलाइन शिक्षा सबै विद्यार्थीका लागि उपयोगी बनाउन कसले पहल गर्नुपर्ला ?

अनलाइन कक्षालाई प्रभावकारी बनाउन शिक्षकहरू परिचालन गर्नु उपयुक्त हुन्छ । जो प्रविधिबाट टाढा छन् उनीहरूका घरदैलोमा शिक्षक परिचालन गरी अध्यापन गर्न सकिन्छ । यसो गर्दा विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुनेछ । वैकल्पिक शिक्षाको नियमित अनुगमन गर्नुपर्छ । कति विद्यार्थी पहुँचमा छन् र कति पहुँचमा छैनन् भनेर तथ्यांक संकलन गरी त्यसलाई थप प्रभावकारी बनाउन सक्नुपर्दछ । यसका लागि सम्बन्धित निकायहरू अग्रसर हुनुपर्छ ।

 Image