Successfully Copied

एसिडमा कानुन

तेजाब (एसिड) ले उनको जीवन पोलिएको छ । एसिडले बनाएको घाउ देखेर उनलाई अस्पतालमा भेट्न जानेले ‘चिन्ता नलिऊ निको हुन्छ’ भनेर सान्त्वना त दिए तर उनलाई थाहा थियो यो घाउ अब कहिल्यै निको हुँदैन, जीवनभर पोलिरहन्छ, जिन्दगीमा कहिल्यै नसकिने चिन्ता बनेर चर्‍याइरहनेछ ।

तेजाब (एसिड) ले उनको जीवन पोलिएको छ । एसिडले बनाएको घाउ देखेर उनलाई अस्पतालमा भेट्न जानेले ‘चिन्ता नलिऊ निको हुन्छ’ भनेर सान्त्वना त दिए तर उनलाई थाहा थियो यो घाउ अब कहिल्यै निको हुँदैन, जीवनभर पोलिरहन्छ, जिन्दगीमा कहिल्यै नसकिने चिन्ता बनेर चर्‍याइरहनेछ । सरकारद्वारा एसिड छ्याप्नेलाई २० वर्ष कैदसहित अध्यादेश पारित हुँदा भने उनको मनमा थोरै भए पनि राहत मिलेको छ, कारण अब कोही दिदीबहिनी आफूजस्तै पीडामा जीवन गुजार्न पर्दैन भन्ने आशा उनीमा जागेको छ । ओखलढुंगाकी पवित्रा कार्की एसिड आक्रमणमा परेको तीन महिनापछि यस्तो अनुभूति गर्न पाएकी छन् । साउन पहिलो साता काठमाडौंको बाफलमा उनीमाथि एसिड प्रहार गरिएपछि अभियुक्तविरुद्ध कडा कानुनी कारबाही हुनुपर्ने माग उठेको थियो । यो आलेखका लागि अन्तर्वार्ता लिने क्रममा पवित्रा दुई महिने लामो अस्पताल बसाइपछि घर फर्किएको पाँच दिन मात्रै भएको थियो । घाउमा मलम लगाउँंदै उनले भनेकी थिइन्, ‘अझै पनि पोलिरहन्छ, नमीठो गरी दुखिरहन्छ । जीवनभर नमेटिने यो घाउलाई कानुनको मलमले कत्तिको राहत दिने हो हेर्न बाँकी नै छ । कानुन प्रभावकारी रूपमा कार्यान्वय भए मात्र हामीलाई मनैदेखि सन्तोष मिल्छ ।’

नेपाली सेनामा कार्यरत उनका बुवा छोरीको यो हालत भएपछि हरक्षण छोरीकै निकट बसिरहन्छन् । पवित्राका तीन जना दिदी र दुई दाइ छन्, सबैको बिहेवारी भइसकेको छ । परिवारकी कान्छी छोरी पवित्रा सानैदेखि पढ्नमा तेज थिइन् । रूपमा पनि उस्तै सुन्दर । गत साउनको पहिलो साता दिउँसोको समयमा उनी दिदीकी छोरीसँग रमाउँदै जिस्किँदै साडी पहिरिएर टिकटक बनाइरहेकी थिइन् । कहिल्यै दही नरुचाउने उनलाई सातादेखि दहीको तलतलले सताएको थियो । जिन्दगीमा जे भोग्नु छ त्यो भएरै छाड्छ । ‘त्यही भएर होला कहिल्यै दही मन नपर्ने मलाई जुजु धौ खान मन लागेको । एक जना अंकललाई दही मगाएकी थिएँ । त्यतिबेला साँझ ७ बजेसम्म उज्ज्यालै हुन्थ्यो । साढे सात बजेतिर दही लिन भनेर पाँच सयको नोट बोकेर सीतापाइलातर्फ लागेकी थिएँ, त्यो दिन सम्झिदै पवित्रा भन्छिन्, ‘दिनभरि पनि उसको कल आइरहेको रहेछ । मलाई वास्तै भएन । जसै म दही किनेर सीतापाइला चोक कट्दै थिएँ, फोन आयो । रिसिभ गर्न मन नहुँदा नहुँदै पनि खोइ के भयो कल उठाएँ । कल उठाएर कुरा गर्दागर्दै मोटरसाइकल लिएर ऊ मेरो अगाडि आइपुग्यो । बस, म पुर्‍याइदिन्छु भन्यो । मैले मानिन, निक्कै कर गरेपछि पानी परेको वर्षायामको हिलो बाटो होस् न त भनेर मोटरसाइकल पछाडि बसें । अलि पर पुगेर एउटा पसलमा चिउरा किन्न ओर्लिएँ ।’ उनले अगाडि थपिन्,‘अब त म हिँडेरै जान्छु भन्दा पनि कर गरिरह्यो र फेरि चढें । घर पुग्न २ मिनेटको बाटो बाँकी थियो होला उसले मोटरसाइकल रोक्यो म झरेर नबोली घरतर्फ अगाडि बढें ।’ केही पाइला हिँड्नेबित्तिकै पिसाब फेरे जसरी बसेको केटालाई उनले देखिन् । उनको मनमा चिसो पस्यो । अगाडि बढौं कि नबढौं द्विविधा भयो र पनि उनी अगाडि बढिन् । त्यही केटाले उनीमाथि एसिड प्रहार गर्‍यो । दाहिने हातमा झुन्ड्याएको दही–चिउरा लिएरै चिच्याउँंदै उनी घरभित्र पुगिन् । पानी हाल्नुपर्छ भन्ने कसैलाई हेक्का भएन । सबैले अस्पताल, डाक्टर मात्रै भन्न थाले । उनलाई मनमोहन अस्पताल लगियो । त्यहाँ नहुने भनेपछि कीर्तिपुर अस्पताल पुर्‍याइयो, एक घण्टा उनलाई पानीमा डुबाएर राखियो । उत्तिखेरै पानी खन्याउन पाएको भए धेरै राहत हुने र गहिरो खत नबस्ने उनी बताउँछिन् । विशेषतः उनको टाउको एसिडले खाएको छ । निधार, नाक र चिउँडोमा गहिरो घाउ छ । उनी भन्छिन्, ‘यो देखिएको घाउ त केही पनि होइन पीडाको अगाडि । पहिला–पहिला एसिड छ्यापेको सुन्दा मलाई पनि सामान्य लाग्थ्यो तर होइन रहेछ, यो पीडा भोग्नेलाई मात्र थाहा हुँदो रहेछ । जसरी मलाई जीवनभरका लागि यो पीडा दियो उसलाई एसिडले भरिएको बाल्टिनमा चोपलेर त्यो जलन कस्तो हुन्छ अनुभव गराउन पाए हुथ्यो भन्ने मनमा लागिरहन्छ ।’

बाबुको उमेरको मान्छे आफूले अभिभावकसरह ठानेकै कारण मात्र कहिलेकसो सम्पर्कमा रहेको बताउने पवित्राले त्यही मान्छेले आफ्नो यो हविगत गराउला भन्ने कल्पनासम्म गरेकी थिइनन् ।

आफ्नी फुपूको छोराको साथीले विवाहका लागि गरेको प्रस्तावलाई अस्वीकार गरेकै कारण ०७० मा हेटौंडामा एसिड आक्रमणमा परेकी विन्ध्यवासिनी कंसाकार एसिडविरुद्धको कानुन आउनु अत्यन्तै सुखद कुरा भए पनि यसको प्रभावकारी कार्यान्वयन भएन भने अर्थहीन हुने बताउँछिन् । उनी भन्छिन्, ‘कागजी कानुनले मात्रै पुग्दैन कानुनले व्यावहारिकता पाउनुपर्छ यसका लागि सरकारद्वारा नै चेतनामूलक अभियान चलाउनु जरुरी छ । कुनै पत्रपत्रिकामा नियमित सूचना पस्किएर होस् वा टिभी या भिडियोमार्फत निरन्तर सूचना प्रवाह गरेर यससम्बन्धी जनचेतना जगाउनु जरुरी छ । कानुनमा के छ सबैलाई थाहा हुनुपर्छ ।’

उनलाई विवाहको प्रस्ताव राख्ने भारतीय नागरिकको हर्कतका बारेमा विन्ध्यवासिनीले आफ्ना बुवालाई भनेकी थिइन् । यही सुईंको पाएर आफ्नै भाँडा पसलमा बसिरहेकी विन्ध्यवासिनीलाई उक्त युवकले एसिड प्रहार गरेका थिए । उनको विचारमा एसिडलाई मिनरल वाटरको बोतलमा पाइने सस्तो वस्तुका रूपमा हेर्ने परिपाटी बन्द हुनुपर्छ । कसैले घरमा नयांँ टायल्स लगाउँदा दाग बस्यो भने त्यो सफा गर्न पनि एसिडको प्रयोग गर्छन् । अरु पनि दाग हटाउने विकल्पका बारेमा सुसूचित गराइनुपर्छ । उनकै भनाइमा कुनै बच्चाले पानी ठानेर मिनरल वाटरको बोतलमा भएको एसिड पियो भने उसको ज्यान जान्छ त्यसको जिम्मा कसले लिने ? किनेर ल्याउने अभिभावकले वा बिक्री–वितरण गर्ने व्यापारीले ? तसर्थ खुलेआम एसिड बिक्री–वितरणमा रोक लगाइनुपर्छ । यसको असर बुझेर आफैंले नकिनिदिने सजग र सचेत मानिसहरूको समाज बन्नु आवश्यक छ । एसिडका विरुद्ध कानुन बनेकोमा विन्ध्यवासिनीलाई आफूहरूले उठाएको आवाज सार्थक भएको महसुस भएको छ । घाममा निस्किन नमिल्ने शरीर र एसिडद्वारा पोलिएको अनुहारलाई प्लेकार्ड बनाएर लडेको लडाइँमा उनलाई जीत महसुस भएको छ । उनी भन्छिन्, ‘त्यो मरण भन्दा चर्को पीडा अरुले खेप्न नपरोस् भनेर डटेर लागेका थियौं । कुनै संस्था वा एनजिओसँग नलागी एक्लै लडिरहँदा सरकारद्वारा कानुन ल्याइएको छ । अबका दिनमा एसिडबारे सोच्न डराउने वातावरण बनेको छ । यसलाई उपलब्धिका रूपमा लिनुपर्छ । तर कतिपयलाई कानुन छ भन्ने थाहै छैन त्यसका लागि उल्लेख्य रूपमा सूचनामूलक र सचेतनामूलक कार्यक्रम ल्याइनुपर्छ ।’

उता पवित्रा कार्कीको भनाइ पनि उस्तै छ । उनलाई पनि कानुनबारे धेरैलाई थाहा नभएको भन्ने लाग्छ भने कतिपयले थाहा पाउँदा पाउँदै पनि विविध कारणले अन्धो भएर एसिड छ्याप्ने उनी बताउँछिन् । त्यस्तालाई सजाय काटेकाहरूको उदाहरण देखाउनु जरुरी छ भन्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘एसिड बिक्री–वितरणमा अनिवार्य लाइलेन्सको व्यवस्था गर्नुपर्छ । कानुन छ भन्ने कुराको सूचना सबैमाझ पुग्ने खालका चेतनामूलक कार्यक्रम ल्याइनुपर्छ ।’

कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा टिनएजमै एसिडद्वारा घाइते भएकी मुस्कान खातुनले भनेकी थिइन्, ‘कानुन आफैंमा बलियो संयन्त्र हो । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा आगामी दिनमा कसैले पनि एसिडको पीडा खप्न पर्दैनथ्यो । कानुन आउनु हाम्रो लडाइँको जीत हो ।’ एसिडविरुद्धको अभियानमा लागिपरेका अभियन्ता उज्ज्वलविक्रम थापाका अनुसार यो अभियान एक विन्दुमा पुग्न सफल भयो । एसिडका विरुद्ध नेपाल अहिले धेरै मुलुकका लागि उदाहरण बन्न सफल भएको छ । बनेका कानुनलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा जोड दिने यो अबको चुनौती हो । थापाले भने, ‘यसमा हामी अभियन्ता, एसिड प्रभावित मात्र नभएर सरकारसमेत गम्भीर रूपमा लागि परेका छौं । सहकार्यले सही परिणाम ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।’

अर्की एसिड पीडित संगीता मगर कानुन नै आइसकेपछि त कसो नडराउलान् भन्ने धारणा राख्दै भन्छिन्, ‘अब पहिला जस्तो निडर र जब्बर नहोलान् । कानुनको दायराबाट फुत्किएर कोही कतै जान सक्दैन । यत्ति हो कानुनको सही कार्यान्वयन हुनुपर्छ ।’

२२ वर्षीया पवित्राले नेपालमा आफू नै अन्तिम एसिड पीडित हुन चाहेको इच्छा जाहेर गरिन् । ‘अब आउने दिनमा कुनै पनि दिदीबहिनी, दाजुभाइ, आमाबुवा एसिड पीडित हुन नपरोस्’ उनले भनिन्, नेपालमा अब यो कालमै टुंगियोस्, म पछि कहिले कसैलाई पनि यस्तो घटना घटेको देख्न र सुन्न नपरोस् । मबाटै यसको अन्त्य होस् । ’

 

यस्तो छ कानुन

एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुर्‍याए २० वर्ष कैद सजाय हुने गरी कानुन बनेको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुर्‍याएमा २० वर्ष कैद र १० लाख क्षतिपूर्ति भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेले अध्यादेश राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिएको बताइन् । ‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश मन्त्रिपरिषद् बैठकले पारित गरेको छ,’ उनले भनिन्, ‘अध्यादेश आजै राष्ट्रपतिमार्फत प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ।’

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै एसिड प्रहारसम्बन्धी कसुरमा अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा पनि सजाय हुन सक्ने व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यी दुवै कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत एसिडसम्बन्धी छुट्टै कानुन बनाउन लागेको हो ।

नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ । नयाँ कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ । एसिड बिक्री–वितरणमा जिल्ला प्रशासनबाट लाइसेन्स लिनुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

 Image