‘शक्तिलाई प्राथमिकता दिने पर्व’

पूजापाठसँगै मनोरञ्जन गर्नु, सामाजिक भाइचारा कायम राख्नु, पारिवारिक सम्बन्ध सुदृढ बनाउनु, समाजलाई व्यवस्थित बनाउनु, प्रकृति अदृश्य शक्तिमाथि कृतज्ञता व्यक्त गर्नु नै चाडपर्वको महत्वपूर्ण पक्ष हो ।

नारी संवाददाता

कार्तिक ४, २०७७

प्रा.निर्मला पोखरेल, संस्कृतिविद्

संस्कृति केन्द्रिय विभाग कीर्तिपुर

त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रिय विभागमा २५ वर्षदेखि प्राध्यापन गर्दै आएकी प्रा.निर्मला पोखरेलस्नातकोत्तरका विद्यार्थीलाई मूर्ति विज्ञान पढाउँछिन् । उनले मूर्तिकलामा साना–ठूला गरी धेरै अनुसन्धान गरिसकेकी छन् । केही महिनाअघि पशुपति क्षेत्र विकास कोषद्वारा प्रकाशित ‘पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा×’मा मूर्तकलाका बारेका चार सय पृष्ठको उनको अनुसन्धान प्रतिवेदन समावेश छ । पशुपतिनाथको वास्तुकला, मन्दिर विहार, चैत्य, स्तूप, धर्मशालामा केन्द्रित उक्त प्रतिवदन उनले एक वर्षमा तयार परेकी हुन् । पशुपतिमा भएको शाक्तकला कृति (देवी) मा गरेको उनको पीएचडी अन्तिम चरणमा छ । सानो छँदा मन्दिरमा मूर्ति देख्दा कसरी उत्पत्ति भएको भन्ने उनी नेवार समुदायमै हुर्केकीले त्यही समुदायकै पूजापाठ, चाडपर्व देखेर संस्कृतिप्रति आकर्षित भएको बताउँछिन् । चाडपर्वको सेरोफेरोमा रहेर संस्कृतिविद् निर्मलासँग नारीकी उपासना घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :

दसैंमा पूजा गरिने नवदुर्गाको महिमा बताइदिनुहोस् न ?

दसैंमा पूजा गरिने उग्र स्वरूप नवदुर्गा हुन् । यसमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री पर्छन् । नवदुर्गाको यो समूह मात्र प्रचारमा आएको र राजामहाराजाहरूले पनि यिनीहरूकैमात्र पूजाआजा गर्छन् । दसैंमा अष्टमातृकामा पुरुषहरूको शक्ति स्वरुपिणी कुमारको कौमारी, विष्णुको वैष्णवी, वराहको वाराही, ब्रह्माको ब्रह्मायणी, यमराजको चामुण्डा यी आठवटामा त्रिपूरा सुन्दरी मिसाइसकेपछि नवदुर्गा हुन्छ । दसैंका बेला शक्ति प्राप्त होस् भन्नका लागि अष्टमातृका, नवदुर्गा सबैको मुख्य स्वरूपको पूजा गरिन्छ । जीवित देवीलाई पनि नवदुर्गा मानिन्छ । दुई वर्षदेखि ११ वर्षसम्मका बालिका पनि नवदुर्गाभित्र पर्छन् ।  दैत्यलाई नाश गर्ने, भक्तलाई रक्षा गर्ने, देवतालाई पोषण गर्ने आशयले दुर्गाको उत्पत्ति भएको हो । खराब तत्वलाई नष्ट गर्न सक्ने शक्ति देवीमा हुन्छ ।

चाडपर्वमा महिला बढी व्यस्त हुन्छन् यो कत्तिको जायज छ ?

महिलामा ठूलो र दोहोरो जिम्मेवारी छ । पहिलेदेखि नै जिम्मेवार लिनुपर्ने र शारीरिक अवस्था पनि त्यस्तै भएर आयो । गर्भवती हुने र बच्चालाई जन्म दिने कुरा प्रकृतिले महिलालाई दियो । प्रकृतिले महिलालाई घरको सेरोफेरोमा बाँधिदियो र यी कुरामा दक्ष भए । आफूले जानेको कलामा व्यस्त हुँदा स्तरीय हुने भयो । महिलामा मात्र यो क्षमता भएकाले यो शोषण होइन । महिलालाई पुरुष र समाजले शोषण गर्न खोजेको होइन । प्रकृतिले दिएको कुरा ग्रहण गर्दा स्वभावैले यस्तो हुन गएको हो । त्यसो त क्षमता भयो भन्दैमा महिलालाई काम थुपार्ने होइन, पुरुषले बीच–बीचमा सपोर्ट गर्नुपर्छ ।

दसैं भन्नासाथ के कुरा क्लिक हुन्छ ? यसको पहिचान के हो ?

दसैं भन्नासाथ चराचर जगत् सृष्टि शक्तिबाट सञ्चालित छ, त्यसको अंश नारी हो भन्ने कुरा अनुभूत हुन्छ । विधिवत् रूपमा शक्तिलाई प्राथमिकता दिने पर्व जस्तो लाग्छ, दसैं । दशैंमा विभिन्न देवीका मन्दिर जाने र बलि दिने गरिन्छ । जनावरलाई काटेर दिइने मात्र बलि होइन । मासको पीठोलाई पशुको स्वरूप बनाएर अस्त्रले काटेर पनि देवीलाई बलि दिइन्छ । पशु बलिको विकल्पका रूपमा कुभिन्डो, घिरांैला एवं मुलालाई लिइन्छ । यसैगरी जटासहितको नरिवललाई पनि बलि मानिन्छ । बलि भनेको यो मात्र नभै मानिस भित्र भएका खराब तत्व काम,क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई पनि यही दसैंको बेला बलि दिनु भनेको हो । यी तत्व बढी भए क्षति हुन्छ ।

चाडपर्वको महत्वपूर्ण पक्ष के हो ?

पूजापाठसँगै मनोरञ्जन गर्नु, सामाजिक भाइचारा कायम राख्नु, पारिवारिक सम्बन्ध सुदृढ बनाउनु, समाजलाई व्यवस्थित बनाउनु, प्रकृति अदृश्य शक्तिमाथि कृतज्ञता व्यक्त गर्नु नै चाडपर्वको महत्वपूर्ण पक्ष हो । त्यसैगरी प्राचीन समयदेखिका उपयोगी चीजलाई निरन्तरता दिनु पनि यसको महत्वपूर्ण पक्ष हो ।  

नवदुर्गाको पूजा गरिन्छ, तर महिनावारी भएका बेला महिला अलग बस्नुपर्छ, यो कत्तिको जायज छ ?

महिनावारी हुँदा त्यसको उचित व्यस्थापन गर्न नसक्दा शारीरिक रूपमा कमजोर हुने र रक्तस्राव भइरहेको बेला आराम पुगोस् भनेर अलग बस्नु भन्ने आशयले पहिले यो नियम बनेको हुनुपर्छ । यो कुनै भेदभाव गर्ने उद्देश्य होइन । महिनावारी हुँदा अलग बस्नुपर्छ भन्ने कुरा कुनै शास्त्रमा उल्लेख छैन । मन्दिर भित्रै गएर पूजा नगरे पनि बाहिरबाट दर्शन गर्न हुन्छ, यो मेरो व्यक्तिगत मान्यता हो । महिनावारीका बेला अलग बसेर भान्सामै पस्न हुँदैन भन्ने मलाई लाग्दैन ।  

दसैंका जमरा, दक्षिणा र टीकाको महत्व के होला ?

निधारको बीचभागमा सम्पूर्ण शक्तिको केन्द्र हुने भएकाले शक्तिको सम्मानस्वरूप टीका लगाउने गरिन्छ ।जौ र मकैको जमरा लगाइन्छ । दसैंका बेला आकारमा राम्रो, शुद्ध वनस्पति र बहुउपयोगी हुने भएकाले जौको जमरा उत्कृष्ट मानिन्छ । टीका लगाएपछि खाली हात नहोस् भनेर शोभा, सगुनस्वरूप दक्षिणा दिइन्छ । द्रव्य भनेको पनि देवी नै हो ।

चाडपर्वलाई कसरी महिलामैत्री बनाउनुपर्ला ?

चाडपर्वमा नेतृत्व महिलाकै चाहिन्छ । महिलाले मात्र सबै काम गर्नुपर्छ भनेर नसोची पुरुष, घरपरिवार, समाज, राष्ट्रले सशक्त सहयोगीको भूमिका आ–आफ्नो तवरबाट निर्वाह गरिदिनुपर्छ । चाडपर्वमा बिदा दिने कुरा, साना बालबालिका हुँदा रेखदेखको व्यवस्था हुनुपर्छ ।

चाडपर्व कसरी मनाउनु उपयुक्त हुन्छ ?

शुद्ध, सफासुग्घर र सामान्य हिसाबले चाडपर्व मनाउनुपर्छ । गरगहना वा महँगा वस्तुको प्रयोग नगरी महिलाले सामान्य रूपले आफूलाई सिंगार्नुपर्छ । पर्वपिच्छे नयाँ गहना र लुगा फेर्ने अनुत्पादक क्षेत्रमा खर्च गर्ने कुरालाई बढावा दिनुहुँदैन । चाडपर्व प्रकृतिमैत्री हुनुपर्छ । स्वस्थवद्र्धक, मौसमी खानेकुरा खान सकिन्छ । मारकाटलाई कम प्राथमिकता दिई प्रकृतिबाट उत्पादन भएका वस्तुलाई प्रयोगमा ल्याउनुपर्छ । मौसमी र प्राकृतिक खाद्यवस्तु प्रयोग गरेर भोज गनुपर्छ । देखासिकी, अनावश्यक आडम्बर गरेर, यसको मर्म र अर्थ नबुझेमा विकृति उत्पन्न हुन्छ । प्रकृतिले दिएका राम्रा कुरालाई सही मात्रामा प्रयोग गरी चाडपर्वको मज्जा लिनुपर्छ ।   

अहिलेको विषम परिस्थितिमा चाडपर्व कसरी मनाउनु उचित हुन्छ ?

सबैजना सुरक्षित रहने र स्वस्थवद्र्धक खानेकुरा खानुपर्छ । पशुजन्य रोग पशुलाई लाग्न सक्ने भएकाले मारकाटलाई प्राथमिकता नदिई सामान्य ढंगले चाडपर्व मनाउनु सान्दर्भिक हुन्छ ।  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>