Successfully Copied

सिंगल एण्ड बोल्ड

सामाजिक सञ्जालमा ‘द सिंगल वुमन’ अभियान चलाउने म्यान्डी हेल एउटी एकल महिला हुन् । उनले चलाएको अभियान भने हिजोआज ‘सामुहिक विश्व आबाज’ बनेको छ ।

सामाजिक सञ्जालमा ‘द सिंगल वुमन’ अभियान चलाउने म्यान्डी हेल एउटी एकल महिला हुन् । उनले चलाएको अभियान भने हिजोआज ‘सामुहिक विश्व आबाज’ बनेको छ । ब्लगर, लेखक तथा प्रखर वक्ता समेत रहेकी उनी आफ्नो ब्लग र बुक्स मार्फत् अमेरिकी अखबार ‘न्यूयोर्क टाइम्स’ को ‘बेस्ट सेलर’मा दरिएकी छन् । यी र सोसल मिडिया प्लेटफर्ममार्फत उनी दैनिक करोडौं पाठक र दर्शक–श्रोता माझ पुगिरहेकी हुन्छिन् । एकल महिला जीवनलाई कसरी अर्थपूर्ण बनाउने भन्ने सूचनासहित उनी आफ्ना प्रशंसक समक्ष पुग्ने गर्छिन ।

अमेरिकी पत्रिका ‘फोर्ब्स’ को सूचीमा समेत परेकी म्यान्डी र उनको कामलाई विश्वभरकै महिलाले सम्मान गर्छन । उनीप्रति श्रद्धाले शीर निहुराउँछन् । ‘एकल महिलाका लागि सशक्त आवाज’ को उपमा समेत पाएकी उनले सन् २०१३ मा रिलिज गरेको ‘द सिंगल वुमन–लाइफ,’ ‘लभ एण्ड अ ड्यास अफ सास’ ले ५ सयभन्दा बढी ‘फाइभ–स्टार रिभ्यु’ पाइ सकेको छ । यसैगरि, सन् २०१४ मा प्रकाशित उनको ‘आइ ह्याभ नेभर बिन टु भेगास बट माइ लगेज ह्याज’ लाई ‘न्यूयोर्क टाइम्स’ ले सर्वाधिक विक्री हुने पुस्तकमा सूचीकृत गर्‍यो । सन् २०१६ मा रिलिज भएको उनको पुस्तक ‘ब्युटिफुल अनसर्टेनिटी’ र सन् २०१८ मा प्रकाशित ‘यु आर इनफ–हर्टब्रेक’, ‘हिलिङ एण्ड बिकमिङ होल’ ले विद्वत्वर्गको मथिंगल तताइरहेकै छ । म्यान्डी लेख्छिन्, ‘एकल जीवनमा विकल्पहरूको कुनै अभाव हुँदैन । जीवनमा विकल्पहरू छनोट गर्दा तपाईले आफ्नो व्यक्तिगत सम्बन्ध–अवस्था हेरेर अघि बढ्न औंधी खुसी भेटाउनु हुनेछ ।’ उनले लेखेका प्रत्येक पुस्तक एकल जीवनको सशक्तीकरण र खुसीसँग सम्बन्धित छन् । एकल जीवनबारे आफ्नो अनुभव पोख्नेहरूमा अन्य पनि भेटिन्छन् । ‘जंगली साँढेका सिङ निकालेर मेरो निधारमा टाँसेर लेखिदिनुस्–यहाँ भाडामा राम्रो घोडा पाइन्छ’ प्रख्यात अंग्रेजी साहित्यकार सेक्सपियरले आफ्नो बहुचर्चित कमेडी नाटक ‘मच एडो अबाउट नथिङमा’ लेखेका छन, ‘तिनीहरूले मेरो चिन्ह र अंगलाई अलग चित्रण गरी त्यहाँ एउटा विवाहित साँढेलाई देख्न सक्नेछन् ।’ शायद यो भनाइलाई विश्लेषण गर्दा एकल जीवनको स्वतन्त्रता आँकलन गर्न गाह्रो नपर्ला । मनोविद् रोजिना मानन्धर भन्छिन्, ‘एकल जीवनमा चौतर्फी बोझ नहुने भएकाले जीवन खुकुलो र स्वतन्त्र हुन्छ । मानसिक रूपमा सिर्जनशील हुन र छिटो प्रगतिपथमा लम्किन सघाउँछ ।’ उनका अनुसार यसमा बेफाइदा पनि उस्तै छ । ‘कोही मानिस एक्लो महसुस गर्ने, मेरो कोही छैन भन्ने कुरा दिमागमा खेलाइरहने, अरूको सफल र खुसी पारिवारिक जीवन देखेर मनमनै आफ्नो पनि यस्तै भइदिएको भए.....भन्ने सोच्ने जस्ता मानसिक विचलनका कारण विविध समस्या नहोलान् भन्न सकिँदैन’ उनी भन्छिन्, ‘तर यसको उपचार भनेकै घुलमिल हुने, सामाजिक हुने, काममा आफूलाई केन्द्रित गर्ने नै हो । त्यति गर्दा पनि नभए मनोचिकित्सकसँग परामर्शमा जानुपर्छ ।’

समाजशास्त्री निर्मला ढकाल भने मानव सभ्यताको उदाहरण दिंदै ‘सिंगल लाइफ’लाई स्वतन्त्रताको संज्ञा दिन्छिन् । उनका अनुसार मानव सभ्यताको सुरुवाततिरको अवस्थालाई पढ्दा कोही पनि पारिवारिक रूपमा बाँधिएर बस्दैनथे । त्यतिबेला समाज खुल्ला र स्वतन्त्र थियो । विवाह नामक संस्था स्थापनाकालपूर्व आफूले चाहेको मानिससँग समय बिताउने र इच्छा घट्दै जाँदा वा विचार बाझिँदै जान थाल्यो भने छुट्टिन्थे । क्रमशः मानिसहरू एकत्रित भएर बस्न थाले, परिवार नामक संस्थाको निर्माणक्रम सुरु भयो । त्यसपछि मात्रै महिला–पुरुष, श्रीमान्–श्रीमतीका रूपमा बाँधिएर बस्न थाले । जति मानिस आफूले भनेको काम गर्न पाउँदा खुसी हुन्छ त्यति अरूको निगरानीमा असहज र दबिएको महसुस गर्छ । सिंगल लाइफको मुख्य फाइदा भनेकै स्वतन्त्रता हो ।

ओशोले वैवाहिक जीवनबारे एउटा भविष्यवाणी नै गरेका थिए । त्यसैक्रममा उनले लेखे, ‘परिवार नामक संस्था अबको केही वर्षपछि ढल्ने छनक अहिले देखिएको विवाहेतर सम्बन्ध हो । खुला आकाशमा उडेको पंक्षी जति प्रफुल्ल हुन्छ त्यति पिँजडाभित्र थुनिएको सुगा हुँदैन । त्यस्तै, मानिस पनि स्वतन्त्रता चाहन्छन् । एकल वा स्वतन्त्र मानिस र परिवारको जञ्जालभित्र जेलिएको मानिसलाई तुलना गर्दा पक्कै पनि सिंगल पर्सन इज मोर ह्याप्पी देन अदर्स ।’

कोमल वली

सञ्चारकर्मी, गायिका तथा राजनीतिज्ञ    

विवाह नगरेकोमा कुनै पछुतो छैन, खुसी छु । पहिलेको समय, यो ब्रह्माण्डको सृष्टिमा महिलाले घरभित्रको काम गर्ने र बाहिरको काम पुरुषले गरेर जीविकोपार्जन गर्नुपर्ने स्थिति थियो । महिलाहरू आत्मनिर्भर हुने वातावरण बिस्तारै सिर्जना हुँदै गयो । हाम्रो देशमा सुधारोन्मुख अवस्था छ, पूर्ण भइसकेको छैन । सिंगल महिलाले आफ्नो महत्व बुझेका हुन्छन् । मैले जन्मिनुको, कर्म गर्नुको, जीवन जिउनुको महत्व बुझेकी छु । त्यो बुझेपछि एकदम खुसी भएर जीवनयापन गर्न सकिन्छ । त्यो एउटा वातावरणले पनि बनाउने कुरा हो । पारिवारिक, सामाजिक वातावरणले बनाउँछ । भोलि बुढेसकालमा पानी कसले खुवाउँछ भन्ने छ अहिलेसम्म, विवाह गरेन भने समाज उराठलाग्दो हुन्छ । म विवाहको विरोधी होइन । तर विवाह गरेको भए समय मात्र होइन इफोर्टसम्म सेयरिङमा जान्थ्यो । मलाई अरूको जिम्मेवारीको बोझ छैन । स्वतन्त्रता इन्जोय गरिराछु । आफूलाई इच्छा लागेको गर्छु । मलाई मानौं निद्रा लागेन कसैलाई डिस्टर्व होला भनेर आफ्नो मन मारेर बस्नु पर्दैन । आफ्नो इच्छामा चल्न पाएकी छु । एकल जीवनको स्वतन्त्रता गज्जबको छ, सायदै कसैले यस्तो फ्रिडम प्रयोग गरेका होलान् । सन् २०१८ मा विश्वका विभिन्न देशमा गरेको शोधमा ६१ प्रतिशत महिला एक्लै बस्दा खुसी भएको प्रतिवेदन सार्वजनिक भएको थियो । त्यसमा ४९ प्रतिशत पुरुष एकल जीवनमा खुसी भएको तथ्यांक थियो । यो तनावमुक्त जिन्दगी हो । विवाहपछि सामाजिक र पारिवारिक दोहोरो जिम्मेवारी निभाउनुपर्छ । विवाहपछि काम गर्छु, कमाउँछु, मेरा छोराछोरीका लागि, आफ्ना लागि कहिले त ? मलाई अहिले आर्थिक एवं सामाजिक रूपमा कुनै चिन्ता छैन । कमाएर छोराछोरीका लागि जम्मा गरेर राखिदिनुपर्छ भन्ने छैन । मानिस कुनै पनि रूपमा पूर्ण हुनै सक्दैन किनभने शतप्रतिशत विवाह गरेका महिला–पुरुष खुसी छैनन् र शतप्रतिशत अविवाहिताहरू पनि खुसी छैनन् । कुन कुरालाई सन्तुष्टिका रूपमा लिने ? भन्ने विषय व्यक्तिमा निर्भर रहन्छ । जन्मिँदा एक्लै जन्मिएको हो, पछि आउने सबै कुरा जीवन सञ्चालनका लागि आवश्यक ठानेमा कर्म गर्दै जाने कुरा हुन् । म आफ्नो जीवन स्वतन्त्र, स्वनिर्भर र आफ्नै कर्ममा जिउन सक्षम भएकी छु । अरु कसैको निर्भरतामा उभिन्थें भने सफल नहुन पनि सक्थें कि ? मैले गर्ने कुरा मेरो जीवनसाथीलाई मन नपर्न सक्थ्यो । राजनीति मन नपर्न सक्थ्यो ।

चुनौती नभएको जीवन नै हुँदैन । जब–जब धेरै चुनौती हुन्छन् त्यो मान्छेको कर्तव्य बढ्दै गयो भन्ने बुझ्नुपर्छ । हाम्रो जस्तो समाजमा महिलालाई लाञ्छना लगाइन्छ । विदेशमा ‘ब्बाइफ्रेन्ड’ छैन भन्यो भने यो केटीमा केही स्वास्थ्य समस्या छ कि भनिन्छ तर हामीकहाँ उल्टो छ । जीवनको लक्ष्य के हो भन्नेमा क्लियर भएपछि अन्य कुरा गौण हुन्छन् । एकजना मान्छे मात्रै हिँड्दा अर्को मान्छे साथ दिन आउँदा खुसी पक्कै आउँछ । यसमा असहमत छैन तर सबैमा यही नै होला भन्ने हुँदैन । महिलाले विवाहपछि आफूमा भएको प्रतिभा दबाउनुपर्ने हुन्छ । हाम्रो जस्तो कन्जरभेटिभ समाजमा महिलाले धेरै गुमाउनुपर्छ । श्रीमान्को इच्छाअनुसार चल्न तयार हुनुपर्छ कि त कम्प्रोमाइज गर्नुपर्ने हुन्छ । सिंगल लाइफको स्वच्छन्दता, स्वतन्त्रता, आत्मसम्मानसहितको पहिचान सुन्दर जीवन अत्यन्तै खुसियालीपूर्ण छ । हामी संयुक्त र ठूलो परिवारमा बस्छौं । त्यसैले एक्लोपनको महसुस नभएको हुनसक्छ । जो व्यस्त, ऊ मस्त म र मेरो जीवनको सूत्र ।

पूनम प्रधान, (उमेर–४७ वर्षर्), व्यवसाय

‘म आफ्नै मर्जीको मालिक हुँ ।’ जीवनमा विवाहप्रतिको मोह नभएको बताउने पूनम प्रधानले कुराकानीको सुरुवातमै भनिन्, ‘मेरी हजुरआमाले विवाहलाई दोस्रो र आत्मनिर्भरतालाई पहिलो प्राथमिकतामा राख्न सिकाउनुभयो जुन कुरा मेरो बालमस्तिष्कमा उतिबेलै सेट भइसकेको थियो । त्यसैले मैले विवाहलाई कहिल्यै पहिलो विकल्प मानिन ।’ यो उमेरसम्म उत्तिकै तरोताजा शरीर र मस्तिष्क बोकेकी पूनम यसलाई अविवाहित रहनुको परिणाम हुनसक्ने बताउँछिन् । अरूको निगरानीमा बस्न नसक्ने र स्वनिर्णय गर्नुपर्ने स्वभावले गर्दा पूनमले विवाह गरिनन् । ०५८ मा साथीको अन्टीको घरको एउटा सानो कोठाबाट सुरु गरेको उनको होस्टल व्यवसाय आज विभिन्न शाखामा रूपान्तरित भइसकेको छ भने आज उनले ह्याप्पी सिंगल लेडीको स्वपहिचान स्थापित गरिसकेकी छन् । ‘महिला एक्लै गर्न सक्छन् र एक्लै खुसी हुन पनि सक्छन् ।’ पूनमले भनिन्, ‘हाम्रो चलिआएको संस्कार र चलनको प्रभावले सामाजिक सुरक्षामा कहिलेकाहीँ प्रश्न उठ्ने मात्र हो । त्यसबाहेक सिंगल बस्नुको अर्को बेफाइदा भेटेकी छैन मैले । यसमा फाइदै–फाइदा छन् ।’ विवाह गरेकै भए पनि आफ्नो बोल्ड र लिडरसीप स्वभावले त्यो विवाह टिक्दैनथ्यो होला भन्ने पूनम विवाहपछिको जीवन जिम्मेवारीको बोझ र अरुलाई खुसी बनाउने ध्याउन्नमै बित्ने बताउँछिन् । त्यति मात्र नभएर हाम्रो समाजमा अहिलेसम्म पनि विवाहपछि महिलाले आफ्नो खुसी, करियर, पढाइ आदि कुरालाई दोस्रो स्थानमा राखेर अर्काको खुसीका लागि समर्पित हुनुपर्ने र यसैमा सम्झौता गरेर बस्नुपर्ने पूनमको बुझाइ छ । अरूको अपेक्षा शतप्रतिशत पूरा गर्न नसक्ने, अर्कासँग हेपिएर बस्न मन नपर्ने, आफैं निर्णय गर्नुपर्ने, बढी नै सामाजिक लोकाचारमा नरमाउने आफ्नै स्वभावलाई पहिचान गरेर उनले विवाह नगर्ने निर्णय गरेको र यो निर्णय आफ्नो जीवनकै उत्तम निर्णय भएको उनको निष्कर्ष छ । अहिले त पूनमका साथीभाइ, आफन्त, इष्टमित्र पनि तिमीले विवाह नगरेर ठीक गर्‍यौ भन्छन् । उनका अनुसार विगतमा पनि उनलाई विवाहका लागि परिवारबाट कहिल्यै दबाब आएन । त्यसलाई उनी आफ्नो पक्षमा भएको राम्रो कुरा ठान्छिन् । पूनम भन्छिन्, ‘एकल जीवनमा झनै आफूलाई सक्रिय राख्ने थुप्रै तत्व भेटिँदा रहेछन् । अरूले गरिदेलान् भनेर भर परी नबस्ने, आफ्नो इच्छाअनुसारको निर्णय गर्दा जीवनमा बढी खुसी थपिने, अरूको दबाबमा बस्न नपर्दा मानसिक रूपमा सिर्जनशील भइने, कसैमा आश्रित भएर बाँच्न नपर्दा आफैंप्रति गर्वानुभूति हुने कुराले सिंगल लाइफमा बसेकाहरू तुलनात्मक रूपमा तनावरहित हुन्छन् ।’ महिलाले विवाह नगर्दा प्राकृतिक नियम अर्थात् सन्तान जन्माउने र सृष्टि चलाउने काम रोकिँदैन ? भन्ने प्रश्नको जवाफमा पूनमले भनिन्, ‘एक प्रतिशत पनि यसले हाम्रो इको सिस्टममा असर पुर्‍याउँदैन । एक त विवाह नगर्नेहरूको संख्या कम छ, अर्को कुरा विवाह नै नगरे पनि टेस्टट्युब, आइभीएफ, सरोगेसीलगायतका आमा बन्न सकिने अन्य थुप्रै विकल्प छन् । म पनि भविष्यमा आवश्यकता महसुस गरेको खण्डमा बच्चा एडप्ट गर्छु ।’ एकल जीवनमा रहेका र रहन चाहनेहरूका लागि पूनम इच्छाशक्ति र आत्मविश्वास दह्रो पार्नुका साथै पश्चाताप नगर्ने बानीको विकास गर्न सुझाउँछिन् ।

मेनुका थापा, (उमेर–३७ वर्षर्), संस्थापक अध्यक्ष, रक्षा नेपाल पेसा–समाजसेवा

‘विवाह गर्दै नगर्ने, कहिल्यै नगर्ने’ मेनुका थापाको यो हठमा प्रश्न थियो, यस्तो किन ? जवाफमा उनले भनिन्, ‘वैवाहिक जीवन मेरो रुचिको विषय होइन । हरेक मान्छे आ–आफ्नै इच्छामा बाँच्न चाहन्छन्, श्रीमान् मेरो रोजाइमा परेन ।’ मेनुकालाई विवाह माकुराको जालोजस्तो लाग्छ । अर्काको घर (जालो) देखेर माकुरालाई आफ्नै जालो बनाउने मोह हुन्छ । रहरले जालो हान्छ, केही समय रमाउंँछ पछि ऊ त्यही जालोमा अड्किन्छ । माकुराका भुरा ठूला हुँदै जान्छन् र आफ्नै अभिभावकलाई खान्छन् । वैवाहिक जीवनलाई यो रूपमा बुझेकी मेनुका आफूजस्ता एक–दुईजनाले विवाह नगर्दैमा प्राकृतिक नियम रोकिन्छ भन्नेमा असहमत देखिइन् । त्यसो त उनी अविवाहित नै भए पनि सयौं बालबालिकाकी आमा हुन् । उनले पालनपोषण गरी शिक्षादीक्षा दिएका बालबालिकाको संख्या सय नाघेको छ । जबरजस्ती कसैको विवाह नहोस् भन्ने पक्षमा आफू रहेको र प्रतिशतका हिसाबले विवाहले महिलालाई सुख भन्दा दुःख बढी दिएको बुझेकी मेनुका आफू सेतो फरियामा जन्मिएकी छोरी भएकीले कहिल्यै पुरुषको साक्षात्कार र माया नपाएको बताउँछिन् । भन्छिन्, ‘मेरो अनुहार बाउको जस्तो भएकाले मात्रै मेरी आमा सामाजिक बहिष्कारबाट जोगिनुभयो ।’ आठ दिदीबहिनी र आमा गरी महिलाको हुलमा हुर्किएकी उनले पुरुषको कथा आमाबाट मात्रै सुनिन् त्यो पनि पुरुषले यातना दिएको, आफु गर्भमा हुँदा पुरुषले नै पेटमा लात्ताले हानेर तुहाउन खोज्दा घोप्टिएर उनकी आमाले ढाड थापेको जस्ता दर्दनाक कथा सुनैकै कारण मेनुकाका लागि पुरुष कहिल्यै आदर्शका पात्र ठहरिएनन् । आमाले उनी जन्मिनेबित्तिकै ‘अरूको रक्षा गरोस्’ भनेकै कारण रक्षा नेपाल संस्था खोलेर असहाय, पीडितहरूको अधिकारका लागि आफू लडिरहेको बताउँछिन् । ‘महिलाको अर्थ, अस्तित्व र महत्व दर्शाउन पनि मैले विवाह नगरेको हो । महिलाको योनि र पाठेघर बच्नुपर्छ । महिलाको श्वेत रगत (ह्वाइट ब्लड अर्थात् दूध) चुसेर हुर्किएको पुरुषका लागि पनि महिला आदर्शका पात्र बन्नुपर्छ ।’ मेनुका भन्छिन्, ‘अहिलेसम्म जति पनि पुरुष देखें महिलालाई कमै आँक्ने, सम्मान गर्न हिच्किचाउने, महिला आफूभन्दा तल नै रहोस् भन्ने सोच्ने ।’ अरूले के ठान्छन् त्योसँग मेनुकालाई मतलब छैन, आफूले आफूलाई के सोच्ने, कसरी अघि बढाउने त्यसको बढी चिन्ता हुन्छ उनलाई । रक्षा नेपाल जोगाइराखे आफू सदावहार आमा हुने बताउने मेनुका भन्छिन्, ‘जसले जन्मायो उसलाई चाहिएन, मैले जन्माइन मलाई चाहिएको छ ।’

विवाह नगुर्नको कारण ?

विश्व प्रसिद्ध भनाइ ‘म्यान इज बर्न फ्रि बट एभ्रीवेयर इज इन चेन’(मानिस स्वतन्त्र जन्मिछन् तर सबैठाउँ शृंखलामा छ) । हामी जन्मिदा स्वतन्त्र जन्मिन्छौं तर जन्मिनेबित्तिकै तुरुन्तै हामीलाई यो समाज, परिवार, परम्पराले यसरी बेर्दो रहेछ कि माकुराको जालो (चेन) जस्तै जीवन, मलाई अरू सबै चेन अर्थात् जालो स्वीकार्य भो तर विवाहरूपी चेन भने स्वीकार भएन । मानिस जन्मिदै स्वतन्त्र भएजस्तै गरी हरेक मानिसमा जन्मिदै केही खुबी र रुचि पनि भगवान्ले सँगै पठाएका हुँदा रहेछन् । मेरो रुचिमा एउटा पुरुष अनि वैवाहिक जीवन परेन । बच्चैदेखि त्यो जीवन नखोजेकै कारण म अविवाहित छु ।’ दृष्टि बदलेर हेर्नुपर्छ, सृष्टि आफै बदलिन्छ’ भन्ने कुरामा विश्वास राख्छु । म विवाह गरी सन्तान जन्माएर सृष्टि धान्नुपर्छ भन्ने कुरामा विश्वास राख्दिन किनकि म, म नै हुँ अरू, अरू नै । यो संसारमा सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन र हुँदैन पनि ।’

मलाई अरूले बनाएको वा सदियौंदेखिको परम्परागत यात्राको यात्री बन्न मन लागेन । अन्तरमनको यात्रा गर्न रहर भयो र मेरो मनले भन्यो नो म्यारिज (विवाह नगर) । मलाई विवाह र रोमान्सतिर ध्यानै जाँदैन ।

एकल जीवनलाई खुसी पार्ने स्रोत ?

कामप्रतिको व्यस्तता, स्वतन्त्रता अनि अन्तर मनको यात्रा नै मेरा एकल जीवनका खुसीका स्रोत हुन् र मलाई जहिले पनि मेरी आमाले यो सुन्दर संसार हेर्ने अवसर दिइन्, तर मैले आमाका लागि के दिएँ भन्ने लाग्छ अनि यो समाजले, देशले मलाई यत्रो नाम दियो, इज्जत दियो तर मैले यो समाजका लागि के दिएँ ? भन्ने कुराले पिरोल्छ । ‘त्यसैले प्रत्येक श्वासमा आयु घट्दैछ’ भन्ने सोच्दै जति बाँचिन्छ यो समाजका लागि कतै सहयोगी बन्न पाए हुन्थ्यो भन्ने रहर जाग्छ र एकल जीवन भएर अहिलेसम्म जीवनमा जे–जति गर्न सकियो आफै दङ्ग पर्छु, त्यसै खुसी लाग्छ र ?

एक्लोपनले कत्तिको सताउँछ ?

खासमा कमजोर मन भएका र आफूमाथि विश्वास नभएका वा भनौं आफ्नो खुसी अरूमा खोज्ने व्यक्तिहरू नै एक्लोपनको सिकार हुन्छन् । म सधैं आफूलाई केन्द्रमा राखेर आत्मविश्वासका साथ अघि बढिरहेकी छु । तसर्थ आजसम्म मलाई एक्लोपनको अनुभव भएको छैन । एक्लोपन, उदासीपन, माया, मोह, कसैसँगको भरोसा वा आशा सबै मनोरोगका लक्षण हुन् । म त त्यस्ता लक्षण भएकाको उपचारमा व्यस्त हुन्छु । हिजो रुँदै–चिच्याउँदै आएकाहरू आज मस्त हाँसेको र बिन्दास बाँचेको देखेर सारा थकाइ भुल्छु ।

रुँदा–हाँस्दा कोही होस् भन्ने लाग्छ कि ?

तपाईंले भन्न खोजेजस्तो कुनै ‘विशेष पुरुष’ कोही होस् भन्ने अहिलेसम्म आएको छैन मेरो दिमागमा ।

आफ्नै गर्भबाट कोही निस्कियोस् भन्ने लाग्दैन ?

म मेरी आमाको गर्भबाट रहरले निस्किएकी होइन कहरले हो । तसर्थ मेरो गर्भबाट पनि त्यस्तो कहरबाट कोही ननिस्कियोस् भन्ने लाग्छ । बच्चाप्रति माया छ तर मोह छैन ।

सफल पुरुषका पछाडि महिला र सफल महिलाका पछाडि पुरुषको हात हुन्छ–तपाईंको सफलतामा कसको हात भयो ?

वास्तवमा कुनै पनि मान्छे सफल हुन वा असफल हुन आफ्नो मात्रै हात हुन्छ । तर साथ भने अरूको अवश्य हुन्छ । मेरो सफलतामा पनि कसै न कसैको साथ अवश्य छ । म सानो हुँदा मेरी आमाको साथ थियो । अहिले यो सिंगो समाजको साथ छ । समाजको साथबिना समाज सेवामा टिकिरहन सकिँदैन ।

मीनु थापा, (उमेर–६६), पेसा–शिक्षिका

सेन्ट मेरिज विद्यालयमा ३० वर्षे अध्यापन पेसाबाट भर्खरै रिटायर्ड भएकी मीनु थापाले आफ्नो सिंगल लाइफ अत्यन्तै इन्जोय गरिन् । लगभग आधा शताब्दीअघिको समाज । छोरीलाई पहिलो रजस्वलाअघि नै कन्यादान गरेर दिइयो भने पुण्य कमाइन्छ भन्ने अवधारणा विपरीत उनी ठूलो परिवारको छत्रछाया बनेर परिवारभित्र मात्र नभई समाजकै ‘रोल मोडल’ बनिन् । चार दाजुभाइ तथा पाँच जना छोरीमध्येकी कान्छी मीनुलाई काठमाडौंमा जन्मी–हुर्केकीले त्यति अप्ठ्यारो भएन र पनि विवाहका पचासौं प्रस्तावलाई उनले स्विकारिनन् । कमलपोखरीको ठूलो कम्पाउन्डभित्रै मात्र रमाइदिए हुन्थ्यो भन्ने सोच राख्ने आर्मीका कर्णेल बुवाको इच्छाविपरीत उनकी आमाले घरकी महिला मालीसँग महेन्द्रभवन स्कुल पठाइन् । उनका दिदीहरू पद्मकन्यामा पढे । उनी भने रत्नराज्य कलेजमा पढिन् । मीनुले १९७६ मा सेन्टमेरिजमा पढाउन सुरु गरेकी हुन् । सोही अवसरमै जर्मनीमा टिचर्स ट्रेनिङ गर्ने अवसर पाउँदा उनको बुवाको छाती गर्वले फुल्यो । चार दिदीबहिनी र अन्य आफन्तहरूलाई देख्दा पनि उनी विवाहलाई बन्धनका रूपमा बुझिन् । उनलाई कुनै क्षण पनि विवाह होस्, लोग्ने होस्, आफ्नै बालबच्चा होउन् भन्ने लागेन । मीनु भन्छिन्, ‘अहिले हेर्दा सबैका छोराछोरी विदेशमा छन् । श्रीमान्–श्रीमती एकैसाथ मर्ने पनि होइन । यो सब कुराले मैले जीवनमा ठीक गरें भन्ने लाग्छ । मलाई कुनै रोग छैन, म सामाजिक रूपमा पनि सक्रिय छु । मेरा इष्टमित्र एवं आफन्तको आवश्यकतामा सहयोगका लागि सबैभन्दा पहिले पुग्ने म नै हुन्छु ।’ उनी भन्छिन्, ‘०७२ को भूकम्पमा म दिल्लीबाट फर्किरहेकी थिएँ, जहाजमा आकाशमै उडिरहेकी थिएँ । मेरो कमलपोखरी दरबार भत्कियो भन्ने चिन्ता भएन धरहरा, इन्द्रचोक र नेपालकै चिन्ता भयो । सिंगल हुँदा अरूको बढी चिन्ता हुने र बढी सामाजिक हुन मन लाग्ने महसुस गरेकी छु ।’ धेरै विदेश घुम्ने उनलाई ‘इन्डिपेन्टेन्ड लाइफ’ को मज्जा भनेकै यही हो भन्ने लाग्छ । अबको पुस्तामा बुढेसकालको सहारा कोही हुँदैन भन्ने बुझेकी मीनु आखिर यो संसारमा हरेक मान्छे एक्लै आउँछ, एक्लै जान्छ भन्ने सारसँग निकट छिन् ।

सानैदेखि इन्डिपेन्डेन्ट, फुर्सदको समय समाजसेवा र सहयोगमा खर्चिने मीनुलाई छोराको विवाह भएन, छोरीको विवाह भएन, केटा मिलेन, केटी मिलेन अनेक किसिमका गृहस्थ चुनौतीलगायत अरुको चिन्ता देखेर यो झन्झटमा नफसेकै बेस भन्ने लागेको छ । उनी अहिलेसम्म खुसीले बाँचेकी छिन् अरूको कमाइ खाने, लिने कुनै चिन्ता र आशा आफूमा नभएको प्रस्ट्याउँछिन् । जहिले पनि आफ्नो हातमाथि नै हुने बताउने उनले भनिन्–म जस्तो बस्ने ५ प्रतिशत होलान्, अरू सबै मजस्ता छैनन् । कतिजना मेरा साथी वैवाहिक जीवनसँग खुसी छैनन् । आफ्नो योग्यताअनुसारको काम नपाउने भन्ने छैन जाँगर र आँट चाहिन्छ । खुसीसाथ सिंगल लाइफ बिताउने थुप्रै उपाय हुन्छन् । विवाह भएको भए म यत्तिको सुन्दर र सक्रिय रहँदैनथें होला ।’

कला सुब्बा, (उमेर–४० प्लस), मोडल,सञ्चारकर्मी तथा निर्देशक

उमेरले चालीस नाघिसकेकी कला सुब्बाले एक जमानामा मोडलिङ र कोरियोग्राफीमा तहल्का मच्चाएकी थिइन् । त्यसपछि उनी लामो समयदेखि सञ्चार क्षेत्रमै सक्रिय छिन् । आफ्नै धुन, आफ्नो काम र संसारमा व्यस्त भएकीले र आफ्नै मनले पनि अस्वीकार गरेकाले विवाह नगरेको बताउँछिन् । थुप्रै प्रस्ताव आए तर यो क्षेत्र र कामलाई नै छोडिदिनुपर्ने सर्त तेर्स्याइएकाले अरूको सर्तमा नभई आफ्नै सर्तमा बाँच्ने मान्छे भएकीले, अर्थ न बर्थको बलिदान दिएर विवाहिताको ट्याग भिड्न चाहिनन् । अरूको देखेर त्यो परिवेश पाइनन् उनले । अरूको डिभोर्स, हिंसा, गृहस्थ तनाव आदि देखेर उनलाई कहिल्यै यसले लोभ्याएन । छोराछोरी बिदेसिन्छन्, वृद्धाश्रम पुर्‍याइदिने देखिएकै छ । कसैले कसैलाई साथ दिँदैन, उल्टो श्रीमान् र छोराछोरीलाई स्याहार गरेर बस्नुपर्छ महिलाले । आर्थिक सशक्तीकरण, आफ्नो स्वास्थ्य, काम र सक्षमता नै हाम्रो साथ हो भन्छिन् कला । कला भन्छिन्, ‘म सोचेभन्दा खुसी छु मेरो एकल जीवनबाट । स्वतन्त्र, स्वनिर्णय र कसैको अधीनमा बस्नु नपर्ने यही नै कलाको जीवनको उपलब्धि हो । ‘म एकजनाले विवाह नगरेर प्रलय आउने होइन ।’ पूर्ण पारिवारिक सहयोग छ । हामीले छोरीलाई सुरुदेखि नै तिमी अर्काको घर जाने जात हो भनेर दिमागमा हालिदिएका छौं, हामी मानसिक रूपमा अपाङ्ग छौं भन्ने कलाको तर्क छ । यो ट्रेन्ड परिवर्तन हुनुपर्नेमा उनको जोड छ । आत्मनिर्भर हुनुपर्छ भनेर छोरीलाई हुर्काउनुपर्छ । स्व पहिचान बनाउनुपर्छ । यो कुनै रकेट साइन्स होइन, गर्‍यो भने असम्भव छैन । कलालाई लाग्छ पुरुष हामी जस्तै मान्छे हो, उसलाई ठूलो भनेर श्रीपेच लगाइदिएर उच्चस्थानमा राखिदिएका छौं, सामाजिक उत्तरदायित्वको बोझ उसमाथि थुपारेका छौं । त्यही प्राक्टिसले उभित्र दम्भ छ । मैले पुरुषबाट माया पनि पाएँ, स्नेह पनि पाएँ तर सम्मानमा कमी पाएँ । आत्मसम्मानमा आँच आउने कुरा आफ्ना लागि कदापि क्षम्य नहुने कुरा उनले बताइन् । संसारका हरेक प्राणी एकल हुन्छन् भन्ने कला एक्लै आइन्छ, एक्लै गइन्छ, कसैले कसैका लागि प्राण त्याग्दैनन् भन्नेमा अडिग छिन् । अहिलेसम्म उनले सिकेको आफूले आफैंलाई माया गर्नु हो । उनी भन्छिन्–‘जीवन नै नितान्त व्यक्तिगत हो । तपाईं अरूको जीवन बाँच्न सक्नुहुन्छ र तपाईंको जीवन बाँच्न अरूलाई बाध्य पार्न पनि सक्नुहुन्न ।’ यदि आफैंले आफैंलाई चिन्यो र माया गर्न सक्यो भने कसैको साथको जरूरत नपर्नेमा उनको अनुभवले बताउँछ । कसैको साथ भनेको दोस्रो कुरा हो । साथ भनेकै कसैमा आश्रित हुनु हो । यसो हुनेबित्तिकै कमजोर भइन्छ अनि मनोबल घट्दै जान्छ । कला भन्छिन्–‘म आफैंमा पूर्ण छु । म आफैंलाई सबैभन्दा बढी माया, विश्वास र भरोसा गर्छु, मलाई जे गर्दा खुसी लाग्छ त्यही गर्छु । आफैंमाथि खर्च र लगानी गर्छु–एकल जीवन सुपर जीवन ।’

सविता उप्रेती, संस्थापक विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र

विवाह नगर्नुको कारण–संस्था जन्माइयो । यसलाई स्थायित्व दिनेमा छु । सुरुमा धेरै प्रेसर थियो । सविताले भनिन्, ‘विवाहका लागि खर्च गर्नुपर्छ भनेर जम्मा गरेर राखेको पैसाले संस्था खोलेको हो । अब त विवाहका बारेमा सोच्ने फुर्सद पनि छैन ।’ एकल जीवन आत्मनिर्भर भने हुनैपर्ने सविताको धारणा छ । कतिपय अवस्था र स्थानमा विवाह नगरेका केटीले गरेको काममा अविश्वास गर्ने गरेको पाएकी छन् सविताले । तर उनलाई दोहोरो–तेहेरो जिम्मेवारी नहुँदा स्वतन्त्र रूपमा समाजसेवामा रुचि छ । सिंगल हुनुको फाइदा बताउँदै सविता भन्छिन्, ‘सीमित जिम्मेवारीमा बाँधिनु नपर्ने, सामाजिक सेवामा विवाह नगरेको अझै बेस, कसैको बन्देजमा बस्नु नपर्ने । मेरो विवाहको सवालमा त्यतातिर ध्यान नगएर होला, मसँग भएका अटिजम प्रभावित ४५ जना बालबालिका मेरै सन्तान हुन् भन्ने लाग्छ । ती बालबालिकाहरूले नै एक्लो महसुस हुन दिएका छैनन् ।’ महिला सफल हुन श्रीमान्कै साथ–सहयोग चाहिन्छ भन्ने अनुभव रहेन उनलाई किनभने परिवारको सहयोग र साथ थियो । आत्मविश्वासी र आत्मनिर्भरलाई कुनै समस्या छैन, एकल जीवन अझ बढी खुसीयालीपूर्ण हुन्छ । उनी आफ्ना बालबालिकाहरू खुसी हुँदा, असामान्य व्यवहार गरेका बालबालिकाले सामान्य व्यवहार गर्दा, नहाँस्ने बालबालिका हाँस्न थाल्दा र एकशब्द नबोल्ने बालबालिका बोल्न थाल्दा अलौकिक खुसी मिल्ने बताउँछिन् । उनले भनिन्, ‘जन्मलाई सार्थक बनाउन आफ्नो पहिचान बनाउने र गन्तव्य तय गर्नुपर्छ, म केका लागि जन्मिएको हो ? त्यसको खोजलाई पत्ता लगाउन सकियो भने जीवन सफल र खुसी हुन्छ ।’

वासु आचार्य, मनोविश्लेषक

विवाह नै नगरेका महिलाको अवधारणा विवाहपछि असाध्यै असहज हुने विश्लेषण हुन्छ । उनीहरूलाई सजिलो जीवन र धेरै माया पाइरहेको छु भन्ने अनुभूति हुन्छ । माया पाउँदिन होला, वैवाहिक नामक संस्थासँग डिल गर्न र रिस्क लिन सक्दिन होला भन्ने धारणा हुन्छ र त्यो विषयदेखि नै रिस उठ्छ । यौनदेखि रिस उठ्छ र घृणा हुन थाल्छ । विवाह गर्ने अवस्था जुर्दैन । यसो हुँदा पनि इरिटेट्स र डिप्रेसन हुनसक्छ । परिवारसँग रिसाउने, चिच्चिडाहट हुन्छ, कसैकसैलाई सोम्याटोफर्म पनि हुने हुन्छ । जसरी पनि म यसैमा एडजस्ट हुनुपर्छ भन्ने सोच्न थाल्छन् । डिपेन्डेन्ट पर्सनालिटी भएका, ब्याकमा बस्न नचाहने, सामाजिक हुन नसक्नेहरू, सामाजिक दुश्चिन्ता विचार, एडजस्टमेन्ट डिसअर्डर, पुरुषप्रति घृणाभाव हुनेहरूले पनि विवाह गर्दैनन् । अर्को कुरा त्यो जिम्मेवारी उठाउन चाहँदिन भन्नेहरू पनि एक्लै बस्न रुचाउँछन् । तर एउटा कुरा के हो भने डिभोर्सको केश भन्दा उनीहरू बढी खुसी हुन्छन् । स्मृति, अनुभव, तनाव, दबाब कम हुने हुँदा उनीहरूको खुसीको तह माथि देखिन्छ । केही प्रतिशतलाई भने डिप्रेसनको समस्या समेत हुँदैन भन्न सकिन्न । आफूलाई व्यस्त राख्ने, सामाजिक हुने, परिवार र आफन्तसँग घुलमिल हुने, मनमा लागेका कुराहरूव्यक्त गर्ने जस्ता क्रियाकलापले यस्ता मानिसहरूलाई खुसीसाथ जीवनयापन गर्न सहयोग पुर्‍याउँछ ।

निर्मला ढकाल समाजशास्त्री

मानव सभ्यताको सुरुवाततिरको अवस्थालाई पढ्दा कोही पनि पारिवारिक रूपमा बाँधिएर बस्दैनथे । समाज खुल्ला र स्वतन्त्र थियो । विवाह नामक संस्था स्थापनाकालपूर्व आफूले चाहेको मानिससँग समय बिताउने र इच्छा घट्दै जाँदा वा विचार बाझिँदै जान थाल्यो भने छुट्टिन्थे ।

रोजिना मानन्धर, मनोचिकित्सक

एकल जीवनमा चौतर्फी बोझ नहुने भएकाले जीवन खुकुलो र स्वतन्त्र हुन्छ जसले मानसिक रूपमा सिर्जनशील हुन र छिटो प्रगतिपथमा लम्किन सघाउँछ । तर यसमा बेफाइदा पनि छ । कतिपय मानिस एक्लो महसुस गरी मेरो कोही छैन भन्ने कुरा दिमागमा खेलाइरहन्छन् । अरूको सफल र खुसी पारिवारिक जीवन देखेर भित्रभित्रै आफ्नो पनि यस्तै भइदिएको भए भन्ने कुरा सोच्छन् । तर यसको उपचार भनेकै घुलमिल हुने, सामाजिक हुने, काममा आफूलाई केन्द्रित गर्ने हो । त्यति गर्दा पनि नभए मनोचिकित्सकसँग परामर्श गर्नुपर्छ ।’

 Image