Successfully Copied

बालबालिकाको प्रतिभा प्रस्फुटन 

बालबालिकामा गल्ती भए पनि नडराई नयाँ च्यालेन्ज लिने बानी बसाल्नुपर्छ । गल्ती वा असफल भए त्यो अर्को पटकका लागि अनुभवमा परिवर्तन गर्ने तरिका सिकाउनुपर्छ । त्यस्ता बालबालिका ठूला भएपछि गल्तीबाट डराउँदैनन् र धैर्यपूर्वक अघि बढ्छन् ।

बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने आमाबाबुमा पाइने समान कुरा

     राम्रोसँग विचार गरी आफ्ना बालबालिका हुर्काउने तरिका निश्चित गर्ने आमाबुवा ।    बालबालिकाहरूको ज्ञान र जिज्ञासा अझ बढाउने कुरामा ध्यान दिई आफूहरूले निर्णय गर्ने होइन कि उनीहरूलाई नै सोच्न एवं निर्णय गर्न दिने । यसले बालबालिकामा सोच्न सक्ने क्षमताको विकास हुन्छ ।

सानो भए पनि राम्रो कुरा फेला पारेर प्रशंसा गर्ने आमाबाबु

    हामीहरू प्राय: आफ्ना बालबालिकाको नराम्रो कुरा भए त्यसमा केन्द्रित भएर त्यसलाई सच्याउन तल्लीन हुन्छौं तर राम्रो कुरा देखे त्यसको प्रशंसा कमै गर्छौं । कुनै राम्रो कुरा गर्नासाथ तत्कालै त्यसको प्रशंसा गर्ने र गल्ती गरे त्यसबाट सिक्न सल्लाह दिए बालबालिकाको आत्मविश्वास बढ्नुका साथै सकारात्मक सोचको समेत विकास हुन्छ ।

जे कुरा पनि पछिपछि नसार्ने आमाबाबु

    साना बालबालिकाले पहिले जुन कुरा सिक्न खोज्छन् उनीहरूलाई धैर्यपूर्वक सिकाउने प्रयास गर्नुपर्छ । उदाहरणका लागि पहिलो पटक चम्चाले खाना खाँदा होस् वा पेन्सिलले लेख्दा होस् बालबालिकाहरूलाई धैर्यपूर्वक समय दिएर राम्रोसँग सिकाउनुपर्छ । समय आएपछि सिकिहाल्छन्, अहिले नगरे हुन्छ अथवा यति गरे पुग्छ भनेर बस्ने हो भने बालबालिकाले सही जानकारी पाउँदैनन् । यो कुराले बालबालिकाको जीवनमा पछिसम्म कुनै पनि कुरा कसरी गर्ने, कसरी लिने, यति भए पुग्छ भन्ने तथा अपूर्णतामा सन्तोष लिने बानीका रूपमा विकसित हुनसक्छ ।

कसैका लागि कुनै कुरा गर्दा प्राप्त हुने खुसीका बारेमा सिकाउने आमाबाबु 

 संसारमा मानिसलाई मात्र कसैको कुनै काम गर्दा खुसीको अनुभूति हुन्छ । त्यसैले सानैदेखि बालबालिकालाई समाजका लागि केही गर्दा प्राप्त हुने खुसीको अनुभूतिका सम्बन्धमा सिकाउनुपर्छ । मानिस भएर जन्मिएपछि सकारात्मक काममा अघि बढ्नु नै आफ्नो कर्तव्य भएको कुरा सिकाउनुपर्छ । आमाबाबुले राम्रो काम गर्ने हो भने बालबालिकामा त्यसको सकारात्मक असर पर्छ ।

असफलताबाट पछि नहट्ने कुरा सिकाउने आमाबाबु

    बालबालिकामा गल्ती भए पनि नडराई नयाँ च्यालेन्ज लिने बानी बसाल्नुपर्छ । गल्ती वा असफल भए त्यो अर्को पटकका लागि अनुभवमा परिवर्तन गर्ने तरिका सिकाउनुपर्छ । त्यस्ता बालबालिका ठूला भएपछि गल्तीबाट डराउँदैनन् र धैर्यपूर्वक अघि बढ्छन् ।

बालबालिकाको प्रतिभामा अंकुस लगाउने आमाबाबुमा पाइने समान कुरा

१.  घरमा झगडा गरिरहने आमाबाबु :  बालबालिकाहरूका अगाडि विवाद, आपसमा झगडा एवं कुरा काटिरहने आमाबाबु सबैभन्दा निकृष्ट हुन्छन् र उनीहरूका बालबालिका पनि सबैभन्दा निरीह हुन्छन् । असन्तुलित परिवारका बालबालिका सन्तुलित हुन सक्दैनन् । 

२. आफ्ना बालबालिकाको सीमा (क्षमता) निश्चित गर्ने आमाबाबु :  बालबालिकाले भविष्यमा यो बन्न चाहन्छु भन्दा तिम्रो त कुरा मात्र हो, तिमी मरिगए पनि त्यस्तो बन्न सक्दैनौ, अर्को जन्ममा मात्र होला भनेर ठट्टामा उडाइदिँदा बालबालिकाको आत्मविश्वास घट्छ । 

३. सजाय अथवा पेनाल्टी दिने आमाबाबु : गल्ती गरे सजाय दिएर बालबालिकाहरूले पाउँदै आएको सुविधा कटौती गरे उनीहरूको वृद्धि विकासमा नकारात्मक असर पर्छ । 

४. बालबालिका अहिले कस्तो वातावरणमा छन् विचार नगर्ने आमाबाबु : आफ्ना बालबालिकाको वर्तमान अवस्था, स्कुलको वातावरण, साथीभाइको संगत एवं वरिपरिको वातावरणका बारेमा विचार नगरी अरूले सक्ने तिमीले किन नसक्ने भनी एकोहोरो प्रेसर दिने आमाबाबु ।

५. समय, काल र परिस्थिति विचार नगर्ने आमाबाबु : मोबाइल वा कम्प्युटर आदि उपकरण प्रयोग गरे बालबालिका बिग्रन्छन् भनेर प्रतिबन्ध लगाउने आमाबाबु पनि छन् । समय, काल तथा परिस्थिति बुझेर प्रविधिको सदुपयोग गर्न सके सफलता चुम्न सकिन्छ ।

 

 Image