Successfully Copied

विवस पोख्रेलका केही मुक्तक 

अचेल प्रेममा विश्वास मेटिएको छ हरेक इन्द्रेणी सपना रेटिएको छ  हिजो उसले दिएको मायालु गुलाफ आज सडकमा लावारिस भेटिएको छ ।

१. अहिले कसैको स्वार्थी मनभन्दा पनि चिसो, मौसम छ

तिम्रो ह्दयको कुटिल धड्कनभन्दा पनि चिसो, मौसम छ

घाम हुस्सुले छोपेको बेला, कहाँ न्यानो दिन सक्छु र

निथु्रक्क झरीले रुझेको जीवनभन्दा पनि चिसो मौसम छ ।

 

२. अचेल प्रेममा विश्वास मेटिएको छ

हरेक इन्द्रेणी सपना रेटिएको छ 

हिजो उसले दिएको मायालु गुलाफ

आज सडकमा लावारिस भेटिएको छ ।

३. कोमल फूल छातीमाथि, खस्दा पनि दुख्छ अचेल

यादहरू मुटुभित्र, बस्दा पनि दुख्छ अचेल

बगरमा वसन्तका डोबहरू खोज्दै जाँदा

झुक्किएर शीतल छाल पस्दा पनि दुख्छ अचेल ।

४. आगो बोकेर आएको छु, पानी बोकेर आएको छु

सुख–दु:खको एउटा, कहानी बोकेर आएको छु

जलाउँछौ भने जलाऊ, निभाउँछौ भने निभाऊ

मुटुभरी प्रगाढ प्रेमको निशानी बोकेर आएको छु ।

५. शीतको थोपाले कहिले तिर्खा मेट्न सक्दैन

फूलको धारले ढुङ्गाको मुटु रेट्न सक्दैन

सत्य हो, असम्भव सधैं असम्भव नै हुन्छ

बादल जत्ति नै मच्चिए पनि आकाश भेट्न सक्दैन ।

६. उदास आँखामा खुसी छर्न गल्ती गरियो

शुष्क ओठमा मृदु मुस्कान भर्न गल्ती गरियो

गल्ती नै गल्तीको शृंखला बढेपछि थाहा भो

ढुङ्गाको मुटुमा बसाइ सर्न गल्ती गरियो ।

 Image