Successfully Copied

कम उमेरमै गर्भपतन

‘कम उमेरमा विवाह भएका कारण मात्र यो तथ्यांक बढेको होइन, उमेर नपुगेका किशोरीहरूसमेत यौन क्रियाकलापमा सहभागी हुने गरेका छन्,’ कार्यालयका परिवार नियोजन सुपरभाइजर वीरबहादुर श्रेष्ठले भने ।

शारीरिक परिपक्वता नहुँदै गर्भधारण गर्न उपयुक्त नहुने भएकैले चेतनामूलक नारा ‘बिहेबारी २० वर्ष पारि’ भनिए पनि गोरखा जिल्लामा गर्भपतन गराउनेहरूको तथ्यांक हेर्दा २० वर्षमुनिका बढी भएको पाइएको छ । गत आर्थिक वर्ष २०७२/०७३ मा २० वर्ष उमेरका १ सय ६१ युवतीले स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन सेवा लिएका तथा ८ सय ५ जना महिलाले सुरक्षित गर्भपतन गराएकोमा २० प्रतिशत कम उमेरका किशोरी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

अघिल्लो वर्ष १० प्रतिशत किशोरीले मात्र उक्त सेवा लिएका थिए । ‘कम उमेरमा विवाह भएका कारण मात्र यो तथ्यांक बढेको होइन, उमेर नपुगेका किशोरीहरूसमेत यौन क्रियाकलापमा सहभागी हुने गरेका छन्,’ कार्यालयका परिवार नियोजन सुपरभाइजर वीरबहादुर श्रेष्ठले भने । अवैध गर्भ बोकेका अधिकांश महिलाले मान्यता नपाएका संस्थाबाट सेवा लिने एक स्वास्थ्यकर्मीले दाबी गरे । ‘उमेर नपुगेका युवती गर्भवती हुनु उमेर पुगेका महिला गर्भवती हुनुभन्दा दोब्बर जोखिमपूर्ण हुन्छ,’ सुपरभाइजर श्रेष्ठले भने, ‘आमाको मृत्यु हुने र गर्भमा जटिलता देखिने सम्भावना अत्यधिक हुन्छ ।’ कम उमेरमा गर्भ रहने र पतन गराउने क्रम बढेको भन्दै कार्यालयले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ ।

परिवार नियोजनका साधनमध्ये छोटो अवधिका साधन प्रयोग गर्नेहरूको संख्या उल्लेख्य छ । कार्यालयबाट सेवा लिनेहरूमध्ये ७९ प्रतिशत अर्थात् ६ सय ३६ जनाले कन्डम, पिल्सलगायत छोटो समयका लागि काम गर्ने साधन प्रयोग गर्ने गरेका छन् । २१ प्रतिशत अर्थात् १ सय ६९ जनाले इम्प्लाट, कपर–टी लगायत ५ वर्षभन्दा लामो समय काम गर्ने साधन प्रयोग गर्ने गरेका छन् ।

 Image