Successfully Copied

मिस एण्ड मिसेस ब्युटिसियन मेकअप कन्टेस्ट-२०१५

सौन्दर्य कला व्यवसायी संघ, ललितपुर शाखाद्वारा मिस एण्ड मिसेस ब्युटिसियन मेकअप प्रतियोगिता सम्पन्न भएको छ ।

सौन्दर्य कला व्यवसायी संघ, ललितपुर शाखाद्वारा मिस एण्ड मिसेस ब्युटिसियन मेकअप प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा देशका विभिन्न जिल्लाका ब्युटिसियनहरूले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । उक्त अवसरमा ब्युटिसियनहरू आफ्नै मेकअप, हेयर तथा पहिरनमा प्रस्तुत भएका थिए । त्यसका लागि उनीहरूलाई छोटो अवधिको तालिम प्रदान गरिएको थियो । पृथक् खालको यस्तो कार्यक्रमले ब्युटिसियनहरूमा आत्मविश्वास वृद्धि हुने बरिष्ठ सौन्दर्यविद् तथा सौन्दर्यकला व्यवसायी संघकी संस्थापक अध्यक्ष कमला श्रेष्ठले बताइन् । मुलुकभरका सौन्दर्यकर्मीहरूले भाग लिएको कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा २० जना ब्युटिसियन थिए ।

तीन चरणमा भएको प्रतिस्पर्धामा बेस्ट हेयर, बेस्ट मेकअप तथा बेस्ट परफरमेन्स टाइटल उपाधिसमेत प्रदान गरिएको थियो । मञ्जिला बज्राचार्य सेकेन्ड रनर्सअप तथा सीतामाया लामा फास्टर अप घोषित भएको उक्त प्रतियोगितामा शिक्षा शाक्यले मिस एण्ड मिसेस ब्युटिसियन मेकअप कन्टेस्ट-२०१५ को उपाधि हात पारेकी थिइन् ।

लैङ्गिकमैत्री संविधान आवश्यक

नेपाली कांग्रेसका सभासद् गगन थापाले लैङ्गिक संवेदनशील समाजका लागि लैङ्गिकमैत्री संविधान निर्माण हुनुपर्ने कुरा बताएका छन् । गत महिना कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन (सिजेएमसी) एवं क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा सम्पन्न 'महिलाका लागि आवाज' विषयक कार्यक्रममा थापाले लैङ्गिकमैत्री संविधान निर्माणका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् । विद्यालयस्तरबाट नै बालबालिकालाई लैङ्गिकमैत्री शिक्षाका सम्बन्धमा जानकारी गराउन सके मात्र हामीले सोचेजस्तो समाज निर्माण हुने भन्दै समाजका कुसंस्कार एवं कुपरम्पराहरू हटाउने माध्यम नै शिक्षा भएको बताए ।

महिला पर्वतारोहण टोलीको विश्व कीर्तिमान

पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ । विश्वका सातवटै महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले गत महिना अन्टार्टीका महाद्वीपको सर्वोच्च शिखर भिन्सन म्यासिफको चुचुरो चुमेर नयाँ विश्व कीर्तिमान स्थापना गरेको हो । टोलीकी संयोजक शैली बस्नेतका अनुसार ४ हजार ८ सय ९२ मिटर अग्लो उक्त शिखर चुम्ने आरोहीमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, माया गुरुङ तथा निम्डोमा शेर्पा छन् ।

महिला मात्र सम्मिलित समूहले सातै महादेशका सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेको हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणबाट प्रारम्भ भएको उक्त अभियानअन्तर्गत महिला समूहले यसअघि अस्ट्रेलिया, युरोप, उत्तर अमेरिका, दक्षण्िा अमेरिका एवं अफ्रिकाका सबैभन्दा अग्ला हिमशिखरको सफल आरोहण गरेको थियो । उचाइ धेरै नभए पनि अति नै चिसो, जोखिम, दूरी र खर्चका दृष्टिले सात शिखरमध्ये सबैभन्दा चुनौतीपूर्ण अन्टार्टीका रहेको टोली संयोजक शैली बस्नेतको भनाइ छ । हिमशिखर आरोहणका साथै महिला सशक्तीकरण, बालिका शिक्षा तथा पर्यावरण संरक्षणलाई पनि आफ्नो अभियानको उद्देश्य बनाएको उक्त सात सदस्यीय टोलीमा आशाकुमारी सिंह र पूजन आचार्य पनि छन् ।

यातना प्रतिकार गर्दा हत्या भए कम सजाय

आफूमाथि हुँदै आएको यातना र हिंसाको प्रतिकारका क्रममा कुनै व्यक्तिको हत्या भए मुलुकी ऐनको कर्तव्य ज्यानसम्बन्धी महलअन्तर्गत जन्मकैद सजाय नहुने भएको छ । सर्वोच्च अदालतले यातना र हिंसा भोग्ने व्यक्तिले प्रताडित मनोदशाका आधारमा हत्या गर्ने भएकाले निजमाथि जानाजान गरिने हत्यासरह सजाय निर्धारण नहुने भन्दै कम सजाय हुने फैसला गरेको छ । यातना र हिंसाबाट पीडित व्यक्तिहरूले गर्ने कसुरका सम्बन्धमा अलग्गै कानुन निर्माण हुनुपर्ने आवश्यकता औंल्याउँदै न्यायाधीश सुशीला कार्की एवं वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले त्यस्तो कानुन तर्जुमा गर्न सरकारका नाममा आदेश दिएको छ । २०६८ सालदेखि चल्दै आएको बौद्धकी राधिका श्रेष्ठविरुद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अन्तिम फैसला गर्दै सर्वोच्चले आदेश दिएको हो ।

महिला अधिकार सुनिश्चित गर्न आग्रह

संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले नयाँ संविधानमा महिलाका अधिकार सुनिश्चितताका लागि आ-आफ्ना पार्टी नेतृत्वको ध्यानाकर्षण गर्न अन्तरपार्टी महिला सञ्जालसँग आग्रह गरेका छन् । गत महिना आफ्नो कार्यकक्ष सिंहदरबारमा अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति भट्टराईले उक्त कुरा बताएका हुन् । भट्टराईले आमा र बाबु नेपाली वंशज भए मात्र बंशजका आधारमा नागरिकता प्राप्त हुने व्यवस्थासहितको प्रतिवेदन मस्यौदा समितिमा जानु ठूलो भूल भएको बताउँदै आगामी दिनमा संविधानसभामा छलफल हुँदा आमा वा बाबु बनाउनका लागि संशोधन प्रस्ताव दर्ता गर्न पनि अनुरोध गरे । त्यसैगरी नेपालीले विवाह गरी ल्याएका विदेशी नागरिकलाई नेपाली अंगीकृत नागरिकता दिने सन्दर्भमा पनि असमान व्यवस्था भएकोमा त्यसलाई पनि समान बनाउनु आवश्यक रहेको सभापति भट्टराईले बताए । सञ्जालकी अध्यक्ष मीना पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलले सभापति भट्टराईलाई बुझाएको ध्यानाकर्षण पत्रमा नयाँ संविधानमा राज्यका संयन्त्रका सम्पूर्ण क्षेत्र एवं राजनीतिक दलहरूमा जनसंख्याका आधारमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित हुनुपर्ने, केन्द्रीय तथा प्रान्तीय व्यवस्थापिका तथा सरकारमा प्रमुख पदसहित जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न, आमा वा बाबु नेपाली वंशज नागरिक भए वंशजका आधारमा नागरिकता पाउने व्यवस्था गर्न, संविधानमा नागरिकताको हक लिपिबद्ध गर्दा महिला एवं पुरुषका बीचमा समानता कायम गर्न माग गरिएको छ ।

महिला गाडी सञ्चालन

गत महिनादेखि काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोटसम्म कार्यालय समयमा महिलाका लागि यात्रुवाहक सार्वजनिक सवारी चल्न थालेको छ । उक्त सेवा बिहान र साँझ दुई-दुई वटा सवारी दुवैतिरबाट गुड्ने गरी व्यवस्थापन गरिएको बाग्मती यातायात व्यवसायी संघले बताएको छ । संघका अध्यक्ष भरत नेपालका अनुसार यो रुटमा दैनिक करिब ४० वटा सवारी गुड्दै आएका छन् । दैनिक गुड्ने सवारीले पालैपालो रुटमा महिलामैत्री सवारी चलाउनेछन् । कार्यालय समयमा महिलालाई चढ्न गार्‍हो हुने भएकाले संघले यस्तो योजना ल्याएको हो । संघका अनुसार कलंकीबाट कालिमाटी, थापाथली, नयाँबानेश्वर, कोटेश्वर, कौशलटार हुँदै बालकोटसम्म दुवैतर्फी दुई-दुई वटा यात्रु सेवामा महिलालाई मात्र चढाउने गरिएको छ । यसअनुसार कलंकीबाट दैनिक बिहान सवा नौ एवं साढे नौ तथा साँझ सवा चार एवं साढे चार बजे बालकोटतिर बस छुट्नेे छन् । त्यसैगरी बालकोटबाट बिहान सवा नौ एवं साढे नौ र साँझ चार र सवा चार बजे कलंकीतर्फ बस छुट्नेछन् ।

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

गत महिना बुटवलमा सम्पन्न १९ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि साबिक विजेता एपीएफ क्लबले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३-२ ले हराउँदै एपीएफ उपाधि जित्न सफल भएको हो । पहिलो खेलमा २५-१७ ले पछि परेको एपीएफले दोस्रो र तेस्रोमा क्रमश: २५-१८ र २५-२३ मा पुलिसलाई पछाडि पार्दै अग्रता हासिल गरेको थियो । चौथो खेलमा पुन: पुलिसले २५-१६ मा एपीएफलाई पछाडि पार्दै खेललाई २-२ को बराबरीमा पुर्‍याएको थियो । प्रतियोगिताको उपाधिका लागि भएको निणर्ायक खेलमा एपीएफले पुलिसलाई १५-९ मा स्तब्ध पारेको थियो । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी तथा विनीता बुढाथोकी उत्कृष्ट लिफ्टर घोषति भए । यस्तै नेपाल पुलिस क्लबका रमिला तण्डुकार उत्कृष्ट सर्भर, कोपिला उप्रेती उत्कृष्ट ब्लकर, कमला पुन उत्कृष्ट डिफेन्डर तथा मध्यमाञ्चलकी प्रतिमा माली उत्कृष्ट स्पाइकरका रूपमा पुरस्कृत भए ।

समा वानुलाई अन्तर्राष्ट्रिय अवार्ड

समा वानुको व्यावसायिक यात्राका क्रममा अन्तर्राष्ट्रिय अवार्ड 'एसियाका प्यासिफिक प्रेस्टिजियस फेसन व्रान्ड' का लागि नेपालका तर्फबाट मनोनयनमा परेकी छिन् । फेसन डिजाइनिङका क्षेत्रका थुपै्र राष्ट्रिय अवार्ड बटुलेकी समाले पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड आफ्नो पोल्टामा पारेकी हुन् । एसियाका उत्कृष्ट डिजाइनरलाई प्रदान गरिने यो अवार्ड वर्ष सन् २०१५ का लागि वानुलाई प्रदान गरिएको हो । सिंगापुरको अर्किड कन्ट्री क्लबमा इन्डोनेसियाका अधिराजकुमार तथा अधिराजकुमारीद्वारा समालाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

 Image