Successfully Copied

दसैंको मेकअप

दसैंसँग हामी सबै नेपालीको एक प्रकारको भावनात्मक सम्बन्ध छ । यसले हामीमा एक प्रकारको रौनक संचार गर्छ ।

दसैंसँग हामी सबै नेपालीको एक प्रकारको भावनात्मक सम्बन्ध छ । यसले हामीमा एक प्रकारको रौनक संचार गर्छ । दसैंमा कामकाजीहरूको पनि लामो बिदा हुने भएकाले सबैलाई विशेष योजना बनाउने अवसर मिल्छ । महिलाहरू यो अवसरलाई लक्षित गर्दै विविध प्रकारका मेकअप गर्न  रुचाउँछन् । कोही घरमै मेकअप गर्छन् भने कोही पार्लर धाउँछन् । मेकअप यस्तो कला हो जसले महिलाहरूको सुन्दरतामा निखार ल्याउँछ । मेकअपको माध्यमबाट हामी अनुहारको रौनक परिवर्तन गर्न सफल हुन्छौं । समय परिवर्तनसँगै मेकअप गर्ने विधिमा पनि अहिले निकै परिवर्तन देखिएको छ । अहिले शृंगार लिपिस्टिक, पाउडर तथा गाजलमा मात्र सीमित छैन । मानिसको चाहना तथा समयअनुसार मेकअपमा विविधता देखिएको छ । बजारमा मेकअपका सामग्रीहरू पनि फरक-फरक अवधारणामा भित्रिएका छन् । अहिले फरक-फरक मेकअपको प्रयोग बढ्दै गएको छ  । विवाहमा गरिने मेकअप तथा दिनहुँ अफिस जाँदा गरिने मेकअप फरक-फरक हुन्छ । विवाहमा गरिने मेकअप गरेर हामी अफिस जान सक्दैनौं । हामीले गर्ने रेगुलर मेकअपबाहेक कन्सिलर, मेकअप करेक्टर, प्राइमर जस्ता सामग्री अहिलेका लागि निकै नयाँ मानिएका छन् । यस्ता सामग्रीहरूले जस्तोसुकै अनुहारलाई पनि चिटिक्क बनाउँछन् । अहिले चलनमा आएका मेकअपहरूमा मिनरल मेकअप, एअर ब्रस मेकअप, ब्राइडल मेकअप, करेक्टिभ मेकअप मुख्य छन् । मेकअप महिलाहरूका लागि निकै आवश्यक भएको बरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ बताउँछिन् । २७ वर्ष लामो आफ्नो यात्राका क्रममा मेकअपको प्रविधि र शैलीमा कायापलट भएको उनको अनुभव छ । श्रेष्ठ भन्छिन्-मैले पनि समयअनुसार सिक्दै गएँ । अहिले प्रसाधनसँगै मेकअप गर्ने तरिकामा पनि ठूलो भिन्नता आएको छ ।

त्यसैगरी सेरेमोनी ब्युटिपार्लरकी मीना न्यौपाने मेकअप महिलाहरूका लागि अपरिहार्य भएको बताउँछिन् । अहिलेका कुनै पनि महिला मेकअपबाट अछूतो छैनन् । कोरियन चलचित्रको प्रभावका कारण युवतीहरू पनि राता लिपिस्टिकमा फुल मेकअप गर्न रुचाउँछन् । हरेक उमेरका महिलाका लागि मेकअप आवश्यक छ तर समय सुहाउँदो मेकअप गर्नुपर्छ भन्ने न्यौपानेको सुझाव छ ।

मिनरल मेकअप

शर्मिला मुनिकार, जश्मिन ब्युटिपार्लर एण्ड टे्रनिङ सेन्टर

मिनरल मेकअप स्वास्थ्यको हिसाबले निकै फाइदाजनक मानिन्छ । यसले अनुहारमा एक प्रकारको चमक पैदा गर्छ । मिनरल मेकअप लामो समयसम्म रहन्छ । यसले छालामा कवचको काम गर्छ । बढी मेकअप गर्ने महिलाहरूको अनुहार कालो हुने भएकाले यसले त्यसबाट बचाउँछ । मिनरल मेकअप दिनभरि रहन्छ । यसले छालामा कुनै असर पुर्‍याउँदैन ।

मिनरल मेकअपमा रहेका तत्वहरू

मिनलर मेकअपमा प्रयोग गरिएका तत्वहरू वनस्पतिजन्य छन् । यी प्रसाधन एरोमाथेरापीयुक्त हुन्छन् । यसमा बिसमुथ अक्सिक्लोराइड, केओलिन क्ले, सारविक एसिड, माइक्रोनाइज्ड टाइटानियम डाइअक्साइड, टेलक राइस स्टार्च, जी मेन, मिका आइरन अक्साइडजस्ता पदार्थ हुन्छन् । त्यसका अतिरिक्त यसमा भिटामिन ए, सी र ई पनि हुन्छ । यस्ता तत्वले अनुहारलाई चाउरीपन तथा एन्टी एजिङबाट जोगाउँदै छालालाई स्वस्थ बनाउँछन् ।

मेकअप गर्ने तरिका

लुस बेस मिनरल मेकअप

लुज बेस मिनरल मेकअपमा पाउडरदेखि आइस्याडोसम्म पाउडर र्फममा रहन्छ । लुज मिनरल मेकअपमा प्रेस्ड मिनरल पाउडर प्रयोग गर्नुपर्छ । पसिना आउनेहरूका लागि यो मेकअप निकै लाभदायक मानिन्छ । यसमा गाजल तथा आइस्याडो पनि प्रयोग गर्न सकिन्छ । यसका अनेकौं सेड बजारमा उपलब्ध छन् । लुज बेस मिनरल मेकअपका साथमा लिक्विड लिपिस्टिक तथा लाइनर प्रयोग गर्न सकिन्छ ।

लिक्विड तथा क्रिमबेस मेकअप

पाउडर बेसका अतिरिक्त लिक्विड तथा क्रिम बेस मिनरल मेकअप पनि गर्न सकिन्छ । यसमा फाउन्डेसन, कन्सिलर, आइपेन्सिल, लिपिस्टिक तथा आइस्याडो प्रयोग गरिन्छ । यसले लाइट मेकअपका साथमा क्याची लुक दिन्छ । यो मेकअपमा सबैभन्दा पहिले पाउडर प्रयोग गरेपछि त्यसमाथि लिक्विड बेस फाउन्डेसन लगाउनुपर्छ । त्यसैगरी लिक्विड टु आइलाइनर गाजल प्रयोग गर्नुपर्छ । क्रिमी आइस्याडोमा ब्लस बेस प्रयोग गर्न सकिन्छ । यसका साथमा क्रिमी लिपिस्टिक लगाइन्छ ।

मिनरल मेकअपमा प्रयोग हुने प्रसाधन

यसमा फिनिसिङ पाउडर, पाउडर बेस गाजल, ग्लो मिनरल, ग्लो प्राटेक्टिभ, शिर मिनरल पाउडर, मिनरल हाइलाइट पाउडर, मिनरल चिक कलर तथा आई कलर पाइन्छ । त्यसैगरी लिक्विडमा लिक्विड टु क्रिम मिनरल फाउन्डेसन, कन्सिलर, क्रिम मिनरल बेस ब्लस, क्रिम मिनरल ब्रान्ज तथा क्रिमी लिपिस्टिक आदि हुन्छ ।

मिनरल मेकअपको फाइदा

कम समयमा सजिलै गर्न सकिन्छ । लामो समय टिक्छ ।

एअर ब्रस मेकअप

रमिता श्रेष्ठ, क्लासिक ब्युटिपार्लर एण्ड टे्रनिङ सेन्टर

मेकअपका नयाँ-नयाँ अवधारणा विकसित हुने क्रम निरन्तर छ । मेकअपको जादुबाट प्राय: कोही पनि अछूता छैनन् तथापि मेकअप गर्ने शैलीअनुसार मेकअप गर्ने समय एवं शैली पनि फरक-फरक हुन्छ भन्ने जानकारी भने कमैलाई मात्र छ । एअर ब्रस यस्तै फरक शैलीको मेकअप हो । यसमा हात, स्पन्ज तथा ब्रसको होइन एअर ब्रस टुल्सको सहायताले मेकअप गरिन्छ । यसबाट गरिएको मेकअप निकै प्रभावकारी हुन्छ । एअर ब्रस मेकअपबाट अनुहारको छालालाई विभिन्न समस्याबाट जोगाउन सकिन्छ ।

यो मेकअपमा स्पन्ज प्रयोग नगरी एअर ब्रस मेसिनको सहायताले अनुहारमा मेकअप स्प्रे गरिन्छ । यो प्रक्रियामा कुनै स्पन्ज, ब्रस, हात तथा आंैला प्रयोग गरिँदैन । यो प्रविधि सन् १९५९ तिरै प्रारम्भ भएको हो । मेसिनको सहायताले अनुहारमा मेकअप छरिने हुँदा अनुहारको सबै भागमा समान मेकअप लाग्छ, कहीँ कम तथा कहीँ बढी देखिँदैन । यो मेकअपले निकै राम्रो लुक दिन्छ । हाइडेफिनेसन प्रविधि भएकाले यो मेकअपमा फोटोग्राफी तथा टिभीका लागि प्रभावकारी मानिएको छ । यो ब्राइडल मेकअपका लागि पनि उपयोगी छ । एयर ब्रस मेकअपपछि क्यामेरा अगाडि धेरै राम्रो तथा नेचुरल देखिन्छ । यो मेकअपले अनुहारमा देखिएको चाउरी, चायाँ तथा डन्डिफोरलाई लुकाएर अनुहारमा एक प्रकारको चमक प्रदान गर्छ । यो मेकअपछि छालामा हलुका गर्‍हौंपन अनुभव हुन्छ । यो मेकअप लामो समयसम्म रहन्छ । यसलाई पानीले कुनै प्रभाव पार्दैन । यो मेकअप दिनरात कुनै पनि समयमा गर्न सकिन्छ । जुनसुकै उमेरका लागि पनि उपयोगी एअर ब्रस मेकअप जुनसुकै छाला भएकाहरूले गराउन सक्छन् । एअर ब्रसको सहायताबाट ट्याटु आर्ट तथा नेलआर्ट पनि गर्न सकिन्छ ।

वाटर बेस्ड : अन्तिम रूप दिन ।

पोलिमर वाटर बेस्ट : यसमा पानी, पोली अनि पिंगमेन्ट मिसाइन्छ । जब एअर ब्रस मेकअप गरिन्छ तब पोलिमर छालामा बसेर त्यसलाई कोमल बनाउँछ ।

अल्कोहल बेस्ड : यसलाई टेम्पोररी एअर ब्रस इंक पनि भन्न सकिन्छ । यसलाई साधारणतया यो ट्याटु बनाउन प्रयोग गरिन्छ ।

 Image