Successfully Copied

पौरखी हात 

काम सानो–ठूलो हुँदैन । सानो कामबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ । अहिले पुरुषले गर्ने काममा महिलाले समेत हात बढाउन थालेका छन् । सिकर्मी, डकर्मी, चालकलगायतका क्षेत्रमा महिलाको उपस्थिति देख्न सकिन्छ ।

काम सानो–ठूलो हुँदैन । सानो कामबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ । अहिले पुरुषले गर्ने काममा महिलाले समेत हात बढाउन थालेका छन् । सिकर्मी, डकर्मी, चालकलगायतका क्षेत्रमा महिलाको उपस्थिति देख्न सकिन्छ । समाजमा विद्यमानपितृसत्तात्मक सोचलाई चिर्दै महिलाले आफूलाई स्थापित गर्दैछन् । यी र यस्तै अब्बल तथा समाजमा उदाहरणीय र प्रेरणादायी बनेका महिलाहरूका विषयवस्तुलाई नारीको यो अंकमा समेटेका छौं । 

सिकर्मी मनु 

मनु थामी आल्मोनियमका झ्याल–ढोका फ्रेम फिटिङ गर्छिन् । उनको काम देखेर सबै छक्क पर्छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन्, ‘महिला भएर गाह्रो हुँदैन ?’ त्यतिबेला उनले जवाफ फर्काउँदै भन्छिन्, ‘गाह्रो हुँदैन, सजिलै काम गरिरहेकी छु ।’ उनको प्रशंसा पनि उत्तिकै भएको हुन्छ । केहीले उनलाई भन्छन्, ‘ओहो कस्तो राम्रो काम गर्नुभएको हो ।’ यो प्रशंसाले उनलाई थप काम गर्ने हौसला मिलेको बताउँछिन् । उनले भनिन्–‘महिला भएका कारणले क्षमतामा बारम्बार प्रश्न उठिरहन्छ, सक्षम छु, प्रमाणित गरिराख्नुपरेको छ ।’ आत्मविश्वासका साथ काम गरेर उनले आफूलाई प्रमाणित गरिसकेकी छन् । हाल उनी यो क्षेत्रमा पाँच वर्षयता सिकर्मीका रूपमा कार्यरत छिन् । 

उनलाई सानैदेखि नै प्राविधिक क्षेत्रमा काम गर्ने रुचि थियो । दोलखाबाट काठमाडौं आएपछि उनले इलेक्ट्रिकको काम सिकिन् । त्यही काम सिक्दासिक्दै उनलाई प्रशिक्षकहरूले झ्याल–ढोका, फ्रेम फिटिङ गर्न सुझाए । त्यसपछि तीन महिना तालिम लिइन् । यो काम पनि टेक्निकल नै हो भनेर उनी यसैमा रमाउँदैछिन् । टेक्निकल क्षेत्रमा जति काम गर्‍यो त्यति नै सिक्दै जाने उनको अनुभव छ । उनले भनिन्–‘हामीले गर्ने काम एउटा सीप हो, यो जति गर्‍यो त्यति निखारिँदै जान्छ ।’ काममा उनलाई सानो–ठूलो भन्ने लाग्दैन । महिला भएर पछि हट्न पनि नहुने उनलाई लाग्छ । टेक्निकल क्षेत्रमा अझै पनि महिलाहरू आउन आवश्यक रहेको उनको भनाइ छ । उनले भनिन्–‘महिलाहरू यस क्षेत्रमा आएर क्षमता प्रदर्शन गर्न आवश्यक छ ।’

चेपाङ समुदायकी शान सरिता 

धादिङको बेनिघाटस्थित रोराङमा सरिता चेपाङको जन्म भएको हो । उनको परिवारको नाममा न त घर छ, न त जग्गा नै । ज्याला–मजदुरी गरी उनको परिवारले जीविकोपार्जन गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएपनि सरिताका अभिभावकमा छोरीलाई पढाउने सोच उच्च थियो । पढ्नमा जाँगरिली उनलाई अभिभावकले हौसला दिइरहे । अभिभावकले उनलाई भन्थे–पढेन भने हामीले जस्तै दुःख पाइन्छ । परिवारको दुःख देखेर उनी पढाइमा अग्रसर बनिन् । उनलाई लाग्थ्यो पढाइले दुःख कम हुन्छ । तर पढ्नकै लागि पनि उनले थुप्रै दुःख झेल्नुपर्‍यो । कहिले कापी–कलम किन्न त कहिले खाजा खाने पैसा हुँदैनथ्यो । विद्यालयको अवस्था पनि दयनीय थियो । कहिले चप्पलमाथि बसेर त कहिले बोरा ओछ्याए पनि पढ्नुपर्थ्यो । विद्यालयको रुखमुनि बसेर पढेको उनलाई ताजै छ । प्राथमिक तहसम्मको शिक्षा उनले गाउँमै पूरागरिन् । थप पढाइका लागि घरबाट करिब डेढ घण्टा हिँडेर पुगिने राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना भइन् । त्यहीँबाट उनले डिस्टिङसन ल्याएर एसएलसी उत्तीर्ण गरिन् । एलएलसी सकेपछि कुन विषय लिएर पढ्ने भन्ने द्विविधामा परिन् । उनलाई नर्स पढ्ने इच्छा बच्चैदेखि पलाएको थियो । तर आर्थिक अवस्थाले यो इच्छा उजागर गर्न सकिनन् । इच्छाशक्ति भए कसैले रोक्न सक्दैन भनेझैं उनलाई विभिन्न संघसंस्थाको सहयोग प्राप्त भयो । स्टाफ नर्स पढ्ने उनको रहर पूरा हुँदै गयो । प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को परीक्षामा छात्रवृत्तिमा भरतपुर अस्पतालको नर्सिङ कलेजमा तेस्रो नम्बरमा नाम निकालिन्। उनले त्यहीँबाट नर्सिङ पूरा गरिन् । त्यसलगत्तै सिन्धुली जिल्ला अस्पतालमा अनमी चौथो पद (स्थायी) जागिरमा छिरिन् । हाल उनी त्यहीँ कार्यरत छिन् । समुदायबाटै पहिलो नर्स बनेपछि उनी गाउँघरमा उदाहरणीय बनेकी छन् । उनलाई देखेर धेरै साथीले बालविवाह गरेको पछुतो मानेका छन् । उनले भनिन्–‘चिकित्सकको सेवा दिँदै पिएचडी गर्ने धोको छ ।’

 

काठमिल चलाउने सीता

काठमिल सञ्चालन गर्ने महिला बिरलै भेटिन्छन् । नेपालगञ्जकी सीता सुवेदी भने यसको अपवाद हुन् । उनले वर्षौंदेखि काठ मिल सञ्चालन गरिरहेकी छन् । मिलमा काठ बोक्नु, हिसाबकिताब गर्नु नै उनको दैनिकी हो । काठको हिसाबकिताब गर्न उनले श्रीमान्बाट सिकेकी हुन् । श्रीमान्बाट सीप सिकेर मिल सञ्चालनमा ल्याएकी उनी हालएक्लै नेतृत्व गरिरहेकी छन् । पछिल्लो समय मिल चलाउनेदेखि व्यवस्थापनमा समेत उनी पोख्त भइसकेकी छन् । मिलमा महिला देख्दा अचम्ममा पर्ने ग्राहकहरू हाल प्रशंसा गर्न थालेका छन् । उनले भनिन्–‘पहिले–पहिले महिला देख्दा छक्क पर्थे,अब भने सबैले प्रशंसा गर्छन् ।’ 

मिल व्यवसायमा श्रीमान्ले हरेश खाएपछि उनी आँट दिँदै आफैं व्यवसायमा होमिएकी हुन् । चुल्होचौकाबाट बाहिर निस्कने सोचका साथ उनी मिल सञ्चालनमा लागेकी हुन् । महिलाले सञ्चालन गर्न सके व्यवसाय सफल हुन्छ भन्ने उनमा विश्वास थियो । सुरुमा उनलाई व्यवसायबारे केही जानकारी थिएन । जति उनले गर्दै गइन् त्यति सिक्दै गइन् । आत्मविश्वासले उनी सफल हुँदै गइन् । उनले भनिन्–‘जान्दै नजानेको व्यवसायलाई पनि आत्मविश्वासले जित्दै गयो ।’ 

व्यवसायमा सफलता हासिल गरेपनि चुनौती भने उस्तै छन् । समयमा काठ नपाउनु, बिक्री नभएर कुहिनु आदि समस्या आउने गरेको उनले बताइन् । यी र यस्तै अन्य समस्या भएपनि साहसका साथ अघि बढ्न सके महिलाहरू पनि व्यवसाय र व्यवस्थापनमा सफलता हासिल गर्न सक्ने उनको निष्कर्ष छ ।

ट्याक्सी चालक ईश्वरी

स्याङ्जामा बाल्यकाल बिताएकी ईश्वरी थापा सधै काठमाडौं आउने–जाने गाडी हेरिरहन्थिन् । उनलाई लाग्थ्यो काठमाडौं कस्तो होला ? यही हुटहुटीले उनी एकदिन गाडी चढेर काठमाडौं पुगिन् । २५ वर्षअघि जब उनी काठमाडौं झरिन् तब उनका संघर्षका दिनहरू सुरु भए । उनले जीविकोपार्जनका लागि नाङ्लोमा सामान र सडकमा तरकारी पनि बेचिन् । उनले अरुको घरमा काम गरिनन्, टेलर राखिन् । एक पछि अर्को काम गरिरहँदा पनि उनलाई दुई छाक खान धौ–धौ परिरह्यो । काम त खटेर गरिन्, तर सोचेजस्तो कमाइ हुन सकेन । यी सबैकामदेखि वाक्क भएकी उनलाई एकदिन ट्याक्सी चलाउने सोच आयो । उनलाई लाग्यो ट्याक्सीबाट राम्रो कमाइ हुन्छ । त्यसताका चालकका रूपमा उनले महिला देखेकी थिइनन् । गर्न सकिन्छ कि सकिँदैन भन्ने उनलाई लागिरह्यो । धेरै कामबाट हरेस खाएकी उनले ट्याक्सी हाँक्ने आँट र साहस बटुलिन् । ट्याक्सी सिक्न थालिन् । लाइसेन्स पनि लिइन् तर अब ट्याक्सी चलाउन कसले देलान्? हातमा लाइसेन्स लिएर उनले ट्याक्सी खोजिरहिन् । कसैले उनलाई पत्याएनन् । झन्डै पाँच वर्षसम्म लाइसेन्स हातमा बोकेर हिँडिरहिन् । उनले भनिन्–‘महिला भएकै कारण ट्याक्सी दिन कोही पनि तयार भएनन् ।’ ट्याक्सी खोज्दाखोज्दै हरेस खाएकी उनले आफैले ट्याक्सी लिएर चालकका रूपमा बाटोमा निस्किन् । पुरुष चालकहरू उनलाई देखेर आत्तिएर भन्न थाले, ‘हामीले गर्ने काम महिलाले गर्न थालेपछि हामीले के गर्ने ?’ यात्रुहरूले पनि उनलाई फरक तरिकाले हेर्न थाले । धेरैले प्रशंसा गर्दै उनको ट्याक्सी रोजे । कतिपयले महिला भन्दै उनको ट्याक्सी चढ्नै छाडे । दुई पटक त उनी यात्रुबाटै लुटिइन् । यात्रुले पैसामा बार्गेनिङ गर्ने, ट्राफिकले अनावश्यक दुःख दिने, ट्राफिक र पुरुष चालकहरूको अपशब्द सुन्दै उनलाई सडक छिचोल्नुपर्ने उनले आफ्नो वाध्यता सुनाइन् । ट्याक्सी ड्राइभरहरूले यात्रु ठगेको समाचार सुन्दा र यात्रुहरूले ठगको ट्याग लगाइदिँदा भने उनको चित्त एकदमै दुख्छ । आफ्नै पेसाप्रति उनलाई ग्लानि महसुस हुन्छ । ट्याक्सी चालकहरू ठगको ट्याग लगाउनुमा जनचेतना र सरकारी नियम दोषी देख्छिन्, उनी । उनका अनुसार सरकारले विगत १० वर्षदेखि मिटरको पैसा बढाएको छैन । यसले ट्याक्सी चालकहरू मर्कामा परेको उनी बताउँछिन् । उनले भनिन्–‘मिटरको पैसा नबढ्ने महँगी मात्रै बढ्ने अनि उल्टै ड्राइभरलाई ठग भन्ने ?’ 

 Image