सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।

शान्ता शिवाकोटी (चिफ मार्केटिङ अफिसर, ग्लोबल आइएमई बैंक)
वित्तीय क्षेत्रमा महिलाको अवस्था कस्तो छ ?
अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि धेरै सुधार हुनुपर्ने देखिन्छ । विगतको तुलनामा भने वित्तीय क्षेत्रमा महिलाको उपस्थिति उत्साहजनक छ । कलेजमै हेर्दा पनि मार्केटिङ विषय पढ्ने छात्रा धेरै छन् । नयाँ इनटेकमा पनि महिलाकै संख्या बढी छ ।
बैंकिङ क्षेत्रमा महिला नेतृत्वमा आउन के गर्नुपर्छ?
मुलतः सहभागिता नै बढाउनुपर्छ । यसो भएपछि क्रमशः सिक्दै र माथि उक्लिँदै जाने हो । यस क्षेत्रमा पलायन हुने दर पनि उत्तिकै छ । विवाहपछि बालबच्चा र घर व्यवस्थापनको जिम्मा महिलाको काँधमा आइपर्ने भएकालेधेरैले बीचैमा छाडेका पनि छन् । यो क्षेत्रमा प्रशस्त समय दिनुपर्छ । तसर्थ महिलालाई परिवारको सहयोग आवश्यक पर्छ । सरकारको नीतिमा आरक्षणका कुरा त छन् तर त्यो भन्दा पनि महिलालाई शिक्षित र दक्ष बनाउनु जरुरी छ । सरकारले महिला शिक्षामा जोड दिनुपर्छ ।
बचत गर्ने विषयमा नेपाली महिला कत्तिको अग्रसर देखिन्छन् ?
पुरुषको तुलनामा बचत गर्ने विषयमा नेपाली महिला निकै अग्रसर देखिन्छन् । किनभने बालबच्चा र घरपरिवार व्यवस्थापनको जिम्मा महिलामै हुने हाम्रो परम्परा जो छ ।
महिलामा आर्थिक सशक्तीकरणका लागि के आवश्यक देख्नुहुन्छ ?
सबैभन्दा पहिला शिक्षा, अधिकारबारे जानकार, आत्मनिर्भर हुने दक्षता आवश्यक छ । निर्णायक क्षमता र रिसोर्समा पहुँच बढाउनुपर्यो ।
महिला व्यवसायीका लागि बैंकहरू कत्तिको सहयोगी छन् ?
सहयोगी छन् । सरकार मात्रै होइन राष्ट्र बैंकको नीतिमै पनि महिलाका लागि सहुलियत कर्जा, विनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था छ । ब्याजदर पनि महिलाका लागि केही सुलभ छ । राम्रो आइडिया भएका तर पुँजी नभएकालाई बैंकले सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएको छ ।