Successfully Copied

सफलता भोलिका लागि

भविष्य अदृश्य छ तर पनि हामी वर्तमानमा बाँच्दै जाने क्रममा भविष्यको चर्चा कहिल्यै छुटाउँदैनौं।

भविष्य अदृश्य छ तर पनि हामी वर्तमानमा बाँच्दै जाने क्रममा भविष्यको चर्चा कहिल्यै छुटाउँदैनौं। आज नभए के भो त भोलि त छँदै छ नि, भोलि भैहाल्छ नि, भोलि गरौंला नि, भोलि त पाइहालिन्छ नि जस्ता अनेकौं भोलिको आशामा जीवनरथ अघि बढिरहेको हुन्छ तर त्यो भोलिलाई हामी कहिल्यै भेट्न सक्दैनौँ। यति हुँदाहुँदै पनि बिर्सन नहुने कुराचाहिँ के हो भने वर्तमान सबैभन्दा महत्वपूर्ण समय हो। वर्तमान बितेपछि विगत हुन्छ। विगतको गल्तीमा पछुताउनु वा भविष्यको अनावश्यक कल्पनामा उड्नुभन्दा वर्तमान समयलाई अर्थपूर्ण बनाउनु नै भोलिलाई सकारात्मक तवरले बदल्नु अर्थात् भोलिका लागि बाँच्नु हो। कसैले भनेका पनि छन्, 'भोलि गर्ने काम आजै गरौं, आज गर्ने काम अहिल्यै गरौं।' यो कुराले हामीलाई हरेक पल कर्मशील भएर बाँच्न प्रेरित गर्छ। भविष्य निर्माणका लागि आफ्ना खराब बानी-व्यवहार त्याग गर्नु र गर्नुपर्ने कामलाई योजनाबद्ध रूपले अघि बढाउनु नै बुद्धिमानी हो र यस्ता कुराको सुरुवातका लागि नयाँ वर्षको प्रारम्भ सबैभन्दा उपयुक्त हुन्छ।

खराब बानीको त्याग : खराब बानी त्याग गरी असल बानीको विकास गर्दै गए सफल हुन सकिन्छ तर यो कुरा  व्यवहारमा उतार्न त्यति सहज छैन। खराब बानी-व्यवहार सजिलै छुटाउन सकिँदैन। त्यसबाट छुटकारा पाउन दृढ आत्मबल एवं समय व्यवस्थापनको खाँचो पर्छ। यी दुई कुरा अँगाल्न सके खराब बानीलाई सधैंका लागि टाढा भगाउन सकिन्छ।

सदुपयोगको कला : कुनै पनि कुराको उपयोग गर्न जान्नु पनि कला हो। यसमा पनि समयको सदुपयोग गर्न सक्नु सबैभन्दा महत्वपूर्ण हुन्छ। विश्वको इतिहास हेर्दा पनि ज-जसले समयको महत्व बुझेर त्यसको सदुपयोग गरे ती व्यक्तिहरू सफल भएको देख्न सकिन्छ। यो हिसाबले हेर्दा समय नै सबैभन्दा ठूलो धन हो जसको सदुपयोगको कला जान्न सके इच्छित सफलता सहजै प्राप्त हुन्छ। समय व्यवस्थापनको कला बुझ्नेहरूले कहिल्यै असफलता झेल्नु पर्दैन। खराब बानीको त्याग गर्न पनि यो कलाले साथ दिनसक्छ।

प्राथमिकता निर्धारण : आफ्नो प्राथमिकता निर्धारण गरेर आफू सुहाउँदो दिनचर्या तयार गर्नुपर्छ। कुनै पनि काम समयमै नगर्ने, कसैलाई भेट्न दिइएको समयमा नपुग्नेजस्तो बानी बसिसेको छ भने तिनमा सुधार ल्याउने कुरालाई प्राथमिकतामा राख्न सकिन्छ। प्राथमिकता निर्धारणले अनुशासित बन्न सघाउ पुर्‍याउँछ।

एकपल्टमा एउटै मात्र काम : जतिसुकै क्षमतावान्, मेहनती एवं सक्रिय मानिसले पनि एकैपटक धेरै काममा हात हाले भने सफल हुन सक्दैनन्। काम ठूलो होस् वा सानो एकपटकमा एउटै मात्र गर्नुपर्छ। बरु त्यो कामलाई सिध्याइसकेपछि अर्को काममा हात हाल्नुपर्छ। चाणक्य नीतिमा पनि सिंहबाट मानिसले यही एउटा कुरा सिक्नुपर्छ भनिएको छ। दुईवटा डुंगामा गोडा राखेर हिँड्ने व्यक्ति लड्ने सम्भावना बढी हुन्छ।

सकारात्मक दृष्टिकोण एवं धैर्य : हरेक कुराको सकारात्मक एवं नकारात्मक पाटो हुन्छ। सकारात्मक कुराले विकासको मार्गतर्फ प्रेरित गर्छ भने नकारात्मकले विनाशको भुमरीमा पुर्‍याइदिन्छ। असफलतालाई पनि सकारात्मक दृष्टिले हेरेर पुन: प्रयास गरे सबै काममा सफल हुन सकिन्छ। हरेक कामलाई सकारात्मक ढंगले हेर्ने बानीको विकास गरे जस्तोसुकै कठिन काम पनि सहजै पूरा हुन्छ ।

डायरी लेखन : पुस्तक वा डायरीलाई मानिसको सच्चा साथी मानिन्छ। डायरीमा आफ्नो लक्ष्य लेखेर त्यसलाई सस्वर बारम्बार पढ्दा लक्ष्यलाई सजिलै अवचेतन मनसम्म पुर्‍याउन सकिन्छ र सफलता प्राप्त गर्न सहज हुन्छ। लक्ष्यहरू लेखिसकेपछि तिनलाई कल्पनामा उतार्नुपर्छ। कल्पना विचार, बुद्धि, तर्क एवं गणितभन्दा धेरै गुणा शक्तिशाली हुन्छ। कल्पना नै सबै मानिसको सिर्जनाको स्रोत हो। फेरि डायरी लेखेर त्यसलाई बारम्बार पछ्याउँदै जाँदा आफ्ना सबल तथा कमजोर पक्ष छुट्याउन सकिन्छ। त्यसपछि कमजोर पक्ष हटाउन र सबल पक्षलाई अँगाल्न सजिलो हुन्छ। डायरी लेख्दा मन पनि हलुका हुन्छ। विगतका गल्ती वा कमजोरीबाट पाठ सिकेर अघि बढ्न पनि डायरीले नै सघाउँछ।

स्वयंको सम्मान : सफलता प्राप्तिका लागि पहिले आफ्नै सम्मान गर्न सिक्नुपर्छ। आफ्नो कमजोरी वा खराब पक्षमा ध्यान दिनुको साटो राम्रा पक्षहरूलाई नियाल्नुपर्छ। यद्यपि यसको अर्थ खराब कुरा लुकाउनुपर्छ भन्ने होइन। यो अरूका अगाडि मात्र लुकाउनुपर्छ तर आफूले भने इमान्दारितापूर्वक त्यसलाई नियालेर आत्ममूल्यांकन गर्नुपर्छ।

 Image