Successfully Copied

बाध्यात्मक देहव्यापार अन्त्य गर्ने प्रतिबद्धता

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरूको हक-हित प्रवर्द्धन गर्न ती क्षेत्रलाई व्यवस्थित तवरले संचालन गर्ने प्रयास थाल्ने

मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाहरूको हक-हित प्रवर्द्धन गर्न ती क्षेत्रलाई व्यवस्थित तवरले संचालन गर्ने प्रयास थाल्ने सरकारी अधिकारीहरूले बताएका छन्। गत महिना काठमाडौंमा आयोजित रक्षा नेपालको दसौं वाषिर्कोत्सव समारोहमा सहभागी सरकारी अधिकारीले उक्त कुरा बताएका हुन्। समारोहका प्रमुख अतिथि वामदेव गौतमले बाध्यतामा परी शरीर बेच्न बाध्य भएकाहरूका लागि छिट्टै  नीति ल्याई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै बाध्यात्मक रूपले यौन पेसामा संलग्न महिलाको उद्धार एवं पुनस्र्थापना गरेकोमा रक्षा नेपालको प्रशंसा गर्दै यस्तो अभियानमा सधैं साथ दिने बचन दिए।

महिला हिंसाविरुद्धका मुद्दामा निरन्तर सुनुवाइ गर्न निर्देशन

गत महिना सर्वोच्च अदालतले महिला हिंसालगायत अति गम्भीर एवं मानवताविरुद्धका अपराधसम्बन्धी फौजदारी मुद्दामा लगातार कारबाही तथा सुनुवाइसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको छ। जिल्ला अदालत नियमावलीमा व्यवस्था भएको वर्षौं बितिसक्दा पनि कार्यान्वयन हुन नसकेपछि दायर रिट निवेदनमा सर्वोच्च अदालतले आफ्नै रजिष्ट्रारका नाममा परमादेश जारी गरेको हो। सर्वोच्चको उक्त फैसलाको पूर्ण पाठमा सम्बन्धित अदालतभित्रै संयन्त्र निर्माण गर्न पनि आदेश दिइएको छ।

महिला भलिबलको उपाधि एपीएफलाई

सशस्त्र प्रहरी बलको महिला टिमले गत महिना दोस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि चुम्यो। उपाधिका लागि उसले राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनलमा ढोरपाटनलाई २५-११, २५-१४ तथा २५-९ को सोझो सेटमा पराजित गरेको थियो।

दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन सुझाव

संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्ती मगरले महिला सभासदहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर महिलाका मुद्दामा एकजुट हुन सुझाव दिएकी छिन्। गत महिना संसद् सचिवालय सिंहदरबारमा भएको महिला सभासदहरूको भेलालाई सम्बोधन गर्दै उनले महिला सभासदहरूसँग एकजुट हुन आग्रह गरेकी हुन्। घर्तीले भनिन्, 'म लिंगीय पक्षधरता लिन्छु, तपाईंहरू पनि लिनुस्, महिलाको सवालमा हामी महिलाहरू दलगत स्वार्थभन्दा माथि उठौं।' घर्तीकै पहलमा भएको उक्त भेलामा १ सयभन्दा बढी महिला सभासद सहभागी थिए। उपाध्यक्ष घर्तीले संविधानसभा र व्यवस्थापिका संसद्को बैठकमा पनि समय लिएर बोल्न महिला सभासदहरूसँग आग्रह गरिन्। उनले भनिन्, 'संसद्को शून्य समयमा जसरी पनि बोल्नुहोस्। बोल्नुभयो भने महिलाहरूका एजेन्डा स्थापित हुनेछन्।'  

मानब बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन  

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन गत महिना काठमाडौंको गोदावरीमा सम्पन्न भयो। ५ दिने उक्त सम्मेलनमा विश्वका २० भन्दा बढी देशका अधिकारकर्मीहरू सहभागी थिए। विभिन्न जाति तथा मानिसहरूका बीचमा भातृ संगठनका लागि अन्तर्राष्ट्रिय आन्दोलन उफरको आयोजना तथा शक्ति समूह र पौरखी नेपालको सह-आयोजनामा सम्पन्न उक्त सम्मेलनमा भारत, कोरिया, अमेरिका, हाइटी, जापान आदि देशका अधिकारकर्मीहरूको सहभागिता थियो।

 सम्मेलनमा शक्ति समूह, पौरखी नेपाल, एटबिन, जिफन्ड, सिविस नेपाल, नेपाल कोरिया विकास मञ्च तथा भारतका विभिन्न गैसस प्रतिनिधिले आफ्नो कार्यक्षेत्र तथा मानव बेचबिखन, वैदेशिक रोजगारी, बालश्रम आदिसम्बन्धी सामग्री प्रस्तुत गरेका थिए। सम्मेलनको आकर्षणका रूपमा नेपालमा भैरहेको मानव बेचबिखनको इतिहास, प्रवृत्ति एवं महिला आन्दोलनमा सहभागी महिलाहरूका बारेमा चर्चा गर्दै सुनीता दनुवारले शक्ति समूहको जन्मका सम्बन्धमा प्रकाश पारिन्।

महिला बेचबिखन रोक्न गाउँपिच्छे सञ्जाल

सरकारी संयन्त्र एवं सामाजिक संघसंस्थाको अगुवाइमा मानव बेचविखन तथा ओसारपसार रोक्न सिन्धुपाल्चोक जिल्लाका सबै गाउँमा सञ्जाल गठन गर्न थालिएको छ। अभियानअन्तर्गत जिल्लाका ७९ मध्ये पहिलो चरणमा ५४ गाविसमा सञ्जाल गठन गरिसकिएको छ। दुई दशकको प्रयासबाट पनि मानव बेचबिखन रोक्न कठिन भएपछि जनचेतना जगाउन एकद्वार प्रणाली स्थापित गर्ने र सूचना संयन्त्र बलियो बनाउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा यो अभियान सुरु गरिएको हो।

लैंगिक हिंसाविरुद्ध प्रतिवेदन प्रस्तुत

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले लैंगिक हिंसाविरुद्ध भएका कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग आग्रह गरेका छन्। तीन वर्षयता भएका लैंगिक हिंसाका घटनामा केन्दि्रत अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाउँदै उपाध्यायले कानुनको व्यावहारिक कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरे। 'सबैका लागि न्याय' नामक संस्थाले तयार पारेको उक्त प्रतिवेदन प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्ल एवं कानुन सचिव भेषराज शर्मालाई बुझाइएको थियो। राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष उपाध्यायले त्यससम्बन्धी पुस्तकसमेत सार्वजनिक गरेका थिए। कार्यक्रममा कांग्रेस नेतृ एवं कानुन व्यवसायी पुष्पा भुसालले लैंगिक हिंसा दिनप्रतिदिन बढ्दै गएको औंल्याउँदै राज्यका निकाय गम्भीर हुनुपर्ने बताइन्। संस्थाका तर्फबाट अधिवक्ता शर्मिला श्रेष्ठले अध्ययन प्रतिवेदनले लैंगिक हिंसाको अवस्था, विद्यमान कानुन एवं त्यसमा सुधारका लागि विभिन्न सुझाव समेटिएको जानकारी दिइन्।

विश्व नारी साहित्य मेला

डेढ वर्षदेखि तयारी चलिरहेको 'विश्व नारी नेपाली साहित्य सम्मेलन' आगामी जेठ महिनामा हुने भएको छ। नेपाली नारी स्रष्टासँगै विभिन्न २० मुलुकको सहभागिता रहने सम्मेलन त्रिमूर्ति निकेतनले आयोजना गर्न लागेको हो। सम्मेलनमा साहित्यकार डा. वानिरा गिरीलाई पाँच लाख रुपैयाँसहित 'नेपाली साहित्यको विश्व नारी रत्न' को उपाधि प्रदान गरिनेछ। उक्त अवसरमा महिलासम्बन्धी १४ वटा पुस्तक पनि सार्वजनिक हुने बताइन्छ।

 Image