व्यस्त दैनिकी, अव्यवस्थित जीवनशैली एवं खानपानका कारण मानिसहरू रोगी र जीर्ण बन्दै गएका छन्। कसैलाई मोटोपनले सताइरहेको छ भने, कोही उच्च रक्तचाप, मधुमेहजस्ता रोगको सिकार भएका छन्। त्यसैले उनीहरू शरीरलाई चुस्त एवं फुर्तिलो राख्न नियमित रूपमा व्यायाम गरिरहेका हुन्छन्। स्वास्थ्यप्रति सचेत थुप्रै युवायुवती फिट्नेस सेन्टर, स्पा, हेल्थ क्लब धाउने गरेका छन्। स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि यो राम्रो विकल्प भएको छ।
अतः यसले शारीरिक तन्दुरुस्तीको क्षेत्रमा रोजगारीको सम्भावना पनि बढाएको छ। अब फिट्नेस ट्रेनरका रूपमा पनि करिअर बनाउन सकिन्छ। यो क्षेत्रमा युवतीहरूले समेत सहज रूपमा आफूलाई स्थापित गर्न सक्छन्। तारे होटलदेखि हेल्थ क्लब, फिट्नेस सेन्टर, स्पाजस्ता क्षेत्रमा फिट्नेस ट्रेनरको माग हुन्छ। त्यसैगरी कतिपय अस्पतालमा समेत यस किसिमका जनशक्तिको आवश्यकता हुन्छ। त्यसबाहेक आफै फिट्नेस सेन्टर पनि सञ्चालन गर्न सकिन्छ।
विगतमा खेलाडीका लागि फिट्नेस ट्रेनर राखिन्थ्यो। अहिले सेलिब्रेटीदेखि सर्वसाधारणसमेत फिट्नेस ट्रेनरको शरणमा पुग्ने गरेका छन्। खासमा फिट्नेस ट्रेनरले बडीको सेपसम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक ज्ञान दिन्छन्। शरीरलाई लचिलो बनाउनुका साथै व्यायामबाट शरीरको तौल नियन्त्रण गर्न आवश्यक प्रशिक्षण दिइन्छ। त्यतिमात्र होइन, शारीरिक बनोटअनुसार व्यायाम गर्ने तौरतरिका र स्वास्थ्यअनुसार कस्ता पोषण गर्ने भन्ने परामर्श पनि दिइन्छ।
फिट्नेस ट्रेनरमा मानव शरीरसम्बन्धी सामान्य ज्ञान आवश्यक हुन्छ। किनभने शरीरको प्रकृतिअनुसार व्यायामबाट हुने प्रभावका सम्बन्धमा उनीहरूले थाहा पाउनुपर्छ। शारीरिक बनोट र उमेर समूहअनुसार उचित किसिमको व्यायाम सिकाउनेदेखि खानपानको तालिका समेत तयार गर्नुपर्ने भूमिका उनीहरूको हुन्छ। त्यसैले यसको व्यावसायिक कोर्समा एनाटोमी, एक्सरसाइज फिजियोलोजी, वायोमेकानिक्स, काइनेजिलोजी, एक्सरसाइज टेक्निक आदिका सम्बन्धमा ज्ञान दिइन्छ। फिट्नेस ट्रेनरहरू तमाम रोगबाट मानव शरीर एवं मस्तिष्कलाई कसरी जोगाउने भन्ने कुरामा जानकार हुनुपर्छ।
ट्रेनरले फिट्नेस उपकरण तथा त्यसलाई सञ्चालन गर्ने विधि जान्नुपर्छ। एरोविक्स, फ्लेक्सिबिल्टी ट्रेनिङ, पोषणजस्ता कुराबाट पनि अनभिज्ञ हुनुहुँदैन। कुनै पनि व्यक्तिको शारीरिक बनोटअनुसार कस्तो किसिमको व्यायाम गर्ने, कसरी गर्ने र खानपानमा के-कस्ता सावधानी अपनाउनेजस्ता कुरामा परामर्श दिन सक्नुपर्छ।
उनीहरूले मूलतः फिट्नेस, न्युटि्रसियन, वेट म्यानेजमेन्ट, स्ट्रेस रिडियुसन, हेल्थ रिक्स म्यानेजमेन्टजस्ता विषय अध्ययन गर्नुपर्छ। एरोविक्स इन्स्ट्रक्टरले जस्तै वर्क आउट कक्षमा एरोविक्स, स्टेचिङ, मसल्स एक्सरसाइज सिकाउनुपर्छ। जगिङ, पुसअप, वेटलिफ्टिङ आदि व्यायाम जान्नुपर्छ। योगमा पनि दख्खल भए सुनमा सुगन्ध हुन्छ। त्यसबाहेक उनीहरूमा जनसम्पर्क क्षमता आवश्यक छ। पछिल्लो विकासक्रम, पाठ्यसामग्री, ट्रेन्ड एवं बजारको माग आदिका सम्बन्धमा जानकारी राख्नुपर्छ। आफ्ना सेवाग्राहीहरूसँग राम्रो व्यवहार गर्नुपर्छ।
फिट्नेस ट्रेनर धेरै प्रकारका हुन्छन्। फिट्नेसको कुनै विशेष विषयमा पोख्त ट्रेनरलाई विशेष ट्रेनर भनिन्छ। विभिन्न सेलिब्रेटी, उद्योगपति, नेता आदिले निजी रूपमा समेत ट्रेनर नियुक्त गरेका हुन्छन्। यस्ता ट्रेनरले निश्चित व्यक्तिलाई व्यायाम गराउने, डाइट चार्ट बनाउनेदेखि स्वास्थ्य, खानपान एवं वर्क स्टाइलको ख्याल राख्नुपर्छ। शारीरिक सुगठनप्रति लालायित युवाहरू जिम धाउँछन्। उनीहरूका निम्ति जिम ट्रेनरका रूपमा पनि काम गर्न सकिन्छ। अहिले खेलाडीका निम्ति पनि यस्ता ट्रेनरको माग छ।