Successfully Copied

कस्तो रोज्ने करिअर ?

आजका महिला करिअरमुखी छन्। विवाह, सन्तानलगायत धेरै कुरालाई थाती राखेर करियरलाई प्राथमिकतामा राख्ने महिलाका उदाहरण बढ्दै गएका छन्।

आजका महिला करिअरमुखी छन्। विवाह, सन्तानलगायत धेरै कुरालाई थाती राखेर करियरलाई प्राथमिकतामा राख्ने महिलाका उदाहरण बढ्दै गएका छन्। कतिपय १०-५ को सहज करिअरमा रमाउँछन् भने कति चुनौतीपूर्ण काममा आफूलाई अब्बल ठहर्‍याउँछन्। करिअरमुखी यो जमानामा कस्तो करिअर रोज्ने-सहज कि चुनौतीपूर्ण बहसकै विषय हो।

कृष्टि पौडेल, नायिका

मेरो विचारमा सहज र गाह्रो भन्दा पनि आफ्नो रुचि र क्षमताअनुरूपको करिअर छनोट गर्नुपर्छ। मेरा लागि चलचित्र रुचिको क्षेत्र हो। फिल्म सुटिङका क्रममा रातभरि घर नआउँदा परिवारजनले प्रश्न त गर्छन् तर पनि ती सबै कुरा बिर्सिएर आफूलाई मन लागेको काम गर्न पाउँदा अझ थप गर्न सक्छु भन्ने आँट र हौसला बढ्दो रहेछ। आफ्नो काममा दृढता र प्रतिबद्धता भने चाहिन्छ। मेरो विचारमा आजका महिलाहरू सजिलो काममा मात्र अड्किएर बस्दैनन्।

संगीता भँडेल, सेफ, सिद्धार्थ कटेज, तीनकुने काठमाडौं

मेरो करिअरमा आफ्नै रुचिले महत्वपूर्ण भूमिका खेलेको छ। पुरुषले मात्र गर्नेे यो काम चुनौतीपूर्ण  भए पनि मलाई यसमै आत्मसन्तुष्िट छ। चाँगुनारायणकी मलाई परिवारको साथ र सहयोगले यतै बस्ने अवसर मिलेको छ र त मैले आफ्नो सबै काम गर्न भ्याइरहेकी छु। परिवारको विश्वास र सहयोग नमिलेको भए मेरो मात्र चाहनाले के नै हुन्थ्यो र ? बिहान ८ बजेदेखि बेलुका ८.३० बजेसम्म खट्नुपर्ने मेरो काम अड आवर जब हो। अन्य पेसा जस्तो त्यति  सहज पनि छैन। १२ जनामा म एक्लै महिला सेफ छु र पनि मलाई कुनै किसिमको अप्ठ्यारो महसुस भएको छैन। परिवारको सहयोग पाए महिलाहरू पनि चुनौतीपूर्ण काममा सफल हुन्छन् भन्ने मेरो बुझाइ छ। मलाई सजिलो भन्दा यस्तै काम गर्न रमाइलो लाग्छ।

सीता शर्मा, पत्रकार, गोरखापत्र दैनिक

जहाँ अप्ठ्यारो छ, त्यहाँ धेरै अवसर र सम्भावना हुने भएकाले मलाई चुनौतीपूर्ण काम गर्न मन लाग्छ। दैनिक अखबारमा काम गर्ने मूलधारका पत्रकारलाई जताततै चुनौती नै चुनौती छ। घरपरिवार, बालबच्चा, कार्यालयको समय व्यवस्थापनलगायतका दोहोरो-तेहेरो भूमिकामा रातबिरात खटेर डेडलाइन मिट गर्ने कुरामा बढी नै प्रेसर हुन्छ। हाम्रो समाजमा महिलालाई गर्न सक्दैनन् र महिला त हुन् भनेर हेर्ने चलन छ। आँट गर्ने हो भने महिलाका लागि पनि असम्भव भन्ने केही छैन।

शर्मिला मल्ली, म्यानेजर, एलायन्स इन्स्योरेन्स, बनेपा शाखा

चुनौतीपूर्ण कामले नै सफल बनाउँछ भन्ने मेरो अनुभव छ। मैले जागिरलाई मात्र प्राथमिकता दिएकी छैन। बीमाबाहेक अन्य थुप्रै सामाजिक काममा भएकीले आफ्नो दायित्व र जिम्मेवारी  एकसाथ निर्वाह गरिरहेकी छु। प्रतिस्पर्धात्मक बजारमा हरेक काममा कठिनाइहरू छन्। अझ हाम्रो मार्केटिङको काममा त बिहान-बेलुका भन्न पाइँदैन। क्लाइन्टको समयअनुसार आफ्नो समय मिलाउनुपर्छ भने कतिबेला गाडी, बाइक दुर्घटना पर्छन् फोटो खिच्न विवरण लिन अन द स्पट पुग्नुपर्ने हुन्छ। महिलाले चुनौतीपूर्ण क्षेत्रमा करिअर निर्माण गर्न सक्छन्।

 

 Image