Successfully Copied

डाइट

जाडो महिनामा बाहिरको तापक्रम चिसो हुने भएकाले शरीर काम्छ र इनर्जी खेर गैरहेको हुन्छ। त्यसैले जाडो महिनामा शक्तिवर्द्धक वा क्यालोरीयुक्त खानेकुरा खानुपर्छ। पहिले-पहिले तातो भातमा घिउचाकु राखेर खाने चलन थियो जुन निकै राम्रो थियो। यो मौसममा हट वेभरेज अर्थात् तातो सुप, खुट्टीको सुपका

जाडो महिनामा कस्तो खाना खानु उचित हुन्छ ?

जाडो महिनामा बाहिरको तापक्रम चिसो हुने भएकाले शरीर काम्छ र इनर्जी खेर गैरहेको हुन्छ। त्यसैले जाडो महिनामा शक्तिवर्द्धक वा क्यालोरीयुक्त खानेकुरा खानुपर्छ। पहिले-पहिले तातो भातमा घिउचाकु राखेर खाने चलन थियो जुन निकै राम्रो थियो। यो मौसममा हट वेभरेज अर्थात् तातो सुप, खुट्टीको सुपका साथै गेडागुडीको सुप पनि खान सकिन्छ।

उमेरका हिसाबले खानुपर्ने खाना के-के हुन् ?

उमेरका हिसाबले ठ्याक्कै यही खानुपर्छ भन्ने छैन। यद्यपि शिशु भए तातो दाल, भात र तरकारी ख्वाउन सकिन्छ। बेला-बेलामा सुप तथा गेडागुडीको रस पनि ख्वाउन सकिन्छ। यसैगरी ठूला मानिसले पनि बिहानको नास्तामा तातो जेरीस्वारी, चिया र खानामा दाल, भात, तरकारी तथा बेलुकी रोटी वा भात खान सकिन्छ। जे खाए पनि तातो खाँदा शरीरलाई फाइदा पुग्छ। यसैगरी सुत्ने बेलामा तुलसी, अदुवा, नुन, बेसार तथा ज्वानो मिसाइएको पानी पिए फाइदा हुन्छ।

जाडो महिनामा किन तातो खाना  खानुपर्छ ?

जाडो महिनामा चिसोले गर्दा तातो खाना खानु आवश्यक छ। चिसो खाना खाँदा शरीर पनि कामिरहन्छ। त्यसैले तातो खाना खाँदा शरीरलाई फाइदा हुन्छ।

जाडो महिनामा कति कप चिया पिउन सकिन्छ ?

सबैले जाडो महिनामा चिया बढी पिउँछन्। चिसो हुने भएकाले तातोका लागि चिया पिइन्छ तर पटक-पटक दूध हालेको चिया पिउँदा कतिपयलाई ग्यास्टि्रकको समस्या पर्न सक्छ। दिनमा ४-५ कप हर्बल चिया तथा कालो चिया पिउन सकिन्छ।

जाडो महिनामा बढी खाना रुच्नुको कारण के होला ?

जाडो महिनामा शरीरको शक्ति खेर गैरहेको हुँदा बढी भोक लाग्छ अनि खाना पनि बढी नै रुच्छ। गर्मी महिनामा बढी खाँदा अपच हुने समस्या भए पनि जाडो महिनामा भने त्यस्तो हुँदैन।

जाडो महिनामा रुघाबाट बच्न कस्ता खानेकुरा खानुपर्छ ?

जाडो महिनामा चिसो बढी हुने भएकाले धेरैजसोलाई रुघाखोकीले सताउँछ। त्यसैले जाडोमा चिसो खाना खानु हुँदैन। सुप वा झोल कुरा बढी खानुपर्छ। यसैगरी हट लेमन खानु पनि फाइदाजनक हुन्छ। सुन्तला पनि खान सकिन्छ। तुलसी, ज्वानो, नुन, बेसार हालेर उमालेको पानी पिउन सकिन्छ।

शिशु स्वास्थ्य

डा. सुजन राजभण्डारी,  शान्ति फर्मा

चिसो मौसममा शिशुमा कस्ता समस्या बढी देखापर्छन् ?  

यो मौसममा शिशुलाई बढी पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने तथा रुघाखोकीजस्ता समस्याले सताउने गरेको पाइन्छ।

कुन उमेरकालाई यस्तो समस्या देखिने गरेको छ ?

सामान्यतः भर्खरै जन्मिएका शिशुदेखि ५ वर्षका शिशुमा यस्तो समस्या देखापर्छ।

जाडो माैसममा यस्ता समस्या बढी देखिनुको कारण के हो ?

साधारणतया गर्मी मौसममा मात्र पखाला लाग्छ भन्ने भ्रम छ। शिशुलाई जाडो मौसममा पखाला तथा बान्ता हँुदा आश्चर्य लाग्न सक्छ। जाडो माैसममा खानेकुरा बासी भए पनि बिग्रदैन त्यसैले बासी खानेकुरा खाइन्छ। त्यही खाना शिशुलाई ख्वाउँदा पखाला लाग्ने सम्भावना हुन्छ। खानपान सफासुग्घर नहँुदा नउमालेको पानी तथा राम्रोसँग नपखालेका फलफूल खाँदा यस्तो समस्या देखापर्छ। यसैगरी यो मौसममा रुघाखोकी लागेर कतिपय शिशुलाई ज्वरो नै आउँछ। चिसोको कारण तथा धूवाँ-धूलोले गर्दा पनि त्यस्तो समस्या देखापर्छ।  

रुघाखोकी तथा पखाला कति दिनमा निको हुन्छ ?

३-४ दिनमा निको हुन्छ। तातो खानेकुरा, मनतातो पानीले पखालेका फलफूल, झोल पदार्थ बढी खाए यस्तो समस्या आफैं समाधान हुन्छ।

कतिपय शिशुलाई रुघाखोकी लाग्दा कान चिलाउने तथा कान पाकेर पीप नै बग्ने कारण ?

नाक, कान तथा घाँटी बीच विशेष सम्बन्ध हुन्छ। यसले गर्दा रुघा लाग्दा कान चिलाउँछ। त्यसैले रुघा लाग्दा बेस्सरी सिंगान फाल्नुहुँदैन। यसले कानमा समस्या उत्पन्न हुन्छ। यसैगरी रुघाखोकी लागेको धेरै समय भए ब्याक्टेरियाको संक्रमणले टन्सिल नै हुन्छ।

यस्ता समस्याबाट जोगिन के गर्नुपर्छ ?

जाडो भयो भन्दैमा शिशुलाई धेरै गुम्स्याएर राख्नुहुँदैन। धेरै बाक्ला पहिरन लगाइदिँदा पसिनाले भिजेर झन् चिसो हुन सक्छतसर्थ न्यानो हुने पहिरन लगाइदिनुपर्छ। सफासुग्घर राख्नुका साथै सन्तुलित एवं तातो खानेकुरा ख्वाउनुपर्छ। सामान्य रुघाखोकी लागेर ज्वरो आए प्यारासिटामोलको झोल ख्वाइदिनुपर्छ। यति गर्दा पनि नभए चिकित्सककहाँ लानुपर्छ।

ज्योतिषशास्त्र

ज्योतिषशास्त्रअनुसार कुन-कुन महिनामा विवाह गर्न हुन्छ ?

माघ १ गतेदेखि असार मसान्तसम्मलाई सूर्य उत्तरायण भनिन्छ भने साउन १ देखि पुस मसान्तसम्मलाई सूर्य दक्षिणायन भनिन्छ। सूर्य उत्तरायण भएको ६ महिनामध्ये चैतबाहेक ५ महिना र मंसिर १ महिनासमेत ६ महिनाका उपयुक्त लगन वा साइतमा विवाह गर्न सकिन्छ। मंसिर महिनामा राम-सीताको विवाह भएको हुँदा मंसिरमा विवाह गर्ने चलन बढी छ।

वर-बधूको चिना मिलेन भने के हुन्छ ?

पहिले-पहिले मागी विवाह गर्ने चलन थियो। त्यसमा केटा पक्षले केटीको चिना माग्ने र ज्योतिष कहाँ लगी दुवै जनाको चिना हेरेर जुर्‍यो भने मात्र विवाह गर्ने चलन थियो तर अहिले प्रेम विवाह गर्ने चलन छ। प्रेम विवाहमा चिना मिलाउनुपूर्व नै प्रेम भैसक्ने हुँदा चिना मिलाउन अप्ठ्यारो हुन्छ। अतः धेरैले साइत मात्र जुराउँछन्। यसरी चिना नमिलाई गरिएको विवाहमा कुनै न कुनै कुरामा अप्ठ्यारो पर्छ।

वर-बधूको चिना मिल्छ कि मिल्दैन कसरी हेरिन्छ ?

केटा र केटीको चिना हेर्दा सर्वप्रथम मांगलिक दोष हेर्नुपर्छ। दुवैको मांगलिक दोष नभए राम्रो मानिन्छ। दुवैको मांगलिक दोष भए पनि विवाहका लागि उपयुक्त मानिन्छ। दुईमध्ये एकको मांगलिक दोष छ भने त्यस्ता व्यक्तिबीच विवाह वर्जित छ। यसबाहेक दुवैको लग्न कुण्डली हेर्नु पनि उत्तिकै आवश्यक छ। लग्न कुण्डली राम्रो छ भने जीवनपर्यन्त राम्रो हुन्छ, छैन भने असफल वैवाहिक सम्बन्ध हुन सक्छ।

केटा र केटीको चिनामा कति गुण मिलाउनुपर्छ ?

चिना मिलाउँदा कति गुण मिल्छ भन्ने कुरा हेराउने चलन छ। यो चलनअनुसार केटा र केटीको राशि, नक्षत्र हेरिन्छ। जन्म नक्षत्रअनुसार वर्णको १, बत्स्यको २, ताराको ३, योनिको ४, ग्रहमैत्री ५, गणको ६, राशिको ७ तथा नाडीको ८ गरी जम्मा ३६ गुण हुन्छ। ३६ मध्ये १८ गुण मिले विवाह गर्न सकिन्छ। त्यसभन्दा माथि जति धेरै गुण मिल्यो त्यति राम्रो मानिन्छ।

केटा र केटीको कति गुण मिल्छ भनेर आफै पनि थाहा पाउन सकिन्छ ?

सकिन्छ, केटा र केटी दुवैले आफ्नो राशि र नक्षत्र चिना हेरेर थाहा पाउन सकिन्छ। पात्रोबाट आफूमा कति गुण छ थाहा पाउन सकिन्छ। पात्रोको सुरुका पानातिर वर-बधू मेलापक सारिणी भनेर एउटा अंक मेलापन दिइएको हुन्छ। जसमा वरको नक्षत्र प्रायः ठाडो र बधूको तेर्साे लेखिएको हुन्छ। दुई जनाको नक्षत्र जानेर सोही-सोही नक्षत्रको ठाडो र तेर्सो मिलाउँदा जति अंक आउँछ उनीहरूबीच त्यति नै गुण मिल्छ।  

फेसन

रोजिना श्रेष्ठ, फेसन डिजाइनर

विन्टरका लागि कुन फेबि्रक बढी उपयुक्त हुन्छ ?

भेल्भेट, ऊलन, भेला, लाइक्रा आदि फेबि्रक न्याना हुने हुँदा उपयुक्त हुन्छन्।

यो मौसममा पार्टीका लागि टिनएजरहरूका निम्ति कस्ता डिजाइन बनाइरहनुभएको छ ?

भेल्भेटमा हल्का इम्ब्रोइडरी गरिएको लङ गाउन बनाएकी छु। लेगिन्ससँग लगाउन मिल्ने भेल्भेटकै फिटिङ वान पिस पहिरनहरू पनि तयार गरेकी छु। भनेजस्तो कलर डाइ गर्न मिल्ने भएकाले स्टाइलिस्ट लुक दिन यो फेबि्रक उपयुक्त हुन्छ।

पार्टीमा साडी नै लगाउन खोज्नेहरूका लागि  नि ?

साडीको मुजापछिको भागमा भेल्भेट जोडेर डिजाइनर साडी बनाउँदैछु। जसमा त्यही कलरको भेल्भेटमा इम्ब्रोइडरी गरिएको फुल बाहुलाको ब्लाउज आकर्षकका साथै न्यानो पनि हुन्छ। ब्लाउजमा टिनेक तथा कलर नेक डिजाइन गरेकी छु। भेल्भेट नजोडिएको सिल्क वा सिफनको साडी लगाउने हो भने त्यसमा म्याचिङ भेल्भेटको लङ कोटले रोयल लुक्स दिन्छ।

क्याजुअल वेयरका लागि कस्ता डिजाइन निकाल्दै हुनुहुन्छ ?

लेगिन्समा लगाउने भेल्भेट तथा ऊलनका वान पिसहरूमा विभिन्न डिजाइन निकालेर काम गरिरहेकी छु जसमा भेल्भेटको सादा लङ कोट पनि राम्रो देखिन्छ।

कामकाजी महिलाका लागि कस्तो पहिरनले न्यानो र स्मार्ट देखाउँछ ?

लेगिन्समा लगाइने ऊलनको लङ स्वेटर, भेलाको कुर्ती, ऊलनको पाइन्ट, कटनमा भित्र भुवा भएको डिजाइनर पाइन्ट, बाक्लो स्टेट पाइन्ट, त्यसमा र्फमल छोटो कोट र भित्र हाइनेक राम्रो देखिन्छ।

जाडोका लागि कुन-कुन रंग उपयुक्त हुन्छन् ?

कालो, रोयल ब्लु, मजेन्डा, डार्क पर्पल, डार्क ब्राउन आदि डार्क कलर नै ठीक हुन्छन्।

 

 Image