Successfully Copied

काष्ठकलाले सिंगारिएको घर

यो ब्युटिसियन सुशीला तामाङ लामाको घर हो। बंगला स्टाइलमा बनाइएको यो घर निकै आकर्षक छ।

यो ब्युटिसियन सुशीला तामाङ लामाको घर हो। बंगला स्टाइलमा बनाइएको यो घर निकै आकर्षक छ। जापानमा धेरै वर्ष काम गरेर नेपाल फर्किएकी सुशीला त्यहाँको घर तथा इन्टेरियरबाट प्रभावित थिइन् फलस्वरूप उनले यो घरमा जापानमा जस्तै काठको बढी प्रयोग गरेकी छिन्। यो घरको झ्यालढोकामा काठको फ्रेमिङ गरिएको छ। काठको बढी प्रयोगले बाथ रोग नलाग्ने, क्लिन एवं केयर गर्न सजिलो हुनुका साथै सुन्दर पनि देखिन्छ। यो घर बाहिरबाट हेर्दै सुन्दर, शान्त र आनन्ददायक देखिन्छ। घरको मूलढोकाबाट भित्र छिर्नासाथ ढुंगा बिछ्याइएको सफा प्यासेज छ भने बायाँतिर सानो बगैंचा छ।  बगैंचामा अम्बा, फूल, तरकारी आदि रोपिनुका साथै एक साइडमा दूबो लगाइएको छ। दायाँतिर ठूला रुख रोपिएको छ भने  गाडी राख्ने ठाउँ पनि बनाइएको छ। घरको अगाडिको भागमा कार्भिङ गरिएका ६ वटा खम्बा निकै आकर्षक देखिन्छन्। घरभित्र छिर्ने ठूलो काठको ढोका आकर्षक काष्ठकलाले भरिएको छ। भित्र सीधा लामो ठाउँ छोडिएको छ। दायाँतिर काठको सोकेस बनाएर बीचमा ढोका छोडिएको छ। त्यहाँबाट भित्र डाइनिङ हल छ। डाइनिङ रुम काठ र सिसाको सोकेसले भरिएको छ। डाइनिङबाट किचेनमा जान सोकेसकै डिजाइनमा ढोका छ। किचेनमा पनि डाइनिङकै लुक्स दिने हिसाबमा काठको र्‍याक, दराज, किचेन सेट बनाइएको छ। किचेनबाट बाहिर निस्कन ढोका राखिएको छ। प्यासेजबाट दायाँ-बायाँतिर काठको बरन्डा बनाएर एक सिढी तल झरेपछि लिभिङ रुम छ। भित्तामा सेतो र क्रिम कलरको कम्बिनेसन छ। प्यासेजभरि टन्नै लाइटको व्यवस्था छ। प्यासेजबाट डाइनिङको पछाडिको भागमा बाथरुम तथा स्टोर रुम छ। पहिलो तल्लामा जान मार्बल बिछ्याएको साइडमा काठले बारिएको भर्‍याङ छ। पहिलो तल्लामा लिभिङ रुम देखिने काठको बरन्डा छ। दायाँमा बरन्डायुक्त मास्टर बेडरुम छ। कोठाभरिको भित्तामा दराज राखिएको छ भने दराजको बीचमा पनि दराजकै आकारमा ढोका राखिएको छ। त्यहाँ बाथरुम तथा चेन्जिङ रुम छन्। बायाँ भागमा  पनि दुईवटा कोठा र बाथरुम छन्। भुइँमा सबैतिर पार्केटिङ गरिएको छ, जसले गर्दा घरको इन्टेरियर सफा-सुग्घर देखिन्छ। दोस्रो तल्लामा दुईवटा कोठा, लबी र बरन्डा छन्। बरन्डाबाट दुईवटा चुच्चा निकाली झिँगटीको जस्तो देखिने छाना छ जहाँ पूजाकोठा र स्टोर बनाइएको छ। मूलढोकामा भएको झिँगटीको छानालाई यो घरको मुख्य आकर्षण मान्न सकिन्छ।

 



 Image