ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।
हरेक महिला आकर्षक एवं युनिक देखिन चाहन्छन् । पहिलेजस्तो फेसनमा जे भित्रिएको छ, त्यसकै पछि दगुर्नेहरू अहिले निकै कम हुँदै गएका छन् । जसरी महिलाहरू पहिरन, ब्याग, जुत्ता एवं मेकअपमा युनिक हुने दौडमा हुन्छन् त्यसैगरी एसेसरिज तथा ज्वेलरीमा पनि उत्तिकै विविधता खोज्छन् । अहिलेका महिलाहरू पूजा तथा घरका पार्टीहरूमा डायमण्ड तथा गोल्डका गहना लगाए पनि अन्य पार्टी एवं कार्यक्रममा आफ्नो पूरै मेकओबर खोज्छन् । गोल्डका सीमित ज्वेलरी हुने हुँदा आफूले चाहेजस्ता गहना लगाउन पाइँदैन भने केही फरक देखिनुपर्छ भन्ने मान्यताका कारण फ्युजन तथा युनिक एसेसरिजको क्रेज बढेको बैंकर रविना देशराज बताउँछिन् । रविना विदेश जाँदा यस्तै युनिक एसेसरिजहरू कलेक्सन गर्छिन् ।
यही क्रेजकै कारण अहिले ठाउँठाउँमा फ्युजन एसेसरिजहरूका आउटलेट खुलेका छन् । काठमाडौं मल, विशाल बजार, सिभिल मल, सिटी सेन्टर तथा राइजिङ मलहरूमा एसेसरिजका छुट्टै कर्नरहरू नै छन् । त्यहाँ विभिन्न उमेर र विभिन्न सामग्रीले फ्युजन गरिएका ज्वेलरी उपलब्ध हुन्छन् । न्यूरोड, खिचापोखरीमा गोल्ड प्लेटेड, सिल्भर तथा विड्सदेखि फ्युजन ज्वेलरीका थुप्रै पसल छन् ।
जसरी फेसन शोरुमहरूको वृद्धि भैरहेको छ त्यसरी नै ती ठाउँतिरै एसेसरिजहरूका पसल पनि खुलिरहेका छन् । बानेश्वर, पुरानो बानेश्वरतिर पनि हाल थुप्रै गोल्ड प्लेटेड गहना तथा एसेसरिजका पसल छन् । अहिले विभिन्न अनलाइन मार्केटिङसमेत एसेसरिजलाई फोकस गरेर संचालनमा ल्याइएका छन् । काठमाडौं युनिभर्सिटीमा अध्यनरत जश्मिन तुलाधर अनलाइन सपिङमा निकै रुचि राख्छिन् । उनलाई ज्वेलरीमा सुन–चाँदीभन्दा युनिक पिस मन पर्छन् । पहिले यस्ता गहनाका लागि मसला विड्समा निर्भर जश्मिन अहिले अनलाइनमार्फत पनि अर्डर गर्छिन् । अहिले महिलाहरू साथी सर्कलमा एउटै खालका पहिरन, गहना आदि होलान् भनेर निकै सतर्क हुन्छन् । अरु जस्तो किन हुने, बेग्लै देखिनुपर्छ भन्ने उनीहरूको मान्यता छ । त्यसैले पनि विविध प्रकारका एसेसरिजको माग बढेको छ ।
साडी, कुर्ता तथा लेहेंगामा डायमण्ड वा गोल्ड ज्वेलरी नै लगाउनुपर्छ भन्ने छैन, पहिरनसँग म्याच हुने कुनै पनि विड्स, ब्रास, क्रिस्टलका इयररिङ वा नेकपिस लगाउन सकिन्छ । भिजे तथा मोडल शुभेच्छा खड्काका अनुसार आफूलाई जस्तो एसेसरिज लगाउँदा सजिलो लाग्छ र सुन्दर देखिएको छ त्यही लगाउँदा हुन्छ । शुभेच्छालाई विड्स तथा स्टोनका गहना मनपर्छन् । कतिपय सिम्बोलिक एसेसरिज पनि पाइने हुँदा ठाउँ, समय र कामअनुसार एसेसरिज प्रयोग गर्न मिल्ने विज्ञापन तथा रेस्टुरेन्ट व्यवसायी सिर्जना जोशी बताउँछिन् । जोशीका अनुसार डायमण्ड तथा पर्लका गहनामा क्लासी देखिन सकिन्छ तर युनिक लुक्स भने डिजाइनर फ्युजन ज्वेलरीबाटै प्राप्त हुन्छ ।
हिजोआज गोल्ड, सिल्बर, ब्ल्याक मेटल, ह्वाइट मेटलका साथमा पेपर ज्वेलरी पनि उत्तिकै रुचाइँदैछ । नेपालमा नेपाली कागजमा विभिन्न कलर तथा प्रिन्ट गरेर इयररिङ तथा मालाहरू तयार गरिन्छ । पैसा कम पर्ने तथा हलुका समेत हुने भएकाले यस्तै गहना टिनएजरहरूको रोजाइमा परेका छन् । यस्ता ज्वेलरी अफिस वुमन तथा फरक देखिने चाहना बोकेका महिलाहरूको समेत छनोटमा पर्छन् । कतिपय स्किन एलर्जीले गर्दा एसेसरिज प्रयोग गर्न हिच्किचाउँछन् तर पेपर ज्वेलरीले ती सबै समस्याबाट जोगाउँछ । यसले पंक एवं सिम्पल लुक दिन्छ भने यसमा वुडन, ग्लास विड्स, कुन्दन, स्टोन, पोलकी तथा प्लास्टिक पनि प्रयोग गरिन्छ । अहिले वुडन इयररिङ, चुरा तथा नेकपिसहरू पनि फेसनमा छन् । कतिपयले वुडनमा पेन्टिङ गराएर पनि युनिक पिसहरू तयार पार्न लगाइरहेको पाइन्छ ।
चाँदीमा गोल्ड प्लेटेड आमु
केयूबाट ग्राफिक्स डिजाइनिङ गरेकी आयुषामा आर्टकै कुनै विधामा सक्रिय हुने सोच थियो । फलस्वरूप आयुषा अहिले कन्सेप्टच्युअल ज्वेलरी डिजाइनिङमा सक्रिय छिन् । आफूले बनाएका ज्वेलरी युवापुस्तामाझ मात्र होइन प्लस ५० सम्मले पनि उत्तिकै रुचाएको आयुषा बताउँछिन् । अरू गहनाभन्दा
फरक र भिन्न देखिने भएकाले पनि आयुषाको आमु ब्रान्ड मेड इन नेपाली ज्वेलरीको माग बढ्दो छ । उनले बनाएको चन्द्र, सूर्य लकेट भने धेरै नै माग भएको डिजाइन हो । आयुषाले डिजाइन गरेको इयररिङ, नेकलेस, रिङ, ब्रासलेट, चुरा आदि आकर्षकसमेत छन् । उनले डिजाइन गरेका ज्वेलरी २ हजार २ सयदेखि ७–८ हजार रुपैयाँसम्मका छन् । आकर्षक एवं युनिक एसेसरिजका कारण नै आमुका ज्वेलरीको माग बढेको आयुषा बताउँछिन् ।
मसला विड्स
सन् १९९७ मा काठमाडौंको ठमेलमा एसेसरिजहरूको शोरुम मसला विड्सको स्थापना भएको हो । अहिले युवापुस्तादेखि मिडिल एजसम्ममा डायमण्ड, गोल्ड एवं सिल्भरका साथमा विड्स तथा विभिन्न धातुका एसेसरिजप्रति विशेष आकर्षण छ । त्यसैलाई मध्यनजर गरी नेपाली युवासँग विवाह गरेर नेपाल आएकी जापानी युवती युरिका योसिकाले मसला विड्सको स्थापना गरेकी हुन् ।
नेपालका साथै भारत, इन्डोनेसिया, जापान आदि मुलुकबाट विड्स, स्टोन, ब्रास आदि ल्याई धागोबाट हातैले यी एसेसरिजहरू तयार पारिन्छ जसमा इयररिङ, नेकलेस, ब्रासलेट, हेयर एसेसरिज आदि प्रमुख छन् ।
मसला विड्समा पाइने सबै एसेसरिज युनिक हुन्छन् । अफिसमा लाउन मिल्ने साधारणदेखि टिनएजर एवं पार्टी वेयरसम्मका लागि हुने फ्युजन तथा युनिक ज्वेलरीहरू १ सय ५० देखि २ हजार रुपैंयाँसम्ममा उपलब्ध हुन्छन् । यस्ता एसेसरिज विदेशमा बस्ने नेपालीहरूबीच पनि उत्तिकै प्रिय छन् ।
गोल्ड प्लेटेडका लागि शुभम् ज्वेलरी
अहिले मानिसहरू गोल्ड प्लेटेड गरगहनाप्रति बढी रुचि राख्छन् । त्यसैले पनि नेपाली बजारमा यसको बजार फराकिलो हुँदै गएको छ । लामो समयदेखि मखनटोलमा शुभम् ज्वेलरीले गोल्ड प्लेटेड गहनाहरू बिक्री गर्दै आएको छ । शुभम्का नीरजकुमार केडिया यस्ता ज्वेलरीमा मिडिल तथा लोयर मिडिल क्लासका महिलाहरूको क्रेज बढी भएको बताउँछन् ।
यहाँ पाइने गहना नेपालमै निर्मित तथा भारतबाट आयातीत छन् । केडियाका अनुसार गोल्ड प्लेटेड गहनाले ट्रेन्डलाई फलो गरिरहेका हुन्छन् । सुनका ज्वेलरीमा जे नयाँ डिजाइन आएको छ त्यसको कपी तत्काल बजारमा आइहाल्ने हुँदा सुन लगाउन नसक्नेहरूका लागि यो एउटा राम्रो विकल्प भएको छ । यस्ता गोल्ड प्लेटेड गहनामा टप, इयररिङ, फिंगर रिङ, लकेट, नेकलेस, सिक्री, चन्द्रमा, चुरा, माला, ब्रासलेट हेयर पिन आदि प्रमुख छन् । त्यसमा पनि विवाहको समयमा रानीहार तथा चुरा बढी बिक्री हुने केडिया बताउँछन् ।
पोतेमा विविधता धनकुटा सिस्टर
डेढ दशकदेखि विवाहित महिलाहरूलाई लक्षित गरी पोतेमा विविध डिजाइन दिई इयररिङ, माला, हेबी डबल पोते, नेकलेस, फिंगररिङ, ब्रासलेटहरू तयार पारिँदै आएको छन् । साधारणतया पोते पसलहरूमा नपाइने पोतेका डिजाइनर एसेसरिज पाइने धनकुटा सिस्टरको आउटलेट कुपन्डोलमा छ । परम्परागत रातो र हरियोभन्दा अन्य फेसनेबल कलर तथा पोते प्रयोग गरी तयार पारिएका युनिक पिसहरू यहाँ उपलब्ध हुन्छन् ।