Successfully Copied

सबैको रोजाइ बडी स्प्रे

बिस्तारै गर्मी चढ्न थालेको छ । बाहिर धूलो-धूवाँ वा दुर्गन्ध अनि चर्को घामले शरीरमा आउने पसिना त्यसमाथि कसैको अगाडि जाँदा ठुस्स गन्हाउने नमीठो गन्ध ।

बिस्तारै गर्मी चढ्न थालेको छ । बाहिर धूलो-धूवाँ वा दुर्गन्ध अनि चर्को घामले शरीरमा आउने पसिना त्यसमाथि कसैको अगाडि जाँदा ठुस्स गन्हाउने नमीठो गन्ध । यसले मानिसको व्यक्तित्व खल्बल्याउने मात्र होइन कसैका अगाडि पर्न पनि अप्ठ्यारो लाग्ने बनाउँछ । यद्यपि चिन्ता मान्नु पर्दैन, गर्मीमा पसिनाले निथु्रक्क भिज्दा पनि दुर्गन्धमुक्त बनाउने थुप्रै सामग्री बजारमा उपलब्ध छन् । विविध ब्रान्डका पाउडरले बजार लिइरहेको सन्दर्भमा त्यो भन्दा पनि सहज र प्रभावकारी बडी स्प्रे हाल सबैको रोजाइमा छ । यसको कारण हो उचित मूल्य, प्रयोग गर्न सहज र यसले दिनभर प्रदान गर्ने मीठो सुगन्ध । अहिले मानिसहरूले परफ्युमभन्दा पनि बडी स्प्रेतर्फ बढी रुचि राख्न थालेको बताउँदै काठमाडौं मलस्थित बडी वल्र्डका विदुर हाडा भन्छन्-आजभन्दा ३ वर्षअघिसम्म पनि मानिसहरू सेन्ट नै जाति भन्दै परफ्युम खोज्न आउँथे तर अहिले धेरैको रुचि बडी स्प्रेतर्फ छ जसको कारण परफ्युमको तुलनामा कम मूल्यमा विविध फ्लेबर, प्रयोग गर्न सहज र जहाँ जाँदा पनि बोकेर हिँड्न मिल्नु नै हो । हाडाका अनुसार अहिले सुगन्ध चाहनेहरूका लागि बडी स्प्रे अनिवार्य भएको छ । नेपालीहरूले निभिया, क्याम्मी, अक्स, लेडी डायना, ज्यास्मिन आदि ब्रान्डका बडी स्प्रे बढी रुचाएका छन् ।

सामान्यतया साइज र ब्रान्ड हेरी यस्ता बडी स्प्रेको ७५ रुपैंयाँदेखि ४ सयसम्म पर्न सक्छ । तीमध्ये विभिन्न फ्लेबर हेरी मेल र फिमेल छुट्याइएको हुन्छ । एक निजी बैंकमा कार्यर्रत प्रियाको व्यागमा २-३ फ्लेबरको बडी स्प्रे सधैं हुन्छ । जब कुनै प्रिजेन्टेसन वा मिटिङमा सहभागी हुनुपर्छ तब उनी आफ्नो शरीरमा सरर्र एक राउन्ड स्प्रे गर्छिन् । प्रिया भन्छिन्-बडी स्प्रे मेरो बानी नै भैसक्यो । मिटिङ वा प्रिजेन्टेसनमा प्रस्तुत हुँदा बडीमा स्प्रे गर्न बिर्सिएकी छु भने कस्तो-कस्तो महसुस हुन्छ । मेरो शरीरबाट नराम्रो दुर्गन्ध आइरहेको छ कि भन्ने कुराले आत्मविश्वास नै घटेजस्तो लाग्छ । व्यावसायिक व्यक्तिहरूमाझ मात्र नभएर स्कुल-कलेज पढ्ने वायुवतीहरूमाझ पनि बडी स्प्रे लोकप्रिय छ । जसको कारण एक-अर्कालाई प्रभाव पार्नु नै भएको प्लस टु अध्ययनरत काजल बताउँछिन् । उनका अनुसार कलेजमा साथीभाइमाझ कसले कुन फ्लेवरको बडी स्प्रे प्रयोग गरेको छ भन्ने विषयमा चर्चा नै चल्छ ।

विशालबजारस्थित सौन्दर्य प्रसाधन बिक्री गर्ने पसल मच एण्ड मोरकी सजिता शर्माका अनुसार गर्मी सुरु हुनेबित्तिकै बडी स्प्रेको बजार ह्वात्तै बढ्छ । त्यसो त जाडोमा यसको बजार ठप्प हुन्छ भन्ने होइन । तुलनात्मक रूपमा मूल्यांकन गर्दा गर्मी यसको सिजन हो भन्न सकिन्छ । सजिता भन्छिन्-यसका क्रेता विशेषगरी प्रोफेसनल तथा युवाहरू नै हुन्छन् । आधुनिक समयका आधुनिक मानिसले बडी स्प्रेलाई व्यक्तित्व झल्काउने प्रसाधनका रूपमा प्रयोग गर्ने गरेका छन् । मच एण्ड मोरमा गुणस्तर तथा ब्रान्ड हेरी १ सय रुपैंयाँदेखि ५ सयसम्म पर्ने बडी स्प्रे उपलब्ध छन् जसमा विभिन्न विदेशी ब्रान्ड छन् भने २० भन्दा बढी फ्लेवरका बडी स्प्रे बिक्रीका लागि राखिएका छन् ।

बडी स्प्रेको सौखिन भएकै कारण सौन्दर्य व्यवसायी गीता राईले आफ्नो ब्युटी स्टुडियो हेयर बक्सलाई विभिन्न ब्रान्डका बडी स्प्रेले सजाएकी छिन् । बिक्रीका लागि भन्दा पनि सौखका कारण बडी स्प्रे कलेक्सन गर्ने राई कसैले चाहे त्यसको बिक्री पनि गर्छिन् । संधैं टिपटप भएर हिँड्न रुचाउने राई बडी स्प्रेले आफूलाई फ्रेस बनाउने धारणा व्यक्त गर्छिन् । त्यसैगरी एन.बी. बैंककी प्रतिभा लिम्बू तुलाधर बडी स्प्रेकी अर्की सौखिन हुन् । प्रतिभासँग पनि विभिन्न फ्लेवरका बडी स्प्रेको कलेक्सन छ । कस्तो समारोहमा कुन फ्लेवरको बडी स्प्रे प्रयोग गर्ने भन्ने कुरासम्ममा उनी सचेत छिन् । लिम्बू भन्छिन्-परफ्युमको तुलनामा सुलभ भएकाले यसको कलेक्सन कठिन छैन ।

लोरियल इन्द्रचोकमा बिक्रीका लागि राखिएका बडी स्प्रेको चाङ नै छ । आकर्षक प्याकमा उपलब्ध सुगन्धित बडी स्प्रेहरू किनौं-किनौं लाग्ने खालका हुन्छन् । डेनिम, क्याम्मी, अक्स, डु इट, क्याल्भिन केयर, प्ले ब्वाइ, इनच्यान्टर आदि ब्रान्डका बडी स्प्रे उपलब्ध हुने लोरियल इन्द्रचोकमा ब्रान्ड र फ्लेवर क्वालिटी हेरी मूल्य निर्धारण गरिएको छ । भवेश बाँस्कोटा भन्छन्-अहिले नेपालमा बडी स्प्रेको बजार राम्रो छ । जसको कारण यो प्रसाधन सबैको आवश्यकता बन्नु नै हो । अहिलेका हरेक व्यक्ति आफ्नो व्यक्तित्व र स्वास्थ्यप्रति सजग छन् । त्यतिमात्र होइन मानिसहरूले यो प्रसाधनलाई आफ्नो आत्मविश्वास र सफलतासँग जोडेर हेर्न थालेका छन् ।

कसैलाई उपहार दिनुपर्‍यो भने बडी स्प्रे सजिलो प्रसाधन भएको बताउँदै सिभिल मलका कस्मेटिक व्यवसायी अमृत राई भन्छन्-यो टे्रन्डको विकासले पनि बडी स्प्रेको बिक्रीलाई प्रश्रय दिएको छ । महिला हुन् वा पुरुष जसका लागि पनि उपयुक्त बडी स्प्रे उपहारका रूपमा पनि निक्कै प्रयोग हुन थालेको छ ।

 Image