Successfully Copied

जाडोमा उपयोगी सामग्री

जाडो बढ्दै जाँदा वातावरणलाई न्यानो बनाउने सामग्रीहरूको माग पनि बढ्दै जान्छ । जति-जति जाडो बढ्दै जान्छ बजारमा हिटर, एसी तथा गिजरको माग उति नै वृद्धि हुन्छ ।

जाडो बढ्दै जाँदा वातावरणलाई न्यानो बनाउने सामग्रीहरूको माग पनि बढ्दै जान्छ । जति-जति जाडो बढ्दै जान्छ बजारमा हिटर, एसी तथा गिजरको माग उति नै वृद्धि हुन्छ । अहिले यस्ता सामग्रीहरू बिलासिता नभै आवश्यकतामा परिवर्तन भैसकेका छन् । भूमण्डलीय परिवर्तनका कारण विश्वकै वातावरणमा प्रतिकूल प्रभाव परिरहेका कारण गर्मी होस् वा जाडो दुवैको असर असामान्य देखिन थालेको छ । परिणामस्वरूप जाडोमा गिजर, हिटर तथा एसीको आवश्यकता बढेको छ । कुनै जमानामा रुम हिटर घरको शान मानिन्थ्यो भने अहिले आएर त्यसको ठाउँ एसीले लिँदैछ ।

न्याना बनाउने सामग्रीहरू ग्यास, बिजुली तथा व्याट्री आदिबाट चलाउन सकिन्छ । नेपाली बजारमा पनि विभिन्न ब्रान्डका यस्ता सामग्रीहरू भित्रिएका छन् । आफ्नो आवश्यकता तथा गच्छेअनुसार रोजी-छानी त्यस्ता सामग्रीहरू खरिद गर्न सकिन्छ ।

डिजिटल वल्र्डका आशीष अग्रवाल भन्छन्- कात्तिक सकिनेबित्तिकै ग्राहकहरू हिटर, एसी तथा गिजर खोज्न आउँछन् । जाडोका लागि यस्ता सामग्री अपरिहार्य भैसकेका छन् । यस्ता सामग्री घरमा मात्र होइन अफिसमा पनि प्रयोग हुन्छन् । हिजोआज ग्यास गिजर तथा ग्यास हिटर लोकप्रिय छन् । ग्यास हिटरले एसीको जस्तै पूरै कोठा तताउँछ । क्वाइलको हिटरले भने सीमित ठाउँमा मात्र तातो बनाउँछ ।

त्यसैगरी पानी तताउने ग्यास हिटर पनि निकै लोकप्रिय छ । जाडो महिनामा चिसो पानीले नुहाउनु कष्टकर कुरा हो । सदैव पानी तताएर नुहाउनु झन्झटिलो प्रक्रिया हो । ग्यास हिटर आफूलाई पायक पर्ने जुनसुकै ठाउँमा झुन्ड्याउन सकिन्छ । भान्सा होस् वा बाथरुम सबैतिर यसलाई लगाएर आफूलाई चाहिने तातोपानी प्रयोग गर्न सकिन्छ । ग्यास जडान गरिएको यो हिटरले केही समयमै पानी तातो बनाउँछ  । अहिले घर तथा कार्यालय सबैतिर यस्ता हिटर प्रशस्त मात्रामा प्रयोग भएको पाइन्छ ।

नेपालमै अहिले विभिन्न ब्रान्डका आधिकारिक शोरुम खुलेका छन् जहाँ आफूलाई चाहिने सामग्रीहरू खरिद गर्न सकिन्छ । अहिले सस्तो भन्दा पनि सर्भिस राम्रो भएका सामग्रीको माग बढी छ । टिकाउ तथा गुणस्तरीय सामग्री खरिद गर्न केही महँगो भए पनि ग्राहकहरू पैसा तिर्न हिच्किचाउँदैनन् । पछिल्लो वर्ष हिटर खरिद गर्नेहरू अर्को वर्ष एअर कुलर तथा एसी खरिद गर्न आउँछन् । अहिले सबै कोठामा यस्ता सामग्री राख्न सकिन्छ । मानिसको जीवनशैली फास्ट भएकाले यस्ता सामग्रीहरूले प्रश्रय पाएका हुन्- ए वन एम्प्लायन्सकी पूजा चन्द भन्छिन् । यस्ता सामग्रीहरू बारम्बार खरिद गर्न सकिँदैन । त्यसैले टिकाउ सामान नै खरिद गर्नुपर्छ ।

जानकी शाह जाडो महिना गृहिणीहरूका लागि अभिशाप नै हो भन्छिन् ।  शाहका अनुसार बिहान सफा हुन नुहाउनुपर्छ, पानीमा चल्नुपर्छ । जाडो आयो कि त पहिले निकै चिन्ता लाग्थ्यो तर अहिले लाग्दैन । भान्सामा पनि ग्यास गिजर छ बाथरुममा मन लागेका बेला तातोपानी प्रयोग गर्न सकिने अवस्था छ । त्यसैले अहिले जाडोमा बिनाचिन्ता म आफ्नो काम गर्नसक्छु ।

एसी

एअर कन्डिसनरले कुनै पनि वातावरणको हावालाई समय अनुकूल बनाउँछ । यसले जाडोमा वातावरण तातो बनाउँछ भने गर्मीमा चिसो । यसले रेपि|mजरेसन सिस्टमका आधारमा काम गर्छ । एअर कन्डिसनरको अवधारणा इजिप्टबाट प्रारम्भ भएको हो । एसीले विशेषगरी कोठामा रहेको दूषित हावालाई स्वच्छ बनाउन सहयोग पुर्‍याउँछ । यसले हावाको हियुमिडिटी  कम गर्छ जसले सास फेर्न सहज तुल्याउँछ । जाडो याममा कोठामा चलाइएको एसीले कोठालाई न्यानो बनाउँछ । यसले वातावरण अनुकूल बनाउने हुँदा मौसमको असरलाई चुनौती दिन सकिन्छ । यसले कोठालाई तातो बनाउनुका साथै कोठाको फोहोर तथा अरू संक्रमणयुक्त सामग्री सोस्छ ।

एसी खरिद गर्दा कस्तो ठाउँका लागि खरिद गर्ने निश्चित गर्नुपर्छ । ठूलो स्पेसका लागि ठूला एसी तथा सानो स्पेसका लागि सानो एसी उपयुक्त हुन्छ । अहिले बजारमा पोर्टेवल, साना तथा ठूला आकारका एसी खरिद गर्न सकिन्छ । त्यसैगरी घुमाउन मिल्ने, स्टयान्डयुक्त आदि अनेकौं प्रकारका  विभिन्न तरिकाले प्रयोग गर्न सकिने एसी बजारमा उपलब्ध छन् । एसी अरु सामग्रीभन्दा केही महँगो भएकाले यसको खरिदमा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । एसीलाई सुविधाअनुसार भित्ता, सिलिङ तथा झ्यालमा जडान गर्न सकिन्छ ।

नेपाली बजारमा लोकप्रिय ब्रान्ड

गि्र, चिगो, श्यामसुङ, याकिरा,सिजि, एलजी आदि ।

एसी खरिद गर्दा ध्यान दिनुपर्ने कुरा

‍-    कति बिजुली खपत गर्छ निक्र्यौल गर्नुपर्छ ।

-    यसले वातावरणलाई कत्तिको दूषित बनाउँछ ?

-    आफ्नो बजेट तथा चाहनाअनुसार एसी छनोट गर्नुपर्छ ।

-    लामो समयसम्म तातो दिने एसी छनोट गर्नुपर्छ ।

-    तातो गराउने क्षमता मापन गर्नुपर्छ ।

-    एसीको इइआरका सम्बन्धमा राम्रो जानकारी लिनुपर्छ ।

-    यसले कोठाको वातावरण सन्तुलित राख्छ कि राख्दैन ध्यान पुर्‍याउनुपर्छ ।

-    रिमोर्ट कन्ट्रोल, टाइमर आदि छ कि छैन जाँच्नुपर्छ ।

हिटर

दुई दशकपछाडि फर्केर हेर्ने हो भने जाडो महिना आयो कि सुन्तला रंगको हिटर तथा स्टान्ड भएको रुम हिटरको कुरा हुन्थ्यो । त्यसले वरिपरि बस्नेलाई मात्र तातो दिन्थ्यो भने बिजुली पनि बढी नै खपत गथ्र्यो । अरु काम छाडेर त्यसकै वरिपरि बस्नुपथ्र्यो । यो क्रम बढ्दै जाँदा बिस्तारै पंखा जस्तै वार्म हिटर बजारमा आयो जसले तातो हावा फ्याँक्थ्यो । त्यसपछि मटीतेलले चल्ने धिपधिपे हिटरले पनि राम्रै बजार लियो । समय परिवर्तन सँगै अहिले जाडो महिनालाई लक्षित गरेर विभिन्न प्रकारका हिटर भित्रिएका छन् । तीमध्ये मटीतेल, बिजुली, ग्यास तथा ब्याट्रीबाट चल्ने सानादेखि ठूला आकारका हिटर खरिद गर्न सकिन्छ । लोड सेडिङ बढ्न थालेपछि ग्यास हिटरले लोकप्रियता पाउँदै गएको हो । अहिले आफ्नो बजेट तथा ठाउँअनुसार आफूलाई सहुलियत हुने किसिमका हिटर खरिद गर्न सकिन्छ । हिटरले जाडो महिनामा कोठा तथा वातावरणलाई न्यानो बनाएर राहत प्रदान गर्छ । हिजोआज जाडो महिनामा कोठैपिच्छे हिटर राख्ने चलन पनि छ ।

ग्यास हिटर

नेपाली बजारमा सानादेखि ठूला ब्रान्डका ग्यास हिटर भित्रिएका छन् । जाडो महिनामा हेलोजेन हिटरदेखि ग्यास हिटरसम्मको माग उत्तिकै रहेको कुमारीपाटीस्थित सूर्य ट्रेडर्सका मनोज महर्जन बताउँछन् । नेपाली ग्राहकहरूको बजेटअनुसार सबैले एसी खरिद गर्न सक्दैनन् । त्यसको विकल्पमा हिटर नै सबैभन्दा उपयुक्त हुन्छ । नेपाली बजारमा ९ सय रुपैंयाँभन्दा माथिका हिटर खरिद गर्न सकिन्छ । लोड सेडिङ भैरहने भएकाले बिजुलीबाट चल्नेभन्दा ग्यास हिटरको माग बढिरहेको छ । सानो परिवारका लागि एक सिलिन्डर ग्यासले एक महिना हिटर चलाउन सकिने महर्जन बताउँछन् । अहिले बजारमा थरीथरीका ग्यास हिटर उपलब्ध छन् । पोर्टेबलदेखि स्ट्यान्ड तथा स्पेश हरेक हिटरको उपयोगिता उस्तै छ । मूल्यअनुसार गुणस्तर तथा टिकाउपन भने फरक-फरक हुन्छ । यस्ता हिटर राम्रोसँग प्रयोग गरे वर्षौंसम्म चल्नसक्छन् । अहिले एक ठाउँबाट अर्को ठाउँमा लिएर जान हिटरमा चक्का पनि राखिएको हुन्छ ।

नेपाली बजारमा रहेका लोकप्रिय ब्रान्ड

हिसेन्स, फगोर, फुजिक्स, आकिरा, बाल्ट्रा, सिजी, कलर्स आदि ।

ग्यास गिजर

जाडो बढ्दै जाँदा नुहाउनदेखि अन्य घरायसी काम गर्नसम्म निकै कठिन हुन्छ । दिनहुँ चिसो पानी प्रयोग गर्दा स्वास्थ्यमा पनि असर पुग्न सक्छ । सदैव ग्यास स्टोभमा पानी उमालेर नुहाउने तथा लुगा धुने काम निकै खर्चिलो हुन्छ । त्यसैले जाडो महिनामा तातोपानीको गिजर उपयुक्त विकल्प हुनसक्छ । गिजरमा बिजुली तथा ग्यासको माध्यमबाट पानी तताउन सकिन्छ । नेपालमा लोड सेडिङको समस्या बढी भएकाले विद्युतीयभन्दा ग्यास हिटर बढी उपयोगी मानिन्छ । यसका अतिरिक्त सौर्य ऊर्जाबाट चल्ने गिजरको माग पनि उत्तिकै छ । जाडोमा काम्दैभन्दा तातोपानीमा रमाउँदै नुहाउनुको आनन्द फरक हुन्छ । घरमा गिजर जडान गर्दा आफ्नो परिवारको आकार तथा पानीको आपूर्तिको विषयमा पनि ध्यान पुर्‍याउनुपर्छ । ग्यास गिजरलाई आफूलाई चाहिएको कुनै पनि ठाउँमा जडान गर्न सकिन्छ । अहिले अफिसहरूमा पनि यसको प्रयोग बढेको छ । दुर्गा ब्युटिपार्लरकी दुर्गा श्रेष्ठ जाडो महिनाका लागि ग्यास गिजर वरदान भएको बताउँछिन् । श्रेष्ठका अनुसार पहिले जाडो महिना आयो कि पानी तताउने झन्झटिलो काम सम्झेरै दिक्क लाग्थ्यो । सधैं बिजुली नहुने भएकाले धेरै ग्राहकलाई फर्काउनुपथ्र्यो तर अहिले सजिलो भएको छ । ग्यास गिजर अन गर्नेबित्तिकै तातोपानीमा काम गर्न सकिन्छ । यसले आत्मविश्वास बढाएको छ । घरको भान्सा तथा बाथरुम सबैमा गिजर जडान गर्न सकिन्छ । खासै महँगो नपर्ने यो उपकरण निकै उपयोगी छ । अरू गिजर पनि उपयोगी छन् तर यो प्रयोग गर्न सजिलो छ ।

घरमा गिजर जडान गर्दा कति शक्ति प्रयोग गर्ने निक्र्यौल गर्नुपर्छ । त्यो कत्तिको सजिलै पाइन्छ, त्यसको खर्च कति हुन्छ, सजिलै जडान गर्न सकिन्छ कि सकिँदैन यावत् कुरा विचार गरी गिजर छनोट गर्नुपर्छ । गिजर खरिद गरेपछि ग्यारेन्टी कार्ड पनि लिनुपर्छ । कुनै पनि सामान खरिद गर्दा गुणस्तर, ब्रान्ड तथा सामानको फिचर हेरेर खरिद गर्नुपर्छ ।

नेपाली बजारमा लोकप्रिय ब्रान्ड

हिलटेक, इलेक्ट्रोलक्स ।

सोलार

जाडोमा  सोलार हिटर वरदान नै साबित भैसकेको छ । सोलार हिटरले सूर्यको माध्यमबाट पानी तताउँछ । यसका लागि अन्य ऊर्जाशक्ति आवश्यक हुँदैन । यसलाई घरको घाम लाग्ने ठाउँमा जडान गरिन्छ । यसमा रहेको प्यानलका माध्यमबाट पानी तातो हुन्छ । आफ्नो परिवारको आकारअनुसार प्यानल बढाउन तथा घटाउन सकिन्छ । बजेटको समस्या छैन भने सोलार जडान गरेर सधैं  तातोपानीको मज्जा लिन सकिन्छ ।  यसमा कम्पनीले ग्यारेन्टी पनि दिन्छ । लामो समय घाम नलाग्दाबाहेक अरु समय सोलार हिटरले तातोपानी दिन सक्छ । यसलाई एकपटक जडान गर्दा प्यानलअनुसार २० हजारदेखि १ लाख रुपैयाँसम्म पर्नसक्छ । करिब डेढ दशकअघि प्रारमभ भएको यसको कारोवार निरन्तर बढिरहेको व्यवसायीहरू बताउँछन् । रिपब्लिक ट्रेडर्सका दिनेश शर्मा ब्रान्ड राम्रोसँग हेरेर सोलार हिटर खरिद गर्नुपर्ने सुझाव दिन्छन् । बजारमा अहिले विविध ब्रान्डका सोलार प्यानल उपलब्ध छन् । कमसल ब्रान्डले एक वर्षदेखि नै दु:ख दिन थाल्ने शर्मा बताउँछन् । अहिले बजारमा टाटा सन डेल्टा सन, सोलार प्रो, लोटस इनर्जी, काइनेटिक इनर्जी तथा टाटा सनको व्यापार राम्रो भएको शर्माको दाबी छ । शर्मा सोलार प्यानलमा एकैपटक लगानी गर्नुपर्ने हुँदा बजारमा राम्रोसँग बुझेर राम्रो ब्रान्डको सोलार जडान गर्ने सल्लाह दिन्छन् ।

जाडोमा न्याना सामग्री खरिद गर्दा  

जाडोमा न्याना सामग्री खरिद गर्दा  जाडोमा मात्र होइन जुनसुकै बेलामा सामग्री खरिद गर्दा त्यसको ब्रान्ड, फिचर, ग्यारेन्टी तथा वारेन्टीका विषयमा सजग हुनुपर्छ । जाडोका सामग्रीको कुरा गर्दा तिनले कोठा अथवा प्रयोग गरिने स्थानलाई कत्तिको न्यानो बनाउँछन्, बुझ्नुपर्छ । अहिले नेपाली बजारमा नक्कली सामानको बिगबिगी छ । त्यसैले यस्ता सामग्री किन्दा पर्याप्त ध्यान पुर्‍याउनुपर्छ । आफ्नो घरमा यस्ता सामग्री चलाउने माध्यम के-के छन् । जडान गर्दा कुनै समस्या आउँछ कि आउँदैन । आफ्नो घरमा उपलब्ध ऊर्जाले उक्त सामान चल्छ कि चल्दैन विचार पुर्‍याउनुपर्छ । सामान खरिद गरेपछि त्यसको मर्मत, वारेन्टी तथा पार्ट्सका बारेमा जानकारी लिनुपर्छ । सामान जडान गरेपछि जाँच गरेर त्यसले राम्रोसँग काम गरेको छ-छैन सुनिश्चित हुनुपर्छ ।

 Image