Successfully Copied

छ एकल महिला सम्मानित

यही असार २९ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘बगान’ टिमले छ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । एकल आमाले देशैभर निशुल्क यो फिल्म हेर्न पाउने घोषणा पनि गरिएको छ ।


यही असार २९ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘बगान’ टिमले छ जना विशिष्ट एकल आमाहरुलाई सम्मान प्रदान गर्दै बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । एकल आमाले देशैभर निशुल्क यो फिल्म हेर्न पाउने घोषणा पनि गरिएको छ । त्यसका लागि सिनेमा हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनु पर्नेछ ।



कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता सरोज खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए ।
‘आज हामीले छ जना एकल आमाहरुलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ । हामीले छ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरुलाई बिर्सन नसकेर निशुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ, निर्देशक खनालले थपे ।
फिल्मको तीन मिनेट लामो ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने विषयको मतभेदलाई प्रस्तुत गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छिन् भने नव अभिनेत्री प्रमिला कार्की मानन्धरकी छोरीको भूमिकामा छिन् ।

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख, माइती नेपालकी अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोईराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी तथा अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो ।
पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए ।

स्वप्निल नीरवको कथामा आधारित यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’ का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।
यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको यस चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
‘बगान’ नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजना रहेको छ । बगानको वितरण काठमाडौँ उपत्यका भित्र रिच इन्टरटेन्मेन्ट र डिसिएनले तथा बाहिर एफडी कम्पनीले गर्दैछ । 

 Image