Successfully Copied

माइग्रेन के हो र ?

माइग्रेन एक किसिमको टाउको दुख्ने रोग हो । यो समय–समयमा दोहोरिरहन्छ । यो पीडा टाउकाको एक भागमा हुन्छ ।

माइग्रेन एक किसिमको टाउको दुख्ने रोग हो । यो समय–समयमा दोहोरिरहन्छ । यो पीडा टाउकाको एक भागमा हुन्छ । यसमा टाउको ब्लिक–ब्लिक गरेर दुख्छ । माइग्रेन जोसुकैलाई पनि हुन सक्छ । यो रोग पुरुषको तुलनामा महिलामा बढी देखापर्छ । १२–१३ वर्षदेखि वृद्धावस्थासम्मकालाई यो समस्या हुनसक्छ । 

कारण 

माइग्रेनको निश्चित कारण पत्ता लागेको छैन । यद्यपि वंशानुगत कारणले पनि माइग्रेन हुनसक्छ । महिनावारीमा पनि धेरैजसो महिलाको पेट दुख्छ । हर्मोनल परिवर्तनका कारण यस्तो भएको हो । पिरो अचार बढी खाँदा, चिया–कफी सेवन गर्दा, गुन्द्रुक, तामा तथा सिसीमा राखेको पुरानो अचार खाँदा पनि टाउको दुख्छ । बढी मानसिक तनाव लिँदा, समयमा नसुत्दा पनि टाउको दुख्छ । कतिपयलाई गर्मी मौसममा चर्को घाम तथा डिहाइड्रेसनका कारणसमेत टाउको दुख्छ । टाउकाको पीडा पनि व्यक्तिपिच्छे फरक हुन्छ । केश रंगाउँदा मनमा अनावश्यक कुरा खेलाउँदा पनि टाउको दुख्नसक्छ । 

लक्षण

माइग्रेन लामो समयसम्म रहने भएकाले यसका लक्षण बिरामीपिच्छे फरक–फरक हुनसक्छन् । 

  • टाउकाको एक भागमा मात्र दुख्छ । यद्यपि करिब एक तिहाई बिरामीमा यो पीडा टाउकाको दुवै भागमा हुन्छ । 
  • टाउकाको कहिले एकापट्टि त कहिले अर्कोपट्टि दुख्छ । कहिलेकाहीँ आँखाका गेडी दुख्नुका साथै निधार एवं घाँटीतिर पनि दुख्छ । 
  • आवाजसँग झर्को लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, हातखुट्टा चिसो हुने हुन्छ ।
  • टाउकाको पीडा बल्झिनुअघि कतिपयमा चिडचिडापन देखापर्ने, निद्रा लागेजस्तो हुने, हाई आइरहने, थकाइ लाग्ने, मिजासमा परिवर्तन आउने आदि हुन्छ । 

रोकथामका उपाय 

  • क्याफिनका कारण पनि टाउको दुख्ने भएकाले क्याफिनयुक्त खानेकुरा चिया, कफी, चकलेट आदिको सेवन कम गर्नुपर्छ । 
  • राति समयमै सुत्ने बानी बसाल्नुपर्छ । 
  • जुन खानेकुरा खाँदा टाउको दुख्छ, त्यस्ता खानेकुरा खानुहुँदैन । 
  • सिसीका पुराना अचार, गुन्द्रुक तथा तामा नखाने । पिरो पनि कम खाने । 
  • सकारात्मक कुरा मात्र मनमा लिने । 
  • धेरै समय घाममा नबस्ने । 
  • पेनकिलरको सेवन धेरै र आफ्नै मनले नगर्ने । यस्ता औषधिले पीडालाई क्षणिक रूपमा मात्र कम गर्छन् । 

डा. पंकज जालान

स्नायु रोग विशेषज्ञ तथा उप–निर्देशक नर्भिक इन्टरनेसनल हस्पिटल, काठमाडौं

 Image