Successfully Copied

रंग मिसावट

खाद्यपदार्थमा रंग मिसावट पहिचान गर्ने सरल तरिका (तयार) सन्ध्या कर्माचार्य, महासचिव, विज्ञान तथा प्रविधिमा महिला, नेपाल खाद्यपदार्थमा स्वास्थ्यमा प्रतिकूल असर पार्ने विभिन्न प्रकारका अवाञ्छनीय मिसावट गरिएको पाइन्छ ।

खाद्यपदार्थमा रंग मिसावट पहिचान गर्ने सरल तरिका (तयार) सन्ध्या कर्माचार्य, महासचिव, विज्ञान तथा प्रविधिमा महिला, नेपाल खाद्यपदार्थमा स्वास्थ्यमा प्रतिकूल असर पार्ने विभिन्न प्रकारका अवाञ्छनीय मिसावट गरिएको पाइन्छ । दैनिक उपभोग्य खाद्यपदार्थ चामल, दाल, तरकारी, मसला, मिठाईं, पेय पदार्थ तथा अन्य प्रशोधित सामग्रीमा रंगको प्रयोग भएको पाइन्छ । खाद्य वस्तुलाई रंगाउनुको मुख्य उद्देश्य खाने कुरालाई आकर्षक बनाई उपभोक्तालाई लोभ्याउनु तथा सबै खानेकुरा एकैनासको देखाउनु हो । यसको अर्को उद्देश्य नराम्रा, बिग्रिएका एवं कमसल वस्तु पनि राम्रो एवं आकर्षक बनाई उपभोक्तालाई झुक्याउनु हो । प्रयोग गरिने रंग सकेसम्म प्राकृतिक अथवा भेजिटेबल रंग जस्तै बेसार, सेफ्रोन, केरामेल, क्लोरोफिल आदि भए उपयुक्त हुन्छ जुन मानव स्वास्थ्यका लागि सुरक्षित मानिएको छ तर अखाद्य रासायनिक रंग प्रयोग भए त्यसको लगातारको सेवनबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । रंगहरू खाद्य वा अखाद्य दुवै प्रकृतिका हुन्छन्, खाना तयार गर्दा त्यो पौष्टिक हुनुका साथै आकर्षक पनि देखियोस् भन्ने हुन्छ । खाद्य उत्पादक वा प्रशोधनकर्ताका लागि आफूले उत्पादन वा प्रशोधन गरेको खाद्य वा पेय पदार्थको रंग उपभोक्तालाई आकर्षित तुल्याउन एकदम महत्वपूर्ण हुन्छ । रंग प्रयोगकर्ता वा उत्पादनकर्तालाई प्रयोग गरिने रंगका बारेमा ज्ञान हुनु आवश्यक छ । कुन रंग खान हुने हो कुन विषालु हुन्छ जानकारी हुनुपर्छ । रंगको प्रयोगप्रति विशेष सावधानी अपनाउनुपर्छ । रंग खरिद गर्नपूर्व राम्रोसँग लेबल हेरी स्वीकृत खाद्य रंग मात्र खरिद गर्नुपर्छ । 

रंगलाई साधारणतया तीन भागमा विभाजन गरिएको छ्र (१) प्राकृतिक अथवा भेजिटेबल रंग (२) कोलटार वा रासायनिक वा सिन्थेटिक रंग (३) मिनरल वा इनअर्गानिक रंग । यी तीनै प्रकारका रंगमध्ये प्राकृतिक अथवा भेजिटेबल रंग मानव स्वास्थ्यका लागि सुरक्षित मानिएको छ । स्वीकृत कोलटार वा रासायनिक सिन्थेटिक रंगहरूमा रातो रंगका लागि : अमरेन्थ (फुडरेड ९), पान्स्यु ४ आर, इरिथ्रोसिन (फुड रेड १४), कामोइसिन (एजोरुबिन), फास्टरेड ई, पहेंलो रंगका लागि : टाट्राजिन, (फुड एलो ४) सनसेट एफ.सी.एफ., नीलो रंगका लागि : इन्डिगिटिन (इन्डिगोकारमिन) (फुड ब्लु १), ब्रिलियन्ट ब्लु बी. एप.सी.एफ.र हरियो रंगका लागि : ऊल ग्रिन बी.एस., फास्टग्रिन एफ.सी.एफ. । यी कोलटार रंग खानका लागि तयार खाद्यपदार्थमा प्रति किलोग्राम २०० मिलिग्राम नबढाई प्रयोग गर्न सकिन्छ अर्थात् १ केजी खाद्य वस्तुमा बढीमा २ सय मिलिग्राम मात्र खाद्य रंग प्रयोग गर्न पाइन्छ । पकाएर खानुपर्ने कुनै पनि खाद्यपदार्थमा कोलटार रंग प्रयोग गर्न निषेध गरिएको छ । यी रंगमा स्वास्थ्यका लागि हानिकारक कुनै पनि पदार्थ मिसिएको हुनुहुँदैन । तेस्रो प्रकारमा पर्ने मिनरल वा इनअर्गानिक रंगहरू (पिग्मेन्ट्स) जस्तै लेड क्रोमेट, कपर सल्फेट, आइरन अक्साइड आदि स्वास्थ्यका लागि घातक हुन्छन् । बढी विषाक्त पाइएकाले खाद्य ऐन नियमद्वारा कुनै पनि खाद्यपदार्थमा यी रंगको प्रयोगलाई बन्देज गरिएको छ । अस्वीकृत रंग वा स्वीकृत रंग नै पनि स्वीकृत मापदण्डभन्दा बढी तथा लामो समयसम्म प्रयोग गरियो भने त्यसबाट स्वास्थ्यमा नकारात्मक एवं घातक प्रभाव पर्नसक्छ । अखाद्य रंगहरू जस्तै प्याप्थल एल्लो एस (पहेंलो), ओरेन्ज जी (रातो), मेटानिल एल्लो (पहेंलो), रोडामाइन बी (रातो), मालाचाइट ग्रिन (हरियो) आदि स्वास्थ्यका लागि हानिकारक र घातक भएको कुरा अध्ययन एवं अनुसन्धानबाट सिद्ध भैसकेको छ । 

यी रंगहरू बजारमा पुरिया रंग तथा अबिर रंगका रूपमा उपलब्ध हुन्छन्, जुन कपडा रंगाउन तथा पूजाका लागि प्रयोग गरिन्छ । ती रंगमा हाम्रो स्वास्थ्यमा हानी पुर्‍याउन सक्ने अशुद्ध तत्वहरू पनि हुनसक्ने भएकाले खाद्य वस्तुमा यस्ता रंग कदापि प्रयोग गर्नु हुँदैन । व्यापारमा नाफा कमाउने उद्देश्यले गरिने मिसावटमा मिसाइने कुरा प्राकृतिक खाद्यपदार्थजस्तै देखिने खालको हुन्छ वा उस्तै देखिने गरी रंगाई वा अनेक उपाय गरी मिसावट गरिन्छ । यस्तो मिसावट रोक्न वा निर्मूल पार्न कानुनी कारबाहीको ठूलो महत्व हुन्छ । कानुनी प्रक्रियाबाट मात्र यो समस्याको समाधान हुन निक्कै गाह्रो भएकाले यो काममा सर्वसाधारण जनताको पनि सक्रिय सहभागिता एवं सहयोग आवश्यक छ । उपभोक्ताहरू मिसावटप्रति आफै पनि चनाखो, सचेत एवं जागरुक हुनुपर्छ । दैनिक उपभोग्य खाद्यपदार्थमा गरिने कतिपय अवाञ्छनीय मिसावटको पहिचान साधारण परीक्षणबाट घरमै गर्न सकिन्छ, तापनि कति मात्रामा रंगको प्रयोग वा मिसावट गरिएको छ यकिनसाथ ठोकुवा गरेर कानुनी प्रक्रियामा जान प्रयोगशालामै परीक्षण गराउनुपर्छ । सरल परीक्षण विधि सामान्यत: सबैले अपनाउन सक्छन् । केही विधिमा तेजाबका साथै अन्य रसायन पनि प्रयोग गर्नुपर्ने भएकाले परीक्षणकर्तामा विज्ञान शिक्षाको र प्रयोग गरिने रसायनका बारेमा सामान्य ज्ञान वा जानकारी हुनु आवश्यक हुन्छ । 

खाद्यपदार्थमा रंग मिसावट पहिचान गर्न केही सरल तरिका 

त्रक्रम संख्या    खाद्य पदार्थ        मिसावट गरिने पदार्थ    जाँच्ने तरिका

१.    उसिना चामल         मेटानिल एल्लो 

(अखाद्य रासायनिक रंग )    अलिकति चामल हत्केलामा लिएर माड्दा चामलको रंग फिक्का भएर गयो वा पूरै गयो भने त्यसमा बाहिरी रंग मिसाइएको शंका हुन्छ । रंग मिसावट परीक्षणका लागि अलिकति चामल एउटा सिसाको ग्लासमा लिने, त्यसमा अलिकति पानी हाल्ने र केही थोपा पातलो हाइड्रोक्लोरिक एसिड हाल्ने । त्यसमा गुलाबी रंग देखा पर्‍यो भने चामलमा मेटानिल एल्लो रंग प्रयोग भएको बुझिन्छ ।

२.    उसिना चामल    बेसार (सुनौलो रंगको देखाउन)    (क) अलिकति चामल एउटा सिसाको ग्लासमा लिने । त्यसमा थोरै पानी हालेर चलाउने र त्यसमा बोरिक एसिड पेपर (बोरिक एसिडमा डुबाइएको फिल्टर पेपर) डुबाउने । पेपर गुलाबी रंगमा परिवर्तन भयो भने चामल बेसारले रंगाइएको थाहा हुन्छ ।

(ख) अलिकति चामल लिने र त्यसमाथि अलिकति भिजाइएको चूना छर्ने र केहीबेर त्यत्तिकै राख्ने । बेसारले रंगाइएको रहेछ भने चामल रातो रंगमा परिवर्तन हुन्छ ।

३.    दालहरू    मेटानिल एल्लो    एउटा सिसाको ग्लासमा अलिकति दाल र अलिकति पानी लिने र त्यसमा अलिकति कडा तेजाब हाल्ने । त्यसमा तुरुन्त गुलाबी रंग उत्पन्न भयो भने त्यो दाल मेटानिल रंग वा अन्य बाहिरी रंगले रंग्याइएको हुन्छ । 

४.    दालहरू    लेड क्रोमेट    ५ ग्राम दालमा अलिकति पानी अनि केही थोपा हाइड्रोक्लोरिक एसिड हाल्ने । मिश्रण गुलाबी भयो भने लेड क्रोमेटको उपस्थिति बुझ्नुपर्छ । 

५.    मासकालो दाल    बाहिरी कालो रंग    अलिकति दाल लिएर त्यसलाई पानीमा ठिक्क डुब्ने गरी भिजाई छोपेर केही समय त्यसै छाड्ने, त्यसपछि हल्का हातले माड्दा पानीमा रंग आयो वा नमुनाबाट रंग पखालियो भने बाहिरी रंग मिसाइएको थाहा हुन्छ ।

६.    सुकाइएको बेसार    मेटानिल एल्लो    सुकाइएको बेसारको नमुनाबाट एक टुक्रा लिने र त्यसलाई तरल मैनमा चोबिएको एक टुक्रा कपासले पुछ्दा कपासमा पहेंलो रंग आयो भने उक्त बेसार मेटानिल रंगले रंगाइएको छ भन्ने थाहा हुन्छ ।

७.         धूलो बेसार    मेटानिल एल्लो    अलिकति बेसारको नमुनामा केही थोपा कडा हाइड्रोक्लोरिक एसिड हाल्ने । एसिड हाल्नेबित्तिकै तुरुन्तै प्याजी रंग देखा पर्‍यो र अलिकति पानी थप्नेबित्तिकै रंग उड्यो भने त्यो बेसार शुद्ध छ भन्ने थाहा हुन्छ । रंग कायम रह्यो भने मेटानिल एल्लो रंग हालिएको बुझिन्छ । 

८.    सुकेको रातो खुर्सानी         अखाद्य रासायनिक रंग रोहडामिन बी        सुकेको रातो खुर्सानीलाई तरल मैनमा चोबिएको एक टुक्रा कपासले पुछ्दा कपासमा रातो रंग आयो भने त्यो खुर्सानी अखाद्य रासायनिक रंग रोहडामिन बीले रंगाइएको छ भन्ने बुझ्नुपर्छ ।

९.    रातो खुर्सानीको धूलो    पानीमा घुलनशील कृत्रिम बाह्य रंग    एक चिया चम्चा खुर्सानीको धूलो एउटा पानी भएको सिसाको ग्लास वा कपमा माथिबाट छर्ने । पानीमा घुलनशील कृत्रिम रंग प्रयोग गरिएको भए कृत्रिम रंग पानीमा घुलेर रंगका धर्साहरू तल झर्दै पानी रातो भएर आउँछ ।

१०.    खुर्सानीको धूलो        रोहडामिन बी    एक चौथाइ चम्चा खुर्सानीको धूलो एउटा सिसाको कपमा लिएर त्यसमा आधा चम्चाभन्दा अलि बढी पानी हाल्ने र १० थोपा कार्बन टेट्राक्लोराइड राखेर मिश्रण राम्रोसँग मिसिने गरी कप हल्लाउने । त्यसको रातो रंग हराएर जान्छ तर त्यसमा फेरि एक थोपा हाइड्रोक्लोरिक एसिड राख्दा रंग फेरि देखिन्छ भने उक्त खुर्सानीको धूलोमा रोहडामिन बी प्रयोग भएको बुझिन्छ ।

११.     धूलो मसला    तेलमा घुलनशील कृत्रिम रंग (कोलतार डाई)    एउटा सिसाको कपमा आधा चम्चा धूलो मसला लिने र त्यसमा अलिकति इथर हालेर राम्रोसँग हल्लाउने । अर्को एउटा सिसाको कपमा आधा चम्चा पातलो हाइड्रोक्लोरिक एसिड (पानी र एसिड बरोबर मात्रामा मिसाएको) लिने र त्यसमा अर्को कपको छुट्टिएको इथरको तहलाई खन्याउने र मिश्रणलाई हल्लाउने । त्यो कपको तल्लो एसिडको तहमा गुलाबी वा रातो रंग देखा पर्‍यो भने त्यो धूलो मसलामा तेलमा घुलनशील कृत्रिम रंगको मिसावट भएको बुझिन्छ ।

१२.     सग्लो जिरा (कालो जिरा)    धूलो कोइलाले रंगाइएको घाँसको बीउ    जिरालाई हत्केलामा दली हेर्ने । हत्केलामा कालो आयो भने त्यसमा मिसावट भएको थाहा हुन्छ्र ।

१३.    हिङ    बाहिरी रंग         एउटा सिसाको ग्लासमा जाँच्नुपर्ने हिङको नमुना लिने र त्यसमा एक चिया चम्चाभन्दा अलि कम पानी हालेर बिस्तारै हल्लाउने । शुद्ध हिङ भए पानीमा तुरुन्त घुल्छ र झोल दुधिलो रंगको भएर आउँछ । रासायनिक वा सिन्थेटिक रंगहरू हालेको भए झोल रंगीन हुन्छ ।

१४.     घिउ, चीज, कन्डेस्ड मिल्क, खुवा    कृत्रिम रंग (कोलतार डाई)    जाँच्नुपर्ने नमुना पहिले पगाल्ने अनि एउटा सिसाको कपमा एक चम्चा पगालिएको नमुना लिने । त्यसमा एक चम्चा सल्फ्युरिक एसिड अथवा कडा हाइड्रोक्लोरिक एसिड हालेर राम्रोसँग चलाउने । सल्फ्युरिक एसिड हालेकोमा गुलाबी रंग अथवा कडा हाइड्रोक्लोरिक एसिड राखेकोमा गाढा रातो रंग आयो भने त्यो नमुनामा कृत्रिम रंग हालिएको बुझिन्छ ।

१५.     चिया    कृत्रिम रंग    एक टुक्रा भिजाइएको सेतो ब्लोटिन्ग पेपरमाथि अलिकति चिया फिजाउने र ५ मिनटपछि त्यसलाई हटाएर हेर्दा पेपरमा गुलाबी रातो रंगका थोप्लाहरू देखिए चियामा कृत्रिम रंग प्रयोग भएको बुझ्नुपर्छ ।

१६.    बेसन    मेटानिल एल्लो     एउटा सिसाको कपमा आधा चिया चम्चा नमुना लिने र त्यसमा आधा चिया चम्चाभन्दा अलिकति बढी अल्कोहल हाल्ने । त्यसलाई राम्रोसँग चलाएर मिसाउने र त्यसमा १० थोपा हाइड्रोक्लोरिक एसिड हाल्ने । गुलाबी रंग देखापर्‍यो भने उक्त बेसनमा मेटानिल एल्लो रंग मिसाइएको बुझिन्छ ।

१७.         पहेंलो मिठाईं         मेटानिल एल्लो     अलिकति निम्की, जेरी वा अन्य पहेंलो रंग प्रयोग भएको मिठाईं एउटा सिसाको कप वा ग्लासमा राख्ने । त्यसमा अलिकति पानी अनि चार–पाँच थोपा हाइड्रोक्लोरिक एसिड हाल्ने । प्याजी रंग देखा परे उक्त मिठाईमा मेटानिल एल्लो रंग प्रयोग गरिएको बुझ्न सकिन्छ ।

१८.     प्रशोधित खाद्यपदार्थ, मिठार्इं, सिरप आदि    रोहडामिन बी    यो रंग प्रयोग गरी बनाइएको खानेकुराको रंग घाममा एकदमै टल्किन्छ वा चहकिलो देखिन्छ । आधा चम्चा जाँच्नुपर्ने खाद्यपदार्थ एउटा सिसाको कपमा लिएर त्यसमा आधा चम्चाभन्दा अलि बढी कार्बन टेट्राक्लोराइड राखेर चलाउँदा उक्त मिश्रणको रंग बिलीन हुन्छ र फेरि त्यसमा एक थोपा हाइड्रोक्लोरिक एसिड राख्दा रंग देखापर्छ भने त्यो खाद्यपदार्थमा रोहडामिन बीको प्रयोग भएको बुझ्नुपर्छ । 

१९.     करेला, खुर्सानी, घिरौंला आदि हरियो रंगका तरकारी    मालाचाइट ग्रिन    (क) तरल मैनबत्तीमा डुबाइएको एक टुक्रा कपासले पर्बल, भिन्डी, करेला वा अन्य हरियो रंगको तरकारीलाई बाहिरबाट त्यसै वा माडेर पुछ्दा कपासमा हरियो रंग सरेर आउँछ भने त्यो तरकारी वा खुर्सानी अखाद्य रासायनिक रंग, मालाचाइट ग्रिनको प्रयोग गरी रंगाइएको रहेछ भन्ने थाहा हुन्छ । 

(ख) एक टुक्रा भिजाइएको सेतो ब्लटिङ पेपरमाथि तरकारी राख्दा पेपरमा कुनै रंग सर्‍यो भने त्यसमा मालाचाइट ग्रिन वा कुनै बाह्य रंग हालिएको बुझिन्छ ।

(ग) हरियो रंगको तरकारी, करेला, हरियो खुर्सानी आदिलाई पानीले ठिक्क डुब्ने गरी भिजाई केही समय त्यसै छाड्ने, त्यसपछि हल्का हातले माड्दा पानीमा रंग आयो वा नमुनाबाट रंग पखालियो भने बाहिरी रंग मिसाइएको बुझ्न सकिन्छ ।

२०.     हरियो केराउ    कृत्रिम रंग    हरियो केराउको गेडालाई एउटा सिसाको भाँडामा पानीमा भिजाउने र राम्रोसँग चलाएर आधा घन्टाजति त्यत्तिकै छाड्ने, कृत्रिम रंगको प्रयोग गरिएको छ भने पानीमा रंग आफै छुट्टिएर आउँछ ।

२१.    सख्खरखण्ड    रोहडामिन बी    एक टुक्रा सख्खरखण्डलाई बाहिरबाटै तरल मैनमा चोबिएको एक टुक्रा कपासले रगडेर पुछ्ने, कपासमा रातो रंग आयो भने त्यो सख्खरखण्ड अखाद्य रासायनिक रंग रोहडामिन बीले रंगाइएको बुझ्नुपर्छ ।

२२.     सुपारी, पानमसला    रंग    रंग भएको सुपारी, पानमसला पानीमा हाल्दा रंग पानीमा घुल्छ ।

२३.    केशरी    कृत्रिम केशरी    शुद्ध केशरी पानीमा धेरै बेरसम्म राखे पनि रंगमा कुनै फरक आउँदैन तर कृत्रिम केशरी हो भने रंग बिस्तारै लोप हुन्छ । 

 Image