रंगहरूको पर्व : होली
फाल्गुन २१, २०७९ होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ । यसले वसन्त ऋतुको आगमनको शंखघोष पनि गर्छ ।
होलीबारे पौराणिक भनाइअनुसार प्राचीन समय (त्रेता युग) मा नास्तिक हिरण्यकश्यपको जन्म भएको थियो । हिरण्यकश्यपलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर वध गरेका थिए । उनका छोरा प्रल्हाद विष्णुका परम भक्त थिए । प्रल्हादले विष्णुको आराधना गरेको हिरण्यकश्यपलाई मन परेको थिएन । त्यसैले उसले प्रल्हादको वध गर्न धेरै योजना बनाएको थियो । एक योजनानुसार हिरण्यकश्यपले छोरालाई अग्निकुण्डमा हालेर वध गर्न बहिनी होलिकालाई जिम्मा दिएको थियो । होलिकाले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर अग्निमा बस्दा होलिका जलेर नष्ट भइन्, तर प्रल्हादलाई केही भएन । होलिका दहनकै खुसियालीमा आपसमा रंग र अबिर दलेर होली पर्व मनाइन्छ ।एक अर्को प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णको वध गर्ने उद्देश्यले दूध चुसाउन गएकी पुतनालाई उल्टै कृष्णले वध गरिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रंग र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्पराको सुरुवात भएको जनविश्वास छ ।
होली खेल्ने दिनभन्दा एकदिन पहिले राति होलिका दहन गरिन्छ । होलिका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक–अर्कामाथि फाल्ने चलन छ । स–साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाएर नाच्दै होली खेल्छन् । त्यसैले यसलाई सद्भावको पर्व पनि भनिन्छ । यो पर्व फागुनपूर्णिमाका दिनमा मनाउने भएकाले यसलाई ‘फगुआ’ पनि भनिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि विधिपूर्वक चीर ठड्याएसँगै मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई विशेष पूजा गरी ठड्याइन्छ । रंगीचंगी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगो बाँधिएको अग्लो बाँसको चीर ठडाइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक–आपसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । उक्त अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिन्छ ।
असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एकसातापछि फागुपूर्णिमाका दिन उक्त चीर ढलाएर टुँडिखेलमा पुर्याई दहन गर्ने परम्परा छ । चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति–स्वस्ति र क्षमा पूजा गर्ने चलन छ । त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी स्वस्ति–शान्ति, होम र क्षमा पूजा गराइने चलन छ । त्यसै अवसरमा हनुमानढोका दरबार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीबिरंगी कपडाका टुक्राहरू झुन्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने परम्परा छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्रामा गोपीका मूर्तिहरू सजाई अबिर छर्केर पूजा गरिँदै आएको छ ।
फागुन शुक्ल पूर्णिमाको शुभसाइतमा चीरलाई ढाल्ने र त्यो तानेर टुँडिखेलको मध्यभागमा पुर्याई दाह गरी यो पर्व समापन हुन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा घर–घरमा लैजाने चलन छ ।
यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चका द्य–चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराउने परम्परा छ । त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ । सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो ‘चका द्य’ को मूर्तिलाई बाजागाजासहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थहिटी, क्वबहाल र विक्रमशील महाविहार पुर्याउने परम्परा छ । ‘चका द्य’ जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो । तर केही वर्षयता ‘ठ्यासफु’ का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको छ ।
यो पर्वमा चीर ठड्याउने परम्पराका सम्बन्धमा एक लोककथनअनुसार एकपटक यमुना नदीमा एक समूह गोपिनीहरू निर्वस्त्र नुहाइरहेका थिए । त्यसैबेला भगवान् श्रीकृष्णले ती गोपिनीहरूका सबै लुगा नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्को हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आ–आफ्ना लुगा पाउन धेरै बिन्ती गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु कृष्णले ‘निर्वस्त्र नुहाएकोमा प्रायश्चित्त गरेमात्र लुगा दिन्छु’ भनेका थिए । त्यसअनुसार गोपिनीहरूले श्रीकृष्णलाई अर्घ्य–जल चढाएर प्रायश्चित्त गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगा झारिदिएका थिए । श्रीकृष्णको त्यही रासलीलाको स्मरणमा गोपिनीहरूका लुगाको प्रतीकमा रंगीचंगी कपडाका टुक्राहरू झुन्ड्याई चीर ठड्याउने प्रचलन छ ।
काठमाडौंलगायतका पहाडी भेगमा फागुपूर्णिमाका दिन होली खेलिन्छ र उक्त दिन त्यहाँ सार्वजनिक बिदा हुन्छ । त्यस्तै तराईमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ र उक्त दिन त्यहाँ सार्वजनिक बिदा हुन्छ । तराईतिर होली मनाउने परम्परा पहाड र अन्यत्रको भन्दा अलिक फरक छ । त्यहाँ होलीका अवसरमा रंग–अबिरसँगै मौलिक होली गीत र जोगिरा गाउने चलन छ । तराईमा आफूभन्दा ठूलाको चरणमा रंग–अबिर राख्ने, ठूलाबडाले आफूभन्दा सानालाई रंग–अबिरले टीका लगाइदिने चलन छ । रंग–अबिरको छ्यापाछाप भने दौंतरी, समकक्षी र साथीभाइहरूसँग गर्ने परम्परागत चलन हो । भाउजू–देवर, भिनाजु–सालीबीच रंग–अबिर खेल्ने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ । होलीका दिन घर–घरमा तयार पारिएको विशेष परिकार रंग–अबिर खेल्न आउनेलाई खुवाउने चलन छ ।
अन्त्यमा अहिले होलीले विभिन्न खालका सामाजिक विकृति र विसंगतिहरू पनि भित्र्याएको छ । आजका युवाहरू अर्काको इच्छाविपरीत रंग दलिदिने, स्वास्थ्य र छालालाई हानिकारक रंगको प्रयोग गर्ने, बेलुन र प्लास्टिकका थैलीमा फोहोर पानी भरेर हान्दै मादकपदार्थ सेवन गरी आपसमा झगडा गर्छन् । रंग लगाउने बहानामा पनि महिलालाई दुर्व्यवहार गर्ने गरेको पाइन्छ । त्यसैले संयम भई साथीहरू र परिवारसँग मात्र होली खेलौं ।
अच्युतमानसिंह प्रधान ‘उत्सुक’
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्