‘शान्तिका लागि गुरुमा आनी’

मनोज पौडेल

असार ५, २०७८ बढ्दो कोरोना कहर । जताजतै संक्रमणको जोखिम र सन्त्रास । तर लुम्बिनीमा भिक्षु, लामागुरु र उपासक–उपासिकाहरूले भने शान्तिका लागि २५६५ औं बुद्ध जयन्ती मनाए । त्यही समूहमा गुरुमा, आनी र ऋषिनीहरू पनि सहभागी थिए । बुद्धको जन्म, मृत्यु, ज्ञान प्राप्ति एकै दिन वैशाख पूर्णिमाका दिन परेकाले उनका अनुयायी गुरुमा, आनी र ऋषिनी बुद्ध जयन्ती मनाउन बिहानैदेखि सक्रिय थिए । अबेर साँझसम्म उनीहरूको व्यस्तता थियो । पूजाआजा, भोजन, दान, दुःखीको सेवा र संघ दानमा व्यस्त थिए ।

सबैले मास्क लगाएका थिए । कतिपयले फेसशिल्ड र ग्लोब्स पनि लगाएका थिए । हातमा स्यानिटाइजर समातेका थिए । उनीहरूले बिहान नेपाललगायत विश्वबाटै महामारी अन्त्य गर्न प्रार्थना गरे । ‘देशव्यापी निषेधाज्ञाका कारण चहलपहल छैन,’ अन्तर्राष्ट्रिय गौतमी भिक्षुणी विहार प्रमुख खमेसी गुरुमाले भनिन्, ‘शान्तिभूमिबाट संसारभर भाइरस संक्रमण छिटो समाप्तिको कामना गर्‍यौं ।’ मायादेवी मन्दिर अघि राखिएको बुद्ध प्रतिमामा बुद्धपूजा र परित्रान पाठ गरियो ।

त्यसपछि थेरवादी र महायानी परम्पराअनुसार मंगल कामना गरे । थेरवादी बौद्ध परम्परा मान्ने भिक्षु–भिक्षुणीले महामारी अन्त्यका लागि रतन सूक्त पाठ गरे ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु भएकाको निर्वाण प्राप्तिका लागि पुष्करणी पोखरीमा २५६५ वटा द्वीप प्रज्ज्वलन गरियो । संक्रमणको उपचार गराइरहेकाको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना पनि गरिएको थियो ।

तस्बिर : मनोज पौडेल

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>