सुवर्णको फिटनेस मन्त्र

नारी संवाददाता

माघ ६, २०७७ अन्तर्राष्ट्रिय बडिबिल्डर खेलाडी हुन्, सुवर्ण खड्का । उनी खेलाडीसँगै मोडलिङ क्षेत्रमा पनि स्थापित छन् । विभिन्न म्युजिक भिडियोमा उनले अभिनय गरेका छन् । विज्ञापनदेखि फेसन र्‍याम्पमा समेत उनले काम गरिसकेका छन् । पछिल्लो समय उनी फिटनेस ट्रेनरका रूपमा आफूलाई अगाडि बढाउँदै लगेका छन् । हाल उनले फिटनेस सेन्टर सञ्चालनमा ल्याई फिटनेस ट्रेनिङ दिइरहेका छन् । उनी फिटनेसमा निकै ध्यान दिन्छन् । खानपान, जीवनशैली र फिटनेसका लागि उनी के गर्छन् त ?

खानपान

खेलाडी भएकाले उनी खानपानमा निकै ध्यान दिन्छन् । बडिबिल्डर पनि भएकाले मात्रा मिलाएर खान्छन् । अरुको भन्दा आफूहरूको खाना अलि हेभी नै हुने गरेको बताउँछन् । समय–समयमा खाइरहनुपर्ने उनको भनाइ छ । यसका लागि कार्बोहाइड्रेट एवं प्रोटिन तत्व मिलाएर खानुपर्छ । ब्रेकफास्टमा उनी अण्डा, ब्रेड, फलफूल एवं जुस मिलाएर खान्छन् । खेलाडीलाई ब्रेकफास्ट खान जरुरी पनि हुन्छ । बिहान एक्सरसाइज गर्दा पनि हेभी ब्रेकफास्ट लिनुपर्ने हुन्छ । उनी प्रायः बिहान दालभात नै खान्छन् । ‘म बाहिरको खाना तथा जंकफुड खाँदिन । बाहिर खानुपरे घरबाटै बनाएर लान्छु । उनी भन्छन्, ‘मैले खानेकुरामा कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ । साँझको खानामा फलफूल एवं कुखुराको मासु हुन्छ ।’

फिटनेस

बिहान ६ बजेदेखि नै उनको वर्कआउट सुरु हुन्छ । उनी बिहानको तीन घण्टा फिटनेस सेन्टरमा बिताउँछन् । तीन घण्टाको अवधिमा विभिन्न खालका एक्सरसाइज गर्छन् । खेल प्रतियोगिताको तयारी गर्दा नियमित एक्सरसाइज गर्नुपर्ने उनी बताउँछन् । आफैं फिटनेस ट्रेनर भएकाले पनि फिटनेसमा विशेष ध्यान दिन्छन् । खेलाडीहरूले नियमित वर्कआउट नगर्दा खेलमा फर्कन गाह्रो हुने भएकाले नियमित एक्सरसाइज गर्न आवश्यक रहेको उनको भनाई छ । खेल प्रतियोगिता हुँदा र नहुँदा ट्रेनिङमा भने केही फरक पर्छ । प्रतियोगिताका लागि विशेष तयारी गर्नुपर्छ । उनी भन्छन्– ‘अहिले फिटनेस सेन्टर पनि सञ्चालनमा ल्याएको छु’ उनी भन्छन्, ‘त्यहाँ दैनिक १० जनालाई फिटनेससम्बन्धी तालिम दिइरहेको छु ।’

फिट रहन जरुरी

सुवर्णका अनुसार हरेक मानिस स्वस्थ रहनु आवश्यक छ । यसका लागि एक्सरसाइज र खानपानमा विशेष ध्यान दिनुपर्छ । दैनिक एक्सरसाइज वर्कआउट गर्दा शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत पुग्छ । अहिले नेपालमा विविध प्रविधि आएका छन् । उनका अनुसार वर्कआउट घरमै पनि गर्न सकिन्छ । यसका लागि फिटनेस सेन्टर नै धाउनु पर्दैन । वर्कआउट गर्दा उमेर तथा स्वास्थ्य अवस्थालाई भने विशेष ख्याल गर्नुपर्ने उनको भनाई छ । फिट रहने बहानामा अनावश्यक वर्कआउटले शरीरमा क्षति पुर्‍याउँछ । शरीर स्वस्थ राख्न  एक्सरसाइजका साथमा उचित खानपान पनि हुनुपर्छ ।

कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>