बन्दाबन्दीले बढ्दो मानसिक समस्या र समाधान

उपासना घिमिरे

जेष्ठ ८, २०७७ विश्वभर कोरोना भाइरसको प्रकोप छ । नेपालमा करिब दुई महिनाअघिदेखि बन्दाबन्दी छ । मानिसहरु घरभित्रै बसिरहेका छन् । नेपालमा कोरोनाकै कारण ३ जनाको मृत्यु भइसकेको छ भने जेठ ८ गते बिहीबारसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ । 

कोरोनाको भयसँगै विभिन्न किसिमका मानसिक रोगका लक्षण पनि देखा परेको त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् । अहिलेको असामान्य अवस्थामा डर लाग्नु, आत्तिनु, निद्रामा समस्या हुनु, घबराहट हुनु सामान्य हो । तर पनि निरन्तर डर लागिरहने, आत्तिरहने, मनमा घवराहट हुने, मुटु ढुकढुक हुने, श्वास फेर्न गाह्रो हुने, मुख सुख्खा हुने र अनावश्यक चिन्ताको महसुस भइरहेमा एन्जाइटी डिसअर्डर भएको हुनसक्ने डा. सगुन बताउँछन् । डा. सगुनका अनुसार दिक्क लागिरहने, निराश भइरहने, निद्रामा समस्या, खानामा अरुचि, मनमा नकारात्मक सोच ज्यादा आउने जस्ता समस्या बढ्दै गएमा आत्महत्यासम्बन्धी सोच आउनु डिप्रेसनको लक्षण हो । 

लकडाउनको बेलामा अरु मानसिक समस्यामा लागूपदार्थ प्रयोग, सूर्तीजन्य, मदिराजन्य पदार्थ र अन्य कडा खालको लागू पदार्थको प्रयोग गरिरहेकोमा यसको पहुँच नभइ खान नपाउँदा पनि चिड्चिडापन उत्पन्न हुन सक्छ । यो सँगै अन्य मानसिक रोग ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ भएका बिरामीले विभिन्न किसिमका मानसिक रोग बल्झिएको अनुभव पनि गरेका छन् । समस्या सानै भएपनि यस्ता मानिसलाई रातभर निद्रा नलाग्ने, नराम्रा सपना देख्ने, झस्किने र लामो समयसम्म निद्रामा बर्बराउने र बोल्ने समस्या पनि हुने गरेको छ । 

कडा खालको मानसिक रोग अहिलेको अवस्थामा बढेको नदेखिएपनि तनाव बढेको अवस्थामा यी रोग बल्झिन सक्छन् । दीर्घकालीन रुपमा मानसिक रोगका औषधि सेवन गरिरहेकामा  मनोचिकित्सक र मनोविदसँग फलोअप गर्न नपाउँदा पनि रोग बल्झेको पाइएको छ ।  

कोभिड–१९ रोगको प्रकोप विभिन्न उमेर समूहकामा देखिएपनि बालबालिका तथा वृद्धामा बढी असर देखिएको पाइएको छ, मानसिक हिसाबमा । कोभिड रोग लागेपछि यसले सबैभन्दा बढी शिकार उमेर बढी भएकामा गर्ने भएकाले एक प्रकारको डरको अनुभव भएको छ । आत्तिने, डराउने, खानपिनमा अरुचि हुने, निद्रा नलाग्ने समस्या देखिएको छ । 

वयस्क र युवामा सामान्य किसिमका मानसिक लक्षण मात्र देखिएका छन् । तर यसलाई समयमै निक्र्यौल गर्न सकेनौ भने भविष्यमा कडा खालको मानसिक रोग उत्पन्न हुनसक्ने अध्ययन पहिलेका महामारीमा देखिएको छ ।  सन् २००३ मा भएको सार्स महामारीमा हङकङ र अन्य विकसित देशमा मानसिक रोगको तत्काल उपचार गर्न नसक्दा डिप्रेसन, पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर तथा अन्य दीर्घकालीन मानसिक रोगीको संख्या बढ्दै गएको पाइएको छ । 

यसैगरी अन्य आकस्मिक सेवाका क्षेत्रमा काम गरिरहेकाहरुः स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा पनि मानसिक रोगको समस्या बढेको देखिएको छ । चिकित्सक, नर्स अन्य स्वास्थ्यकर्मीमा तत्काल कर्तव्यनिष्ठ हुने आफ्नो दायित्व सँगसँगै भयको अवस्था छ । स्वास्थ्यकर्मीमा आफूलाई रोग लाग्यो भने बिरामीमा पनि सर्न सक्छ भन्ने छ । विदेशबाट पनि यस्ता समाचार आएकाले डरको अवस्था छ । अहिले स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सुरक्षाकर्मी पनि कोरोना भाइरस संंक्रमित भएका छन् । 

यसलाई समयमै समाधान नगरेमा दीर्घकालीन मानसिक रोग रुपमा देखिन सक्छ । एक, दुई वा पाँच वर्ष पछि पनि झस्किने, आत्तिने, नराम्रो सपना देख्ने, घटना दुर्घटना दोहोरिएको अनुभव हुने समस्या देखिन सक्छ । स्वास्थ्यकर्मीमा आत्महत्यासम्बन्धी सोच आउने र भविष्यमा आत्महत्याको जोखिम बढ्ने अध्ययनले देखाएको छ । 

अन्य आकस्मिक सेवामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रेसमा आवद्ध मानिस र अन्य सेवा प्रदायकमा पनि यस्तो समस्या आएको छ । आफ्नो कारणले परिवार जोखिममा पर्छ कि भन्ने डर छ । कर्तव्यनिष्ठ भएर काम गर्दा परिवारले डर र असुरक्षा महसुस गर्छन् । 

समग्रमा भन्नुपर्दा यो असमान्य अवस्थाको सामान्य प्रक्रिया हुन् । बिस्तारै केही हदसम्म कम हुँदै जानेवाला छ । असन्तुलित मनस्थितिलाई ठीक ठाउँमा ल्याउनका लागि नित्यकर्म व्यवस्थित गर्नुपर्छ । रुटिनमा काम गर्नुपर्छ । दिनमा ६ देखि ८ घन्टा सुत्नुपर्छ । शारीरिक व्यायाम गर्नुपर्छ । सन्तुलित आहार खानुपर्छ । परिवारको सामीप्यमा खुलेर कुरा गर्नुपर्छ । मन मिल्ने साथीको सम्पर्कमा रहनुपर्छ । आफूलाई भएको डर, त्रास र अप्ठ्यारोपनलाई खुलेर भन्नुपर्छ । घरपरिवारमा सामूहिक हिसाबमा एक अर्कालाई सहयोग गर्ने राम्रो अवसरको उपयोग गर्नुपर्छ । खाना पकाउने तथा सानो भन्दा सानो काममा सहयोग गर्ने जिम्मेवारी वहन गरेमा सौहार्दपूर्ण वातावरण कायम हुन्छ । 

अहिले कोरोना संक्रमितको संख्या नेपालमा पनि दिनानुदिन बढिरहेको छ । यसले धेरै मानिसमा त्रास र अन्योलता छ । यस्तो अवस्थामा गीत सुन्ने, नृत्य गर्ने, खेल खेल्ने गरेमा मानसिक रुपमा स्वस्थ हुनुका साथै भविष्यमा आउन सक्ने गम्भीर खालका मानसिक समस्याबाट पनि बचाउँछ । अहिलेको अवस्थालाई सामान्य रुपमा निक्र्याैल गर्न सकेनौ भने भविष्यमा कोरोना सकिएपनि मानसिक रोगको महामारी सुरु हुने आँकलन संसारमा हुन थालिसकेको छ । त्यसैले मनमा भएका कुरालाई आफन्त वा परिवारमा शेयर गर्नुपर्छ । यति गर्दा पनि नभएमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । रोग लुकाएर बस्दा भविष्यमा भयावह स्थिति सिर्जना हुन सक्छ । 

(त्रिवि शिक्षण अस्पतालमा कार्यरत मनोचिकित्सक डा. सगुनबल्लभ पन्तसँगको कुराकानीमा आधारित)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>