जंकफुड खुवाएर छोराछोरीलाई रोगी बनाउँदै छन् अभिभावक

नारी संवाददाता

वैशाख १७, २०७७ रातोपुलका १० वर्षीय विशाल (नाम परिवर्तन) लाई खाना खाने बेलामा कुरकुरे र चिप्स नभै हुँदैन । पहिलेदेखि नै ती कुरा नभै खाना नखाने भएकाले त्यो बानी उनको लत भइसक्यो । के गर्दा बच्चाले खानेकुरा खान्छ भनेर धेरै अभिभावकले जंकफुड दिएर खुवाउँछन् । पछि धेरै बालबालिकामा त्यही बानी पर्न जान्छ ।  

डा. अरुणा उप्रेतीका अनुसार जंकफुडमा बालबालिकाको आकर्षण बढ्नुमा मुख्यतया: दुई कारण छन् । पहिलो कारणमा आमा बुवाले भान्सामा पाकेको खानेकुराको महत्वबारे नसिकाउनु र घरमा पकाएको खानेकुराभन्दा प्याकेटका खानेकुरामा बानी पारिदिनु हो । खाना खान नमान्ने बच्चाले चाउचाउ, कुरमुरे, लेज जस्ता प्याकेटका खानेकुरा मिश्रण गरेर खुवायो भने खान्छ भन्ने मानसिकता धेरै आमाबुवाको छ । 

बाल्यावस्थादेखि नै बजारमा पाइने प्याकेजिङ खानेकुरा खुवाउने बानी बसालेपछि बालबालिकामा पछिसम्म त्यो लत हट्न गाह्रो हुन्छ । अभिभावकले साना बालबालिकालाई स्कुल जाँदा खाजाका रुपमा चाउचाउ, बिस्कुट, चिप्स, कुरमुरे जस्ता पत्रु खाना पठाउने गरेको पाइन्छ । सजिलोका लागि धेरै अभिभावकले यस्तो गर्छन् । अभिभावकले नै बानी पारिदिएपछि बालबालिकाको आकर्षण जंकफुडमा हुनु स्वभाविक हो ।

दोस्रो कारण सरकारको गलत नीति पनि हो । टोलटोलमा राखिएका होडिङबोर्ड र विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीले बालबालिकालाई जंकफूडप्रति आकर्षित गरिरहेको छ । यस्तो प्रचारलाई सरकारले नियन्त्रण गर्न सकेको छैन । जंकफूडको असरका बारेमा अभिभावकमा चेतना जगाउन सकिरहेको छैन । त्यसले पनि बालबालिकालाई जंकफूडप्रति आकर्षित हुन मद्दत पुर्‍याएको छ । 

                                                             डा. अरुणा उप्रेती

जंकफूडको असर तत्कालिन रुपमा नदेखिएपनि दीर्घकालिन रुपमा यसले भयावह स्थिति ल्याउनेमा शंका छैन । घरकै भान्सामा पाक्ने दाल भात, तरकारी, रोटी, आलु, भटमास, मकै, बारीमा फलेका मौसम अनुसारका फलफूललाई बेवास्ता गरिएको छ । 

जंकफूडले बालबालिकालाई आवश्यक पर्ने पौष्टिक तत्वमा कमी ल्याउँछ । घर वरपर पाइने खानेकुरा छोडेर बाहिरी प्याकेजिङ खानेकुराले शरीरमा क्याल्सियम, भिटामिन, मिनरल्स जस्ता तत्वहरु नपुग्ने हुँदा बालबालिका कुपोषित भई शारीरिक, मानसिक र संवेगात्मक विकासमा रोकावट आउँछ । प्याकेजिङ खानेकुरामा अधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थको मिश्रण हुने भएकाले बालबालिकामा मोटोपनको समस्या पनि देखा पर्छ । भित्र पौष्टिक तत्वको कमी हुँदा सानै उमेरमा उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुने जस्ता समस्या पनि देखिन्छन् । 

घरको खाना नदिएर पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, केक दिने बेलामा अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यमा असर पुर्‍याइरहेको छु भन्ने कुरामा मनमा लिनुपर्छ । 

यसको साथै बालबालिकाले घरको खाना खाएन भनेर जंकफुड मिसाएर खुवाउने, खाने बेलामा मोबाइल दिएर खुवाउने बानी पनि कहिल्यै गर्नुहुँदैन । बालबालिकालाई आफूसँगै राखेर घरको खाना खान प्रोत्साहन गर्नुपर्छ । यसो गर्दा आत्मीयता बढ्नुका साथै बालबालिका पनि स्वस्थ हुन्छन् । आफ्ना बालबालिकालाई स्वस्थ हुने, वुद्धि विकास हुने खानेकुरा दिने कि हड्डी मक्किने, शारीरिक र मानसिक रुपमा सुस्त हुने खानेकुरा दिने ? फैसला अभिभावकको हातमा । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>