सामान्य ज्वरो र रुघाखोकी लाग्दैमा कोरोना भएको हुँदैन 

- डा. प्रकाश पौडेल, वरिष्ठ छाती रोग विशेषज्ञ 

वैशाख ३, २०७७

अहिले मौसमी फ्लुको पनि समय हो । यस्ता फ्लुबाट बढी मात्रामा श्वासप्रश्वास र दमका बिरामी प्रभावित हुने गर्छन् । अहिले सामान्य रुघाखोकी ज्वरो आउने, शरीर गल्ने, आँखाको गेडी दुख्ने समस्या देखा पर्न सक्छ । कोरोना लागेका बिरामीमा पनि छातीमा समस्या देखा पर्छ । श्वासप्रश्वासमा अप्ठ्यारो, अक्सिजन नपुग्ने (एअर हंगर), अधिक ज्वरो (१०४ डिग्री फरेनहाइट), छाती अधिक दुख्ने, खोकी लाग्ने गर्छ । कोरोना प्रभावित ३० प्रतिशतमा खानाको स्वाद नमीठो हुने, खानाबाट नमिठो गन्ध आउने गर्छ । 

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै आममानिसमा डर पैदा भएको छ । कोभिड–१९ र अन्य फ्लु (मौसमी रुघाखोकी)का लक्षण उस्ताउस्तै हुने भएकाले मानिसहरू आत्तिन्छन् । रुघाखोकी लाग्दैमा र सामान्य ज्वरो आउदैमा कोरोनाको आंशका गरेर आत्तिनुपर्दैन । 

कोरोना भाइरस तथा अन्य फ्लुका लक्षण मिल्दाजुल्दा हुने भएकाले मानिसमा आशंका हुनु स्वाभाविक हो । कहिलेकाही सामान्य फ्लु भनेर सावधानी नअपनाउँदा जोखिम हुन सक्ने भएकाले सचेत भने रहनुपर्छ ।  ज्वरो ९९ डिग्री फरेनहाइटभन्दा कम हुनु, सामान्य रुघाखोकी लाग्नु फ्लुका लक्षण हुन् । यस्ता लक्षण देखिएमा आराम गर्ने, पानी तथा झोलिलो खानेकुरा प्रशस्त खाने, चिकित्सकको सल्लाहमा सामान्य एन्टीएलर्जिक औषधि सेवन गर्नुका साथै सरसफाइमा ध्यान दिनुपर्छ । एक्कासी उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वास तथा छातीमा समस्या देखिने, स्वादमा फरकपन आउनेजस्ता लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ । 

मौसमी रुघाखोकी लाग्दा सामान्यतया बिरामीको रोग प्रतिरोधक  क्षमता कम हुन्छ । यस्तोबेला अस्पताल जाँदा संक्रमण फैलन सक्ने भएकाले लक्षणका आधारमा फोनबाटै चिकित्सकको परामर्श लिन सकिन्छ । शरीर हाइड्रेड बनाइरहनुपर्छ । सिट्रस फ्रुट्स (सुन्तला) तथा कागती पानी पिउनुपर्छ । यसैगरी मनतातो बेसार पानी पिउनु पर्छ । भीडभाडमा जाँदा संक्रमण फैलन सक्ने भएकाले इर्मेन्जेन्सीबाहेक अन्य बिरामीले फोनबाटै परामर्श लिनु उपयुक्त हुन्छ । धेरै अस्पतालले आफ्ना हटलाइन नम्बर र चिकित्सकहरूको नम्बरसमेत उपलब्ध गराएका छन् । नेपाल नेशनल अस्पतालमा रोटरी इन्टनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा कुनै पनि प्रकारको स्वास्थ्य परामर्श तथा कोरोनासम्बन्धी विशेष जानकारी लागि ११४७ नम्बरमा नि:शुल्क फोन सम्पर्क गर्न सकिन्छ । 

 नेपाल नेशनल हस्पिटल 

    

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>