असामान्य अवस्थालाई कसरी साधारण बनाउने

  • डा. सगुन बल्लभ पन्त , मनोचिकित्सक, त्रिवि शिक्षण अस्पताल, महाराजगंज 

उपासना घिमिरे

चैत्र २२, २०७६

अहिले कोरोना (कोभिड–१९) को संत्रास विश्वभर छ । यो संक्रमणवाट विश्वका धेरै मुलुक प्रभावित पनि भएका छन् । नेपालमा पनि यो संक्रमण नबढोस् भनेर चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएको छ । 

लकडाउनको घोषणा भएपछि नक्सालकी गृहिणी दीपालाई घरमा बस्दा–बस्दा दिक्क लागिसक्यो । अरुबेला पनि घरमै बस्ने उनलाई अहिले बाहिर निस्कन नपाउँदा बेचैन हुन्छ । सरकारले  आफ्नै सुरक्षाका लागि गरेको भन्ने सम्झेर उनी चित्त बुझाउँछिन् । उनको जस्तै समस्या शिक्षिका उषालाई पनि छ । हुन त अहिले स्कुल बन्द हुने समय हो त्यही पनि लकडाउन नभएको भए उनी बाहिर निस्फिक्री भएर घुम्न पाउँथिन् ।

अहिले धेरैजसोको यस्तै किसिमको गुनासो लिएर आउने गरेको त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सगुन बल्लभ पन्त बताउँछन् । डा. सगुनका अनुसार लकडाउनका बेला यस्तो किसिमको बेचैनी धेरैलाई हुनु स्वभाविक हो । 

यतिबेला मानिसमा निद्रा नलाग्ने, घबराहट हुने, बेचैन हुने, दिक्दारी लाग्ने, झस्किने, खानामा रुचि नहुने, मुटुको चाल बढ्ने, मुख सुख्खा हुने जस्ता समस्या पनि देखिएका छन् । यस्ता समस्याका लागि त्रिवि शिक्षण अस्पतालले अनलाइन, टेलिफोन तथा स्काइपीमार्फत् परामर्श दिदै आएको छ ।  कतिपयमा रुघाखोकी लाग्दा र जीउ दुख्दा पनि मलाई कोरोना भाइरसको संक्रमण भयो कि भन्ने त्रास रहेको छ । डा. सुगन यसलाई असामान्य अवस्थाको साधारण प्रक्रिया हो भन्छन् । सबै कुरा बिस्तारै ठीक हुन्छ भन्ने धारणा उनको छ ।

कोरोनाले वृद्धवृद्धाको मृत्यु धेरै भएको हुनाले धेरै युवामा आफ्ना अभिभावकलाई कोरोना भाइरसले संक्रमण गर्ने हो कि भन्ने भय पनि रहेको छ । यसले गर्दा उनीहरुमा चिड्चिडापन बढेको छ,  मदिरा सेवन गर्न थालेका छन् । नियमित रुपमा मदिराको सेवन गर्नेहरुमा बेहोश हुने (मिर्गी) समस्या पनि उत्पन्न हुन सक्ने सम्भावना बढेको छ । 

यस्तो बेला चाहिने भन्दा बढी त्रास र बेचैनीका कारण कतिपयमा आत्महत्या गर्ने सोच समेत आउन सक्छ डा. पन्त भन्छन् । मनमा डर, शंका, भ्रम तथा भ्रान्ती हुन सक्छ । यस्तो महामारीका समयमा प्रत्यक्ष संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि पछि गएर मानसिक समस्या देखा पर्न सक्छ । सन् २००३ मा इबोला, सार्स र मर्सजस्ता भाइरसको महामारी भएको बेलामा उपचार गर्ने धेरै स्वास्थ्यकर्मीहरु संक्रमित भएका थिए । उनीहरुलाई अस्पतालको क्वारेन्टाइनमा लामो समय राखियो जसको कराण परिवारसँग दुरी बढ्दा र कुराकानी हुन नपाउदा उनीहरुमा दीर्घकालिन मानसिक रोग समेत देखियो । 

लकडाउनका समयमा के गर्ने ? 

– आफ्नो नियमित रुटिन बनाउनुपर्छ । समयमा सुत्ने उठ्ने तथा बिहानको समयमा ध्यान, योग, व्यायाम गर्न सकिन्छ । 

– अहिलेको अवस्थामा जतिसक्दो फाइदा हुने कुरा गर्नुपर्छ । कतिपय कामकाजी पुरुषमा काममा जान नपाउँदा उकुसमुकुसको अवस्था सिर्जना हुने गरेको छ । यस्तो बेलामा घरको काममा सहयोग गर्न सकिन्छ । 

– परिवारसँग धेरै भन्दा धेरै समय बिताउनुपर्छ । गुनासो सुन्ने, प्रतिक्रिया लिने तथा छलफल गरेर रमाइलो गरेर समय बिताउनुपर्छ । 

– जे गर्दा रमाइलो लाग्छ त्यही गर्नुपर्छ । गीत गाउन, नाच्न मन लाग्छ भने त्यही गर्नुपर्छ । 

– आफूलाई मन लागेको विषयमा कविता तथा लेख लेख्न सकिन्छ । 

– यस्तो बेलामा सकेसम्म सहयोगको भावना राख्नुपर्छ । भावनात्मक, सामाजिक तथा आर्थिक रुपमा सहयोग गर्न सकिन्छ । 

– कतिपयले तनाव व्यवस्थापनका लागि रक्सी, चुरोट खाने गर्छन् । यो गलत काम हो । यसले कालान्तरमा ठूलो समस्या उत्पन्न हुन सक्छ । 

– यतिबेला अस्पतालको ओपिडी बन्द भएकाले पहिलेदेखि मानसिक रोगका औषधी सेवन गरिरहेकाले नियमित रुपमा गरिरहनुपर्छ । यो अस्थायी हो भन्ने सकारात्मक सोच राख्नुपर्छ । 

– सकेसम्म र भ्याएसम्म कुनै न कुनै काममा व्यस्त रहिरहनुपर्छ ।

– यस्तो आपतकालिन अवस्थामा संभव भएका सबैजना घरमै बसेर असल नागरिकको दायित्व निर्वाह गर्नुपर्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>