सामाजिक दुरी घटाउँ, शारीरिक दुरी बढाऔं 

सुजाता मुखिया

चैत्र २१, २०७६

समाजशास्त्री भन्छन्, ‘कोरोनाको कारण मान्छेमा असामाजिक प्रवृत्ति विकास हुनसक्छ’

कोरोना भाइरस सँगसँगै ‘सामाजिक दुरी’को कुरा उठिरहेको छ । धेरैले यसलाई पालना पनि गरिरहेका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम भएकाले आपसमा दुरी कायम राख्नुपर्छ । एउटा व्यक्ति र अर्को व्यक्तिबीच निश्चित दुरी हुनुपर्छ, जसले उनीहरुमा एकअर्काको भाइरस सर्दैन । 

कोरोना भाइरस संक्रमित व्यक्तिको सम्पर्कमा पुग्नेहरुलाई सर्ने भएकाले हुलमुल वा भिडभाडमा यसको जोखिम बढी हुन्छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढ्दै जाँदा यसको रोकथामका लागि अहिले विश्वव्यापी रुपमा लकडाउनको लहर चलेको छ । लकडाउनको अवस्थामा सबैजना यथास्थान (कोही घरमा, कोही कार्यलय)मा बस्नुपर्छ । बाहिर हिँडडुल गर्न वा निस्कन मिल्दैन ।  

अत्यावश्यक काममा लागि भने घर बाहिर निस्कन छुट छ । औषधी उपचारका लागि होस् वा किनमेलका लागि घरबाट निस्कनुपर्ने बाध्यता पनि छ । तर, यस्तो अवस्थामा पनि एकअर्का व्यक्तिबीच दुरी कायम राख्नुपर्ने बताइएको छ । त्यही अनुसार मानिसहरु एकअर्कासँग केही दुरी राखेर हिँड्ने वा बस्ने गरेका छन् । 

यसरी कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि अपनाइने विधीलाई ‘सामाजिक दुरी’ भनिएको छ । अहिले विश्वकै मुलुकहरुको लागि सुरक्षा कवच बनेको छ, सामाजिक दुरी । 

सम्बन्धित मुलुकका सरकारले होस् वा स्वास्थ्य विभागले, सेलिब्रेटीले होस् वा सरोकारवाला सबैले एउटै कुरा भनिरहेका छन्, ‘सामाजिक दुरी कायम राख्नुहोस् ।’

तर, ‘सामाजिक’ भन्ने कुरा भौतिक नभई भावनात्मक हो । समाजिक भनेको समाजसँग मिल्नु र सामाजिक व्यवहार अपनाउनु भन्ने बुझिन्छ । यस्तो अवस्थामा ‘सामाजिक दुरी’ भनिरहँदा त्यसको

बुझाईप्रति नै सर्वसाधरणमा भ्रम त पैदा हुने होइन ? 

समाजशस्त्री कैलाशनाथ प्याकुरेल भन्छन्, ‘बुझाईमा खास फरक छैन । सामाजिक दुरी भनिएपनि मान्छेहरुले एकअर्काबाट भौतिक दुरी राख्ने भनेरै बुझिरहेका छन् ।’ तर, यस क्षणमा हामी सामाजिक रुपले टाढा वा दुरी बनाएर बस्नुभन्दा बरु नजिकिनुपर्ने उनको भनाई छ ।

खासमा सामाजिक दुरी नभई शारीरिक दुरी बढाउनुपर्ने प्याकुरेलको भनाई छ । उनी थप्छन्, ‘यतिबेला सामाजिक दुरी बढाउनु भन्दा पनि घटाउनुपर्ने अवस्था छ । यो विपतको क्षण हो । आपत–विपतमा एकले अर्कालाई साथ र सहयोग गर्नुपर्नेछ ।’ कसैको घरमा खानेकुरा सकिएको छ । कसैको घरमा खाना पकाउने ग्यास सकिएको छ । कसैको घरमा दुःख–बिराम बढेको छ । अर्कोतिर कोरोनाको डर पनि छ । सर्वसाधरणले आफ्नो काम गर्न पाइरहेका छैनन् । सबैमा आर्थिक समस्या पनि थपिदैछ । 

एकातिर कोरोनाको भय, अर्कोतिर आर्थिक समस्याहरु, त्यसमाथि घरभित्रै बस्नुपर्ने बाध्यताले मान्छेलाई एक्लो र मनोरोगी बनाउन सक्छ । त्यसैले यस्तो अवस्थामा हामी छिमेकी, आफन्तहरु एकअर्कासँग भावनात्मक रुपमा अरु जोडिनुपर्ने उनको सुझाव छ । सामाजशास्त्री प्याकुरेल भन्छन्, ‘भिडियो च्याट गर्ने, फोन गर्ने र सकारात्मक कुरा गर्ने बानी बसाल्नुपर्छ ।’

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि शारीरिक रुपमा अलग हुनु जति आवश्यक छ, त्यती नै आवश्यक कतिपय सामाजिक गतिविधि नगर्नु पनि छ । भोज भतेर, भेला, पूजाआजा जस्ता भिडभाड हुने कार्यक्रमहरु यतिबेला बन्द गर्नुपर्छ । अर्कोतिर कोरोनाको संक्रमण हुने भयले छिमेकमा कोही बिरामी भएमा पनि हेर्न वा सहयोग गर्न जान सकेका छैनन् । आइसोलेसनमा मृत्यु भएका कतिपयको लास उठाउनेहरु समेत पाइएन । 

‘मान्छेहरुले दोस्रो व्यक्तिलाई भेट्दा डराउन थालिसकेका छन्’ समाजशास्त्री प्याकुरेल भन्छन्, ‘यो मनोवृत्ति सामान्य स्थिती भइसकेपछि कायम रहन सक्छ ।

एकआपसमा जोडिने, घुलमिल हुने यस्ता गतिविधिबाट अलग भएपछि पनि मान्छेहरुमा एकलकाँटे स्वभाव विकास हुनसक्ने मनोविदहरुको बुझाई छ । मनोविद मोहन श्रेष्ठ भन्छन्, ‘परिवार, आफन्त, छिमेकीसँग अरु नजिक भएर बस्नुपर्छ । तर, भावनात्मक रुपमा । शारीरिक रुपमा भने सबैसँग दुरी बनाउनुपर्छ ।’ अहिले जसरी सर्वसाधरण घरभित्र बसेका छन् त्यसले कुनै न कुनै रुपमा मानसिक समस्या ल्याइरहेको उनको बुझाई छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>