लकडाउनः सोसल मिडियामा व्यस्त युवा पुस्ता 

प्रकृति दाहाल

चैत्र १५, २०७६

१२ कक्षाको अन्तिम परीक्षा नजिकिएसँगै नम्रता ढकालले पढाईको शैली परिवर्तन गरेकी थिइन् । बिहान ट्यूसन, दिउँसो कम्बाइन्ड स्टडी र साँझ सेल्फ स्टडी गरिरहेकी नम्रताको दैनिकी अहिले झन् अर्कै भएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेसँगै उनको पढ्ने शैली र दैनिकी परिवर्तन भएको हो ।

उनी अहिले घरभित्रै थन्किएकी छिन् । फुर्सदै फुर्सद भए पनि उनलाई पढ्न मन लाग्दैन । किताब समाए पनि मनमा अनेक कुरा खेलिरहन्छ । कोरोनाको त्रासले सताउँछ । देशमा कता केही भइसक्यो कि भन्ने जिज्ञासा बढ्छ । अनि कि त टिभी हेर्छिन्, कि त सोसल मिडियामा व्यस्त हुन्छिन् । ‘कोरोनाको त्रासले पढाईमा मनै जाँदैन’, उनी भन्छिन्, ‘मन भुलाउँनका लागि सामाजिक सञ्जाल सारथि भएको छ ।’

राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ८ गतेदेखि १२ कक्षाको अन्तिम परीक्षा सञ्चालन गर्ने बताएको थियो । यद्यपि, परीक्षा तालिक भने प्रकाशित भएको थिएन । अहिले परिस्थितिले परीक्षा कहिले हुने हो कुनै टुंगो छैन । त्यसैले नम्रतासँगै १२ कक्षामा अध्ययनरत सबै विद्यार्थीको दैनिकी प्रभावित भएको छ । अन्योलसँगै त्रास बढेको छ । र उनीहरुले मन भुलाउन सामाजिक सञ्जालको साथ लिइरहेका छन् । 

धापासीकी प्राञ्जल वलीलाई तोकिएको समयमा परीक्षा हुने विश्वास छैन । भन्छिन् ‘कोरोनाका कारण पक्कै परीक्षा सर्छ होला, अहिले पढेर के गर्नु ? परीक्षा आउने बेलासम्म सबै बिर्सिहाल्छ ।’ उनी पनि  पढ्न छाडेर अहिले सामाजिक सञ्जालमै व्यस्त छिन् । उनी फेसबुक र इन्स्टाग्राममा बढी रमाउँछिन् । तर, फेसबुकको न्यूज फिडमा आउने कतिपय अपत्यारिला र भ्रामक सूचनाले उनलाई आजित बनाएको छ ।

लोकन्थली बस्दै आएकी २१ वर्षीया सुजाता शर्मालाई पनि लकडाउन पट्यारलाग्दो भएको छ । पढाइमा मनै जाँदैन । घर, परिवारको यादले खुब सताउँछ । अनि मन झलाउन सोसल मिडियालाई नै साथी बनाएकी छिन् उनले । 

‘दिनभरि घरमा बस्दा दिक्क लाग्छ । परिवारसँग भएको भए रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ’, उनले भनिन्, ‘लामो समय यस्तै अवस्था रहिरहे आगामी दिनमा भने पढ्ने योजना बनाएकी छु ।’ अहिले त घरको काम गर्नु र मोबाइलसँग रमाउनु उनको दैनिकी हो । 

धापासीकी प्रविना खड्का (१९)को दैनिकी भने अन्यको भन्दा केही फरक छ । उनी ईन्टरनेटको माध्यमबाट विभिन्न भाषा सिकिरहेकी छिन् । ‘तनाव लिनु भन्दा केही सिकेर समयको सदुपयोग गर्नु उत्तम लाग्यो’, उनले भनिन्, ‘प्रविधिको युगमा घरमै बसेर धेरै कुरा सिक्न सकिन्छ ।’

युवापुस्ताले लकडाउनलाई सदुपयोग गर्दै विभिन्न ज्ञान हासिल गर्नुपर्ने युवा अभियन्ताहरु बताउँछन् । यो समयलाई अध्ययनसँगै विभिन्न रचनात्मक काम गर्ने अवसरका रुपमा लिनुपर्ने उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>