औषधीय गुण भएका वनस्पति

सुदर्शन अधिकारी

चैत्र १४, २०७६ अदुवा 

अदुवालाई महत्त्वपूर्ण औषधिका रुपमा लिइन्छ । यो स्वादिष्ट हुनुका साथै पौष्टिक तत्वयुक्तसमेत हुुन्छ । यसलाई मसलाका रुपमा प्रयोग गरिन्छ । अदुवाले पेट सफा गरी वायु विकार कम गर्छ । जाडोमा चिसोबाट जोगिन चियामा अदुवा मिसाएर खाइन्छ । अदुवालाई जेठ–असार महिनामा स–साना टुक्रा बनाई २०–३० सेन्टिमिटरको दूरीमा रोप्नुपर्छ । अदुवा तीनदेखि चार महिनामा तयार हुन्छ । यसबाट सुठो पनि बनाइन्छ ।

लसुन 

यो पनि मसलाकै रुपमा प्रयोग हुने औषधीय गुणयुक्त वनस्पति हो । लसुनको रस घाउमा समेत प्रयोग गर्न सकिन्छ । यसको उपयोग रुघाखोकी लाग्दा गरिन्छ । लसुनले वायु विकास नष्ट गर्छ । यसले ग्यास्टिक कम गर्न सघाउँछ । यसको बिजुला रोपिन्छ जसलाई ५–६ महिनामा तयार गर्न सकिन्छ । 

हलेदो (हल्दी वा बेसार) 

हल्दीलाई मसलाको राजा नै मानिन्छ । यसको रंगले तरकारीलाई आकर्षक बनाउँछ । हलेदो प्राकृतिक सौन्दर्य प्रसाधन पनि हो । हलेदो कुटेर वा मेसिनमा पिसेर सुकाएपछि बेसार बन्छ । बेसार कीटनाशक हुन्छ । यसले छालाको रोग निको पार्छ । दूधको तर तथा बेसारको लेप अनुहारमा दल्दा छालाको चमक बढ्छ । हलेदोको प्रयोगले क्यान्सर हुन दिँदैन । यसको प्रयोग होमियोप्याथिक तथा आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ । यसको बिरुवा सात महिनासम्म हरियो हुन्छ । 

तेजपात 

यो वनस्पति सुगन्धित, चम्किलो तथा शोभादायक हुन्छ । यो मझौला खालको रुख हो । यसलाई वैज्ञानिक रुपमा कैसिया भनिन्छ । हरियोमा वासना नआउने यसको पात सुकेपछि भने निकै सुगन्धित हुन्छ । यसको पात चिया, पुलाउ तथा तरकारीमा प्रयोग गरिन्छ । यसमा पनि औषधीय गुण हुन्छ । 

लेमन ग्रास 

लेमन ग्रासलाई गन्धतृनाका नामले समेत चिनिन्छ । सुगन्धित तेल उत्पादनमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ । नेपालका पहाडी जिल्लामा यसको राम्रो उत्पादन लिन सकिन्छ । यसको फूल वर्षा ऋतुमा फुल्छ । यसको पात चम्किलो हुन्छ । कागतीको जस्तो वासना आउने भएकाले यसलाई चियामा मिसाएर पिइन्छ । यो घाँस हरियो चियाका नामले समेत प्रसिद्ध छ । लेमन ग्रासको तेलले मालिस गर्दा पीडा कम हुन्छ । 

धनियाँ 

धनियाँको फूल तथा पात सुकाएर वा हरियो दुवै प्रयोग गर्न सकिन्छ । धनियाँलाई कुनै पनि तरकारीमा हालेर वा अचार बनाएर खाइन्छ । धनियाँको प्रयोग सलादका रुपमा समेत गरिन्छ । धनियाँले गर्मी भगाउँछ । सुकेको धनियाँलाई भिजाएर मिस्री–पानीसँग खाँदा गर्मी ठीक हुन्छ भने खानामा रुचि जाग्छ । यसको लेप वा रसले केश झर्न रोकिन्छ । यसलाई सामान्य रुपले गमला वा करेसाबारीमा उत्पादन गर्न सकिन्छ । 

मेथी 

हरियो र सुकेको दुवै प्रकारको मेथी औषधीय गुणयुक्त हुन्छ । यसको वासना मीठो हुन्छ र यसले पेटको विकार हटाउँछ भने उच्च रक्तचाप तथा सुगरका बिरामीलाई समेत निकै फाइदा दिन्छ । यसलाई करेसाबारी तथा गमलामा उत्पादन गर्न सकिन्छ । यसको उचाइ तीस सेन्टिमिटरदेखि एक मिटरसम्म हुन्छ । मेथीको हरियो साग पनि उपयोगी मानिन्छ । 

स्रोत : वनस्पति शास्त्र

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>