देशभर  योगको  लहर

सुजाता मुखिया

मंसिर १५, २०७६

महिलाको शारीरिक संरचनाअनुसार पनि विशेष किसिमको योगासन हुन्छन् । यस किसिमको योगासनले उनीहरूको प्रजनन समस्यादेखि पाठेघरको समस्यासम्म, स्तनको समस्यादेखि यौनाड्डको समस्यासम्ममा लाभ पुर्‍याउँछन् । 

कसैलाई मोटोपन घटाउनु छ, कसैलाई शरीर सुन्दर बनाउनु छ । कसैलाई सौन्दर्य बढाउनु छ त, कसैलाई रोगमुक्त जीवन बाँच्नु छ र यी सबैको गन्तव्य बनेको छ–योग । हुन त योगमा लिङ्गभेद हुँदैन । यद्यपि अहिलेको प्रवृत्ति हेर्दा लाग्छ, योग भनेकै महिलाका लागि हो । सहरका टोल–टोलमा योगको लहर छ र त्यहाँ महिला नै महिला छन् । अझ रोचक कुरा त योग सिकाउने महिला र योग सिक्ने पनि अधिकांश महिला नै छन् । 

यसको एउटै मात्र उत्तर छैन । महिलाहरू योगमा लाग्नुका विविध कारण छन् । उनीहरू सौन्दर्यका लागि र मोटोपन घटाउन पनि योग केन्द्र धाउँछन् । गर्भावस्थामा योग गर्दा गर्भस्थ शिशुलाई समेत फाइदा हुने भएकाले कतिपय योग अभ्यास गर्छन् । महिलाहरू महिनावारीको पीडा कम गर्न पनि योग गरिरहेका हुन्छन् । अहिले अधिकांश महिला पाठेघर, मासिक स्राव, प्रजननसम्बन्धी रोगले सताइएका छन् । उनीहरू रोग निवारणका लागि योगको शरणमा पुग्छन् भन्ने एकथरीको धारणा छ । 

महिलाहरूको शरीर संवेदनशील हुन्छ । उनीहरूले महिनावारी चक्र हुँदै गर्भाधान, प्रसूति, स्तनपान आदि चरणबाट गुज्रनुपर्ने हुन्छ । यी सबै अवस्थामा शरीरलाई सही र सन्तुलित राख्न योग निकै उपयोगी हुने योग शिक्षिका सरस्वती न्यौपाने बताउँछिन् । पतञ्जलि योग केन्द्रका योगगुरु लोकनाथ खनाल भन्छन्–‘महिलाहरूमा समस्या बढी हुने र देखाउने स्वभावका भएकाले उनीहरू योग गर्छन् ।

पुरुषहरूमा अहंकार हुने र पब्लिकमा आउन नचाहने भएकाले उनीहरू मर्निङ वाक वा अन्य व्यायाम गर्छन् ।’ तुलनात्मक रूपमा महिलाहरू योग एवं धर्मदर्शन आदिमा बढी आस्था राख्छन् । त्यही आस्थाले डोर्‍याउँदै उनीहरूलाई योग केन्द्रसम्म पुर्‍याउने योगगुरु लोकनाथ खनालको अनुभव छ । पतञ्जलिका हरेक योग केन्द्रमा महिलाको सहभागिता ७५ प्रतिशत तथा पुरुषको सहभागिता २५ प्रतिशत मात्र रहेको बताइन्छ ।

 

पाठेघर एवं प्रजनन स्वास्थ्यका लागि योग 

कतिपय योगासन यस्ता छन्, जसले महिलालाई बढी लाभ दिन्छन् अर्थात् महिलाको शारीरिक संरचनाअनुसार पनि विशेष किसिमको योगासन हुन्छ । यस किसिमको योगासनले उनीहरूको प्रजनन समस्यादेखि पाठेघरको समस्यासम्म, स्तनको समस्यादेखि यौनाङ्गको समस्यासम्ममा लाभ पुर्‍याउँछ । 

धेरैजसो महिला पाठेघरको समस्याबाट ग्रसित हुन्छन् । बच्चा जन्माउने क्रममा उनीहरूको पाठेघर कमजोर भएको हुन्छ । कतिपयले पटक–पटक गर्भपतन गराएका हुन्छन् भने कतिपयले गर्भाधानका लागि अनेकौं उपचार विधि अपनाएका हुन्छन् । यस क्रममा पाठेघर रोगग्रस्त हुनपुग्छ । पाठेघरमा हुने सम्भावित समस्याबाट जोगिन पनि कतिपय योगासन निकै उपयोगी साबित हुन्छन् । बालकासन

लाभ : यो आसनले महिलामा हुने हार्मोनल परिवर्तनको समस्याबाट मुक्ति दिन्छ भने मानसिक रूपले पनि शान्त तुल्याउँछ । 

अधोमुख श्वानासन 

लाभ : महिनावारीका साथै गर्भावस्था तथा प्रसूतिमा महिलाहरू तनावग्रस्त रहन्छन् । यसरी तनावको चरणबाट गुज्रनुपर्ने भएकाले मानसिक शान्तिका लागि गरिने योग उनीहरूका निम्ति निकै उपयोगी हुन्छ । अधोमुख श्वानासनले बेचैनी, तनाव आदि हटाउन मद्दत गर्छ । तुरुन्त शरीरमा फुर्ती पैदा गर्न पनि यो योग उपयोगी मानिएको छ ।

 

सेतुबन्धासन

लाभ : पाठेघरबाहिरको हड्डी पेल्भिक बोनलाई बलियो बनाउन यो आसन लाभदायक हुन्छ । गर्भधारण गर्न लागेका महिलाका लागि, अनियमित महिनावारीका साथै महिनावारीको समयमा हुने पीडा कम गर्न यो आसन उपयोगी हुन्छ । 

सुप्त बद्धकोणासन

लाभ : अनियमित वा पीडादायक महिनावारीमा फाइदा हुन्छ । प्रसवका क्रममा हुने पीडा र खतरा कम गर्न पनि यो योग उपयोगी छ । यो आसनले फोक्सो तथा मुटुसमेत बलियो बनाउँछ । 

एपविस्ट कोणासन 

लाभ : यो योगासनले सकारात्मक ऊर्जा एवं रचनात्मक क्षमता बढाउँछ । महिनावारीमा हुने गडबडी तथा नपुंसकताबाट छुटकारा दिलाउन पनि यो आसन उपयोगी हुन्छ । 

विपरीत करणी 

लाभ : भित्ताको सहारामा खुट्टा उत्तानो पारेर राखिने यो सरल किसिमको योगासनले धेरै किसिमको लाभ दिन्छ । यसले नपुंसकता, पिसाबको समस्या आदिमा लाभ मिल्छ । यसका साथै तन र मनलाई शान्त तुल्याउँछ । 

सावधानी : महिनावारी हुँदा यो आसन गर्नुहुँदैन । 

प्राणायाम

गर्भावस्थामा वा अरु सामान्य अवस्थामा पनि प्राणायाम गर्नु अत्यन्तै लाभदायक हुन्छ । यसको कुनै साइड इफेक्ट हुँदैन । प्राणायामले शरीरमा पर्याप्त शुद्ध वायु आपूर्ति गर्छ । यसले आफ्नो स्वास्थ्यमा त लाभ दिन्छ नै गर्भस्थ शिशुसमेत लाभान्वित हुन्छ । 

गर्भावस्थामा उपयोगी योग 

गर्भको शिशुको स्वास्थ्य राम्रो बनाउन पनि योग गर्न सकिन्छ । गर्भावस्थामा योग गर्नु निकै लाभदायक हुन्छ । यस्तो अवस्थामा महिलाको शरीरमा परिवर्तन आउँछ । यही परिवर्तनका कारण महिलाहरू थुप्रै समस्याबाट गुज्रन्छन् । त्यस्ता समस्याबाट छुटकारा प्राप्त गर्न योगले प्रशस्त सहयोग गर्छ । गर्भावस्थामा योग, प्राणायाम गर्दा प्रसव पीडाबाट चाँडै बाहिर निस्कन सकिन्छ । यसबाट मांसपेशी बलियो हुनुका साथै स्तनपानमा पनि लाभ मिल्छ । 

ताडासन

गर्भवती महिलाका लागि ताडासन धेरै लाभदायक साबित हुन्छ । यसले मेरुदण्डको हड्डी बलियो बनाउनुका साथै ढाड दुख्ने समस्यामा राहत पुर्‍याउँछ । यो आसन गर्भावस्थाको सुरुको ६ महिनासम्म 

गर्न सकिन्छ । 

शवासन

शवासन गर्दा तनावबाट मुक्ति मिल्छ । यो आसन गर्दा गर्भमा हुर्किरहेको शिशुको विकासमा फाइदा पुग्छ । गर्भवती महिलाहरूले नियमित रूपमा यो आसन गर्न सक्छन् । 

वीरभद्रासन

वीरभद्रासनलाई वारियर पोज पनि भनिन्छ । यो आसन गर्दा हात, काँध, जाँघ एंव कम्मरको मांसपेशी बलियो हुन्छ । गर्भावस्थामा उच्च रक्तचापको समस्या हुँदा यो आसनले राहत दिन्छ ।

मार्जरी आसन

यो आसन ‘क्याट पोज’ को नामले समेत प्रचलित छ । यो आसन गर्दा मेरुदण्डमा शक्ति एवं शरीरमा लचिलोपन आउँछ भने रक्तसञ्चार राम्रो हुनुका साथै पाचन प्रणाली पनि सुदृढ हुन्छ । 

किशोरीदेखि वृद्धासम्मलाई लाभ 

किशोरावस्थामा महिनावारी सुरु हुन्छ । महिनावारी कतिपयका लागि निकै पीडादायक हुन्छ । महिनावारी अघि र महिनावारीको क्रममा दुख्ने, बेचैन हुने आदि अनेकौं समस्या देखापर्छन् भने यही उमेरमा स्तनमा समेत परिवर्तन आउँछ । यसरी हुने शारीरिक परिवर्तनलाई सहज रूपमा स्वीकार गर्न योगले विशेष भूमिका खेल्छ । योग, प्राणायाम र ध्यानले किशोरीहरुलाई मानसिक एवं शारीरिक दुवै रूपमा बलियो बनाउँछ । 

सौन्दर्यका लागि योग 

महिलाहरू सौन्दर्यप्रति सचेत हुन्छन् । सौन्दर्यका लागि बजारमा धेरै थरीका सौन्दर्य प्रसाधन उपलब्ध छन् । त्यस क्रममा कृत्रिम ढंगले प्लास्टिक सर्जरी गर्नेदेखि अनुहारको बान्की मिलाउनेसम्मको काम गर्न सकिन्छ । यद्यपि ती विधि त्यति दीर्घकालीन एवं भरपर्दा हुँदैनन् । त्यसैले प्राकृतिक रूपमै आफूलाई कसरी राम्रो देखाउने भन्ने खोजले पनि धेरैलाई योग केन्द्रसम्म पुर्‍याएको पाइन्छ ।

कतिपय योगले छालालाई चम्किलो, स्वस्थ, केशलाई बलियो र मुलायम, शरीरलाई लचिलो एवं आँखालाई तेजिलो बनाउँछ । किशोरी तथा युवतीहरूको प्राथमिकता यस्तै योगाभ्यासमा पाइन्छ । स्कुल–कलेजमा अध्ययन गर्ने किशोरीहरू स्मरण शक्ति एवं एकाग्रता बढाउन योगाभ्यास गर्छन् । यसले उनीहरूलाई अनुशासित हुन पनि सघाउँछ । 

केशको सौन्दर्यका लागि योग 

योगाभ्यासबाट पनि केशलाई बलियो, चम्किलो, बाक्लो एवं मुलायम बनाउन सकिन्छ । यसका लागि ग्रे हेयर योगाभ्यास गर्नुपर्छ । यसअन्तर्गत दुई हातको नङ आपसमा रगडिन्छ । यसरी पाँच मिनेटसम्म निरन्तर नङ आपसमा रगडेर गरिने योगले केशलाई सुन्दर बनाउँछ । अहिले कम उमेरमै केश फुल्ने समस्या आम भैसकेको छ । यसबाट छुटकारा प्राप्त गर्न योग उपयोगी हुन्छ । बज्रासन, पवनमुक्तासन, अनुलोम–विलोम, कपालभाती, मण्डुकासन आदिले केशलाई बलियो एवं चम्किलो बनाउँछन् । 

अनुहारको चमकका लागि योग

अनुहारको चमकका लागि सबै किसिमको योग विधि उपयोगी हुन्छ । सौन्दर्य स्वास्थका लागि सूर्य नमस्कार, पद्मासन, प्राणायम, ध्यान आदि पनि फलदायी साबित हुन्छन् । नियमित योग गर्दा रक्त प्रवाह राम्रोसँग हुन्छ, शरीरमा शुद्ध वायुको पर्याप्त आपूर्ति हुन्छ भने शरीर पनि लचिलो रहन्छ । यसले गर्दा अनुहारमा चमक आउँछ, दाग–धब्बा हट्छ, चाउरी आउँदैन र शरीर एवं छाला जवान देखिन्छ । 

स्तन क्यान्सरमा योग

सामान्य अवस्थामा गरिने योगबाट पनि क्यान्सरको भय टार्न सकिन्छ । स्तन क्यान्सर भैसकेको अवस्थामा समेत कतिपय योग गर्न सकिन्छ, जसले उपचारलाई सहज बनाइदिन्छ । 

युनिभर्सिटी अफ टेक्सास एन्डरसन क्यान्सर सेन्टरले गरेको शोधअनुसार स्तन क्यान्सरको उपचारका लागि विकिरण चिकित्सा दिइरहेका महिलालाई योग उपचारले थप सहज बनाउँछ । 

रजोनिवृत्तिपछि महिलामा तौल बढ्नुका साथै थाइराइडको समस्या देखापर्न सक्छ । यदि महिलाले नियमित रूपमा योग गरेका छन् भने यो समस्याबाट छुटकारा मिल्छ । योगले उपचारात्मक काम मात्र गर्दैन हार्मोनलाई सन्तुलित समेत राख्छ । खासगरी प्राणायाम र ध्यान विधि यतिबेला बढी उपयोगी हुन्छ । यसले हार्मोनमा उतारचढाव आउन दिँदैन । 

निरोगी जीवनका लागि योग 

स्वास्थ्य नै धन हो । स्वास्थ्यभन्दा महत्वपूर्ण अरू केही हुँदैन । रोग निवारणका लागि भन्दा पनि रोगमुक्त जीवनका लागि योग आवश्यक हुन्छ । शरीर, मस्तिष्क एवं आत्माका लागि योग जरुरी छ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग एकदमै उपयोगी मानिन्छ । नियमित योगाभ्यासले शरीरलाई चुस्त राख्नुका साथै सकारात्मक भाव पैदा गर्छ । मनलाई खुसी र तनावबाट मुक्त राख्न योगले महत्वपूर्ण भूमिका खेल्छ । योगले मनोबल बढाउन र उत्साह जगाउन मद्दत गर्छ । 

विद्यार्थीका लागि योग 

तिक्ष्ण बुद्धिका लागि योग अनिवार्य छ । नियमित योगले विद्यार्थीहरूको बौद्धिक स्तर वृद्धि गर्नुका साथै अनुशासित जीवन यापनका लागि सहयोगी भूमिका खेल्छ । ‘पहिले जस्तो अहिले विद्यार्थीहरूमा शारीरिक अभ्यास हुँदैन । त्यसैले शारीरिक सक्रियताका लागि समेत योग आवश्यक छ’ योगगुरु लोकनाथ खनाल भन्छन् ।

योगसम्बन्धी रोचक कुरा 

    संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जून २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको हो । 

    अन्तर्राष्ट्रिय योग दिवस मनाउन सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावप्रति नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन जनाएका थिए । 

    सबैभन्दा पहिले शिवजीले पार्वतीलाई योग शिक्षा दिएको शास्त्रीय प्रमाण पाइन्छ । 

योग गर्दैनन् नेपाली अभिनेतृ 

बलिउड अभिनेतृहरू सुडौल र लचिलो शरीर एवं चम्किलो छालाका लागि योग गर्छन् । दीपिका पादुकोणदेखि ऐश्वर्य रायसम्म नियमित योग गर्छन् । बलिउडका अधिकांश अभिनेतृमा योगको एडिक्सन नै छ भने पनि हुन्छ । शिल्पा सेट्ठी, विपासा वसुजस्ता अभिनेतृ त अहिले योगगुरुकै रूपमा परिचित छन् । 

नेपाली अभिनेतृहरूले भने योगमा त्यति रुचि राखेको पाइँदैन । कतिपय अभिनेतृले फाट्टफुट्ट योग गरे पनि नियमित रूपमा योग गर्नेहरू कमै छन् । उनीहरूमा योगका बारेमा चासो र जागरुकता पनि त्यति छैन । कतिपय अभिनेतृ फिटनेस क्लब धाउने, जिम गर्ने, जुम्बा नाच्ने जस्ता काम चाहिँ नियमित गर्छन् । त्यो पनि छायांकनको सेड्युल नभएका बेला मात्र । अरु बेला भने उनीहरूले योग–व्यायाममा त्यति ध्यान दिएको पाइँदैन । 

योगमा विश्व रेकर्ड 

अहिले २१ जूनका दिन विश्व योग दिवस मनाउन थालिएको छ । यो अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजित गरिन्छ । यसबाट संसारभरि योगको पहुँच एवं क्रेज रहेको पुष्टि हुन्छ । योगप्रति जागरुकता फैलाउन सेलिब्रेटीदेखि नेतासम्मले प्रयास गर्दै आएका छन् । योगका विभिन्न विधामा विश्व रेकर्ड राख्ने काम पनि प्रतिस्पर्धाकै रूपमा अघि बढेको छ । 

पाँच हजार जनाले एकसाथ योग

आर्ट अफ लिभिङले भारत रायपुरको बीटीआई मैदान शंकर नगरमा एउटा वृहत् योग शिविरको आयोजना गरेको थियो । उक्त आयोजना खासगरी गिनिज बुकमा नाम लेखाउनकै लागि गरिएको थियो, जसमा पाँच हजार जनालाई एकसाथ वीरभद्रासनको स्थितिमा तीन मिनेटसम्म राखिएको थियो । उक्त कीर्तिमान यही वर्षको विश्व योग दिवसका अवसरमा बनेको हो । 

नेपालमा कुन–कुन किसिमका योगाभ्यास गरिन्छ ?

पतञ्जलि योग, ओम शान्ति, आर्ट अफ लिभिङ, स्वामी विकासानन्द, ओशो, जीवन विज्ञान, विपश्यना ध्यान आदि ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×