जाडो मौसम र खानपान

- बिपिन कार्की, डाइटिसियन 

मंसिर ६, २०७६

जाडोको सुरुवातसँगै तापमान घट्ने भएकाले धेरै मानिसमा रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, घाँटी खप्प बस्ने आदि समस्या उत्पन्न हुन्छ । भाइरल तथा चिसोका कारण धेरैलाई यस्तो हुन्छ । जाडो मौसममा धेरैजसोलाई लामो समयसम्म रुघाखोकी लाग्छ भने निको हुन पनि धेरै नै समय लाग्न सक्छ । उचित रेखदेख गरी न्यानो रहँदै ताता खानेकुरा खाए रुघाखोकी आफै निको हुन्छ भने कतिपय अवस्थामा औषधि नै सेवन गर्नुपर्ने हुन्छ । यसका साथै जाडो मौसममा मुटु, दम, निमोनियाँ आदि रोगले पनि बढी सताउँछ । 

खानेकुराले पनि स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले मौसम परिवर्तनसँगै उचित खाद्यवस्तु छनोट गर्नुका साथै स्वस्थ खानेकुरा खानुपर्छ ।

हाम्रो दैनिक खानपानका साथै सामान्य दिनमा पनि मौसममा परिवर्तन आउने भएकाले मौसमअनुसारका उचित खाद्यवस्तु प्रयोगमा ल्याउनुपर्छ । अन्यथा हैजा, झाडापखाला, छालामा फुस्रोपन जस्ता समस्या साथै पाचन प्रक्रियामा समेत समस्या उत्पन्न हुन्छ । 

जाडोमा बाहिरी तापक्रम कम हुने भएकाले शरीरलाई चिसो महसुस गर्न नदिन पर्याप्त पोषण तत्व खानुपर्ने हुन्छ । जाडोमा खाना पनि बढी रुच्ने हुनाले क्यालोरी खपत हुने खानेकुरा छनोट गर्न आवश्यक हुन्छ । शरीरले बढी क्यालोरी खपत गरेको खण्डमा मोटोपनको समस्यासमेत सिर्जना हुनसक्छ । त्यसैले जाडोयाममा कम क्यालोरी भएका खानेकुरा थोरै तर पटक–पटक खाइरहनुपर्छ । 

शरीरको तापक्रम सन्तुलित राख्न 

    जाडो मौसमलाई फलफूलको मौसम पनि भनिन्छ । यतिबेला घाम ताप्दै सुन्तला, अंगुर, अनार, भोगटे आदि भिटामिन सीयुक्त साइट्रस फलफूल खान सकिन्छ । फलफूलको सेवनले शरीरमा नयाँ ऊर्जा उत्पन्न गर्छ भने छालालाई चम्किलो बनाउने, रेटिनाको कार्यक्षमता बढाउने काम गर्छ । साइट्रस फलफूलमा पाइने हेस्पेरेडिन तत्वले शरीरका खराब कोलेस्टेरोललाई कम गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने कामसमेत गर्छ । 

    हरियो साग सबै मौसमको सुपर हिरो तरकारी हो । कतिपयमा जाडो मौसममा साँझपख सागसब्जी खाँदा सर्दी, रुघाखोकी लाग्छ भन्ने अन्धविश्वास छ, तर यो गलत हो । भिटामिन ए तथा केयुक्त सागले शरीरलाई धेरै फाइदा पुर्‍याउँछ । जाडोमा विशेषगरी मेथी, बेथे, पालक तथा तोरीेको साग, ब्रोकाउली एवं धनियाँ खानु उपयुक्त हुन्छ । 

    भिटामिन डी तथा ईको प्रमुख स्रोत अण्डापूरक प्रोटिन भएको खाद्यान्न वस्तु हो । अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त हुने भएकाले जाडो मौसममा लाग्ने खोकी तथा छातीको संक्रमणबाट जोगिन सकिन्छ । तरकारीको तातो सुप, मसरुम सुप, चिकेन सुप, गोलभेंडा, गेडागुडीको झोल आदि शरीरलाई न्यानो बनाउने खानेकुरा हुन् । यसका साथै जाडो मौसममा शरीरलाई तागत दिने खाना खानुपर्छ । तातो सुप तथा झोल खानेकुराले शरीरको तापक्रम सामान्य बनाउन सहयोग गर्नुका साथै स्फुर्तिसमेत बढाउँछ यसले रुघा लगाउने भाइरसको संक्रमणलाई निर्मूल पारेर न्यानो महसुस गराउँछ ।

    जाडो मौसममा अदुवा, लसुन, दालचिनी,     बेसार, ल्वाङ, मरिच आदि मसला प्रयोग गर्ने हो भने त्यसले शरीरलाई तातो राख्नुका साथै सर्दी एवं रुघालाई टाढा राख्न मद्दत पुर्‍याउँछ । ज्वानोको रस, अदुवाको चिया, बेसार, दालचिनी, मह तथा ल्वाङ मनतातो पानीमा दैनिक बिहान वा बेलुकी प्रयोग गर्दा टन्सिल, रुघा, फ्लु, ज्वरो, निमोनियाँजस्ता जटिलताबाट छुटकारा प्राप्त गर्न सकिन्छ । 

    कार्बोहाइड्रेट तथा प्रोटिनयुक्त मकै, भटमास एवं बाजरालाई भुटेर प्रयोग गर्दा शरीरमा न्यानो महसुस हुन्छ । राजमा, छोला–भटुरा, चना, मटर, क्वाँटी आदिको स्वादले जाडो मौसमलाई थप विशेष बनाउँछन् । 

    बेलुकीपख १ गिलास मनतातो दूध, ३–४ दाना काजु, हाडे बदाममा १ चम्चा मह मिसाएर पिउँदा मीठो निद्रा लाग्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै जाडोयामको लामो रातमा रगतमा पोषण तत्वको कमी हुन दिँदैन । फलस्वरूप शरीरको तापक्रम सन्तुलित रहन्छ । हाडजोर्नीका बिरामीलाई जाडोयाममा खुट्टा–घुँडा दुख्ने समस्याले बढी सताउँछ । यस्ता बिरामीले क्याल्सियमले भरिपूर्ण दूध, चीज, साल्मोन, प्राउन, अण्डा आदि खानु उपयुक्त हुन्छ । 

    सबैले आफ्नो दैनिक मेनुमा माथिका खानेकुरा समावेश गर्नसके शरीरको तापक्रम सन्तुलित राख्न मद्दत गर्नुका साथै नयाँ ऊर्जा एवं जोस थपिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>