महिलामा मोटर आकर्षण

प्रकृति दाहाल

आश्विन १, २०७६  

एक दशकअघिसम्म गाडीमा पुरुषहरूको मात्र पहुँच हुन्थ्यो भने अहिले पुरुषसरह महिलाहरूले गाडी चलाउन थालिसकेका छन् । विशेषगरी बैंक, कर्पोरेट, निजामती एवं कूटनीतिक नियोग तथा एनजीओ– आईएनजीओका महिलाहरू मोटर चढ्ने मामिलामा अगाडि छन् । अहिलेको समयमा कार चढ्नु महिलाहरूको स्तर वृद्धिका साथै आवश्यकतासमेत भैसकेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्याय बताउँछिन् । करिब २५ वर्षदेखि कार चढ्दै आएकी उपाध्याय चुल्हा–चौका र घरधन्दामा सीमित महिलाहरू अहिले आत्मनिर्भर हुँदै गएपछि उनीहरूको पहुँच सवारी साधनसम्म पुग्न थालेको कुरा बताउँछिन् ।

महिलाहरूको गाडीप्रतिको बढ्दो आकर्षककै कारण गाडी कम्पनीहरूले महिलाहरूलाई लक्षित गरेर नयाँ–नयाँ मोडलका गाडी भित्राएका छन् । नेपालमा पछिल्लो समय बजार बिस्तार गरिरहेको कम्पनी हो–ड्याक्सन । ड्याक्सनले अहिले रेडी गो मोडलको कार ल्याएको छ । १८ लाख ७९ हजार पर्ने यो कार महिलाहरूका लागि सानो चिटिक्क परेको र चलाउन सहज हुने ड्याट्सन शोरुम प्रमुख निशान ब्रजाचार्य बताउँछन् । ब्रजाचार्यका अनुसार यो मोडलमा एयर कन्डिसन, पावर स्टेइरिङ तथा म्युजिक सिस्टम छ । यसमा विशेषताअनुसारको मूल्य तोकिएको छ । रेडी गो मोडलकै अर्को गाडीको मूल्य भने १९ लाख ६९ हजार पर्छ । यसका थप विशेषता सिंगल एयर ब्याग, किलेस इन्ट्री, डे टाइम रनिङ ल्याप आदि हुन् । यो मोडलका कार रातो, सिल्भर, ग्रे, सेतो, हरियो रंग उपलब्ध हुने ब्रजाचार्य बताउँछन् । 

नेपालमा लामो समयदेखि सुजुकीका गाडीको व्यवसाय गर्दै आएको सिजी अटोमोबाइल्सले महिलाका लागि सहज हुने अल्टो, सेलेरियो तथा बलिनो डेल्टालाई बिक्रीमा ल्याएको छ । ९ सय ९८ सिसीको भिएक्सआई मोडलको अल्टोको मूल्य २४ लाख ९९ हजार पर्छ भने जेट–एक्स आई मोडलको मूल्य २७ लाख ४९ हजार पर्छ । सुजुकीका व्यवस्थापक प्रमुख करुण शाक्यका अनुसार चिटिक्क परेका र सोभर रंगका हुनाले पनि महिलाका लागि यी गाडी उपयुक्त र सहज छन् । पाटपुर्जा सहज रूपमा पाउनु पनि सुजुकीको विशेषता भएको शाक्य बताउँछन् । उनका अनुसार यी गाडी सेतो, रातो तथा ग्रे रंगहरूमा उपलब्ध हुन्छन् । ११ सय ९७ सिसीको बलेनो डेल्टाको मूल्य ३३ लाख ९९ हजार छ भने अर्को मोडलको बलेनोको मूल्य ३६ लाख ९९ हजार रूपैंयाँ छ ।

एनजिओमा कार्यरत महिलाहरूको रोजाइमा छ–भग्सवैगन । ७२ लाखदेखि १ करोडसम्ममा पाइने यो गाडी सहरी एरियाका लागि उपयुक्त हुने कम्पनीकी सेल्स म्यानेजर रुवी गिरी बताउँछिन् । गिरीका अनुसार यी गाडीको विशेषता भनेको अटोमेटिक र फुल अक्सन हो ।

समय विद्युतीय मोटरको 

सरकारले प्रदूषणरहित सवारी साधनलाई प्राथमिकता दिने नीति लिएपछि गाडी बिक्रेता एवं उपभोक्ता दुवैको चासो विद्युतीय सवारी साधनमा देखिन्छ । यसका साथै यस्ता गाडी किन्दा उपभोक्तालाई बैंकले मूल्यको ८० प्रतिशतसम्म ऋण दिने भएपछि उपभोक्ता पनि विद्युतीय सवारी साधनतर्फ आकर्षित हुँदै गएका छन् । सरकारले विद्युतीय साधनलाई प्राथमिकता दिएपछि कम्पनीहरूले पनि यस्तै साधन नेपाल भित्राउन थालेका हुन् । 

हुन्डाईको कोना ब्रान्डका दुईवटा विद्युतीय गाडी अहिले नेपालमा उपलब्ध छन् । ३९ किलोवाट र ६४ किलोवाटको गाडीले ३३० किलोमिटर तथा ४५० किलोमिटर माइलेज दिन्छन् । हेर्दा आकर्षक देखिने यी गाडी ओरालो हिँड्दा ब्याट्री आफै चार्ज हुन्छ । यसमा छ वटा एयर ब्याग हुन्छन् । यसलाई फुल चार्ज गर्न नर्मल चार्जमा करिब २४ घन्टा लाग्छ । 

विद्युतीय क्षेत्रमा सबैभन्दा पुरानो कम्पनी बीवाईडीले ई–सिक्स मोडलको गाडी ल्याएको छ । ५ वटा सिट भएको सुविधाजनक यो गाडीको मूल्य ६६ लाख छ । ८० किलोवाट ब्याट्री क्षमता भएको यो गाडीमा बीवाईडीकै यूएल सर्टिफाइड लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यसलाई एकपटक चार्ज गरेपछि ४ सय किलोमिटरसम्म कुँदाउन सकिन्छ । ब्याट्रीलाई ४ हजार पटक चार्ज गर्न सकिन्छ भने ब्याट्रीको आयु २० वर्षसम्म हुन्छ । 

अहिले कोरियाली कम्पनी किया मोटर्सले किया निरोइभीलाई बजारमा उतारेको छ । ७ वर्ष ब्याट्रीको वारेन्टी भएको यो गाडीमा ब्याट्री पावर ६४ किलोवाट छ । सात वटा एयर ब्याग, एभीएस, ईभीडी, इलेक्ट्रोनिक ट्याक्सन कन्ट्रोलसहित यो गाडीको मूल्य ६६ लाख ९० हजार पर्छ । यसलाई अरु विद्युतीय कारको तुलनामा बढी सुरक्षित मानिन्छ ।

विद्युतीय स्कुटरमा आकर्षण बढ्दो

विद्युतीय सवारीमा आवाज तथा धूवाँ नआउने भएका कारण पनि यसको आकर्षण बढ्दै गएको हो । इमाडोलकी रोशिला श्रेष्ठ बिजीईको विद्युतीय स्कुटर चढ्छिन् । यो स्कुटर उनलाई निकै हल्का लाग्छ । धूवाँ तथा आवाज नआउने हुनाले पनि यस्तो स्कुटी कुदाउँदा आनन्द आउने उनको अनुभव छ । ‘विद्युतीय सवारी कुदाउँदा पेट्रोलको झन्झटबाट मुक्त हुनुका साथै मेन्टेनेन्समा समेत समय खर्च गर्नुपदैन’ उनले भनिन् । 

महिलाहरूलाई लक्षित गरी अहिले नेपालमा मियामाका ६ किसिमका विद्युतीय स्कुटी भित्रिएका छन् । यिनको मूल्य १ लाख ४९ हजारदेखि १ लाख ९८ हजारसम्म पर्छ । ब्याट्रीको पावर ३२ एमपीएर, ४० एमपीएर, ५८ एमपीएरसम्म रहेको मियामा मोटरका सञ्चालक समिर यादव बताउँछन् । यादवका अनुसार यी सबै स्कुटीमा लिड एसिड तथा लिथियम ब्याट्री प्रयोग हुन्छ । फुल चार्ज गर्दा विद्युत् एक युनिट मात्र लाग्ने र यी स्कुटर निकै सुरक्षित भएको दाबी यादवको छ । 

चाइनिज कम्पनी जिनियसले पनि विद्युतीय स्कुटर भित्राएको छ । १२ वाट र १५ सय वाटका स्कुटरको मूल्य १ लाख ८९ हजारदेखि १ लाख ९६ हजारसम्म छ । ४ वर्ष ब्याट्रीको आयु भएका यी स्कुटरलाई चार्ज गर्न ५ देखि ७ घन्टा लाग्ने कम्पनीले बताएको छ । यी स्कुटर एकपटक चार्ज गर्दा ७० देखि ८० किलोमिटरसम्म कुद्न सक्छन् । 

चाइनिज कम्पनी न्युकाका पनि चारवटा विद्युतीय स्कुटर अहिले नेपाली बजारमा उपलब्ध छन् । एनजीटी मोडलका २ वटा ब्याट्री प्रयोग हुने स्कुटरको मूल्य भने ४ लाख २५ हजार छ । अर्को मोडल एमको मूल्य २ लाख ३५ हजार छ । मोडल एम र एनजीटीमा ६० भोल्टको ब्याट्री लाग्छ  जसको वारेन्टी २ वर्ष छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>