सम्बन्धविच्छेद जीवनको अन्त्य होइन

लक्ष्मी भण्डारी थापा

असार १३, २०७६

‘सम्बन्धविच्छेद भएको दिनलाई म इनडिपेन्डेन्ट डेका रूपमा सेलिब्रेट गर्छु ।’ एक सम्मानित संस्थानका अध्यक्षकी पूर्वपत्नी आफ्नो सम्बन्धविच्छेदपछिका दिनहरू सहज र खुल्ला भएको महसुस गर्दै भन्छिन्–‘मीठो बोली, अरूका अगाडि असल खोल ओढेको ढोंगी व्यक्तित्व तर भित्रभित्रै राक्षसी स्वभाव र व्यवहारबाट मुक्त भएपछिका मेरा दिनहरूमा मैले म भएर बाँच्न पाएकी छु ।’ उनी अहिले आफ्नो जीवनलाई नयाँ मोड दिँदैछिन् । सम्बन्धविच्छेदपछि उनको दिनचर्या सक्रिय रूपमा बितिरहेको छ ।

त्यसअघि उनी फलानो हाकिमकी श्रीमतीका रूपमा मात्र चिनिन्थिन् । उनी भन्छिन्–‘करिब दुई दशक म आफ्नो आत्मसम्मानमा ठेस पुर्‍याएरै बाँचें, जसले मलाई मनोविषादमा मात्र पुर्‍याएन विभिन्न औषधिको सहयोगमा बाँच्नुपर्ने समेत बनायो । अहिले म पूर्णरूपमा आफू भएर खुसीसाथ बाँच्न पाएकी छु । यहाँ बाहिर देखिने व्यक्तित्व र भित्री रूप फरक भएका मानिसहरू छन् । तसर्थ म त अब विवाहअघि नै सँगै बसेर शारीरिक, मानसिक आदि सबै कुरामा एक्सपेरिमेन्ट गरेपछि चित्त बुझेको खण्डमा विवाह गर्दा हुन्छ अन्यथा त्यस्तो सम्बन्धमा ब्रेक लगाएकै राम्रो भन्छु ।’ 

आजभन्दा करिब एक दशकअघि बोल्ड डिसिजन गर्दै वैवाहिक सम्बन्ध अन्त्य गर्ने कदम उठाएकी वीरगञ्जकी रति अहिले आफ्नो साहसकै कारण थुप्रै त्यस्ता महिला दिदीबहिनी हिंसा एवं विभेदका विरुद्ध आवाज उठाउन र कदम चाल्न सबल भएको बताउँछिन् । दाइजोका रूपमा ठूलो धनराशि लिएर विवाह गरेका श्रीमान्ले बाहिर अर्की श्रीमती राखेको चाल पाएपछि बालबालिकाको पालनपोषणका लागि रतिले श्रीमान्सँग लामो हारगुहार गर्नुपर्‍यो । त्यति गर्दा पनि कुनै सहयोग नमिलेपछि उनले आफैं सम्पत्ति नलिने सर्तमा सम्बन्धविच्छेद गरिन् । रति भन्छिन्–‘आमाले छोडेर हिँडेको भए बाउले अर्की श्रीमती ल्याउँथे । छोराछोरीको बिचल्ली हुन्थ्यो तर आज मेरा छोराछोरी आ–आफ्नो क्षेत्रमा अब्बल छन् । मैले केही बोल्नै पर्दैन, उनीहरू नै भन्छन्–‘हामीलाई आफ्नी आमाप्रति गर्व छ ।’ 

झोरकी कल्याणीको विवाह भरुवारासीको हुनेखाने परिवारमा भयो । प्रशस्त जग्गाजमिन, प्रहरीमा जागिरे श्रीमान्, यति भएपछि त छोरीले दुःख पाउँदिन भन्ने मनसायले कल्याणीका आमाबाबुले कन्यादान दिएर पठाइदिए । केही समय हाँसीखुसी चलेको वैवाहिक सम्बन्धमा ठूलो फरिवारबीचका धेरै कुराले क्रमशः तित्तता थप्दै जान थाल्यो । पढेलेखेकी जागिरे कल्याणी विवाहपछि घाँसे डोको, चुल्होचौको एवं जुठेल्नामै सीमित हुन पुगिन् । बिस्तारै श्रीमान्ले पनि उनलाई प्राथमिकतामा राख्न छाडे । उनका लागि परिवार मात्र सबथोक हुन थाल्यो । छोरी जन्मिदा पनि कल्याणीले कम्ती सास्ती खेप्नु परेन । जे–जस्तो सहेरै बसेकी उनलाई श्रीमान्ले सौता हालेपछि र छोरीलाई आफूबाट अलग्याएपछि असह्य भयो र सम्बन्धविच्छेदको प्रक्रियामा लागिन् । सम्बन्धविच्छेदपछि उनमा आएको परिवर्तन देखेर साथीभाइ तथा इष्टमित्रहरू छक्क पर्छन् । हिजो थाप्लोमा नाम्लो र पिठ्युँमा डोकोले नछोड्ने कल्याणीका हात अहिले प्रायः स्कुटरको एक्सलेटरमा हुन्छन् । उनको लबाइ–खबाइ, सोच र व्यक्तित्व सबै बदलिएको छ ।

सम्बन्धविच्छेद नभएको भए सायद म त्यही घाँसबारी र गाईगोठमा गोबर सोहोर्दै हुन्थें । आज म राम्रो संस्थामा राम्रै तलबमा काम गरिरहेकी छु । मेरो आत्मविश्वास बढेको छ । सबैभन्दा ठूलो कुरा त मलाई यसले आत्मनिर्भर भएर बाँच्ने अवसर प्रदान गरेको छ ।’ सम्बन्धविच्छेदका बारेमा कल्याणी भन्छिन्–‘परिवार एवं समाजसँग डराएर आफैंलाई भित्रभित्रै मार्नुको पीडा मैले भोगेकी छु । कुनै पनि महिलाले यसरी बस्नु भनेको आफैंप्रतिको अन्याय हो ।

यदि खुसीसाथ बाँच्नु छ भने आफ्नो आवाज नदबाऔं, आफ्नो अधिकार बुझौं र त्यसको प्रयोग गरौं किनभने आफू भएर बाँच्न पाउनु हामी सबैको अधिकार हो, सम्बन्धविच्छेद जीवनको अन्त्य होइन त्यो एउटा हाम्रो जीवनको सुरुवात पनि हुनसक्छ ।’

यी प्रतिनिधि पात्रजस्ता सयौं महिला अहिले साहस गरेर अघि बढिरहेका छन् । अब उनीहरू मानव भएर स्वतन्त्रता पूर्वक बाँच्न चाहन्छन् । समाज क्रमशः खुल्ला र स्वतन्त्र हुँदैछ । हिजोको परिवेश र रीतिरिवाजमा परिवर्तन ल्याउन आजको पुस्ता कुरा मात्र होइन सोहीअनुरूपको काम नै गरिरहेको छ । अहिले सबै बोलीलाई व्यवहारमा उतार्न दक्तचित्त छन् । सर्वोच्च अदालतकी अधिवत्ता शोभा कार्की महिलाहरू शैक्षिक, सामाजिक एवं आर्थिक रूपले सबल हुँदै गएका कारण अब थिचोमिचो सहेर बस्दैनन् भन्ने धारणा व्यक्त गर्छिन् । उनीहरूले आफ्नो इच्छा र अधिकार राम्रोसँग बुझिसकेका छन् । कार्की भन्छिन्–‘समान हैसियत र सम्मानका लागि अबका महिला जागरुक छन् । अर्को कुरा महिलालाई सम्पत्तिमा अधिकारको नीतिले पनि अलिकति बोल्ड बनाएको छ । आफू आत्मनिर्भर भए संसार हाँक्न सकिन्छ भने किन अर्काको हिंसा र दबाबमा बस्ने ? भन्ने चेतना पनि बढ्दै गएको छ ।’ कार्कीका अनुसार सम्बन्धविच्छेद कर र दबाबमा हुँदैन । दुई जनाको सहमतिमै हुने हो ।

सम्बन्धविच्छेदपछि श्रीमान्को आधा सम्पत्ति पाउने अधिकार हुँदाहुँदै पनि कतिपय महिला वाक्क भएर मलाई सम्पक्ति चाहिएन, मैले खोजेको मुत्ति मात्र हो भन्छन् । यसबाट प्रस्ट हुन्छ महिलाले कतिसम्म हिंसा, अन्याय, विभेद र यातना खेप्नु पर्दोरहेछ ?

समाजशास्त्री निर्मला ढकालका अनुसार समाज आफ्नै गतिमा चलिरहन्छ । फरक क्षमता र सोचका केहीले रिभोल्युसन गरेर परिवर्तन गर्न खोजे पनि यसको गति इभोल्युसनरी नै हुन्छ । समाज स्थिर भने रहँदैन, फेरबदल भैरहन्छ । मानिसहरू मिलेर नै समाज बन्ने हो । सम्बन्धविच्छेदकै सम्बन्धमा कुरा गर्दा पनि यो भौगोलिक, रहनसहन, रीरतिरिवाज एवं संस्कारबाट प्रभावित हुन्छ भन्ने ढकालको बुझाइ छ । निर्मला भन्छिन्–नेपाली नै भए पनि अमेरिका बसेर सम्बन्धविच्छेद गर्नु वा सहरमा बसेर गर्नु र गाउँमा बसेर गर्नुमा धेरै अन्तर देखिन्छ । समाज कति समुन्नत र विकसित छ त्यसैमा निर्भर रहन्छ यो विषय ।

अशिक्षित र अचेत समाजमा सम्बन्धविच्छेदपछि महिलालाई सोसल स्टिग्माले थप ग्रसित तुल्याएको पाइन्छ भने विकासशील समाजमा त्यसलाई आँटिलो र साहसिलो कदमका रूपमा लिएर महिलालाई अघि बढ्न प्रेरित गरिन्छ । 

१० वटा कार्यक्षेत्र जहाँ सम्बन्धविच्छेद  कम देखिन्छ 

    अभिनय–१७ प्रतिशत ।

    फिजिकल साइन्टिस्ट– १८ दशमलव ९ प्रतिशत ।

    मेडिकल एन्ड लाइफ साइन्टिस्ट–१९ दशमलव ६ प्रतिशत ।

    क्लर्क– १९ दशमलव ६ प्रतिशत ।

    सफ्टवेयर डेभलपर–२० दशमलव ३ प्रतिशत ।

    फिजिकल थेरापिस्ट–२० दशमलव ७ प्रतिशत ।

    अप्टोमेट्रिसट–२० दशमलव ८ प्रतिशत ।

    केमिकल इन्जिनियर–२१ दशमलव १ प्रतिशत ।

    शिक्षा एवं धार्मिक कार्य–२१ दशमलव ३ प्रतिशत ।

    फिजिसियन तथा सर्जन–२१ दशमलव ८ प्रतिशत ।

१० वटा कार्यक्षेत्र जहाँ सम्बन्धविच्छेद बढी पाइन्छ 

    गेमिङ म्यानेजर–५२ दशमलव ९ प्रतिशत ।

    बार टेन्डर–५२ दशमलव ७ प्रतिशत ।

    फ्लाइट एटेन्डेन्स–५० दशमलव ५ प्रतिशत ।

    गेमिङ सर्भिस वर्कर–५० दशमलव ३ प्रतिशत ।

    रोलिङ मेसिन सेटर, अपरेटर तथा मेटल र प्लास्टिक टेन्डर– ५० दशमलव १ प्रतिशत ।

    स्विचबोर्ड अपरेटर–४९ दशमलव ७ प्रतिशत ।

    टेलिमार्केटर–४९ दशमलव २ प्रतिशत ।

    टेक्सटायल निटिङ तथा वेभिङ मेसिन अपरेटर–४८ दशमलव ९ प्रतिशत ।

    फर्मिङ, सेटिङ, कम्प्याक्टिङ मेसिन सेटर्स–४८ दशमलव ८ प्रतिशत ।

    स्रोत : इन्टरप्रेनर कपिराइट्स–२०१९

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्