अर्गानिक खाना स्वस्थ जीवन

शीतल श्रेष्ठ

जेष्ठ २५, २०७६

दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी तथा रसायन प्रयोग गर्न थालेका हुन् । अहिले खेतीलाई सुरक्षित राख्न विभिन्न रसायन प्रयोग गर्ने चलन छ । यी रसायनले पानी, वायु एवं माटोलाई विषयुक्त बनाएका छन् । अनावश्यक र उपयोगी नहुने जीवलाई मार्न प्रयोग हुने कीटनाशक तथा एन्टिबायोटिक हामीले खाने खानामा पनि हुन्छन् । यस्ता रसायनले क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन् । त्यसैले अर्गानिक खानेकुरा खानुपर्छ भन्ने सोच बढ्न थालेको हो । 

स्याउ, अंगुर, स्ट्रबेरी, आरु, साग, चेरी, टमाटर, आलु, आयातीत केराउ, काँक्रा आदिमा उच्च मात्रामा रसायन हुने भएकाले अर्गानिक हिसाबले उत्पादन गरिएका तरकारी तथा फलफूल मात्र सेवन गर्नु उपयुक्त हुन्छ । प्याज, भुइँकटहर, अन्न, एभोकाडो, आँप, किबी, बन्दा, मेवा, केरा, काउली, ब्रोकाउली, खरबुजा आदि फलफूल तथा तरकारीमा कम मात्रामा कीटनाशक विषादी–रसायन हुन्छन् । न्यून मात्रामा कीटनाशक विषादी भएका फलफूल तथा तरकारीको विशेषता तिनीहरूको बोक्रा छुटाउन सकिनु हो । यस्ता फलफूलमा रसायन भित्रैसम्म जान पाउँदैनन् । 

अर्गानिकका फाइदा

बालीमा रसायन प्रयोग नभएका उत्पादन नै अर्गानिक मानिन्छ । अध्ययनहरूअनुसार बालीमा प्रयोग भएका रसायनले मेटाबोलिक समस्या, हार्मोनल समस्या तथा क्यान्सरजस्ता स्वास्थ्य समस्या उत्पन्न गर्छन् । अर्गानिक रूपमा उत्पादन भएका बाली तथा मासु जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म अर्थात् जीएमओबाट बनेका हुँदैनन् । जीएमओहरू खानेकुराका परिवर्तित रूप हुन् । यो अन्नको उत्पादन बढाउने र खानेकुराको अभावबाट जोगाउने प्रविधि हो । अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी तथा मासु पोषिलो मात्र होइन, रसायनको कमीले गर्दा राम्रो गुणस्तरका पनि हुन्छन् ।

विभिन्न खालका हार्मोन तथा एन्टिबायोटिक प्रयोग गरी हुर्काइएका पशु अर्गानिक हिसाबले खुला रूपमा हुर्काइएका पशुको तुलनामा बढी तनावमा हुन्छन् । यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ । यही कुरा अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल तथा तरकारीमा समेत लागू हुन्छ । अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी एवं मासुजन्य उत्पादन वातावरणमैत्री पनि हुन्छन् किनभने ती खानेकुरा उत्पादन गर्न कुनै रसायन प्रयोग गरिएको हुँदैन । कीटनाशक विषादीले कृषि एवं वातावरणको नोक्सानी हुने गरी नदी, माटो तथा हावालाई दूषित बनाउँछ ।

चोक्कर

गहुँको बोक्रालाई चोक्कर भनिन्छ । यसमा सागसब्जीको तुलनामा बढी रोग प्रतिरोधात्मक शक्ति हुन्छ भने आइरन, क्याल्सियम तथा भिटामिन ‘बी’ पनि पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा रगतको मात्रा बढाउनुका साथै हड्डी मजबुत बनाउन तथा भोक जगाउन सहायता प्रदान गर्छ । 

नेपालका अधिकांश मानिस अपच तथा कब्जियतको समस्याबाट पीडित छन् । यो समस्या कम गर्न मानिसहरू औषधि सेवन गर्नुपर्ने बाध्यतामा छन् । योगासन, प्राणायाम तथा चोक्करको नियमित सेवनद्वारा पनि यो समस्या समाधान गर्न सकिन्छ ।

पेट सफा गर्न चोक्करलाई पानीमा राम्रोसँग पखालेर मधुरो आँचमा भुट्नुपर्छ । त्यसपछि यसमा थोरै सख्खर र किसमिस मिसाएर खाना खाने बेला दुई–दुई चम्चा सेवन गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्