जुम्बा क्रेज @ पोखरा

राजाराम पौडेल

मंसिर १७, २०७५

पोखरामा जुम्बा डान्सतर्फ आकर्षित हुनेहरू बढ्दैछन् । जुम्बा फिटनेसका लागि डान्स मुभमेन्टमार्फत गरिने थेरापी हो । मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ । पोखरामा सन् २०१० मा अमेरिकी नागरिक क्रिस्टिनले जुम्बा भित्र्याएका हुन् । माउन्ट कैलाश रिसोर्टबाट पोखरामा जुम्बा भित्र्याएका क्रिस्टिनले होटल पोखरा होलिडे इन हुँदै जिभा स्पा: मार्फत समेत जुम्बा सिकाए । हाल उनी अमेरिका फर्किसकेका छन् ।

जुम्बा मोटोपन घटाउन मात्र नभएर थाइराइड, युरिक एसिड आदि रोग नियन्त्रणका लागि पनि उपयोगी मानिन्छ । रमाइलो पाराले संगीतको धुनमा कसरत गरिने भएकाले यसको आकर्षण बढ्दै गएको हो । जुम्बाले शारीरिक एवं मानसिक रूपमा शरीरलाई स्वस्थ राख्न सघाउ पुर्‍याउँछ । जुम्बाप्रति पुरुषको तुलनामा महिलाहरूको आकर्षण बढी छ । महिलामा पनि ३० वर्षभन्दा माथिका महिलाहरूको सहभागिता बढी देखिन्छ । यो अभ्यास दैनिक ६० मिनेटदेखि ९० मिनेटसम्मको हुन्छ ।

पोखरा आसपासमा जक्सन जुम्बा फिटनेस क्लब बगर, नोरा फिटनेस स्टुडियो लेखनाथ, फिटजोन स्टुडियो न्यूरोड, वायु फिटनेस एन्ड स्लिमिङ सेन्टर डायमसाइड, नमस्ते फिटनेस सेन्टर शान्तिनगर, होली गार्डेन लेकसाइड, इमेज फिटनेस सेन्टर अम्मरसिंह, सेपअप जुम्बा एन्ड एरोबिक फिटनेस सेन्टर न्यूरोड, प्रिटी गर्ल फिटनेस सेन्टर सिमलचौर, मुद्रा योगा एन्ड फिटनेस स्टुडियो लेकसाइड, ०६१ जुम्बा फिटनेस अम्मरसिंह, जिप्सन फिटनेस, गो गो फिटनेस दुलेगौंडा, अञ्जुली फिटनेस गौंडाकोमुख, रानीपौवा फिटनेस, रत्नश्री जिम आदिले जुम्बा क्लास सञ्चालन गर्दै आएका छन् ।

पोखरामा केही जुम्बा क्लब इन्स्ट्रक्टर राखेर सञ्चालन गरिएको छ भने केही इन्स्ट्रक्टर आफैंले लगानी गरेर सञ्चालनमा ल्याएका छन् । जुम्बामा राम्रो इन्स्ट्रक्टर भएन भने पैसा र समय दुवै नाश हुनसक्छ । जुम्बा जानुअघि त्यहाँ रहेका इन्स्ट्रक्टर कस्ता छन्, आधिकारिक लाइसेन्स छ कि छैन बुझ्नु उपयुक्त हुन्छ । युवाहरू एक–दुई महिना आएर हराए पनि ३० वर्षभन्दा माथिकाहरू भने नियमित आउने जुम्बा इन्स्ट्रक्टर तमन्ना गुरुङको अनुभव छ ।

पोखराका अधिकांश जुम्बा महिलाहरूको रुचिलाई ध्यानमा राखेर नै सञ्चालनमा ल्याइएको छ । जुम्बा पुग्नेहरूको चाप जाडोमा भन्दा गर्मी महिनामा बढी हुने फिटजोन स्टुडियोकी सञ्चालक गुरुङ बताउँछिन् ।

जुम्बामा बेसिक, गोल्ड, आक्वा, गोल्ड टोयनिङ, इन द सर्किट, टोयनिङ, अटोमिक, जुम्बा सेन्टो, जुम्बा किड्स आदि स्टेप हुन्छन् । जुम्बा क्लास व्यक्तिअनुसार फरक–फरक हुनसक्छ । सिकारु र वृद्धहरूका लागि जुम्बा बोल्ड, स्वीमिङ पुलमा गरिने अक्वा जुम्बा, बालबालिकाका लागि जुम्बा किड्स, जुम्बा बेसिक स्टेप, कुर्सीको सहारामा गरिने जुम्बा सेन्टर सञ्चालनमा छन् । पोखरामा नियमित जुम्बासहित स्टोङ जुम्बामा म्युजिकसहित बक्सिङ, पुसअपलगायत, बलिउड तथा नेपाली गीतमा डान्स गर्ने वलिबिट्सको माग बढी छ ।

जुम्बामा ४ वटा रिदम हुन्छन्–साल्सा, मेरिङ्गे, बेग्रेटोन तथा कुम्बिया । यीे रिदमको मिश्रणले म्युजिक उत्कृष्ट बन्छ । जुम्बाका लागि प्रयोग गरिने संगीतको प्ले लिस्ट महत्वपूर्ण हुन्छ । जतिबेला पनि उफारेको उफार्‍यै गरेर हुँदैन । हाइ र लोको मिश्रण गर्नुपर्छ । तमन्ना भन्छिन्–‘नियमित जुम्बा क्लास लिए एक वर्षमा २० किलोसम्म तौल घटाउन सकिन्छ ।’

जुम्बाको केन्द्र अमेरिकाको फ्लोरिडामा छ । नेपाल त्यसको डिस्ट्रिक ३२ अन्तर्गत पर्छ । यो डिस्ट्रिकमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश आदि पनि छन् ।

जुम्बा क्लासका लागि २ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैंयाँसम्म मासिक शुल्क लिने गरिएको छ । जुम्बा डान्स सन् १९९० को दशकमा कोलम्बियाली कोरियोग्राफर अल्बेर्टो बेटो पेरेजले सुरुवात गरेका हुन् । हाल विश्वका १ सय ८५ देशमा यसको अभ्यास गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×