स्वयं खुसी रहनुपर्छ

जब स्वयं खुसी रहन्छ अनि मात्र उसले अरूलाई पनि खुसी राख्न सक्छ ।

रोजिन शाक्य

भाद्र २, २०७३ 

बितेको पल फर्किंदैन र भविष्यको पनि कुनै जानकारी हुँदैन । अत: आजको क्षण नै महत्वपूर्ण छ र आज नै वास्तविक जीवन हो । हाम्रो आज राम्रो छ भने निश्चित रूपमा भविष्यमा राम्रो हुने आशा गर्न सकिन्छ । कतिपय अवस्थामा मानिसहरू आफ्ना स–साना इच्छा दबाउँछन् र पछि गएर त्यसका लागि परिस्थितिलाई दोषी ठहर्‍याउँछन् । परिणामस्वरूप आफ्नो प्रोफेसन र सम्बन्धप्रति पनि न्याय गर्न सक्दैनन् । उनीहरूको एउटा गलत निर्णयले आफ्नो मात्र होइन उनीहरूसित जोडिएका व्यक्तिको जीवन पनि निरस हुन पुग्छ । आफ्ना इच्छाहरूलाई लगातार दबाउँदै तिनका विरुद्ध काम गर्नु व्यक्तिको मानसिक मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि धेरै नोक्सानदायक हुन सक्छ । मनोवैज्ञानिकहरूका अनुसार कुनै मानिस लामो समयसम्म आफ्नो मनलाई सजाय दिन्छ भने निश्चित रूपमा त्यसको प्रभाव उसको शारीरिक स्वास्थ्यमा पनि पर्छ ।

 

रुमेटाइड अर्थराइटिस र पेस्टिक अल्सरजस्ता समस्याका पछाडि मनोवैज्ञानिक कारण पनि जिम्मेवार हुन्छन् । यस्ता बिमारीहरूलाई साइको–सोमेटिक डिसअर्डर अर्थात् मनोशारीरिक रोग भनिन्छ । मनको शारीरिक स्वास्थ्यसित धेरै गहिरो सम्बन्ध हुन्छ । त्यसैले कुनै गम्भीर बिरामीको उपचारका बेला बिरामीको रुचिसित जोडिएको काम गर्न भनिन्छ । त्यसबाट उनीहरूको मन खुसी हुन्छ र स्वास्थ्यमा पनि चाँडै सुधार हुन्छ ।

 

जीवनमा आफूलाई के चाहिन्छ र त्यसलाई कसरी प्राप्त गर्ने भन्ने कुरा साना तर सबैभन्दा महत्वपूर्ण हुन् जसका बारेमा दृष्टिकोण स्पष्ट छ भने मानिसका आधाभन्दा बढी समस्या आफै समाधान हुन्छन् । कतिपय मानिस आफ्नै जीवनका बारेमा स्पष्ट हुँदैनन् । उनीहरू आफ्ना प्राथमिकता पहिचान गर्न सक्दैनन् जीवनसित जोडिएका महत्वपूर्ण निर्णय लिन सक्दैनन् र स्वयंलाई परिस्थितिप्रति समर्पित गर्छन् । त्यसकारण तिनीहरूको करियर मात्र होइन निजी जीवन नै असफल हुने शंका कायम रहन्छ । आफ्नो रुचि पूरा  गर्न नपाउँदा धेरैजसो मानिस ‘के गर्ने समय नै पाइँदैन ? भनेर सफाइ दिन्छन् ।

 

कोही क्रुजबाट संसार घुम्ने चाहना राख्छन् त कोही कलेजका दिनको छुटेको म्युजिक कोर्स र रुचिलाई पूरा गर्न चाहन्छन् । कोही अनाथ बालबालिकाका लागि स्कुल संचालन गर्न चाहन्छन् । रुचि फरक–फरक भए पनि गुनासो एउटै हुन्छ, ‘के गर्ने समय नै छैन ? अत: व्यक्ति आफ्ना ती सपनालाई पूरा गर्ने मिति रिटाएरमेन्टसम्म टार्छन् । तर प्रश्न उठ्छ आफ्नो खुसी प्राप्त गर्नका लागि रिटायरमेन्टसम्म प्रतीक्षा किन गर्ने ? भोलि कसले देखेको छ, के थाहा त्यस उमेरसम्म स्वास्थ्यले साथ नदिने पो हो कि ? अत: आजै प्रयास किन नगर्ने ?

 

अब त धेरै ढिलो भैसकेको छ । जब रुचि थियो तब त्यसलाई पूरा गर्न साधन थिएन । यो उमेरमा यदि डान्स, क्लास ज्वाइन गरें भने अरूले के भन्लान् ? यो पनि कुनै उमेर हो बेस्टर्न लुगा लगाउने ? प्राय: व्यक्तिलाई उमेरको एउटा अवस्था पुगेपछि आफ्नो रचि पूरा गर्ने समय बितिसकेको महसुस हुन्छ तर वास्तवमा त्यसो होइन । जब तपाईंलाई अझै पनि ढिला भएको छैन, आफ्नो इच्छा पूरा गर्न सकिन्छ भन्ने महसुस हुन्छ, त्यतिबेला आफ्नो जीवनको प्रारम्भिक अवस्था मानेर अगाडि बढ्नुपर्छ ।

 

मानिसले प्रारम्भदेखि नै आफ्नो जीवनको लक्ष्य निर्धारण गरी योजना बनाएर चल्यो भने उसलाई आफ्नो जीवनसँग कुनै गुनासो रहँदैन । यस सम्बन्धमा मनोवैज्ञानिकहरू भन्छन्–‘जीवनमा खुसीसाथ बाँच्नका लागि मानिसले सबैभन्दा पहिले आफैसित प्रेम गर्न जान्नु जरुरी छ । जब स्वयं खुसी रहन्छ अनि मात्र उसले अरूलाई पनि खुसी राख्न सक्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>