विवाहपछिको पढाइले ल्याएको खुसी

आधा आकाश ढाकेका महिलाहरू आफैमा सक्षम र आत्मनिर्भर हुन चाहन्छन् जसका लागि उच्च शिक्षा अनिवार्य तत्व हो ।

जमुना वर्षा शर्मा

श्रावण ३०, २०७३ 

विवाह भनेको सामाजिक परम्परा हो यसलाई नकार्न सकिँदैन तर, विवाहपछि हरेक महिलाको निर्णय श्रीमान् (पुरूष) ले नै गर्ने परम्परा अझै पनि हाम्रो समाजबाट हटेको छैन । महिलाप्रतिको सामाजिक तथा न्यायिक दृष्टिकोणको अभावमा महिलाहरू चाहेर पनि अघि बढ्न सकेका छैनन् । आधा आकाश ढाकेका महिलाहरू आफैमा सक्षम र आत्मनिर्भर हुन चाहन्छन् जसका लागि उच्च शिक्षा अनिवार्य तत्व हो । यद्यपि कतिपय सामाजिक मूल्य–मान्यताका कारण हरेक कुरालाई तिलाञ्जलि दिएर आफूलाई सीमित गर्नुपर्ने बाध्यता महिलाहरूमा छ । मुना शर्माका अगाडि एसएलसी उत्तीर्ण गरेपछि विवाहको प्रस्ताव आयो । भर्खर एसएलसी उत्तीर्ण शर्माले अभिभावकको प्रस्ताव अस्वीकार गर्न सकिनन् । अब वैवाहिक जीवनबाट आफ्नो अध्ययनलाई कसरी अघि बढाउने भन्ने सोचले उनलाई पिरोल्यो । पोखरा सिमलचौरका गोविन्द सुवेदीसँग १७ वर्षमै विवाह गरेकी मुनाले अन्तत: पढाइ रोक्नु परेन । शिक्षित परिवारले बुहारीलाई पढाउन कुनै बन्देज लगाएन । फलस्वरूप उनले कमर्समा डिग्री गरिन् । उनले पढेर प्रमाणपत्र मात्र लिइनन्, सहकारीमा जागिर पनि खाइन् । अध्ययनका लागि क्यानाडा प्रोसेसिङ गरिरहेकी शर्मा त्यसमा समेत सफल भइन् ।

 

मुना यतिबेला दंग छिन् । ‘मलाई विवाह भनेपछि एकदमै डर लागेको थियो । अब मैले पूरा समय घरपरिवारसँगै घरधन्दामा बिताउनुपर्छ, एक शुद्ध गृहिणी हुनुपर्छ भन्ने थियो तर परिवारले मेरो भावना बुझ्यो र अध्ययन गर्न प्रेरित गर्‍यो फलस्वरूप म सफल भएँ ।’ श्रीमान् र छोराहरूको भविष्य पनि राम्रो हुने भएको छ । उनका श्रीमान् गोविन्द भन्छन्–‘श्रीमतीको पढाइप्रति निकै रुचि थियो । मैले उनको भावनामा ठेस पुर्‍याउन चाहिन । परिवारका अन्य सदस्यहरूले पनि पढ्नबाट रोकेनन् । त्यसैले आज उनकै प्रमाणपत्रबाट हामी सबै क्यानाडा जान पाएका छौं ।’

 

यता शर्मिला पनि निकै खुसी छिन्  प्लस टु उत्तीर्ण गरेर बसेकी उनलाई आफन्तले पोखराका एक युवकसँग विवाहको प्रस्ताव ल्याए । आफन्तको दबाबमा विवाह गरेकी शर्मिलालाई अध्ययनलाई निरन्तरता दिन पाउँदिन कि भन्ने लागेको थियो । श्रीमान् जापान गए पनि परिवारले उनलाई पढ्नबाट रोकेन । फलस्वरूप उनले पनि आफ्नो अध्ययनलाई डिग्रीसम्म पुर्‍याइन् । अहिले डिग्री अध्ययनरत शर्मिला थेसिस पूरा गर्नेबित्तिकै जागिर खाने सोचमा छिन् । एक छोरीकी आमा शर्मिला बुहारी पनि छोरी नै हुन् भन्ने सोचाइ राख्ने परिवारले कहिल्यै बुहारीलाई अवसरबाट वञ्चित गराउँदैनन् भन्छिन् । यसमा श्रीमान्को पनि ठूलो हात हुन्छ । सासू–ससुराले नबुझेका कुरालाई राम्रोसँग बुझाउने हो भने समस्या कम हुन्छन् ।

पोखरा सिर्जना चोककी गीतालाई भने पढाइलाई निरन्तरता दिन  बढी कसरत गर्नुपर्‍यो । उनको  घरमा सासू र एक देवर थिए । विवाह गरेर आएपछि श्रीमान् विदेश गए । आई.ए. सम्म अध्ययन गरेकी गीताले विवाहको एक वर्ष घरधन्दामा मात्र सीमित हुनुपर्‍यो । ‘एक वर्षपछि मलाई साह्रै पढ्ने रहर जाग्यो र श्रीमान्सँग कुरा राखें, उहाँले पनि हुन्छ भन्नुभयो र सासूलाई पनि भनें, उहाँले सुरूमा मान्नु भएन तर देवरले भाउजूलाई पढ्न रोक्नु हुँदैन भनेर आमालाई सम्झाएपछि मैले पढ्ने बाटो खुल्यो । अहिले अंग्रेजीमा एम. ए. गर्दैछु । एउटा बोर्डिङमा पनि पढाउँछु । घरको काममा सासू र देवरले सघाउनुहुन्छ–गीताले भनिन् । उनी पनि पढ्न पाएकोमा निकै सन्तुष्ट छिन् ।

यी हाम्रा समाजका सकारात्मक कुरा हुन् । अन्तत: धेरै यस्ता महिला दिदीबहिनी छन् जो आफ्नो अध्ययन बीचैमा छोडेर पूरा जीवन घर–गृहिणीमा सीमित छन् । पढेलेखेका र आफूलाई सम्भ्रान्त मान्ने परिवारमा महिलाहरू अझ बढी पीडित हुनुपरेको छ । सामाजिक रूपमा परिवारको इज्जत जोगाउन आफूहरू कुशल बुहारी बनेर दिन बिताउनु परेको कुरा बताउने धेरै महिला अझै हाम्रो समाजमा छन् । पढे पनि जागिर खाए पनि आखिर घरपरिवारको खुसीभन्दा ठूलो अरु हुन सक्दैन ।

स्नातक पूरा गरेर वैवाहिक जीवनमा प्रवेश गरेकी मिरा ढकाल अहिले समाजशास्त्रमा एम.ए. गरेर अध्यापन पेसामा छिन् । वैवाहिक जीवनपछि पनि परिवारले ‘सन्तानभन्दा पहिले पढाइ पूरा गर’ भनेर पढ्न प्रोत्साहन गरेपछि डिग्री पास गरेर कलेज पढाउन थालेको उनले बताइन् । महिलाहरू अघि बढ्न शिक्षा अनिवार्य छ । जब ‘महिला शिक्षित हुन्छिन् तब सबै परिवार शिक्षित हुन्छ’ भन्ने सत्यता बुझाउने हो भने वैवाहिक जीवनपछि पनि महिलाहरू उच्च शिक्षाबाट पलायन हुनु पर्दैन भन्छिन्–उनी ।

पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख गेहेन्द्रेश्वर कोइराला भन्छन्–‘समाज परिवर्तनको दिशातर्फ गैरहेको छ । महिलालाई पढाउनुपर्छ भन्ने सोचाइमा वृद्धि भएको छ तर विवाह गरेर पढ्न चाहने महिलाहरूले भने त्यसलाई चाहेअनुरूप अघि बढाउन पाएका छैनन् । पढाइ पूरा गरेर विवाह गर्नुपर्छ तर सबैका लागि त्यो सम्भव पनि हुँदैन । विवाहपछि पनि बच्चा जन्माउनु–हुर्काउनुको जिम्मेवारी पनि स्वयं महिलाले नै गर्नुपर्ने कतिपय कारणहरूले गर्दा उनीहरू अवसरबाट वञ्चित हुनुपरेको हुन्छ । परिवारका अन्य सदस्यले बहन गर्न सक्ने जिम्मेवारी पूरा गर्ने हो भने महिलाले हरेक कुरालाई त्याग्नुपर्छ भन्ने पनि छैन । अहिले पिएन क्याम्पसमा त्यस्ता धेरै विवाहिता महिला छन् जो उच्च शिक्षा अध्ययनका लागि सन्ध्याकालीन कक्षामा भर्ना भएका छन् । यसले पनि के पुष्टि गर्छ भने विवाहपछि पनि महिलाहरू अध्ययनलाई निरन्तरता दिन चाहन्छन् तर सबैले यो इच्छा पूरा गर्न सक्दैनन् । अध्ययन गर्न चाहने महिलाहरूलाई पढ्ने अवसरबाट वञ्चित गराइनु हुँदैन । यसका लागि परिवारले राम्रो व्यवस्था मिलाउनुपर्छ ।

हाम्रै परिवेशमा स्नेहाजस्ता महिला पनि छन् जो मनभरि पीडा बोकेर वैवाहिक जीवन अघि बढाउँदैछन् । पोखरा एयरपोर्टकी स्नेहा (२२) ले पोखराकै युवकसित विवाह गरिन् । जागिर खाँदै पढिरहेकी स्नेहाले विवाहपछि पनि जागिर र पढाइलाई निरन्तरता दिन चाहेको बताएपछि श्रीमान्ले जागिर खाने र पढ्ने हो भने ‘माइतै गएर बसे हुन्छ’ भन्ने जवाफ दिएपछि उनी अघि बढ्न सकिनन्  । ‘परिवारविरूद्ध जान सकिन, अन्तत: घरधन्दामै सीमित हुनुपर्‍यो’ उनले भनिन् ।

स्नेहाजस्ता धेरै महिला छन् यहाँ, जो विवाहपछि पढाइ एवं करियरलाई तिलाञ्जलि दिन बाध्य छन् । आफ्नो कमाइ र सन्तुष्टिमा रमाउन चाहने महिलाहरूलाई घर–परिवार र धन–सम्पत्ति अनि इज्जतजस्ता आडम्बरी कुरासँग दाँजेर अवसर र उच्च शिक्षाबाट वञ्चित गर्नु पक्कै पनि न्यायोचित होइन । विवाह भनेको सामाजिक परम्परा हो यसलाई नकार्न सकिँदैन तर विवाहपछि हरेक महिलाको निर्णय श्रीमान्

(पुरूष) ले नै गर्ने कुपरम्परा अझै पनि हाम्रो समाजबाट हटेको छैन । महिलाप्रतिको सामाजिक न्यायिक दृष्टिकोणको अभावमा महिलाहरू चाहेर पनि अघि बढ्न सकिरहेका छैनन् । आधा आकाश ढाकेका महिलाहरू आफैमा सक्षम र आत्मनिर्भर हुन  चाहन्छन् जसका लागि उच्च शिक्षा अनिवार्य तत्व हो । यद्यपि कतिपय सामाजिक मूल्य–मान्यताका कारण हरेक कुरालाई तिलाञ्जलि दिएर पारिवारिक दबाबमा आफूलाई सीमित गर्नुपर्ने बाध्यता महिलाहरूमा छ ।

मुना, शर्मिला र गीताजस्ता महिलाहरूको पारिवारिक जीवन हेर्ने हो भने महिलाहरूले उच्च शिक्षा हासिल गरेपछि परिवार र समाजमा पारेको सकारात्मक परिवर्तनको महसुस गर्दै परिवारमा छाएको खुसीलाई पनि मूल्यांकन गर्न सकिन्छ ।

(लेखिका : पोखरा एक्सप्रेस पाक्षिक खबर पत्रिकाकी प्रधान सम्पादक हुनुहुन्छ)

jamuna.barsha@gmail.com

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>