इच्छाशक्तिले बनाउँछ सफल

लक्ष्मी भण्डारी थापा

जेष्ठ १२, २०७३

जीवनमा हरेक पल सबै कुरा सम्भव हुन्छ भन्ने छैन । साना–ठूला बाधा हरेक क्षणक्षणमा आइलाग्छन् । हुन पनि चुनौतीबिनाको जीवन जिउनुको मज्जा हुँदैन । जीवनलाई चुनौतीसँगै रमणीय र सफल बनाउन केही कुरा सिक्नु आवश्यक छ । हरेकको जीवनमा यस्ता मोडहरू आइरहन्छन् जतिबेला अब जीवन सकियो भन्ने लाग्छ तर यस्ता समय र समस्या बिस्तारै आफै हट्दै जान्छन् ।

संघर्षपूर्ण सुरुवाती दिन    

हरेक मानिस करियरको सुरुवाती दिनमा संघर्षरत हुन्छन् । उक्त समयमा जीवन दु:खले भरिपूर्ण छ भन्ने लाग्छ । सुखका दिन कहिल्यै आउँदैनन् जस्तो हुन्छ । कसैले यस्तो बेला सहयोग गरिदिए हुन्थ्यो जस्तो लाग्छ । कतिपय मानिस जागिरका लागि कयौं  ठाउँमा भौंतारिन्छन् त कोही कुन विषय पढेर के भइन्छ भन्ने थाहा नपाएर रुचिबाहिरका विषय अध्ययन गर्न पुग्छन् । करियरको सुरुवातका दिनमा हरेकका आ–आफ्ना दु:खदायी कथा–व्यथा हुन्छन् । आफ्नो यात्रामा विचलित नभै निरन्तर लागिरहने हो भने हरेकको जीवनमा सुखका दिन आउँछन् । त्यसैले लक्ष्य हासिल गर्न हरेक कठिनाइको सामना गर्नसक्ने क्षमता विकास गर्नुपर्छ ।

मेहनत

यो कठिन कुरा हो । आफूले चाहेको क्षेत्रमा सफल हुन सानोतिनो संघर्षले सफल हुन कठिन छ । सामान्य परिवारमा जन्मिएर भविष्य खोज्न सहर पस्ने मानिसहरूका लागि त यो अझ कठिन कुरा हो । यस्तो अवस्थामा आफूमाथि विश्वास र इच्छाशक्तिको बढी आवश्यकता हुन्छ । मेहनत यसका लागि मुख्य अस्त्र हो । करियरको बीच–बीचमा आउने समस्या र चुनौतीलाई चिर्दै अघि बढ्न सके अवश्य सफल भइन्छ । जीवनलाई सहज बनाउँदै अघि बढ्न सके लक्ष्य टाढा हुँदैन ।

बिर्सनै नसकिने क्षण

करियर बनाउन चाहने हरेक मानिसको जीवनमा बिर्सनै नसकिने संघर्षका कथाहरू हुन्छन् । तिनै कथा नै कालान्तरमा गएर सफलताका सूत्र बन्छन् । गाउँबाट आएका कतिपयका सुरुवाती दिन चोक र सडकमा समेत बित्छन् भने कतिपयले बाटो पत्ता लगाउन नसकी अलमलिएका कथा सुनाउँछन् । यस्ता संघर्षले मानिसलाई बाँच्न र अघि बढ्न सिकाउँछन् । यस्ता समस्या धेरैले झेल्नुपर्छ तर मन बलियो छ र आत्मैदेखि इच्छाशक्ति छ भने चुनौतीको सहज सामना गर्न सकिन्छ जसले हामीलाई सही जीवन दिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>