सानो कुराबाटै परिवर्तन गरौं

रोजिन शाक्य

फाल्गुन २९, २०७२ जीवनमा खुसी रहन मानिसले के मात्र गर्दैन ? जे पनि गर्छ र गर्नु पनि पर्छ । निजी संसारमा केही परिवर्तन ल्याएर आफ्नो जीवनलाई सुखी बनाउन सकिन्छ । कठिन परिस्थितिबाट सिर्जना भएका नकारात्मक धारणाहरू हटाएर जीवनमा सन्तुलन कायम राख्न मानिसले स्वयं आफूमा केही परिवर्तन ल्याउनुपर्छ । आवश्यक परे समाजलाई नै आफूअनुरूप परिवर्तन गर्ने प्रयास गर्नुपर्छ । समाजलाई आफ्नो चाहनाअनुरूप परिवर्तन गर्नु सायद सम्भव छैन तर आफ्नो लुकलाई थोरै परिवर्तन वा अपडेट गरेर आफ्नो जीवनको अरू पक्षमा पनि सकारात्मक परिवर्तनको ढोका खोल्न सकिन्छ । राम्रो लुकले कन्फिडेन्स लेवल पनि बढाउँछ । लुक बदल्न इच्छाअनुसार हेयर कट गराउन, लिपिस्टिकका बोल्ड सेड्स ट्राइ गर्न वा लो–नेक ड्रेस खरिद गर्न वा डिप नेक ब्लाउज सिलाउन सकिन्छ । यस्ता स–साना कदमले मानिसलाई ठूलो काम गर्ने शक्ति दिन्छ ।

दैनिक एउटै कार्य गर्दा केही दिनमै दिक्क लाग्न सक्छ । त्यसैले जुन कार्यमा दिनभरि सबैभन्दा बढी बिताइन्छ, त्यसको पहिचान गरेर सम्बन्धित कुरालाई अपग्रेड गर्नुपर्छ । सानो परिवर्तनले पनि ठूलो फाइदा हुनसक्छ । बढी समय किचेनमा बित्छ भने केही रंगीबिरंगी बाउल्स वा दुईवटा सुन्दर मग प्रयोगमा ल्याउन सकिन्छ । अफिस जान लङ ड्राइभ गर्नुपर्छ भने म्युजिक सिडी बजाउनु राम्रो हुन्छ । यसले लामो ट्राफिक जाममा पनि बोर हुन दिँदैन । बिरुवा ओइलाएको त छैन, डोरमेट घोटिएर प्रयोग नहुने अवस्थामा त पुगेको छैन, कुनै तस्बिरलाई नयाँ फ्रेमको आवश्यकता त परेको छैन, भित्ते घडीको ब्याट्री फेर्ने बेला त भएको छैन यी सबै कुरामा सजग रहनु राम्रो हुन्छ ।

स्नायु वैज्ञानिकहरूका अनुसार हाम्रो सोच्ने तरिकाले हाम्रो ब्रेनमा एउटा प्राकृतिक बाटो तयार गर्छ, ठीक त्यसैगरी हामीलाई प्राय: त्यही बाटोमा बढ्न सहज लाग्छ, जसमा हामी दैनिक हिँड्छौं । व्यक्तिले चाहे सकारात्मक कुरा मात्र सोचेर आफ्नो ब्रेनलाई ट्रेन गर्न सक्छ । जस्तो सोचिन्छ, त्यस्तै पाइन्छ, त्यसकारण किन सकारात्मक नसोच्ने ? आफूले एक युनिट ब्लड डोनेट गरियो भने झन्डै तीनवटा जीवन जोगिन्छ । हरेक वर्ष लाखौं मानिसलाई गम्भीर रोगबाट छुटकारा पाउन रगतको आवश्यकता पर्छ । रक्तदान गरी मानवीय धर्म निर्वाह गर्ने दिशातर्फ किन अग्रसर नहुने ? रक्तदान त एउटा उदाहरण मात्र हो अन्य कामबाट पनि अरूलाई सहयोग गर्न सकिन्छ । आँखा दानले कसैको जीवनमा नयाँ उज्यालो सञ्चार गर्न सक्छ । कुनै स्वयंसेवी संस्थाहरूसित आबद्ध भएर सडक तथा अनाथ बालबालिकाका लागि खाना र जीवनरक्षाका लागि औषधिको व्यवस्था गर्न सकिन्छ । 

कतिपय मानिस बिहान सबेरै उठेर प्रार्थना गर्छन्, कोही मेडिटेसन । विशेषज्ञहरूका अनुसार बिहान दिमाग सबैभन्दा बढी खुल्ला हुन्छ । पत्रपत्रिका हेरेर वा रेडियो सुनेर हुने नहुने कुरामा अल्झिने हो भने लन्चसम्ममा धेरै हदसम्ममा डिप्रेसन नजिक पुग्ने सम्भावना हुन्छ । कुनै आध्यात्मिक साहित्य पढ्नु उचित हुन्छ, ईश्वरको प्रार्थना राम्रो हुन्छ । कोठाको साटो खुल्ला आकाशमुनि मेडिटेसन गर्नुपर्छ । आकाशतिर हेर्दा के महसुस हुन्छ भने केही त छ जुन आफूभन्दा आकारमा ठूलो र विशाल छ ।

अहिले समय बिताउन इमेल, फेसबुक, टिभी आदि धेरै साधन उपलब्ध छन् । यी साधन आफूमाथि हाबी हुनुभन्दा आफ्नो वरिपरिको आवाजलाई कम गर्ने प्रयास गर्नुपर्छ । हरेक इमेललाई तुरुन्तै खोलेर पढ्नु आवश्यक छैन । कामले आफूलाई सन्तुष्ट प्रदान गर्छ–गर्दैन भन्ने बुझ्नु जरुरी छ । समूह बनाएर आसपासको अव्यवस्था एवं फोहोर हटाउने दिशातर्फ कदम उठाउनुपर्छ । आफ्नो प्राथमिकता तय गरेपछि अनावश्यक काममा नाइँ भन्न सहज हुन्छ ।

दान गर्नाले व्यक्तिको कुनै अतृप्त चाहनाको अन्त्य हुन्छ । समाजसित बाँधिएको अनुभव हुन्छ र हामी सबै एक हौं भन्ने भावना जागृत हुन्छ । रुपैयाँ–पैसा नै दान गर्नुपर्छ छैन, समय पनि उत्तिकै मूल्यवान् हुन्छ, त्यसको प्रयोगद्वारा कसैलाई मद्दत गरी आत्मिक शान्ति अनुभव गर्न सकिन्छ ।

कतिपय मानिस बढ्दो उमेरमा पनि जवान देखिन्छन् । आफ्नो उमेरलाई घटाउन त सकिँदैन तर शरीरको बायोलजिकल उमेरमा नियन्त्रण गर्न सकिन्छ । कुनै नराम्रो बानी छ भने त्यसलाई छोड्नुपर्छ र शरीर तथा सोचलाई लामो समयसम्म जवान बनाउने प्रयास जारी राख्नुपर्छ ।

जोसित प्राय: भेट हुन्छ, तर कुराकानी हुँदैन, तिनीहरूसित हाइ हेलो गर्नुपर्छ । जीवनमा नयाँ व्यक्तिलाई समावेश गर्नुपर्छ, जसबाट नयाँ अनुभव, नयाँ सोचविचार प्राप्त हुन्छ । को कतिखेर काम लाग्छ, थाहा हुँदैन । मित्र बन्नुपर्छ, मित्र बनाउनुपर्छ र खुसीलाई खुला ह्दयले स्वागत गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>