धराने महिलामा आएको परिवर्तन
फाल्गुन १७, २०७२ सवारी साधनमध्ये सबैभन्दा चलाउन सजिलो हुने स्कुटर वा मोटरसाइकल हिजोआज कामका लागि मात्र हाकिँदैन । हिजोआज स्कुटर शान देखाउनदेखि लिएर ग्याङफाइट गर्न, लागूपदार्थ ओसारपसार गर्न र प्रेमिकालाई घुमाउन पनि प्रयोग गरिन्छ । कहिलेकाहीँ स्कुटर रेसको आयोजना पनि हुन्छ । साधन–स्रोतमाथि पहुँच हुँदै गएपछि के महिला के पुरुष के वृद्ध के किशोर–किशोरी सबैले त्यसको उपयोग गर्न सक्षम हुँदा रहेछन् भन्ने कुरा पनि पुष्टि भैसकेको छ ।
विज्ञान र प्रविधिका साधन–स्रोतमाथि सर्वसाधरणको पहुँच भएपछि मानिसको जीवनशैलीमा परिवर्तन आउन धेरै समय लाग्दो रहेनछ । तीन–चार वर्षअघिसम्म धरानमा आफै सवारी हाँकेर हिँड्ने महिलाहरू देख्न पाइँदैनथ्यो । एक–दुई महिलाले आफै सवारी हाँकेर सडक, चोकतिर निस्कदा धेरैजना ट्वाल्ल परेर रमिता हेर्ने हुन्थे । अहिले धरानमा यस्तो अवस्था रहेन कुन सवारी साधन कसले हाँक्यो अब वास्ता पनि हुन छाडेको छ । भारी सवारी साधन महिलाहरूले नहाँके पनि कार र मोटरसाइकल तथा स्कुटर हाँक्ने अधबैंसे कामकाजी महिला एवं कलेज पढ्ने युवतीहरू धरानमा धेरै भेट्न सकिन्छ । महिलाहरूले आफ्नो सवारी साधन आफै हाँक्न थालेपछि महिलाहरू शारीरिक एवं मानसिक रूपमा कमजोर हुन्छन् भन्ने कुरा पूर्णरूपमा गलत साबित भएको छ । धरान–२२ बस्ने २८ वर्षीया कमला राई न्यू इमेज ब्युटिपार्लरकी सञ्चालक हुन् । उनले केही महिनाअघि वी गो नामक स्कुटर खरिद गरेकी छिन् । स्कुटर किनेपछि घरको काम भ्याएर पार्लरको काम भ्याउन निकै सहज भएको ट्याक्सी खोज्न र कुर्नु नपरेको उनी बताउँछिन् । उनले स्कुटर लिएपछि कार्यालय र घरको काम गर्नेदेखि वरपर आफन्तको भेटघाटमा जान पनि सजिलो भएको बताइन् ।संखुवासभा चन्दपुर घर भई बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्टाफ नर्स अध्ययन गरिरहेकी २२ वर्षीया एनिसा राईले पनि केही महिनाअघि स्कुटर किनिन् । स्कुटर किनेपछि कलेज जान–आउन सजिलो हुनुका साथै अध्ययन गर्ने समय पनि बचत भएको उनी बताउँछिन् । अहिले धेरै कामकाजी महिला कार्यालय, व्यवसाय र घरको काम भ्याउन स्कुटर चलाउँछन् । नेपाली समाजको प्रचलनमा महिलाहरूले कार्यालय वा अन्य व्यवसाय गरे पनि बिहान–बेलुका खाना भान्सा एवं घरको सबै काम भ्याउनुपर्छ । त्यसैले पनि कामकाजी महिलाहरूका लागि स्कुटर निकै उपयोगी भएको छ । कार्यालय जाने, व्यवसाय गर्ने र धरानमा बसेर पत्रकारिता गर्ने आधा दर्जन महिला पत्रकारमध्ये नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य निलिफा सुब्बा, गणतन्त्र एफएमकी प्रतीक्षा बान्तावा, दिव्य रोशनी साप्ताहिककी सम्पादक/प्रकाशक मनिता चाम्लिङ, गणतन्त्र एफएमकी रीता मोक्तान आदि पनि स्कुटर हाँकेर हिँड्न थालेका छन् । धेरै युवाले सौखका लागि मोटरसाइकल हाँके पनि युवती वा अधबंैसे महिलाहरू भने कामको आवश्यकतामा मात्र सवारी हाँक्ने गरेको पाइन्छ । काठमाडौं, पोखरा र विराटनगरपछि बढी महिलाले सवारी हाँक्ने सहर धरान नै हो ।
अहिले महिलाहरूले आफै सवारी हाँक्ने मात्र होइन सवारी साधानहरू नगन्य दुर्घटना भएको पाइन्छ । पुरुषहरू दुई पाङ्ग्रे सवारी चलाउँदा ६० देखि ८० सम्मको तीव्र गतिमा भाग्छन् भने महिलाहरूले ४५ देखि ५५ सम्मको गतिमा मात्र सवारी हाँक्ने गरेको पाइन्छ । यसरी महिलाहरूले न्यून गतिमा सवारी हाँक्नुलाई धेरै पुरुष सवारी चालकहरू आइमाईले हाँकेजस्तो भनेर गिल्ला गर्ने गरेको पनि पाइन्छ । साथै महिलाहरू मादक पदार्थ सेवन नगरी सावधानीपूर्वक सवारी चलाउने हुनाले नै पुरुषहरूको तुलनामा महिलाहरूले हाँकेका सवारी साधनहरू कम मात्र दुर्घटनामा परेको पाइन्छ । महिलाहरूभन्दा सवारी हाँक्दा पुरुषहरू नै बढी सडक दुर्घटनामा पर्ने गरेको तथ्य पनि तथ्यांकले दर्शाउँछ । तसर्थ यसरी महिलाहरूले सावधानी पूर्वक न्यून गतिमा सवारी साधन हाँक्नुलाई उनीहरूको कमजोरीको रूपमा बुझ्नु गलत हुन्छ ।
धरानमा मोटरबाइक शोरुम र बिक्री गर्ने पसलहरू भmन्डै दर्जनको हाराहारीमा छन् । अहिले स्थानीय बजारमै स्कुटरको मूल्य १ लाख ७० हजारसम्म पर्छ । नवदुर्गा अटो प्यालेस धरान–८ का सेल्स म्यानेजर कृष्ण भुजेलका अनुसार बार्षिक २४ देखि ३० वटा स्कुटर आफ्नो शोरुमबाट बिक्री हुने गरेको बताउँछन् । स्कुटर खरिद गर्नेहरूमा १७ देखि ३५ वर्षसम्मका महिला ग्राहक रहेको उनले बताए ।
त्यसैगरी धरान ८ कै यमाहा शोरुमका प्रोपाइटर गोपाल आचार्यले एक महिनामा ११ देखि १३ वटासम्म स्कुटी बिक्री गरेको बताए । शोरुमबाट बाइक, स्कुटी दुवै बराबरी बिक्री हुने उनले बताए । जिल्ला ट्राफिक कार्यालय धरानका अनुसार यो आर्थिक वर्ष सुरु भएयता धरानमा बाइक र स्कुटी गरी ८५ वटा दुर्घटना भएको जानकारी दिए । त्यसमा अन्य सवारीसाधन ७६ वटा दुर्घटना भएको पाइएको छ । २०७१ सालको आर्थिक वर्ष सुरु भएदेखि जिल्ला ट्राफिक कार्यालयले मोटरसाइकल र स्कुटी गरी ७ हजार २ सय १३ वटा कारबाही गरेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत वर्षको तुलनामा यो वर्ष सवारी साधन दुर्घटना बढेको छ । दिनहुँ सवारी साधनको वृद्धि हुने र सडक सानो भएको तथा युवाहरूले द्रुत गतिमा सवारीसाधन हाँक्ने भएकाले पनि बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले बताए ।
सरिता पुमा राई
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्