आफ्नो पनि ख्याल राखौं

नारी संवाददाता

पुस २३, २०७२ आजभोलि महिलाहरू घरको मात्र होइन कार्यक्षेत्रको जिम्मेवारी पनि निर्वाह गर्छन् । त्यसैले आमा, श्रीमती, छोरी, बुहारी, भाउजू आदिका साथै राम्रो कर्मचारी बन्ने प्रयासमा उनीहरू स्वयंका लागि समय निकाल्न पाउँदैनन् र आफ्ना दु:ख, पीडा एवं समस्याप्रति बेवास्ता गर्छन् । उनीहरू स्वयं स्वस्थ रहे मात्र आफ्नो परिवारको राम्रो हेरचाह सम्भव हुन्छ भन्ने विषयमा पनि त्यति ध्यान दिँदैनन् । 

तनावबाट जोगियौं : महिलाहरू बढी भावुक हुन्छन् । हृदयघातबाट मर्नेहरूमा पनि महिलाहरूको संख्या नै बढी छ । फ्लोरिडामा भएको एक अध्ययनअनुसार हृदयघातबाट मृत्यु हुने पुरुषको संख्या १० प्रतिशत पाइयो भने महिलाको १५ प्रतिशत  । यही सन्दर्भमा एउटा महत्वपूर्ण कुरा के अगाडि आयो भने हृदयघातका बखत महिलाहरूमा पीडाको अनुभूति भएन, जसका कारण चिकित्सकको सम्पर्कमा जान ढिलो हुने र ज्यान जोखिममा पर्ने स्थिति उत्पन्न भएको  थियो । अत: महिलाहरूले सुरुदेखि नै खानपानप्रति सावधानी अपनाउनुपर्छ । पूर्ण निद्रा सुत्नुपर्छ र तनावबाट जोगिनुपर्छ ।  

भावनात्मक अत्याचार : एक शोधअनुसार महिलाहरूको पीडा बढी गहिरो हुन्छ । त्यसो त महिलाहरू चाँडै रुन्छन् भन्ने कुरा सबैलाई थाहा छ । एक शोधअनुसार महिलाहरू महिनामा ५ पटकभन्दा बढी रुन्छन् भने पुरुष एक–दुई पटक मात्र । यसको कारण महिलाहरूको भिन्न शारीरिक संरचना हो । वास्तवमा महिलाहरूमा आँसु ग्रन्थिहरूको बनाबट फरक हुन्छ । उनीहरूका ती ग्रन्थि धेरै ठूला हुन्छन् । उनीहरूको शरीरमा प्रोलेक्टिन हार्मोनको लेवल पनि करिब ६० प्रतिशत माथि हुन्छ । त्यसैले महिलाहरू बढी रुन्छन् अनि आँसु बगाएर तनाव कम गर्छन् । 

तनावमुक्त जीवन : राम्रो स्वास्थ्यका लागि तनावबाट जोगिनुपर्छ । वल्र्ड हेल्थ अर्गनाइजेसनको ताजा रिपोर्टका अनुसार पुरुषको तुलनामा महिलाहरू ५० प्रतिशत बढी तनावग्रस्त हुन्छन् । वल्र्ड मेन्टल हेल्थको रिपोर्टका अनुसार महिलाहरूमा तीन गुना बढी डिप्रेसन पाइन्छ । त्यसो त तनावमुक्त रहे महिलाहरू पुरुषभन्दा बढी जवान देखिन्छन् । पुरुषले दैनिक सेभिङबाट गुज्रनुपर्ने हुन्छ । त्यसपछि आफ्टरसेभ र एस्ट्रिन्जेन्टको प्रयोगबाट पनि उनीहरूको छाला मोटो हुन्छ जसमा उमेरको चिन्ह र लाइन बढी देखिन्छ । सकारात्मक सोच विकसित गरी डिप्रेसनबाट जोगिन सकिन्छ । यसबाहेक आफ्नो वरपर घटिरहेका स–साना कुरामा खुसी खोज्ने प्रयास गर्नुपर्छ । कतिपय महिला चकलेट खाएर स्ट्रेस कम गर्छन् भने कतिपय चिया पिएर ।  

स्लिम हुने चाहना : कहिलेकाहीँ महिलाहरूको स्लिम हुने चाहना खतरनाक हुन सक्छ र मोटोपन, हार्टअट्याक, डाइबिटिज, ओस्टियोप्रोरोसिस जस्ता रोगको कारण बन्छ तर आवश्यकताभन्दा बढी स्लिम हुनु पनि उपयुक्त होइन । विशेषज्ञहरूका अनुसार अत्यन्त स्लिम हुनुको साटो थोरै हेल्दी र हड्डीमा थोरै बोसो हुनु लामो र स्वस्थ जीवनका लागि राम्रो हुन्छ । यस्ता व्यक्तिको आयु बढी हुन्छ । अन्डरवेट व्यक्तिको शरीरमा पोषणको कमी हुन्छ । अर्को महत्वपूर्ण कुरा स्लिम हुन निरन्तर जिम जानुपर्ने वा दैनिक रूपमा लामो समयसम्म कठिन व्यायाम गर्नुपर्ने आवश्यकता कम हुन्छ । यद्यपि दिनभर घरको काममा सक्रिय रहे वा लामो समय पैदल हिँडे व्यायामको कमी पूरा हुन सक्छ । 

उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै उपयुक्त हुन्छ । यसका लागि जीवनशैली एवं आहार–विहारलाई सही र स्वस्थकर राख्नु आवश्यक छ। समय–समयमा शरीर परीक्षण गराउँदा पनि गम्भीर रोगबाट जोगिन सकिन्छ । समयमै समस्या थाहा पाउन सके स्वस्थ रहन सकिन्छ । महिलाहरूले आफ्नो उमेरअनुरूप स्वास्थ्य जाँच एवं खानपानमा ध्यान दिनुपर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>